‘चरित्रहरूको खोजीमा अल्मलिँदा’ : कथासंग्रह एक संक्षिप्त पठन

असम बडसोलाका एक जागरूक व्यक्तित्व, जातीय संगठनका एक अग्रणी, सामाजिक सचेत पुरूषका रूपमा श्री रूद्र बराललाई लिन सकिन्छ। उनी साहित्य क्षेत्रमा पनि बेला बेलामा छाइरहन्छन्। उनी बडसोलामा सन् १९६ जन्मिएका हुन् भने हालमा उनी त्यहीँ शिक्षण कार्यमा संलग्न छन्। उनले समाजमा नेतृत्व दिएर आर्थिक, राजनैतिक, साहित्यिक, शैक्षणिक जागरणमा सदैव लागिपरेका छन्। उनी आफ्नो समाजको उन्नतिको मार्गमा लगाउनका निम्ति तन-मन-धनले लागिपरेका व्यक्ति हुन्। सदैव जातीय समस्याका सवालमा सांगठनिक र वैयक्तिक रूपमा सक्रिय छन्। हाल उनी नवगठित असम नेपाली साहित्य सभाका सचिव हुन्। कथा लेखनका अतिरिक्त उनी एक सफल अनुवादक पनि हुन्। उनका ‘शहीद-ए-भगत सिंह’ (हिन्दीबाट असमियमा अनुवाद), ‘विप्लवी आन्दोलन मतादर्शगत उत्तरण’ (अङ्गेजीबाट असमियामा अनुवाद) र प्रस्तुत कथासंग्रह ‘चरित्रहरूका खोजीमा अल्मलिँदा’ पुस्तकाकार रूपमा रहेका छन् भने उनले ‘सम्प्रीति’ नामक बहुभाषिक कविता संकलनको सम्पादन पनि गरेका छन्।

बडसोलाका सचेत व्यक्तिहरूको सामूहिक प्रयासमा सञ्चालित मासिक साहित्यिक गोष्ठी कार्यक्रम चर्चाका उनी संयोजक हुन्। यसै मासिक भेला कार्यक्रममा उनले पठन गरिएका कथाहरूको संगालो हो ‘चरित्रहरूको खोजीमा अल्मलिँदा’। कटुवाल प्रकाशन, हाबिगाउँ, उदालगुडीबाट प्रकाशित प्रस्तुत कथासंग्रहमा जम्मा बाह्रवटा कथाहरू संकलित छ। यस संग्रहको मूल विषय क्षेत्र सामाजिक यथार्थवाद हो। विषयवस्तु चयनमा बराल सचेत देखिन्छन्। वर्तमान युगमा वेरोजगारी समस्याको विकरालको स्थिति, यसका समाधानका निम्ति युवा युवतीहरू घरपरिवार छाडेर शहरतिर गई काम गर्नुपर्ने स्थिति, अनावश्यक तर आवश्यक ठानिएका विभिन्न अत्याधुनिक वस्तुको जोगाडको निम्ति नैतिक-अनैतिक कृत्यहरू, नारीसुलभ ईर्ष्याबाट उब्जेको मानसिक समस्या, दाइजो प्रथाको दुष्परिणाम आदि कुरा कथ्यका रूपमा पाइन्छन्। कथाका जम्मै विषय यसै समयका विभिन्न समस्याबाट उब्जिएका छन्।

वास्तवमा आजको मानिस बडो अपठ्यारो स्थितिमा बाँचेको छ। मान्छेले आफुलाई बचाउनु अनेक उपाय अवलम्बन गर्नुपर्छ। त्यस्ता उपायहरू नैतिक-अनैतिक जे पनि हुनसक्छन्। समाजमा भ्रष्टाचार, व्यभिचार, दुराचार अब सामान्य बनेको छ। मुलुकमा अर्थ व्यवस्था चर्मराएको छ। उपभोक्तावादी संस्कृतिले जोड पक्रेको छ। अनेक उपभोग्य वस्तुहरू समाजमा दिनानुदिन छाइरहेका छन्। भौतिक वस्तुले आकाश ढाकेको जमाना छ। हाम्रा कथाकार बरालले पनि यिनै समस्याहरूलाई मध्यनजरमा राखी कथाको विषयवस्तु उनेका छन्। अतः उनी युग सचेत कथाकार बनेका छन्। उनका कथामा संरचनात्मक र शिल्प शैलीगत चमत्कार र विशेषता नपिए तापनि विषयवस्तु चयनमा उनी निपुण देखिन्छन्। कताको कथ्य पक्ष सबल छ भने भने शिल्प पक्ष भने कमजोर छ। उनका कथामा आसामको माटाको गन्ध छ। त्यहाँका आम मानिसहरूका साझा समस्यालाई कथाको कथ्य वस्तु बनाएका छन्। त्यहाँका गोर्खाली जनसमुदायका साथै सबै वासिन्दाले भोग्नु परेको कथा-व्यथा, आम समस्या, जीवन संघर्ष, दैनन्दिनका सामान्य कुरालाई कथाका रूप दिएका छन्। जीवनका कतिपय घटनादिलाई कथा बनाएका छन्। जीवनका सङ्घर्षका गाथालाई पनि स्वर दिएका छन्।

यसमा आमा पुरस्कारको आशामा एउटा कथा, पोकलीदेकि परिस्मितिसम्म, अभिनन्दन पत्र, अपरिभाषित जीवन, डाहा, अर्को एक हेनरी, मूल्याङ्कन, एक यात्रा सपनावारि सपनापारि, आँ थैया दा, पु..प्पु.. पुरी, बजार. गरी जम्मा बाह्रवटा कथाहू सङ्गृहीत छ्न्।

वर्तमान युगमा हाम्रो देश र समाजले भोग्नु परेको शिक्षित बेरोजगारी समस्यालाई पनि कथामा महत्ता दिएका छन्। घरका तमाम समस्यालाई समाधान गर्न हाम्रो युवाहरू विदेश र देशकै विभिन्न प्रान्तमा गई काम गर्नुपर्छ। यसो गर्दा आफ्ना गाउँघरका कतिपय सुख सुविधादेखि वञ्चित हुनपर्छ। यही तथ्यलाई केन्द्र गरेर एउटा कथा बुनिएको छ। उनका कथाहरूमा असमका स्थानीय समस्यादेखि लिएर विश्वजनीन समस्यालाई आफ्नो विषयवस्तु बनाएका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *