कविहरूलाई प्रश्नःकविता किन लेख्नुहुन्छ ?


जिउँदा शब्दसँग बातमार्न कविता लेख्नेगर्छु – बालकृष्ण कट्टेल

जीवनका लेनदेन वा आवश्यकताहरूमा स-साना विषयहरूले पनि कति धेरै फरक पार्छ ? कवि बालकृष्ण कट्टेलले गतहप्ताको फेसबुक स्टाटसमा लेखेका छन्- ‘बलुन बेच्नेले बलुन बेच्न पायो र खुशी भयो । सौर्य र सामर्थ्यले बलुन खेल्न पाए र खुशी भए । खुशी हुन त्यस्तो के नै पो चाहिँदोर’छ र !’

भन्न त ‘युवा हुँदा वा बैंसमा कविता नलेख्ने र कम्युनिष्ट नहुने कमै हुन्छन् ‘ पनि भनिन्छ । तर धनकुटे कवि कट्टेलका कविता उनको उमेरले यो समयसिमा नाघेपछि मात्र पाठकहरूसम्म पुगेका हुनसक्छ ।

कविले कविता लेख्नुको सन्दर्भ र उदेश्य अनेक होलान् । तर पाठकले कविका ती सन्दर्भ र उदेश्यभन्दा धेरै फरकरुपमा कविताको आनन्द लिन्छन् । नेपाली कविता लेखनको व्यावशायिक लाभ कविहरूले महसुस गर्न सकेका कमै दृष्टान्त छन् यध्यपी नेपाली कविहरूका लागि दि पोएट आईडल (The Poet Idol) को शुरुवात खुशीको खबर हो ।

कविहरू कविता किन लेख्छन् र कविताको परिभाषा कसरी गर्छन् भन्ने सन्दर्भमा दुई वर्ष पहिले नै नेपाली पोष्ट डट कमले १२-१५ जना नेपाली कवि-कवयित्रीहरूसँग ९-९ वटा समान प्रश्नहरू गरेको थियो । तिनै प्रश्नहरूको प्रकाशनको पहिलो कवि हुन्- बालकृष्ण कट्टेल । जिउँदा शब्दसँग बातमार्न कविता लेख्नेगर्छु भन्ने कवि कट्टेल कविताकै सन्दर्भमा ‘जोगाउन जानिएन भने जीवन त के, प्रेम पनि हिंसामा पर्छ भन्ने ठान्छन् ।’

कवि-कवयित्रीहरूसँगको यस सम्वाद श्रृँखलामा हामीलाई प्रश्नको जवाफ पठाइसक्नु भएका बाहेक अन्य यस श्रृँखलामा सहभागी हुन इच्छुक कवि-कवयित्रीहरूलाई पनि यहाँ उल्लेख ९ वटा प्रश्नहरूको उतर पठाउनु हुन अनुरोध गर्दछौं ।| हाम्रो इमेल हो- nepalipost@gmail.com

