हजुरबुबा

समय चक्रमा फनफनी घुमे
कहिल्यै खिइएनन्
बरु शालिग्राम झैँ चिल्ला बने
जीवन संघर्षमा उचालिए, अनि पछारिए
कहिल्यै थङ्थलिएनन्
बरु फलाम झैँ दर्बिला बने
उनै थिए मेरा हजुरबुबा ।

आगोको भुङ्ग्रामा परेर पग्लिएनन्
सुवर्ण झैँ उज्ज्वल बने
कोइलाको खानीमा जलेर खरानी बनेनन्
हीरक झैँ चम्किला बने
यस्तै थिए मेरा हजुरबुबा ।

बहुआयामका थिए
फलेको वृक्ष थिए, नुहिन्थे
सगरको चुचुरो थिए, चुलिन्थे
धरती भेदन गर्दै जरा फैलाउँथे
आकास हाँक्दै हाँगा फिजाउँथे
उनै थिए मेरा हजुरबुबा।

एक दिन भौतिक देह त्यागेर गए
परब्रह्ममा लीन भए
स्वर्गमा आसीन भए
तर मरेर पनि कहिल्यै मरेनन्
यस्तै थिए मेरा हजुरबुबा ।

घाम लाग्दा पिपलको छहारी,
अनि पानी पर्दा घरको छानो बनिदिए
कहिले स्याब्बासी दिने हात,
अनि कहिले खबरदारी गर्ने औँलो बनिदिए
हजुरबुवा नै थिए मेरा हजुरबुबा ।

यत्ति हो, अब व्यक्ति हजुरबुवा रहेनन्
उनी बिम्ब बनिदिए
खोज्दा कतै भेटिन्नन्
महसुस गर्दा रग रगमा छन्
त्यसैले,
मरेर कहिल्यै मरेनन् मेरा हजुरबुबा ।

हिजो आज मेरा हजुरबुवा,
आँखामा बसेर सुदृष्टि दिन्छन्
गलामा बसेर सुवाणी दिन्छन्
हातमा बसेर सुकर्म दिन्छन्
मस्तिष्कमा बसेर सुविचार दिन्छन्
मनमा बसेर सद्भाव दिन्छन्
जताततै छन् मेरा हजुरबुबा
अमर्त्य मेरा हजुरबुबा ।
(साहित्यकार टुकराज मिश्रको सम्झनामा समर्पित)

2 Comments

Leave a Reply to मुरारीराज मिश्र Cancel reply

Your email address will not be published. Required fields are marked *