(पुस्तक समीक्षा) भोटमा नेपालीः पहिचान र पराक्रमको परिक्रमा

नेपाल–भोट(तिब्बत) सम्बन्ध ज्यादै प्राचीन छ । समान सामाजिक र आर्थिक परिवेशका कारण पनि सीमा जोडिएका यी दुई मुलुक बीच सम्बन्ध जोडिन पुगेको हो । यी दुई बीचमा राजनैतिक सम्बन्ध स्थापनापूर्व नै जनस्तरमा विविध प्रकारले सम्पर्क कायम भएको अनुमान गरिन्छ । विक्रमको सातौँ शताब्दीदेखि हिमालपारिका यी देश बीच आपसी सम्बन्ध रहेको ऐतिहासिक प्रमाणहरू उपलब्ध छन् । नेपालसँग सीमा जोडिएको हिन्दुस्थानका विषयमा विभिन्न विद्वान् तथा इतिहासकारहरूको यथोचित ध्यान पुगेको छ तर भोटका विषयमा अपेक्षित अध्ययन–अनुसन्धान तथा प्रकाशन भएको पाइँदैन । अतः यस अभावलाई आंशिक रूपमा भए पनि पूरा गर्न सहयोगीसिद्ध भएको छ, प्राडा तीर्थप्रसाद मिश्रको हालसालै प्रकाशित भोटमा नेपाली ः पहिचान र पराक्रम पुस्तक ।

खासगरी यस पुस्तकमा सातौँ शताब्दीदेखि वर्तमानसम्म भोटमा रहेका नेपालीहरूको व्यवसाय र संस्कृतिका बारेमा विशद चर्चा गरिएको छ । साथै भोटमा नेपाल सरकारको उपस्थिति र प्रभावका विभिन्न पक्षको प्रमाणिक इतिहास यस पुस्तकमा पढ्न पाइन्छ । भोटमा बसोबास गरेका नेपालीको आर्थिक, सामाजिक तथा धार्मिक अवस्थाको विभिन्न आयममा विवेचना गर्ने प्रयास यस पुस्तकमा लेखकले गर्नुभएको छ । लेखकले यस पुस्तकमा जनताको इतिहास लेख्ने विधाको आरम्भ गर्नुभएको छ । नेपाली शासक तथा भाइभारदारका विजय–पराजय र सङ्घर्ष–सम्झौता प्रस्तुत भएको यस पुस्तकमा इतिहास लेखनको नवीन परम्परा प्रयोग गरिएको अनुमान गर्न सकिन्छ

