मुसहर र माटो

कवि शिला योगी, (फोटो:बाबुराम खरेल)
बर्षौंदेखि पुर्खौंदेखि
माटो र रगतको प्रेम
पसिना र माटोको प्रेम
जन्मिएको छ एउटा जीवन
त्यही प्रेमबाट 
मुसहर,
हो त्यही माटाको प्रेमबाट जन्मिएको
म मुसहर ।

माटो मेरो जीवन
माटो मेरो खुसी
माटो मेरो सपना
मेरो संस्कार बन्यो यही माटो खनेर
मेरो परिचय बन्यो यही माटो बोकेर
म फरक भएँ माटो नखन्नेहरू भन्दा
मुसहर नाम पाएँ
यही माटो खनेर ।

कोदालो र माटोसँग
मेरो सारा समय बित्ने गर्छ
अर्जापिने गर्छन् माटोमा मेरा ज्यावलहरु
तिखारिने गर्छन् मेरा बर्कतहरु
जति माटो खन्यो उति तिखारिन्छन् मेरा साहसहरु
जति माटो बोक्छु
त्यति म मुसहरको पहिचान बनाउँछु
जति माटो खन्न पाउँछु
त्यति म शक्तिशाली बन्छु |

हरेक दिनको खोजी
केही भेटिन्छ कि माटोमा
जन्मिन्छ संधै भोलिको नयाँ जीवन
माटो खन्दाखन्दै
हरेक दिन माटो खन्दा
मेरो नयाँ जीवनको परिकल्पना पनि कोरिने गर्छ
पसिना सुकेझैं आङमा
मेरा कल्पनाहरु पनि
सुकेरै बिलाउने गर्छन् माटोमा
मेरो कल्पनालाई माटोले चिनेको छ
माटोभित्र मेरो जीवनको सुरुवात
अनि माटोभित्र नै उज्यालो जीवनको संर्घष
माटोकै टिका लगाएर
मुसहर भएँ म ।

हातमा कोदालो अनि
फरुवा समातेर
अन्नप्रासन गरें मैले
मेरा हातहरु खन्न र हिड्न तैनात छन्
कतिबेला मेरो माटो खोसिने हो
मनभित्र त्रासहरु पनि छन्
थाहा छैन्, 
कतिबेला मेरो माटो हराउने हो।

मेरो साँझ बि
हानको छाक हो
रात परेपछिको मेरो बास हो
यसको अन्त मेरो जीवनकै अन्त हो
हरेक दिन जीवनका आशाहरु
मैले खन्ने ज्यावलहरुसँग खेल्ने गर्छन् ।

भुइँको अनुभवी मुसहर म
मेरो ओत लाग्नेहो भुइँ
भुइँमान्छे हो माटोमा जन्मिने
माटोमै बाँच्ने मान्छे हो,
अनुभवी छु
वर्षातले रुझेपनि
जति हुरी बतास आए पनि
बस लडिरहन्छु जुधिरहन्छु प्रकृतिसँग ।

तर म अहिले माटो विना भएको छु
माटो खोसिएको छ
बफरजोन र सिकारीको नाममा
मेरो माटो जालमा परेको छ
म अहिले बफरजोनमा बसेको छु
अर्ना , हात्ति र बाघहरुसँग लड्दैछु
एउटा भयरहित जीवनका लागि
संर्घष गर्दैछु आफ्नै
स्वाभिमानका लागि ।

Add a Comment

Your email address will not be published. Required fields are marked *