१. कविता के हो ?
सिधा प्रश्न गर्नुभो र अक्सर सोधिने प्रश्न पनि हो यो। तर सिधा र सरल प्रश्न नै त कठीन हुन्छन् नि उत्तर दिनका लागि। कविता बहुआयामिक हुन्छन्। घटना, त्यसबाट प्राप्त अनुभव र अनुभूतिले प्रभाव पार्छ कवितालाई लेखकको माध्यमबाट । एउटै घटनाले पनि फरक फरक लेखकलाई फरक फरक तरिकाले प्रभाव पारेको हुन्छ । कुनै पनि चिजको परिभाषा र त्यसको व्याख्या त्यो चिजले मानिसलाई कसरी र कुन गहिराइसम्म प्रभाव पारेको छ भन्ने आधारमा हुन्छ। यस अर्थमा कविताको पनि एउटै परिभाषा हुन्न । भलै, कविता घटनाहरूको व्याख्या भने हैन तर घटनाबाट प्राप्त अनुभव र अनुभूतिको अभिव्यक्ति चाहिँ हो कविता। यसर्थ मेरालागि कविता अभिव्यक्तिको माध्यम हो। कविता भाषा र अक्षरको संयोजन हो। तर फगत निर्जीव अक्षरहरूको एकीकरण चाहिँ हैन। कविता जीवन भएको विधा हो किनकी कविताले जीवित मान्छेका भावना बोकेका हुन्छन् । मलाई त कविता सफा ऐना जस्तै लाग्छ जसले स्वरूप र आकारमा देख्न नसकिने मान्छेका पक्षलाई शब्दमार्फत् देखाइदिन्छ। त्यो स्वरूप र आकारमा नदेखिने पक्ष भनेको चाहिँ मान्छेका अनुभव र अनुभूति, संवेग र आवेग नै हुन्। यस्ताकुरा उनीहरूको व्यवहारमा देखिन्छ तर रूप र आकारमा देखिंदैनन्। कविता माध्यम बनिदिन्छ यस्ता कुराहरू बाहिर ल्याउन।

२. कविता कस्तो हुनुपर्छ ?
यस्तै हुनुपर्छ भन्न त गाह्रो छ किनकि कविता लेख्ने व्यक्तिलाई लेखनको बिषय, परिवेश र त्यसको आधारमा प्राप्त अनुभूतिले प्रभाव पारेका हुन्छन् । यसखाले प्रभावको असर व्यक्ति अनुसार अलग अलग हुन्छ। मलाई जुन विषय र घटनाले छुन्छ नि, त्यही बिषय वा घटनाले तपाईलाई नछुन पनि त सक्छ। तपाईं अलग तर आँफैमा पूर्ण व्यक्ति हो भने म पनि अलग र आँफैमा पूर्ण व्यक्ती हुँ- भौतिकरूपमा। तर हामी भौतिकरूपले पूर्ण हुँदैमा हाम्रो मान्छे बन्ने प्रक्रिया पूरा भएको हुँदैन। जबसम्म जीवित भौतिक वस्तुमा विचार, सिकाइ, संवेदना र खुशीले दिएको उत्साह र दुःखले दिएको पीडाका अंश हुँदैनन् र तिनले प्रभावित तुल्याउँदैनन् तबसम्म त्यो बस्तुमा जीवनको रङ्ग नभेटिन सक्छ । सुख, दुखःले जीवनलाई आकार दिईरहेका हुन्छन् र जीवनलाई परिपक्व बनाईरहेका हुन्छन् । ती कुराहरू मान्छेले आफ्ना व्यवहार र सीर्जना मार्फत बताइरहेका हुन्छन् । कविता पनि त मान्छेकै सीर्जना हुन् । यसकारण कविता जीवनका आवाज हुन् भन्ने लाग्छ मलाई ।
तपाईंलाई लाग्न सक्छ म पनि आफ्ना कुरा कविता मार्फत् नै भन्ने गर्छु त ? तर मैले मान्छे भनेर मेरो मात्र हैन,आममान्छेकै कुरा गरेको हो । मान्छेसँग आफ्ना कुरा भन्नको लागि सधैं भरी शब्द हुँदैनन् । उनीहरू कहिले मुस्कान मार्फत् आफ्ना कुरा भनिरहेका हुन्छन्, कहिले ईशारा मार्फत् बोलिरहेका हुन्छन् । कहिले मौनतामा सम्वाद गरिरहेका हुन्छन् । सुन्नुस् न- मान्छेले इशारा र सङ्केतमा भएका कुरा, मुस्कानले मुस्कानसँग गरेको कुरा चाँडो बुझ्छ। मेरालागि यस्ता कुरा मैले लेख्ने कविताका श्रोत हुन् । त्यसैले म त भन्छु कविता जस्तोसुकै होस् जुनसुकै बिषयमा लेखियोस् त्यसले जीवनसँग संवाद चैं गरेको होस् । पाठकले कुनै पनि कविता पढ्दा त्यसभित्र उसले आफूलाई खोजोस्, आफूलाई पाओस् , त्यहाँ आफ्ना कुरा भेटोस्। त्यस्ता कविताहरू जीवन्त हुन्छन्। कविता जीवन हुँदामात्र बाँच्छन्।

