काजी बा’, सालको रुख र भैरुङ शिकारी
|गैह्रीघरे काजी बा’ यसपालिको मंसिरमा दाइँ सकेर हुने मैझारोपछि घाँटीसम्म आउँञ्जेल घिउ खाने सुरमा थिए । एकदिन बेस्सरी हावा-हुण्डरी चल्यो । हुण्डरी थाम्न नसकेर देउराली डाँडाको सालको रूख गर्लम्मै ढल्यो । सोहीबेला घिउ लिन भनेर गोठतिर जाँदै गरेका काजी बा रुखले किचेर ठहरै भए ।
हुण्डरी मत्थर हुँदै गर्दा आकाशको बादल फाट्यो; मंसिर-पुसको जाडो टार्नलाई हुर्र बालिएको परालजस्तो मचानमा एक मुस्लो ज्वालो लिएर रवि (घाम) उदायो । असमयमै उदाएको रविले प्रचण्ड ताप फ्याँको; ढलेको रुखका पातहरु सर्ल्याक-सुर्लुक्क ओइलाए ।
यतिकैमा लालभित्ती भञ्ज्याङका सूर्यबहादुर (चल्तीको छोटकरी नाम सू.बा.) काका पनि रुख ढलेको सुसमाचार सुनेर खुशी हुँदै त्यहीँ आइपुगे । हिँडाइको धपेडीले स्याँ स्याँ गर्दै आइपुगेका सू.बा. काकाले एकै सासमा भने, “यो रुख त ढलेको मात्र छ, यसका जराबाट फेरि पह्लाउन सक्छ, पूरै उखेलेर सुकाउन पर्छ ।”
हरेक विषयमा आफ्नै परिभाषा निर्माण गर्न बानी परेका सू.बा. काकाले महाभारतको किस्सा झिक्तै भने,“अर्जुनले सूर्योदयदेखि सूर्यास्तसम्ममा जरासन्धलाई मार्ने प्रतीज्ञा गरेका थिए । तर जरासन्ध दिनभरि लुकेर बसेकाले अर्जुनले भेटेनन् । सूर्य अस्ताउने बेलासम्म जरासन्ध नभेटेपछि आफ्नो प्रतीज्ञा अनुसार अर्जुनले आफैंलाई अग्निमा होमेर देहत्याग गर्नुपर्ने घडी आइपुग्यो । ठीक यसैबेला कृष्णले जादु गरी समुद्रपारि डुबिसकेको रविलाई फर्काएर डाँडामाथि ल्याइदिए । यसरी अग्निदाहको प्रतीज्ञाबाट अर्जुन जोगिए र जरासन्धको बध गरिदिए ।”
किस्सा भनिसकेर लामो सास तान्दै सू.बा.काकाले कुरुक्षेत्रमा जरासन्धको बध गर्नका लागिमात्र झिलिक्क देखिएको रवि फेरि अस्ताइहाल्ने र संसारलाई पर्याप्त ज्योति दिन नसक्ने ठोकुवा गरे । रवि र सूर्य एउटै घामका पर्याय भए पनि रविले भन्दा असली खरो राप आफूले मात्र पैदा गर्नसक्ने दाबी गर्दै सू.बा.काकाले ढलेको रूखलाई सुकाउन भट्टीमै लगेर डाम्नुपर्ने राय व्यक्त गरे ।
ससुराली गाउँमा दाइजो पाएको आफ्नो टाँडे घरमा कौसी थप्नु थियो, बार्दली जोड्नु थियो; सोका लागि सू.बा.काकाले यो रुख ढाल्ने दाउ हेरी रहेकै थिए । अहिले ‘बडार्नुपर्ने कसिंगर हावाले नै उडाई लग्यो’ भनेझैं उनलाई भइदियो ।
