गीत अध्ययनको कोसेढुङ्गो ‘बिर्सनै नसकिने हाम्रा गीत-सङ्गीतका पदचापहरू’
|जे. के. बराइली अल इन्डिया रेडियोमा समाचार वाचकका रूपमा नाम सुनिरहेको नाम हो। उनी धेरै वर्षअघि अघिदेखि नेपाली समाज, साहित्य सङ्गीत, समाजसित सम्बद्ध छन्। अहिले आफ्नो सरकारी सेवाबाट निवृत्त भएपछि आफ्नो सेवाकालको अनुभवलाई सदुपयोग गर्दै पुस्तक लेखन र प्रकाशनमा अघि बढेका छन्। नेपाली समाज साहित्यका निम्ति खुशीको कुरा हो। अहिले सिलगढीबाट उनका दुईवटा पुस्तकहरु सिलगढ़ीबाट प्रकाशित हुँदैगरेका समाचारले खुशी तुल्यायो। हाम्रो समाजका त्यस्ता अधिकारीहरूले आफ्ना संस्मरण, अनुभवलाई पुस्तकका रूपमा प्रकाशित गरिदिए नेपाली साहित्य अझै कति धनी हुनेथियो भन्ने लाग्छ। यद्यपि लेखन प्रतिभा सबै सरकारी अधिकारीसित हुँदैन। यसका लागि लेख्ने प्रतिभा पनि हुनपर्छ। लेखक हुनलाई लेखनगत सिप, सूक्ष्म दृष्टिकोण, अध्ययनशीलता, सिर्जनशीलता, सुसंगति, विषयज्ञान, लगनशीलता आदि जस्ता गुण हुनपर्दछ। जे के बराइलीले भने सेवानिवृत्त हुनेबित्तिकै नेपाली सङ्गीतको विषयमा पुस्तक लेख्नुभएकामा बधाइ व्यक्त गर्दछु। पहिलोको शिर्षक ‘केही अध्ययनः केही मन्थन’ जो एउटा समीक्षाको पुस्तक हो, जो छापिइसकेको छ। उनले आफु रेडियोमा सेवारत हुँदा नेपाली सङ्गीत र साहित्यबारे धेरै चर्चा-परिचर्चा गरेका छन्। यसरी आफुले जानेको, बुझेको कुरालाई पुस्ताकार दिएर नै बाहिर प्रकाशमा आउनु नेपाली साहित्यका निम्ति सुखद कुरा हो।
उनको दोस्रो पुस्तक जो छापिनै लागेको छ। यो चाहिँ विशेष गरि नेपाली गीत-सङ्गीत सम्बन्धमा छ। पुस्तकको शिर्षक ‘बिर्सनै नसकिने हाम्रा गीत-सङ्गीतका पदचापहरू’ राखिएको छ। उनको सूचनाअनुसार शिर्षक पहिले अर्कै थियो तर पछि जस योञ्जन ‘प्यासीले सुझाउनु भएको शिर्षक राखेंका रहेछन्। उनका अनुसार “आजकल साहित्यमा हो भने भर्खर एकै खुड़किलो पनि राम्रो नचडेकोलाई पनि सर्काई फुर्काई उनीहरूका कृतिको प्रशंसाको लम्बाचौड़ा पुल बाँधिदिने र एक्सपोजर दिने परम्परा चलेको देख्छु। यस्तो अवस्थामा यता सङ्गीत क्षेत्रमा आफ्नो बल, ताकत, उमेर. बैंश सबै समर्पित गरेर संगीतकै लागि समर्पित भएर नेपाली गीत-संगीतलाई यहाँसम्मको मोड़मा ल्याउने हाम्रा विभूतिहरूबारे भने कसैले लेख्दैनन्। “यसमा उनको आशय नेपाल छोड़ेर यता भारतीय नेपाली सांगीतिक क्षेत्रको मात्र रहेको छ। यता नेपाली संगीतको स्वर्णकालका