३. कविता किन लेख्नु हुन्छ ?
कविता लेख्ने क्रममा बनेका शब्दहरू पढ्न आनन्द लाग्छ। त्यस्ता शब्दहरू कतैबाट पैंचो ल्याइएका हुँदैनन्स लेख्ने क्रममा तरल बनेको मनबाट आएका हुन्छन्, जहाँ भावनाको मात्रा अधिक हुन्छ। अनि तरल चिज बुझ्नलाई सरल पनि त हुन्छ । तर विचार चैं पुर्‍याउनै पर्छ | सँगाल्न जानिएन भने त त्यही तरल र सरल चिज पनि आफ्नो हुँदैन । हो यस्तो अवस्थामा हो कलाको आवश्यकता पर्ने । त्यसैले कविता लेखन एकखाले कला पनि हो भन्ने लाग्छ मलाई जसले भावनालाई सँगालेको हुन्छ। कला र भावना मिश्रित शब्दहरू जिउँदा लाग्छन् । हो यस्ता जिउँदा शब्दसँग बातमार्न म कविता लेख्छु । मलाई कविता रङ्गिन नै हुनुपर्छ भन्ने चैं लाग्दैन किनकि रङ्गिन शब्दहरू राम्रा त देखिएलान् तर ती सबै र सबैका लागि स्वादिला हुँदैनन् वा नहुन पनि सक्छन् । कविता पढ्दा एकखाले स्वाद पाइयोस् भन्ने लाग्छ। मैले लेखेको कवितामा नयाँ स्वाद पाइन्छ कि पाईन्न थाहा पाउनै बाँकी छ। म त अझै सिकारु नै हुँ । तर लेखनमा एकखाले स्वाद ल्याउन सकूँ भनेर त्यो सिक्नको लागि कविता लेखिरहेको छु।

४.पहिलो कविता कहिले कहाँ कसरी सार्वजनिक गर्नु भयो ?
पहिलो कविता कुन थियो त्यो त अहिले सम्झन सकिनँ। तर पहिलो कविता स्थानीय पत्रिकामा प्रकाशित भएको चाहिँ सम्झना छ ।

५. हालसम्म कति कविता सार्वजनिक भए ?
त्यो त सम्झनै पर्छ । एकैठाउँ भेला पार्ने हो भने एउटा राम्रै आकारको कविता सङ्ग्रह नै बन्ने जति कविता सार्वजनिक भएको हुनुपर्छ । म अहिले सबै प्रकाशित भएका र सार्वजनिक नभएका कविता सङ्कलन गरिरहेको छु।

६. कुनै कविता कृति वा अन्य कृति प्रकाशित छन् कि ?
तपाईंको प्रश्नले प्रकाशित कविता सङ्ग्रहतिर सङ्केत गर्न खोजेको हो भने सङ्ग्रहकै रूपमा मेरो कुनै कविताकृति प्रकाशित छैन ।