सू.बा. काका यसै त शब्दमुखी, मुखले प्रशस्तै लतारे पनि हातले केही नटिप्ने ! ढलेको रुखका जरा पल्टाउन उनले भैरुङ शिकारीलाई आफ्नो घर बोलाए । केही वर्घअघि वनझाँक्रीले लगेर छोडिदिएको भैरुङलाई सू.बा.काकाले नन्दी-भृंगी, चौंसट्ठी योगिनी, भूत-प्रेत, पिशाचसहित कुटो, गैंती, झम्पल, वनचरो, हँसिया, मार्तोललगायत आफ्ना सारा कासाबिसा बोकेर आउन आदेश जारी गरे ।
यहाँहरुले समाजमा चलेको प्राचीन किस्सा सुन्नुभएकै होला । एकपटक वनझाँक्रीको दीक्षा पाएपछि जस्तोसुकै प्रयोजनमा काम लाग्ने बताइन्थ्यो । यहाँसम्म कि उहिले उहिले कसैलाई मासु खान मनपऱ्यो भने घरमा रहेका आफन्तलाई अक्षेता फुकेर दिन्थे र आफैं बाघ बनेर शिकारमा जान्थे भनिन्छ । वनको शिकार त कुन्नि तर, छिमेकीका बाख्राखोरबाट खसी ओसार्थे भन्ने किस्सा गाउँतिर खूब चल्थ्यो । बाघ बनेर खसी घिस्याउन गएको आफन्तलाई घर आइपुगेपछि घरमा हुनेले अघि उसैले फुकेर दिएको अक्षेता छर्किदिनु पर्थ्यो रे । अक्षेताले लाग्नेबित्तिकै ऊ पहिलेझैं सामान्य मानिस बन्थ्यो रे !
यी माथि चर्चा उठाइएको वनझाँक्री चेलो भैरुङ शिकारीचाहिं कस्ता अक्षेता फुक्थे कसैलाई थाहा छैन । उनले फुकेका अक्षेता लागेर कोही जनावर- पशु मान्छे बन्यो कि बनेन, कसैलाई थाहा छैन । तर, यिनले फुकेका अक्षेता लागेर धेरै सद्दे मान्छेहरु मुर्कुट्टाचाहिं भएकै थिए । कुरो जे होस्, सद्दे मान्छेहरुलाई पनि निमेषभरमा मुर्कुट्टो बनाइदिने उनको त्यो शक्ति बुझेरै हुनुपर्छ, सू.बा. काकाले रुख पल्टाउने खेतालो बोलाएका थिए । आखिर सू.बा. काका पनि त्रिताल चम्बु, दाउ हान्ने चालमा शकुनी, कमका खेलाडी त कहाँ थिए र ! चुक्ली र दाउमा ‘इन्द्रजाली’ थिए सूर्यबहादुर काका !
यसरी सू.बा. काकाको अगुवाइमा सबै रुखको व्यवस्थापनतिर ताउर-माउर गर्दा गर्दै रुखले किचिएका काजी बा’तर्फ कसैको ध्यान गएन । आफ्नी दुर्मुखा स्वास्नीका कारण काजी बा’का भाइ-बन्धु र इष्टहरुबीचमा पहिलेदेखि नै बेमेल थियो नै, उनका नयाँ पुस्ताका छोराहरु पनि अंश-बण्डामा बा’ले घोर विभेद गरेको अभियोग लगाई जोगी बनेर फेरी लगाउँदै भीक्षाटन गर्न हिँडिसकेका थिए । सबै रुष्ट भएको यो अवस्थामा कसैले पनि काजी बा’को यथासामयिक खोजखबर गरेनन् ।
यसरी सबै आफन्तबाट टाढिएका काजी बा’ केही दिनअघिसम्म तिनै भैरुङ शिकारीलाई अँगालो हालेर हिँडिरहेका थिए । वास्तवमा उनीहरु दुइबीच मित्रताको गुह्य कुरो के थियो भने पोहोर साल उसरी नै घिउ लिनलाई गोठतिर जाँदै गर्दा बाटोमा पर्ने खोलाले काजी बा’लाई बगाउनै लाग्या’थ्यो ! आपतमा भैरुङ शिकारीले उनलाई बँचाएर जँघार तारीदिएका थिए । तर, काजी बा’को ज्यान आफूले बँचाइदिएको बद्लामा सारा जायजेथा र गोठ खर्कसमेत आफ्नोमा नामसारी गरिदिन भैरुङले माग गरेपछि उनीहरुबीचको मित्रतालाई सन्देहको भुंग्रोले पिसोल्ट्याउन मात्र बाँकी थियो । ऐन मौकामा हुण्डरी चल्यो, काजी बा’माथि नै रुख ढल्यो ।
‘ताक परे तिवारी नत्र गोतामे’ भैरुङलाई उसैबेला सू.बा. काकाले स्वागत गरिहाले; सुरुवाल सुर्केर मुजा पार्दै उनी त्यहाँ पुगे । सू.बा. काकालाई के थियो र ! यसै पनि उनीसित पूर्व कोशी, काभेरी, माईपोखरीतिर डुली हिँड्ने फेदाङ्बा जेठो पहिलैदेखि साथमा थियो । अब भने उनको पोल्टामा जादुबाट उत्पति भएको रवि र वनझाँक्रीको दीक्षा लिएर आएको भैरुङसमेत जुटेपछि शेषनागका हजार जिब्राले पनि बयान गरी नसक्ने शक्तिशाली गट्ठा तयार भइहाल्यो !
यसरी सबै लागेर ढलेको रूखलाई जरैबाट उक्काएपछि पो तल चेप्टिएका काजी बा’लाई उनीहरुले देखे । हत्तपत्त सबै लागेर उनको शव उठाए । नदीमा पुऱ्याएर उनको लाश चितामा राखे । दागबत्ती दिने बेला भइसकेको थियो ।
यतिकैमा भीडबाट अकस्मात कोही कंकलाशब्द रुँदै-चिच्याउँदै अगाडि सऱ्यो । “काजी बा’बाट २० हजार ऋण लिएको थिएँ, जिउँदो हुञ्जेल तिर्न सकिनँ; अब उनी बिते पनि उनको ऋण तिर्छु ।” यति भनेर उसले हजार हजारका २० वटा नगदी-नोट चितामा राखिदियो । उसै गरी अर्को एकजना पनि रुँदै आयो र ऋणस्वरूप आफूले लगेको १० हजार चितामा राखिदियो । यी सब गतिविधि हेरिरहेको तेस्रो व्यक्ति अगाडि सऱ्यो र उसले पनि काजी बा’बाट केही वर्षअघि ६० हजार कर्जा लगेको बताउँदै खल्तीबाट चेकबुक झिक्यो । खर्र… ६० हजारको चेक लेखेर चितामा राखिदियो र, अघि दुइजनाले राखेको ३० हजार नगद टिपेर हिँड्यो । यो तेस्रो व्यक्ति मथिलाञ्चलतिरको अनमोल चौधरी नाम गरेको कोही व्यापारी थियो ।
अघिदेखि रमिते बनेर यो नगदी काण्ड हेरिरहेका सबैजना तीनछक परे । अस्ताइसकेर पनि जरासन्धको मृत्युका लागि क्षणिक उदाएको रवि, सूर्यबहादुर काकाको पाखुरे बसेको फेदाङ्बा जेठो, बेलाबखत वनदेवीको मन्त्र फलाक्ने भैरुङ शिकारी त अल्मलिएकै थिए । यी सबैभन्दा धेरै सू.बा. काका विलखबन्द परेका थिए । उनीहरु सबैले तीनत्रिलोक चौध भुवन देखिरहेका थिए । नभएको प्राप्त गर्न र भएजति सप्पै गुमाउन कतिबेर पनि नलाग्ने यो स्थितिले काजी बाजे, सू.बा. काकालगायतलाई के सिकायो होला ? उनीहरु सबैलाई विवेकपूर्ण निर्णय नगर्दाको नतिजाबारे आँकलन गर्न सिकायो कि सिकाएन, हेर्नलाई केही दिन पर्खनुपर्ने भएको छ ।