प्रस्तुत भोटमा नेपाली ः पहिचान र पराक्रम पुस्तक ६ अध्यायमा विभाजित छ । पुस्तकमा अनुसूचीसहित २२५ पृष्ठ छन् । लेखकपत्नी श्रीमती पुष्पा मिश्र स्वयम् पुस्तककी प्रकाशिका हुनुहुन्छ । नेपाल–भोट–चीन सम्बन्धको इतिहासमा सर्वप्रथम कलम चलाउने श्रेय चित्तरञ्जन नेपालीलाई जान्छ । उनले विसं २०१४ सालमा प्रगति पत्रिकामा नेपाल र तिब्बतको सम्बन्ध नामक लेख प्रकाशित गरेका थिए । यसपछि क्रमशः सिल्वा लेभी तथा लियो ई रोजको नेपाल स्टाटेजी फर सरभाइबल्स, प्रेमरमण उप्रेतीको नेपाल टिबेट रिलेसन्स र प्राडा त्रिरत्न मानन्धरको नेपाल भोट विवाद आदि पुस्तक प्रकाशित छन् । यी विद्वान्ले दुवै मुलुकको सम्बन्धको इतिहासमा अमूल्य योगदान गरेका छन् । यसैगरी प्राडा तीर्थप्रसाद मिश्रद्वारा द टेमिङ अफ टिबेट, नेपाल भोट सम्बन्धमा ग्याल्पुकाण्ड, अंग्रेज भोट विवादमा नेपालको भूमिका, नेपाल्स क्विनिक्विनियल्स मिसन टु चाइना जस्ता पुस्तकको प्रकाशनले यस विधालाई अगाडि बढाउन लेखकलाई निकै सहज भएको देखिन्छ । यही आधारमा भोटमा नेपाल र नेपालीको समग्र पक्षको अनुसन्धान गरी प्रस्तुत पुस्तक प्रकाशनमा आएको देखिन्छ । यो पुस्तक तयार पार्ने क्रममा लेखकले प्राथमिक स्रोतको पनि उपयोग गर्नुभएको छ । पुस्तकले यो स्वरूप ग्रहण गर्ने क्रममा परराष्ट्र मन्त्रालय तथा नेपाली सेनाको अभिलेखालयका साथै भारतको नयाँदिल्लीमा रहेको अभिलेखालयका सामग्रीहरूसमेत समावेश भएका छन् । यसका अतिरिक्त नेपालकै विविध स्रोतबाट प्राप्त अन्य सामग्री समेत यसमा समावेश गरिएको छ । साथै पूर्वप्रकाशित पुस्तक तथा लेखकका आफ्ना लेखलाई समेत सामग्रीका रूपमा ग्रहण गरी यो पुस्तक पाठकसमक्ष पस्कनुभएको छ । सामग्रीको सन्र्दभसमेत उल्लेख गरिएकाले पुस्तक जिज्ञासु पाठक एवम् अनुसन्धानकर्ताका लागि यो एक महत्त्वपूर्ण खुराक बन्न पुगेको छ ।

भोटमा नेपाली ः पहिचान पराक्रम पुस्तकको पहिलो अध्यायमा नेपाल–भोट सम्बन्धको ऐतिहासिक पृष्ठभूमिको चर्चा गरिएको छ । यसमा उदयदेवको भोटमा शरण, लिच्छविकालीन नेपाल–भोट व्यापारको चर्चा, प्रताप मल्लले भोटसँग गरेको सन्धिबाट प्राप्त उपलब्धि, खोटा टकको समस्या, सन् १७८८ र १७९१ मा नेपाल–भोट बीच भएका युद्ध तथा नेपालसँग भोटले थापाथलीमा गरेको महत्त्वपूर्ण सन्धिको चर्चा गरिएको छ । साथै थापाथलीको सन्धिद्वारा नेपालले प्राप्त गरेको एकतर्फी सुविधा तथा अधिकारको उपभोगका लागि नेपालले भगीरथ प्रयत्न गर्नुपरेको चर्चा छ । यसबाहेक नेपाल–भोटसम्बन्धी आन्तरिक शृङ्खलाका अनेकौँ चर्चालाई विद्वान् लेखकले सूक्ष्म रूपले अध्ययन गरी पाठकसमक्ष प्रस्तुत गर्नुभएको छ । यसै अध्यायमा लेखकले सन् १९०३–०४ मा भएको अंग्रेज–भोट विवाद सुल्झाउन गरेको मध्यस्थताका साथै त्यस समयमा नेपाली वकिलले देखाएको कौशल र कूटनीतिको प्रसङ्गलाई विश्लेषणात्मक ढङ्गले उल्लेख गरिएको छ ।

