क्षितिज मा म
|

क्षितिजमा कोरिएका धर्साहरु
आकाशमा तानिएका सीमाहरु
कल्पनामा खोजेका भाग्यका रेखाहरू
उडेको चराको पखेटाका पाईलाहरू
पृथ्वीमा गाडेको किल्लाहरु
प्रारव्धमा कोरेको रेखाङ्कन
ईश्वरीय वरदान पाएको कर्म
म पछ्याई रहेछु |
हरपल मेरै मनका रेखाङ्कन
मनमा सशङ्कित कालो रेखा
हृदयमा अङ्कित सेतो रेखा
अध्याँरो उज्यालोमा मिस्सिएर
म ध्यानमा मग्न भएर
हराएको किरिङ्-मिरिङ् घेराहरू
म पछ्याई रहन्छु
कर्मको गोरेटो बनाउँदै ।
म मै म कल्पिंदै
खोजिरहेको बेला
म भित्र म हराउँदा
हृदयको क्षितिज शून्यमा
म पछ्याई रहन्छु
मलाई एकटकले
चिहाईरहँदा
अन्तत:
ब्राह्मी सेतो रेखाङ्कनमा
ममै म हराएछु
म मै म विलाएछु !
