म के के लेखुँ ?

कविहरू कविता लेख्छन्

म भने पढ्छु मात्र

म खोजी खोजी पढ्छु

अनि घरीघरी पढ्छु ।

 

कविहरूले सबै सबै लेखे,

रित्त्याएर लेखे

रित्तिएर लेखे

देखेर लेखे

लेखेर देखे

लडेर लेखे

लेखेर लडे

तर सधैँ सधैँ लेखिरहे,

किनकी उनीहरू कवि थिए ।

 

मलाई पनि कवि बन्ने रहर छ

तर लाग्छ,

लेख्नु पर्ने सबै उनीहरूले नै लेखिसके

म अलिखित विषयहरू कहाँ खोजुँ ?

म अकथित आशयहरू कहाँ भेटुँ ?

 

सबै सबै  लेखे कविहरूले,

महल  देखि मसानसम्म लेखे

धरतीदेखि आकाशसम्म लेखे

लेख्दा लेख्दै,

ग्रह, तारा अनि अन्तरिक्ष लेखे

के बाँकि रह्यो र?

कविहरूले सिङ्गै ब्रह्माण्ड नै लेखे

अनवरत लेखिरहे लेखिरहे

किनकी उनीहरू कवि थिए

मलाई पनि कवि बन्ने रहर छ

भनिदेउ न म के लेखुँ ?

ईश्वरले वरदान दिए भने,

म कवि भएँ भने,

मैले लेख्नै पर्ने छ

कसैले नलेखेका कुरा

म कविता लेख्नेछु,

युद्ध जित्नेले हारेको

हार्नेले जितेको

राजा रैती

रैती  राजा बनेको

अटल पहाड झुकेको

नदी उल्टो बहेको

सबै सबै लेख्ने छु।

 

म कवि भएँ भने

दुखेका घाउ हैन,

म लुकेका घाउहरू लेखिदिन्छु

सिन्दूर  पखालिएर  हैन,

सिउँदो सजिएका विधवाहरू लेखिदिन्छु

आगोले जलाएका हैनन्,

म बरफले डढेकाहरूको कथा लेखिदिन्छु

आँखाबाट आँसु झारेर हैन,

म हाँसी हाँसी रुनेहरू लेखिदिन्छु

म मरेर मरेका हैन

बाँचेर मर्नेहरूको कथा लेखिदिन्छु ।

 

तर भनिदेऊ न,

म कवि कसरी बनुँ  ?

म कवि कहिले बनुँ  ?

मलाई साँच्चै कवि हुने रहर छ

लौन भनिदेऊ न,

कवितामा म के के लेखुँ ?

4 Comments

Leave a Reply to नवीन पौड्याल Cancel reply

Your email address will not be published. Required fields are marked *