[लघुकथा] सम्झना
|हरि र बसन्ती दम्पतीले छोरीलाई पढ्न भनी सहर पठाए । पढ्न गएकी छोरी भने सहरमा नै पोइला खोजेर बसी । छोरीलाई धेरै पढाउने उनीहरूको इच्छा थियो । अहिले न त छोरी नै घरमा छे न त छोरा नै रह्यो । छोरा कारगील युद्धमा सहिद भयो, त्यसमा उनीहरूलाई दु:खसँगसँगै गर्व पनि छ । तर त्यो गर्व कहिलेकाहीँ गानोजस्तो भएर दुखाइदिइरहन्छ ।
डोको बोकेर दुई जना घाँस काट्न ओरालो जङ्गलतिर लाग्छन् । अलिक तल पुगेपछि पानीको धाराछेउमा एउटा चप्लेटी ढुङ्गा भेटिन्थ्यो । तर त्यो दिन बसन्तीले केही सानातिना ढुङ्गाहरूबाहेक त्यो ढुङ्गा नदेखेपछि हरिलाई सोध्छे, “बिमलको पापा ! यहाँको ढुङ्गा कसले फुटायो हँ ?”
हरि चुप लागेर धाराको पानी अलाइँचीको पातमा थापेर पिइरहन्छ । उसले उत्तर दिनै चाहँदैन । त्यो ढुङ्गा अस्ति उसले नै फुटाएको हो । त्यो ढुङ्गा देख्दैपछि उसलाई बिमलको याद आइहाल्थ्यो र रुन मन लाग्थ्यो । बिमल पल्टन लाग्नभन्दा केही दिनअघिको कुरो हो—बिमलले त्यो ढुङ्गा त्यहाँबाट हटाउन खोज्दा त्यसको हात चेपेर रगतै भएको थियो । त्यो चोट दुखेर आँसुसरि भएको थियो । त्यतिबेला उसले बिमललाई गिज्याउँदै भनेको थियो, “आची ! छोरा भएर पनि त्यति अलिकति ढुङ्गाले चेप्दा पनि रोएको !” बिमल रिसले चुप लागिरह्यो । घाउमा बनमारा लगाइदिन्छु भन्दा पनि त्यो पटक्क मानेन । त्यो सब बसन्तीलाई उसले सुनाउन हुँदैन, सुने भने रुन थालिहाल्छे । बसन्ती रोएपछि उसको नौनसो गलेर आउँछ ।
पानी खाइसकेपछि उनीहरू फेरि अलिक तल झरे । त्यहाँ दुवै चुप लागेर केही समय घाँस काटिरहन्छन् । त्यहाँ त्यसरी घाँस काट्दैपछि बसन्तीलाई उसकै छेउमा बिमलले पनि घाँस काटिरहेको जस्तो लागिरहन्छ र घरीघरी बिमलको सम्झनाले छयाप्प छोपिहाल्छ—त्यसले घाँस एकछिनमा नै काट्थ्यो, उसलाई काट्नै दिँदैन थियो अनि अनेक कुरा गरेर उसलाई हँसाइरहन्थ्यो । आँखाबाट आँसु झार्दै ऊ घाँस काटिरहन्छे । उता हरि पनि आँखाभरि आँसु लिएर पारि मन्दिरतिर हेर्दै घाँस काटिरहन्छ । एकछिनपछि उसले स्वर अलिक बनाएर बसन्तीलाई सोधिपठाउँछ, “ए बिमलकी आमा ! सबैले ईश्वर छ भन्छन् । त्यो पारिपट्टि मन्दिरमा ईश्वर छ होला !”
सिक्कल छेउमा फ्याकेर भुइँमा थ्याच्च बसी बसन्ती घोप्टिएर सुकसुकाउन थाल्छे । हरिलाई आफूले नसोध्नुपर्ने कुरा सोधेकोमा पछुतो हुन्छ ।
घाँसका भारी लगाएर उनीहरू अलिक माथि आएर एउटा बाङ्गीको रुखमुनि भारी बिसाउँछन् । हरिले मैला गन्जी फुकालेर पसिना पुछ्न थाल्छ । उसको ढाडपट्टि लागेको चोटको दाग देखेर बसन्तीको मन कुँडिन्छ । हरि एकपल्ट रुख चड्दा हाँगा भाँचिएर रुखबाट लडेको थियो र त्यो चोट लागेको थियो । त्यतिबेला बिमल कति छट्पटिएको थियो, सास नफेरी हरिलाई एकैछिनमा चियाबारीको दबाइखाना पुराएको थियो । त्यो चोट देखेर त्यो कति बेरसम्म रोएको थियो । त्यहाँदेखि त्यसले हरिलाई रुख चड्न दिँदैन थियो ।
एकछिनपछि त्यो सुरिलो बाङ्गीको रुखलाई निहारेर हरि बोली पठाउँछ, “हेर त बसन्ती ! यो रुखमा बिमल सरर चढ्थ्यो । अब त म बूढो भएछु । यसमा म चढ्न सक्दिनँ ।”
अमिलो अनुहार बनाएर बसन्तीले एकपल्ट त्यस रूखलाई फेददेखि टुप्पासम्म हेरी । फेरि हरिले अर्को चिलाउनेको रूखमा बसिरहेको दुइटा कागलाई देखाउँदै भन्छ, “अर्को जन्ममा त हामीले चराको जुनि नै पाओस् हो !”
केही समयसम्म दुई चुपचाप पिलपिल आँसु झारिरहन्छन् । घाँसको भारी उठाएर दम्पती बिस्तारो उकालो लाग्छ । हरिले मनमनमा सङ्कल्प गरिरहन्छ—भोलिदेखि यता घाँस काट्न आउँदिनँ, यता त मात्रै बिमलको सम्झना आइरहन्छ । यस्तो पाराले हो भने बिमलको आमा मर्छे । रातदिन रोईमात्र रहन्छे ।
गोठ आइपुग्ने बेलासम्म हरिको मन एउटा जिज्ञासाले खाइरहन्छ—त्यो उष्णताले के गर्दै होली, त्यसले के सोच्दी होली ! बिमलको समाधिमा त्यो कति बेरसम्म रोएकी थिई ।
घर आइपुगेर बिमलको आमाले अगेनामा चिया तताउन थाल्छे । हरि भने उष्णतालाई बुहारीका रूपमा हेर्न नपाएको धोको आफैँलाई छल्न खोजिरहन्छ ।
त्यो राति हरिलाई निद्रा पटक्कै लाग्दैन । मन उकुसमुकुक भएर आउँछ, र बसन्तीलाई निद्राबाट उठाएर भन्छ, “कति मेट्न खोज्छु तर मेटिँदैन-मेटिँदैन । बसन्ती ! म के गरुँ ? त्यसपछि दुवै जना बिहानीपखसम्म सुँक्कसुँक्क गर्दै रोइरहन्छन् ।