लेखकले नेपाली वकिलको भूमिका जस्ता विषयमा पनि वस्तुनिष्ठ मूल्याङ्कन गर्ने प्रयास गर्नुभएको छ । सन् १९११ मा चीनमा भएको क्रान्तिपश्चात् विकसित नेपाल–भोट सम्बन्धको सन्र्दभ तथा नेपाललाई पूर्ववत् स्थितिमा ल्याउन गरिएका प्रयासहरूको तथ्यगत विवरण पनि आएको छ । यसै सन्र्दभमा ग्याल्पु काण्डले सिर्जना गरेको विवाद तथा सो विवादमा अंग्रेजको भूमिका विषयमा चर्चा गरिनुको साथै भोटमा चीनको प्रभाव कम हुँदा नेपाल र नेपालीलाई परेको असरबारे सविस्तार वर्णन गरिएको छ । सातौँ शताब्दीदेखि भोटमा रहेका नेपाली र उनीहरू प्रवासमा रहेर गरेको व्यवसाय, भोटमा बसोबास गरेका नेपालीहरूको चालचलन, थकाली व्यवस्था जस्ता मुद्दाहरूको विशद् विवेचना पुस्तकको दोस्रो अध्यायमा आएको छ । भोटसँगको व्यापारमा नेपालका नेवार व्यवसायीको वर्चस्वले नेपालको अर्थतन्त्रमा पारेको प्रभावको विश्लेषण पनि यस अध्यायमा भएको छ । मुख्यगरी भोटमा रहेका नेपाली अड्डाअदालत, ग्यान्ची अड्डा र त्यसको काम कर्तव्य तथा अधिकारको विवेचना तत्कालीन परिवेशकै आधारमा गरिएको छ । पुस्तकको तेस्रो अध्यायमा ल्हासामा रहेका नेपाली वकिलहरूको मानसम्मान तथा ल्हासामा लाग्ने विभिन्न दस्तुरसमेत उल्लेख गरिएको छ ।

यस पुस्तकको चौथो अध्यायमा भोटमा नेपालीहरूले विभिन्न सन्धिबाट प्राप्त गरेका सुविधा, अधिकार तथा क्षेत्राधिकारको बारेमा सङ्क्षिप्त चर्चा गरिएको छ भने परम्परागत सुविधाको विवरणसमेत उल्लेख गरिएको पाइन्छ । पुस्तकको यही अध्यायमा नेपाली रैतीले स्थानीय महिलासँग विवाह गरी जयजन्म भएमा छोरा नेपालकै रैती हुने र उनीहरूलाई खचडा भन्ने गरिएको विशेष चर्चापरिचर्चा पनि लेखकले गर्नुभएको छ । खासगरी खचडा विवाद उत्पन्न हुनाको कारण र यसको परिणामले पारेको प्रभावका बारेमा समेत यथेष्ट प्रकाश पारिएको छ ।

सन् १९५६ को नेपाल–चीन सन्धिले यस्तो व्यवस्था परिवर्तन गरेको तथा धेरै खचडाहरूलाई चीनले नागरिकता दिइएको प्रसङ्ग पनि उल्लेख भएको छ । नेपाल सरकारको खचडाप्रति उदासीन नीति तथा राणा शासकहरूले भोटप्रति देखाएको अनुदार नीतिका कारण नेपाललाई परेको असर र नोक्सानीका विवरणहरूसमेत उल्लेख भएका छन् । पुस्तकको पाचौँ अध्यायमा विद्वान् लेखकले भोटको राजधानी तथा मोफसलमा बसोबास गर्ने नेपालीप्रति सिक्किम, भुटान, चीन र हिन्दुस्थानका जनताको व्यवहारको सविस्तार वर्णन गरिएको छ । यसबाहेक चिनियाँ बादसाहका आवसीय प्रतिनिधिहरूले नेपालीलाई गरेको व्यवहार, उचनिचको भावना तथा आदर–अनादारका घटनाको विश्लेषण गरिएको छ । साथै नेपालको कामकारबाहीलाई चीनले सर्मथन जनाउनुको कारणसमेत पुस्तकमा उल्लेख भएको छ ।