७. तपाईं आँफैलाई मन परेको आफ्नो कविता कुन हो ?
त्यस्तो कविता त मैले लेख्न बाँकी नै होला। तर प्रकाशित भएका मध्ये पाठकद्वारा धेरै पढिएकामा सिँढी, फलैंचा मास्तिरकी कान्छी मिजार्नी, तमोरछेउको फलामेटार, मायाको चिम्टी हुन् । साँधेको घाम,दाउरा, छायाँ,गोठीज्यूलाकी साइंली सोल्टिनी लगायातका यी कविता पनि धेरै पढिनेमा पर्लान् जस्तो लागेको थियो मलाई तर त्यस्तो भएन। त्यसैले पाठकको रुचि र प्रतिकृया नै मेरो मन पराइको आधार हुने गरेको छ । बरू यसबाट मलाई सिकाइ चाहिँ के भएको छ भने कविताको विषयवस्तु जति महत्त्वपूर्ण हुन्छ त्यो भन्दा बढी महत्त्वपूर्ण त्यसलाई कवितामा रूपान्तरण गर्दा प्रयोग गरिने भाषा शैलीको हुनेरहेछ । कवितामा गह्रुङ्गा शब्द भन्दा पनि दैनिक बोलीचालीका भाषाले पाठकलाई छुने रहेछ। प्रेम र जीवनको रक्षाको लागि खडा भएका कविता रोजाइमा पर्दा रहेछन्। अर्थात् सरल र जीवन्त कविता । जीवन र प्रेम पनि त सरल र बुझिने भयोभने न रसिलो र जीवन्त हुन्छ। म यस्तैखाले कविता लेख्ने प्रयासमा छु । अझ प्रष्ट भनुँ-म कविता त लेख्छु तर कवि बनिसकेको छैन । कवि बनेको दिन सायद म आफूलाई पनि मन परेको कविता लेखेको हुनेछु होला।

८. नाम नै तोकेर कुनै कविका कुनै कविता राम्रा भन्ने लाग्छन् भने ती कवि र कविता कुन हुन् ?
त्यस्ता त धेरै नै छन् । चिन्ताु र युद्धविराम शीर्षकमा लेखिएका दिनेश अधिकारीका कविता म अहिले पनि सम्झन्छु। सायद, यी दुवै कविता उहाँको सीमान्त सपना नामक कविता सङ्ग्रहमा सङ्कलित छन् । उहाँकै अतिरिक्त अभिलेख कविता सङ्ग्रह, क्षेत्रप्रताप अधिकारीका नफुलेका फूलहरूु र युद्धका छायाँहरू, गीता त्रिपाठीको नृशंस पर्खालहरू मञ्जुलका कविताहरू त्यसमा पनि मृत्यु कविता, एस्पी कोइरालाको निर्वस्त्र नगरीमा मेरो रोजाइका कविता सङ्ग्रह हुन् । उहाँहरूका कविता मौलिक लाग्छन्।

९. कुनै पनि कविता लेखिसकेपछि के गर्नुहुन्छ ? कसैलाई सुनाउनुहुन्छ भने कसलाई ?
एउटा कविता लखिसकेपछि म दुई दिनसम्म त्यो कवितालाई हेर्दिनँ। त्यसपछि विचार गर्छु- त्यो कवितामा प्रयोग भएका शब्दहरू बोलीचालीका शब्दसँग मिलेका छन् वा छैनन् भनेर। मलाई कवितामा पात्र परिचय गराउन र पात्रमार्फत् प्रश्न उठाउन मनपर्छ । कविताले जीवन र प्रेमको रक्षाको कुरा गरोस् भन्ने लाग्छ । जीवन र प्रेम काल्पनिक कुरा हैनन्। ती यथार्थ हुन् र यथार्थ चिजको रक्षा जीवनले मात्र गर्न सक्छ। जोगाउन जानिएन भने त जीवन मात्र हैन प्रेम पनि हिंसामा पर्छ। त्यसैले पात्रहरूले यी चिजको रक्षा गरून् भन्ने लाग्छ। पात्र बोलेको मनपर्छ कवितामा । कविता लेखिसकेपछि म त्यसलाई सरल कसरी बनाउने भन्नेतिर लाग्छु। कोही सुनिदिने मान्छे भए त सुनाई पनि हाल्छु तर त्यस्तो मौका अक्सर मिल्दैन । बरू सुनिदिने कोही भेटिएको खण्डमा म कविता हैन त्यसको रचनाको पृष्ठभूमि चैं सुनाउन चाहन्छु किनकि मैले लेखेका कविताहरूमा सुनाउन सकिने रोचक सन्दर्भहरू पनि हुन्छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *