बसको यात्रामा पाइने सन्देश !
|
केही समय पहिलेको कुरा हो- काम बिशेषले वीरगन्ज जानुपरेकाले बिहान करीब ७:३० बजे गंगबु बसपार्कबाट बस चढें । साथीभाइसँग यात्रा गर्दा त एक अर्काको गफमा बाटो कटेको पत्तै हुँदैन तर एक्लै यात्रा गर्दा भने पट्यारलाग्दै हुन्छ । झ्यालबाट बाहिर देखिने अनेक दृश्यहरु नौला थिएनन् । त्यसैले समय कटाउने अनेक उपाय सोच्दै थिएँ कि थानकोट पुग्ने बेलामा एउटा ट्रक पछाडिको सन्देशमा आँखा ठोक्कियो ।
“दुल्हन सजी है बाराती कोइ नही
सफर है लम्बा साथी कोइ नही ।”
ठ्याक्कै मेरै अवस्था चित्रित भएको महसूस् गरें । हुन त मानिस जन्मिन्छ पनि एक्लै र परलोक पनि हुन्छ एक्लै । यी दुई बिन्दुबिच साथी सम्बन्ध र नातागोता चाहिने सायद बाँच्नलाई होला ! मानिस एक्लै पनि त बाँचेकै छन् । गौतम बुद्धलाई ज्ञान आर्जन गर्न कोही चाहिएन । शिखर चढ्नेहरू पनि एक्ला एक्लै सगरमाथा चढिरहेकै छन् । भिडभाड र हल्ला-खल्लाले वाक्क भएर होला मानिस एकान्त नै रोज्छ ।
होहल्ला र एक आर्काको गफमा मस्त भईरहेका बसका अन्य यात्रहरुले घेरियता पनि एक्लोपनको महत्वको खोजिमा हराईरहेको म बसको अचानकको कर्कश हर्नले झस्कन पुग्छु । अगाडिको गाडीको आवाज दिनुस् भन्ने सन्देशको तालमा ताल मिलाएका होलान गुरुजीले ।
बसका मालिक हुन् वा तिनका कर्मचारी/कन्डक्टर,उनी नयाँ यात्रुहरूसँग भाडा लिन व्यस्त छन् । यात्रीहरूसँग उनको भाडाको विषयमा तलमाथि भैइरहेको छ । आफ्नो गन्तब्यमा पुर्याईदिए बापतको मोल त तिर्नै पर्छ । सायद कन्डक्टर पनि आफ्नै लयले एउटा गाडीकोमा लेखिएको अर्को सन्देशमा झैं अनुरोध गर्दैछन्-
“फूल हो गुलाबको बास्ना लिने गर
गाडी हो साहूको भाडा दिने गर ।”
भाडाको बिषयलाई लिएर एक यात्रुसँग झडप हुन्छ उनको । गाडिको परिचारक अर्थात् खलासी भन्छौं हामी, ऊ पनि पाखुरा बटार्दै अगाडी सर्छ । पल्टने गालीको बर्षा शुरु हुन्छ ।
एक समझदार बृध्दको बाणिले यो व्दन्दको वातावरण शान्त हुन्छ । म यी दृश्यहरु मूकदर्शक भएर हेर्छु । अर्को सन्देशबाहक गाडी हामीलाई उछिन्दै अगाडि बढ्छ । म त्यसतर्फ कन्डक्टरको ध्यानआकर्षित गर्छु | सन्देशमा लेखिएको थियो-
“तमिज से बोलो इज्जत मुफ्त में मिलेगी ।”
ऊ सहमती जनाउँछ तर उस्को मर्म बुझ्न अनुरोध गर्छ । यात्रामा थरिथरिका मान्छे भेट भएपनि भाडाको लागि सधैं कचकचले दिनहरु एकनासे हुनलागे । यी घम्साघम्सी उस्का लागि नौला होइनन् । के गर्ने र ? सबैभन्दा ठिक्कको लागि बचावट भन्ने सिद्नान्त अनुरूप ऊ चलेको देखिन्छ । एवम् रीतले बाटो काटिंदै जान्छ । कति सन्देश पढ्नै नपाई गाडी घुइकिन्छन्। मलाई दुःख लाग्छ, सन्देश पढ्न नपाई छुटेकोमा ।
बसको यात्राहरूमा मेरा आँखा यस्ता सन्देशका लागि सदैब छटपटी रहन्छन् ।
“आजबाट तिमीले पिउन सिकाइ दियौ
मनभित्रको कलिलो घाउमा काँढा बिझाइ दियौ।”
यो सन्देशबाहक मोटरलाई उछिन्न हाम्रा चालक उचित मौकाको खोजिमा छन् । सन्देशपढेपछि म कल्पनामा डुब्न पुग्छु । सन्देशकर्ताको भावना र पिडाबारे गहराइमा डुबुल्की मार्ने जमर्को गर्छु । प्रेमिकासँगको बिछोडको बेदनाको उपज हुनुपर्छ यो सन्देश । सबै चाहेका ईच्छा,आकाँक्षा र सपनाहरु कहाँ पुरा हुन्छन् र ? मायालुले मुटुमा काँडा बिझाउँदैमा अमुल्य जीवनलाई मदिराको साहरामा डुबाउनु कत्तिको हिम्मतिलो काम हो त ? म यस्ता सोमरस पान गर्न अनेक बाहना खोज्ने बार्हमासेहरूको तारिफ नै त गर्न सक्दिन तर ती निष्ठुरी मायालुलाई भने एक पटक सोच्न आग्रह गर्छु । अचानक ब्रेक लगाउँदा आएको टायरको काहलीलाग्दो आवाज र बसको गती रोकिंदाको झड्काले म सम्हालिन खोज्दै वास्तविकतामा फर्कन्छु । सडकको बिचमा नै केही अगाडि बिग्रीएर रहेको ट्रकले गर्दा चालकले यो उपाय लगाउनु परेको रहेछ । त्यहाँ पनि कुनै सन्देश पो छ कि भनेर म नियाल्छु ।
“मानिसको जिन्दगी बिस्कुट र केकमा
ड्राइबरको जिन्दगी ह्यन्डिल र ब्रेकमा ।”
बाँच्नलाई खाना नभए भोकलाई मार्न नसकेजस्तै गाडीमा ब्रेक नभएकोभए जिन्दगी सम्हाल्न सकिंदैनथ्यो होला | मलाई यस्तै भान भईरहेथ्यो भने हाम्रा चालक महोदय भने पसिना पुछ्दै बिश्वकर्मा बाबाको प्रतिमुर्तिलाई ढोग्दै थिए । शायद भगवानले उनको र अन्य यात्रीको कुशलतासहित जीवन बिक्सस् अर्थात् उपहार दिएवापतको धन्यवाद होला । केही बेरपछि गाडी गन्तव्य तर्फ अगाडि बढ्यो ।
हामी यस्तै अकस्मातका घटना एक आपसमा साटासाट गर्न थाल्यौं । बाटो काटिंदै थियो, हामी एक अर्काका पारीवारिक र भावना सम्बन्धी कुरा गरिरहेक थियौं । ड्राइभर महोदय एक गाडीको सन्देश झैं आफ्नो कुरा भन्न हिच्किचाई रहेका थिए ।
“नसोध मेरो ठेगाना झुप्रैझुप्राले भरिएको छ
नसोध मेरो बेदना चोटै चोटले भरिएको छ।”
बाटो एबंरितले काटिंदै जाँदा हेटौंडा पुगेको पत्तै भएनछ । चालक महोदयले उनीसँगै चिया पिउन गरेको अनुरोधलाई नकार्न सकिएन । पसलमा चिया पिउन बस्दा अचानक मेरो नजर अर्को एक सन्देशमा पर्छ ।
“पैसा गया पसिना गया और गया व्यापार
दर्शन दुर्लभ हो गया जबसे दिया उधार ।”
उक्त सन्देशले व्यापारी वर्गको बास्तबिक मर्मलाई छिचोल्छ । बेइमान मानिसहरुले उधारो खाएर पैसा नतिरी गायब हुँदा उस्को मेहनत र पसिनाले सजाएको व्यापार चौपट बन्छ । साहुजीले म सन्देशमा घोत्लिएको देखेर उनले कुनै गाडीको पछाडिबाट आफ्नो वास्तविकता झल्कने देखेर टिपेको जानकारी दिए । चिया पिईसकेपछि केही यात्री थप्दै बस पुनः राजमार्ग मा दौडिन थाल्यो ।
हेटौंडा बसपार्कबाट गुडेको बस चुरिया माई मन्दिर पुग्दा नपुग्दै एक चितवनबासी सहयात्रीले परिचय गरे । साधारण परिचयपछि उनी आफ्ना सोध र कार्यकौशलबारे बखान गर्न लागे । उनका कुरा सुन्दा लाग्थ्यो कि उनीभन्दा बुझक्की यस देशमा अरु कोही नै छैन । आफूमात्र सही र अरु सब गलत भएको निचोड थियो उनको । सारा विकृति र विसंगतिको दोष आजका नेतालाई दिन चुकेनन् उनी । उनको आषय हामीलाई उछिनेर गएको ट्रकको पछाडि लेखिएको सन्देशजस्तो थियो ।
“बाप परेशान बेटा से
देश परेशान नेता से ।”
ती महाशयको बोलिचाली र ठाँट-रवाफ देखेर लाग्दथ्यो कि उनीभन्दा ठूला नेता त यो दुनियाँमा नै कोही छँदैछैनन् । तैपनि बाटो कट्दै गएकोमा म खुशी नै थिएँ । साँझको साँढे पाँच बज्दो हो, बसले वीरगंज ओर्हाल्दियो । म रिक्सा चढेर आफ्नो होटेलतर्फ जाँदै थिएँ कि रक्सौल नाकातिरबाट एउटा मालबाहक ट्रक अगाडि आयो । त्यस ट्रकको पछाडिको सन्देश हेर्न म पुर्लुक्क फर्कें । मलाई त बानी पेरिसकेछ, कुनै पनि गाडी देख्दा त्यस्मा लेखिएको सन्देश पढ्ने । म दंग थिएँ बाटो कटाउने एउटा उत्तम र आफ्नै शैलीको उपाय भेटिएकोमा ।
यो संस्मरण आजभन्दा निक्कै पहिले हात-हातमा मोबाईल/स्मार्ट फोनहरू हुनुभन्दा पहिलेको समयको सन्दर्भको हो | मोबाइल फोनहरूको स्क्रिनमा घोसेमुन्टो लागाएर अबका यात्राहरूमा यस्ता अनुभुती गर्न कहाँ पाउनु र !
तपाईको आफ्नै आबाजमा बाचन सुन्ने अवसर प्राप्त भएको थियो Nepalipost ko space ma आजपढ्न पनि पाईयो , बिरोजी जी , Girish, Purushottam daju lie dhanyabad publish garna inspire garnu vako thiyo !!!
“दुल्हन सजी है बाराती कोइ नही
सफर है लम्बा साथी कोइ नही ।”
ko ho Chitwan ko manche,
Balu ko sasurali najikai ho Bhai raja???