म जीवन्त बाग्मती भएर बग्नेछु

  

बागद्वार हुँदै बगेकी ऊ बाग्मती
चोभारको डाँडो काटेर
फाटेका मनहरू टाल्दै
छुट्टिएका दुई किनाराहरू डोर्याउँदै
बर्षौं अविरल बगिरही बगिरही।

उन्मुक्त स्रोतस्विनी बाग्मती
कहिले रुष्ट भएर बगी
कहिले तुष्ट भएर बगी
कसैका खुट्टाका बालुवा पखाली
कसैका चित्तका मयल निखारी
बग्नु नदीको धर्म थियो
ऊ बगिरही बगिरही।

जुन दिन मैले बाग्मतीलाई
बिदाइका हात हल्लाएर हिडेँ
मिसिसिपी र हडसनका जल ऐनामा
आफ्नो प्रतिबिम्ब खोज्न थालेँ
सुनेकी छु,
बग्दै बग्दै सङ्लिनुपर्ने बाग्मती
बग्नै छोडेकी छ अचेल।

आफ्नै पानीको पातलो ओछ्यानमा
गेगरको सिरानी हालेर
बाग्मती लमतन्न सुतेकी छ अचेल
कर्मिष्ठ बाग्मती,
थाकेकी छ अचेल।

ब्रह्मनालमा जलेको लासको फिलिङ्गो उडेर
जब च्वास्स पोल्छ बाग्मतीलाई
ऊ झल्याँस ब्युझिन्छे
जसै फिलिङ्गो छ्यास्स निभ्छ
उसै बाग्मती फेरि निदाइदिन्छे।

मेरी शहरकी बाग्मती
मेरी रहरकी बाग्मती
अब विलम्ब गर्ने छैन
म त्यो जलेको फिलिङ्गो हुनु अगावै आउनेछु
तिमीलाई अँजुलीमा बोकेर
सूर्यको न्यानो घाममा सेकाउन आउनेछु
म लाश बाल्ने दाउरा भएर हैन
आश बोकेको आरती लिएर आउनेछु
तिमीसँगै बग्न आउनेछु।

शिवजीको हास्य किरणबाट जन्मिएकी बाग्मती
मात्र आर्यघाटमा बग्ने आँसुहरूले सिञ्चिएकी छे अचेल
अब त्यस्तो हुने छैन बाग्मती
म फर्किने छु,
मात्र नुनिलो आँसुको थोपा लिएर हैन
मुटुभित्र बगिरहेको रातो रगत लिएर आउनेछु
निधारबाट झरिरहेको निलो पसिना लिएर आउनेछु
बाग्मतीसँगै म जीवन्त बाग्मती भएर बग्नेछु ।

One Comment

Leave a Reply to नवीन पौड्याल Cancel reply

Your email address will not be published. Required fields are marked *