अब्बल संगीतकारहरू जस्तै शरण प्रधान त झन पूर्णरूपमा विस्मृतिमा पुरिएर गइसकेका छन्। आजका नयाँ गायक/गायिका भाई बहिनीहरूलाई शरण प्रधानबारे उत्ति जानकारी पनि छैन। अम्बर गुरुङ्ग, गोपाल योन्जन र शान्ति ठटाल साथै कर्म योन्जन आदिको पनि सृजनाबारे समय समयमा लेखिनु पर्ने हो, यताबाट पनि। राम्रा राम्रा गीतकारहरू त झन अँध्यारो कुनामा छन्। हाम्रा राम्रा राम्रा गीतकार, सङ्गीतकार, गायक आदि सबैलाई उज्यालोमा ल्याउनु पर्ने हो। यही उद्देश्यले आफू पनि सङ्गीतमा रूचि भएको नाताले उनले पनि यो पुस्तक लेखेका रहेछन्। जसमा मित्रसेन थापा, शरण प्रधान, कर्म योन्जन, गोपाल योन्जन, शान्ति ठटाल, दिलमाया खाती सम्बन्धमा लेखहरू छन्। एउटा रचना लोकगीतको महत्त्व र प्रभावबारे छ अनि अन्तमा प्रख्यात गीतकार जस योन्जन ‘प्यासी’-सितको भेटवार्ता छ।
हाम्रामा गीत अध्ययन गर्वनुपर्ने धेरै ठाउँ छन्। गीत भनेको मनको उद्गार मात्रै होइन, मनका पीडालाई ओकल्ने माध्यम मात्रै होइन्। गीत भनेको त समाजलाई क्रान्तिको विगुल फुकाउने माध्यम पनि हो। गीत शक्तिपुञ्ज पन हो। अमेरिकी गायक तथा गीतकार बब डाइलनले वर्ष 2016 को साहित्यको नोबेल पुरस्कार पाएका छन। बब डायलन पेशाले संगीत कलाकार हुन। उनले रचेका प्रत्येक गीत नै गहिरो अर्थ वहन गरेका कविता बनेका छन। एकजना गीतकारले साहित्यको सर्वश्रेष्ठ पुरस्कार पाउनु महत्वपूर्ण कुरा बनेको छ। राजेन्द्र भण्डारीले एक ठाउँमा भनेका छन्- ‘गीतको कुरा गर्दा गायन र सङ्गीतको प्रसङ्ग आउँछ नै। सम्पूर्ण सृष्टि लयवद्ध छँदैछ। मानिसको शरीरतन्त्र, आयु र सम्पूर्ण जीवन नै लयवद्ध छ। जन्म-जरा-मृत्युको चक्रीय आरोहण-अवरोहण लयमय छ। लयबाहिर केही छैन। यसैले मानिसलाई लय मन पर्छ लयमा ऊ रमाउँछ। लयमा झुम्छ, निदाउँछ। लय आमाको काख हो जहाँ उसले निर्विघ्न शान्ति पाउँछ। लय गीतभन्दा जेठो हो। यसैले जीवनका हर्षामर्ष, सङ्घर्ष र रहस्यका अभिव्यक्तिलाई लयमा बाँधिदा त्यो गेय गीत बन्छ। गीतमा ढाल्न नसकिने कुनै गद्य वा पद्य हुँदैन यद्यपि गीतका केही सैद्धान्तिक आधार मान्ने प्रचलन छ। जस्तै- गेयात्मकता, लयान्विति, निजात्मकता, संक्षिप्तता, सरलता, एकोन्मुखता, भावप्रवणता आदि। यी आधारहरु शाश्वत भने होइनन्। उसो त वेदका ऋचाहरु पनि सबै गीत हुन्। भगवद्गीता पनि गीत हो। गीतको शक्ति भनेको त्यसमा पाइने नैसर्गिकता र स्वाभाविकता नै हो। हृदयको अन्तरतम गहिराइवाट निस्किएको उद्गारले नै कुनै अर्को हृदयलाई छुन्छ अनि अमर बन्छ।‘ (भूमिका- गीतको स्थापनातर्फ, इ-बुक नेपाली गीतको सेरोफेरो –नवीन पौड्याल)