सन् १९११ पश्चात् भोटमा चीनको प्रभाव कम हुँदै जानु र अंग्रेजको प्रभाव बढ्दै जाँदा नेपाल र नेपालीलाई परेको असरको सूक्ष्म ढङ्गले विश्लेषण गरिएको छ । अंग्रेजको भोटमा भएको उपस्थितिबाट नेपाललाई परेको असरलाई ‘काक्रोलाई थाक्रो हाल्दा थाक्रो धनी भएको’ दृष्टान्त समेत प्रस्तुत गरिएको छ । यस पुस्तकाको निष्कर्ष वा छैटौँ अध्यायमा उल्लेख भएअनुसार नेपाल–भोट सम्बन्धबाट नेपालको अर्थतन्त्रमा परेको प्रभाव, भोटमा नेपाली संस्कार र संस्कृतिको प्रभाव तथा बौद्ध धर्मले दुवै देशको सम्बन्धमा निर्वाह गरेको भूमिका आदि विषयमा परिचर्चा भएको छ । यस पुस्तकमा लेखकले अनुसूची पनि समावेश गर्नुभएको छ । अनुसूचीमा अभिलेखालयका सामग्रीहरू यथावत् रूपमा राखिएको छ । यी सामग्री अनुसन्धानका मौलिक स्रोत हुन् । अनुसूची १ मा उल्लेख गोप्य जानकारीको छायाकपीले अनुसन्धानका विषयमा धेरै कुरा खोलेको र खोल्न सक्ने अनुमान गर्न सकिन्छ । यस्ता सामग्रीहरू भविष्यका अनुसन्धानकर्ताका लागि असल खुराक हुन् ।

समग्रमा हेर्दा कूटनैतिक इतिहास विषयको यस कृतिको अध्ययनले जिज्ञासु पाठकलाई थप कोसेढुङ्गा साबित भएको छ । मूलतः प्राथमिक स्रोतका आधारमा तयार पारिएको यस कृतिमा तत्कालीन सामग्रीको प्रचुर मात्रामा अध्ययन र विश्लेषण गरिएको छ । कतिपय सामग्रीमा अनुसन्धानकर्ताको पहँुच नहुन पनि सक्छ । अनुसन्धानकर्ताको वस्तुनिष्ठ मूल्याङ्कनले गर्दा कतिपय नयाँ कुरा प्रकाशमा आएका छन् । यो पुस्तक भविष्यमा अनुसन्धाताका लागि मार्गदर्शन गर्न सफल भएको निष्कर्ष निकाल्न सकिन्छ । लेखकले प्रस्तुत पुस्तक आफ्ना गुरुप्रति समर्पण गर्नुभएको छ । लेखकले गुरुप्रति दर्साएको सम्मानभावले उहाँलाई सम्मानित बनाएको अनुभव गर्न सकिन्छ ।

राम्रा पक्ष धेरै समावेश भए पनि यसका केही सीमा पनि रहेका छन् । एउटै प्रसङ्ग विभिन्न स्थानमा पुनरावृत्ति भएको पाइन्छ । एउटै कुरा बारम्बार दोहोरिनु अनुसन्धानात्मक कृतिका लागि सुपाच्य हुँदैन । कतिपय ऐतिहासिक विषयको कतै विस्तृत व्याख्या छ भने कतै सङ्केत मात्र गरिएको छ । उदाहरणका लागि काजी भीम मल्ल र अरनिकोका बारेमा गरिएको व्याख्याविश्लेषण अपुरो छ । पुस्तकमा प्रयोग भएका कतिपय सामग्रीको स्रोत पनि खुल्न सकेको छैन । भोटमा रहेका नेपालीहरूको संस्कृति तथा संस्कारमा मानवशास्त्रको स्थापित दर्शनअनुसार विवेचना भएको भए पाठकहरू निकै प्रभावित हुने थिए । साथै पुस्तकको विश्वासनियता पनि बढ्ने थियो । यी कमजोरी सामान्य नै हुन् । समग्रमा यस कृतिको उपादेयता समाजमा झन बढेको देखिन्छ । आफ्नो सेवानिवृत्त जीवनमा पनि लेखनलाई निरन्तरता दिनुले नै हामी पाठकका लागि प्राध्यापक डाक्टर मिश्र प्रेरणास्रोत बन्नुभएको छ । आगामी दिनमा पनि यस्तै गहकिला ग्रन्थ रचनाका लागि लेखकलाई पाठकका तर्फबाट लाखौँलाख शुभकामना दिँदै उहाँको दीर्ध जीवन तथा सुस्वास्थको कामना गर्दछु । अस्तु !

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *