आमा तिम्रो मृत्यु !

देख्नेहरु भन्छन,

आमा,

तिम्रो मृत्युले

मलाई  छोएको छैन,

किनकि,

उनले देख्ने गरेर

म रोएको छैन !

 

भन्नेहरु भन्छन्,

आमा,

तिम्रो मृत्युले

मभित्र कुनै समवेदना पलाएको छैन,

किनकि,

म टुहुरो हुनुको अनुभव र अनुभुती,

तिनले सुन्ने गरेर मैले बताएको छैन ।

 

सुन्नेहरु भन्छन्,

आमा,

तिम्रो मृत्युले

मलाई विचलित बनाएको छैन,

विखण्डित बनाएको छैन,

किनकि उनीहरुले सुन्ने गरेर म चिच्याएको छैन ।

 

देखिएका भन्दा नदेखिएका,

भनिएका भन्दा नभनिएका.

सुनिएका भन्दा नसुनिएका,

धेरै धेरै यस्ता पलहरु छन्,

जहाँ म हाँस्दा हाँस्दै,

आमा  तिमीलाई सम्झेर,

धेरै धेरै रोएको छु ।

 

म नाँच्दा नाच्दै

आमा  तिमीलाई सम्झेर

धेरै पटक टक्क अडिएर

शुन्यतामा टोलाएको छु

जहाँ तिम्रो शोकमा म

तिम्रो अभावमा म

भावशुन्य भएको छु ।

 

तिमी नहुनुको अभाव

मेरो मुटुभित्रको त्यो शुन्यता

मैले लाएको रङीविरङी कपासमा,

मैले खाएको गाँसमा गाँसिएको रहेछ

त्यसैले त्यतै खोजिंदो रहेछ,

त्यतै पो जोखिंदो रहेछ !

 

आमा,

तिम्रो मृत्युले मलाई पारेको प्रभाव

म टुहुरो ब‍न्दाको विलाप

परम्परा-प्रचलन,

परिवर्तन  र परिमार्जन खिचातानिमा

पत्तै नपाउने गरी,

हराउँदो रहेछ !

 

त्यसैले,

सुन्नेहरु भन्छन्,
देख्नेहरु भन्छन्,
भन्नेहरु भन्छन्,
आमा,
तिम्रो मृत्युले,
मलाई  छोएको छैन
म भित्र कुनै समवेदना पलाएको छैन
मलाई विचलित वनाएको छैन
बिखण्डित बनाएको छैन ।

किनकि,

तिमी गएपनि आमा,

मैले हाँस्न छोडेको छैन

मैले नाँच्न छोडेको छैन,

मैले खुशी भएर बाँच्न छोडेको छैन,

किनकी आमा,

“म गए पनि तँ खुशी भएर बाँचे है”

तिम्रो अन्तिम आशिर्वचन,

मन मस्तिस्कबाट मैले मेट्न सकेको छैन ।

One Comment

Leave a Reply to रञ्जु बस्नेत पन्त Cancel reply

Your email address will not be published. Required fields are marked *