गीतलाई छुट्टै विधा मान्नुभन्दा कविताकै एउटा उपविधा मान्नु भन् कुरामा द्विविधा छ। यद्यपि गीत एउटा विधा नै हो मान्ने आधारहरू धेरै छन्। जब गीत रचना, संगीत र गायन तीनै कुराको एक ठाउँमा आउँछन् भने गीत एउटा स्वतञ्त्र बिधा हुन्छ। यद्यपि गीत कविताका रूपमा मात्र देखिए यसलाई कविताकै उपविधा मान्न सकिन्छ। यसमा मानसिक अवस्थाको तीब्र अभिव्यक्ति हुन्छ। गीतमा संरचना, विषयवस्तु, लयविधान, बिम्बविधान, गेयात्मकता, संगीतात्मकता, भावुकता, दृष्टिविन्दु, भाषा, शैली, अलङ्कार जस्ता तत्वहरू हुन्छन्। त्यसैगरी गीतमा सरलता, आत्मनिष्ठता, असीमता, एकलता, गेयमाधुर्य, वैयक्तिकता, अभिव्यक्तिमय निश्छलता, सहजाभिव्यक्ति, सम्बोधन, संक्षिप्तता इत्यादि जस्ता विशेषता रहेका हुन्छन्। गीतमा कोमल र मधुर शब्दहरूबाट मानिसका मर्म खोतल्न सक्ने सामर्थ्य हुन्छ। मानिसको जीवनमा खुशी र दुःखका अनेक कारण हुन्छन्। यस्ता खुशी र दुःखलाई गीतले सही अभिव्यक्ति दिन सक्छ भन्ने आम धारणा छ।
गीत एउटा लयात्मक संरचना भएको उपविधा हो। यसमा शब्दहरूको ध्वनिगत आरोह-अवरोहको मिठा संयोजन गरी लय उत्पन्न गरिन्छ। यस लयमा गेयता हुन्छ जुन संगीतमा आधारित हुन्छ। यसमा केही घटक वा अवयवबाट संगठन गरिएको हुन्छ। गीतमा आदि, मध्य र अन्त्य गरी तीन भाग हुन्छन्। आदि भाग गीतको स्थायी हो भने मध्यभाग अन्तराका रूपमा पाइन्छन्। अतः गीत स्थायी र अन्तरामा संरचित हुन्छ। गीतको स्थायीले कुनै भाव वा रागको उठान गर्छ भने अन्तराहरूले त्यस स्थायीलाई पुष्टी गर्दै अघि लान्छ। गीतका केही प्रमुख तत्त्वहरूमा १) भाव वा विचार २) उद्देश्य ३) भाषा र ४) शैली। यसमा आत्मनिष्ठता हुन्छ, जुन वैयक्तिक भएर पनि परिणतः निर्वैयक्तिक हुन्छ।
यस पुस्तकमा रहेका लेखहरूमा- १. ओझेलमा परिसके महान सङ्गीतकार शरण प्रधान, २. बहुआयामी प्रतिभाका धनी स्वर्गीय मित्रसेन थापा, ३. अजम्बरी सङ्गीतकार अम्बर गुरूङ्ग, ४. प्रखर मेलोडी किङ्गः कर्म योञ्जन, ५. गीतकारको रूपमा गोपाल योञ्जनलाई हेर्दा, ६. स्वर्ण कालको उत्तरार्धका उज्वल नक्षत्रः दुर्गा खरेल, ७. सङ्गीतको पर्यायः शान्ति ठटाल, ८. कोकिल कण्ठकी धनी दिलमाया खातीको साङ्गीतिक यात्रा, ९. चर्चित गीतकार ‘प्यासी’- समक्ष तिर्खाएका प्रश्नहरू, १०. गोरेटो खोजिरहने सुमधुर स्वरका धनीः प्रेमध्वज प्रधान, ११. सन्दर्भमा लोक गीतहरूका भूमिका र प्रभाव।
माथिको सूची हेर्दा पनि लेखकमा गीतकारहरूको परिचयात्मक र मूल्याङ्कन अध्ययन गरेका छन्। गीतको संसारमा गायकको नाम बढी प्रसिद्धि हुन्छ तर सङ्गीतकार र गीतकार ओझेलमा पर्दछन्। अझ गीतकारबारे अधिकांश स्रोता अनभिज्ञ हुन्छन्। धेरै लोकप्रिय गीतहरू कसले गाएको भन्ने कुरा प्रायः सबैलाई थाहा हुन सक्छ तर यो गीत कसले लेखेको भन्ने कुरा थोरैलाई मात्र थाहा हुन्छ।
बराइलीले गीतकारहरूको मूल्याङ्कन गर्ने प्रयास गरेका छन्। उनीहरूलाई न्याय दिने प्रयत्न गरेका छन्। यसमा मूलतः तीनवटा स्रोतका आधारमा सामाग्री तयार पारिएको पाइन्छ- 1. लेखकको अध्ययन- अनसन्धानबाट पाएको तथ्य र ज्ञान 2. गीतकार वा संगीतकारसित अन्तर्वार्ता वा संवाद लिएर, 3. अन्य विभिन्न स्रोत, संवाद र संसर्गबाट प्राप्त ज्ञानबाट। यसमा बहुआयामी प्रतिभाका धनी मित्रसेन थापाका गीतमा पाइने विभिन्न स्वरहरूको सन्धान गरेका छन्। थापाले सन् १९३6 मा पहिलो पटक गीत रेक्रड गरेका थिए। उनले तीस र चालिसको दशकमा गीत गाउँदै गाउँदै जातीय जागरणको स्वर रालेका थिए। हाम्रा गोर्खाली जातिमा विद्यमान मदपान, वेश्यावृत्ति, विदेश जाने आदि कुरामा सुधार गर्नुपर्ने कुरामा संकेत गरेका छन्।
यसैगरी यसमा अम्बर गुरूङ गोपाल योञ्जन र शरण प्रधानलाई गीतकारका रूपमा पनि अलग्गै रूपमा चिनाइएको छ। यी तीनजनाको गीतरचनाका वैशिष्टयलाई खुट्याउने काम गरिएको छ। गोपाल योञ्जनसित त परिवेश र आवश्यकता अनुसार तुरन्तै मिठो गीत रचना गर्नसक्ने क्षमता थियो। जस योञ्जन प्यासीबारे लेख्ने क्रममा यसमा गीतको ज्ञान, अन्य गीत र गीतकारसम्बन्धित प्रसङ्गवस् आएका कुराका चर्चा आदिले धेरै कुरा जान्न पाइन्छ।दिलमाया खाती र शान्ति ठटाल हाम्रो समाजका धरोहर हुन्। अझ शान्ति ठटालले रवीन्द्र भारती विश्वविद्यालय गएर संगीतको उच्च अध्ययन गरेकी हुन्। उनीसित भएको गफको सिलसिलामा गीत संगीतबाट धेरै कुरा प्रकाशमा आएका छन्। शान्ति ठाटलले नेपाली संगीतलाई उचालिन्, अन्य भाषाका संगीतकै उचाइँमा लाने बिँडो उटाइन्, आफ्नो नेपाली मौलिक संगीतको अन्वेष गरिन्, नेपाली गीतमा शास्त्रीयतालाई जगाउने काम गरिन्। नेपाली सिनेमामा उनी प्रथम नारी संगीतकार भइन्। यद्यपि अझै अध्ययन पर्नुपर्ने देखिन्छ। अझै दावा ग्याल्मो, डेजी बराइली, दिव्य खालिङ्, गगन गुरूङ, कमल दर्नाल आदिका बारेमा लेखिन बाँकी नै छ।
भारतमा धेरै नेपाली गीतकारहरू ओझेलमा परेका छन्। अम्बर गुरूङ र गोपाल योञ्जनलाई बढी सङ्गीतकारका रूपमा चिनिन्छ तर उनीहरू अत्यन्त सफल गीतकार पनि हुन्। उनीहरूले लेखेका गीतको अध्ययन गर्नपर्ने आवश्यकता छ। यस पुस्तकमा बराइलीले यी दुवैजनालाई मूल्याङ्कन गरेका छन्। त्यसै गरी यहाँ शरण प्रधानका बारेमा पनि अध्ययन गरिएको छ। यसमा समग्र नेपाली सङ्गीतको पनि चर्चा गरिएको पाइन्छ।
नेपाली गीतकारका मूल्याङ्कनका क्रममा काठमाडौंका प्रकाश सायमीको नाम उच्च स्थानमा रहेको छ। उनी नेपाल र भारतका अधिकांश गीतकारका बारेमा जानकारी राख्दछन्, लेख्दछन्, मूल्याङ्कन, आफ्ना वार्ताहरूमा उल्लेख गर्दछन्। यता भारतबाट पनि यस्ता जानकारी व्यक्तिहरूको आवश्यकता परेको छ। नेपालका राममान तृषित, राजेन्द्र थापा, कृष्णहरि बराल, विश्वम्भर प्याकुरेल, चेतन कार्की, सुवासचन्द्र ढुङ्गेल, बुद्धवीर लामा, चाँदनी शाह आदिका गीतबारे कृष्णहरि बराल र अन्यले गम्भीर अध्ययन गरेका छन्। नेपाली गीत लेखन र गीतकारबारे आधिकारिक पुस्तक भने कृष्णहरि बरालको गीतः सिद्धान्त र इतिहास (सं. 2060) हो।
यता भारतबाट जस योञ्जन प्यासीको भारतीय नेपाली गीतकार पारिचायिक चर्चा (२०१४) पुस्तकले भारतका केही गीतकारहरूको परिचयात्मक मूल्याङ्कन गरेको पाइन्छ। यसमा भारतमा नेपाली गीत लेखनको इतिहास, विकास परम्परा र केही गीतकारहरूको गीत लेखनगत परिचय प्रस्तुत गरेका छन्। यस पुस्तकमा भारतमा कसरी गीतलेखनको विकास हुँदै आयो, मुख्य गरी को कसको योगदान र उपस्थिति छ भन्ने बारेमा अध्ययन प्रस्तुत गरिएको छ। यसमा मित्रसेन थापा, अम्बर गुरूङ, पासाङ बाङ्बल, प्रेमसिंह सुवेदी, हरिनारायण उपाध्याय, गोपाल योञ्जन, जितेन्द्र बरदेवा, हरिभक्त कटुवाल, बलि सुब्बा, पुरण गिरी, पुष्कर पराजुली, कमल रेग्मी आदिका बारेमा केही मात्रामा चर्चा गरेका छन्। यीबाहेक दार्जिलिङ, सिक्किम, असम, मणिपुर, देहरादुन आदि ठाउँहरूका गीतहरूको चर्चा उठान गरेका छन्। यसमा प्यासीले गीतकारहरूका गीतमा भावपक्ष र शब्द पक्षको संक्षिप्त रूपमा भए पनि चर्चा गरेका छन्।
यसै गरी देवप्रकाश शङ्करको ‘हाम्रा केही अमर गीत र गीतकारहरूबारे परिचर्चा’ (२०१२)अन्तर्वार्ता र समीक्षामिश्रित पुस्तक प्रकाशित देखिन्छ। उनले गीतकारहरूको भाव र शिल्प पक्षबारे चर्चा गरेका छन्। गीतमा हुनुपर्ने लय, शब्दशय्या, शिल्प संरचना आदिबारे सम्यक् चर्चा गरेका छन्। यी दुई पुस्तकबाहेक नेपाली गीतबारे भारतबाट अन्य कसैको पुस्तक प्रकाशित देखिन्न। यद्यपि विभिन्न पत्रिका, पुस्तक, जर्नल आदिमा भने नेपाली गीतबारे केही लेख प्रकाशित देखिन्छन्। यहाँका दक्ष गीतकारहरूका गीतका विभिन्न पक्षहरूको अझै राम्रो अध्ययन भएको छैन। प्रायः जसो सङ्गीतकारहरूको शब्द रचना पनि पाइन्छ, तिनको पनि गीतकारका रूपमा मूल्याङ्कन भएको त्यति पाइन्न। अजित बस्नेत, जीवन लाबर, कमल रेग्मी, कबीर बस्नेत, जय क्याक्टस आदिले आंशिक रूपमा भए पनि आफ्नो अध्ययन प्रस्तुत गरेका छन्।
यसै क्रममा यसै पंक्तिका लेखकको पनि साहित्य पोस्टको प्रकाशकत्वमा इ-बुकका रूपमा नेपाली गीतको सेरोफेरो प्रकाशित भइरहेको छ। यसमा ‘भारतमा नेपाली गीतलेखन परम्परा र प्रवृत्ति’, ‘गीतकारका रूपमा जस योञ्जन प्यासी’, ‘पुरण गिरीको जिन्दगीको लयान्तरमा पाइने लयात्मकता’, ‘पुष्कर पराजुलीको गीत फुल्ने ठाउँ’, ‘पोहोर साल खुशी फाट्यो गीतको संरचनागत अध्ययन’, ‘उकाली ओरालीहरू गीतको सौन्दर्य चेतना’, ‘धर्मराज थापाको आइकोन गीतको विश्लेषणात्मक अध्ययन’, ‘नेपाली लोकगीत ‘ए बरै’ गीतको संकथनात्मक अध्ययन- ‘न बातले भन्यौ न हातले भन्यौ’, ‘फुलबुट्टे सारी गीतको सौन्दर्य’, ‘चियाबारीका गीतहरूको निरूपणात्मक अध्ययन’, ‘नवोदित नवनीत वाइबा- आमाकी लोक अवतार’ जस्ता शीर्षकका लेखहरू समावेश रहेका छन्।
भारतीय नेपाली गीतबारे अध्ययन गर्नुपर्ने धेरै ठाउँ रहेका छन्। यहाँका गीतमा जातीय चेतना, राजनैतिक र जातीय अस्मिताका सङ्घर्षको आह्वान, स्वच्छन्दतावाद, प्रेमका विभिन्न रूप र अवस्था, जीवनजगत्का विभिन्न रागात्मक अनुभूति, स्थानीय सौन्दर्य वर्णन आदि प्रवृत्तिबारे विस्तृत र सम्यक् अध्ययन हुनु बाँकी नै छ। गीतमा रहेका रागात्मकता, गेयात्मकता, शब्द र वर्णगत सौन्दर्यको अध्ययन गर्नुपर्ने हुन्छ।
जे होस, अब जे के बराइलीको बिर्सनै नसकिने हाम्रा गीत-सङ्गीतका पदचापहरू’ पुस्तकले गीतकारहरूको सम्यक् अध्ययन र मूल्याङ्कन गरेको छ। नेपाली गीतको अध्ययनको क्रममा भारतबाट पनि उहाँ अघि सर्नुभएको छ। पुस्तकको राम्रो चर्चा र मूल्याङ्कन हो, गीत अध्ययनमा यो एउटा कोसेढुङ्गो सावित होस्, गीतकारहरू अझै आलोकित बनुन् भन्ने कामना पनि गर्दछु।