जीवनानुभव अभिव्यक्तिमा वृद्धको युवा जोस
|देवीप्रसाद न्यौपाने अर्थात् डि पी न्यौपाने अहिले लगभग नब्बे वर्षका छन्। उनी विद्यालयबाट अध्यापन पेशाबाट सेवानिवृत्त बेको पनि तीस वर्ष जति पुगिसरेको छ। २०१४ मा उनको ‘शब्दार्थ सङ्गम’ भन्ने पुस्तक शब्दकोश प्रकाशित भएको थियो। अहिले आएर भन्नुहुन्छ, अहिले त्यसैलाई त्योभन्दा दोबर पृष्ठहरूमा हुने शब्द र अर्थहरूको सङ्कलन गरिसकेको छु। यो उमेरमा आएर पनि उनलाई पढ्ने लेख्ने जाँगर जोस् कहाँबाट आयो, रमाइलो कुरा छ।
न्यौपानेले उमेर छँदा पढ्ने काम खुब गर्थे। साहित्यमा गहिरो रूचि राख्छन्। उनमा पनि साहित्यिक रस थियो। अहिले आएर त्यो साहित्यिक रस प्रकाशनमुखी भएको छ। जाँगर दोब्बर भएको छ। घरका छोराछोरी, गाउँले र आफन्तका निम्ति उनी प्ररणाको स्रोत हुन्। बुढेसकालमा शब्दकोष तयार पार्नु, किताब लेख्नु, रोचक गफ गर्नु, आफु सानो छँदादेखिको स्मरण जस्ताको तस्तै सुनाउनु, आफु वयोवृद्ध भएर पनि घरमा पोखरी जस्तो जमिएर नबसी बग्दो खोला जस्तो सक्रिय हुन्, युवासुलभ जोसिलो हुन्। हँसिलो, रसिलो गफाडी, अनुभवी भएर गाउँ घरमा उदाहरणका रूपमा आएका छन्।
अहिले आएर न्यौपानेज्यू आएर भने ‘मैले यी कुरा लेखेको छु। पढिदिनुहोला, पढेर भूमिका लेखिदिनु होला” उनकै छेउमा केही अंश पढें। कुरा त रमाइलो लाग्यो। अझ विस्तृत वर्णन लेखेको भए पनि हुन्थ्यो जस्तो लागेको थियो। तर यो उमेरमा यति लेखे पनि धेरै हो जस्तो लाग्यो। यसमा थप्नु भन्ने सुझाव दिँदा अझ एक वर्ष लाग्ला, ढिलो होला जस्तो लाग्यो। उनले आफ्नो जीवनका अनुभव र अनुभूतिलाई तीन पत्र नामक पुस्तकका रूपमा पाठकका सामु पस्केका छन्।
२०१८ मा उनी केही महिनाका निम्ति आफ्नी दिदीको घर अस्ट्रेलिया गएका थिए। त्यस भ्रमणकालीन अवसरमा विदेश गएर हिँडेका डुलेका ठाउँहरूका बारेमा धेरथोर वर्णन गरी प्रकाश पारिएको छ। उनको लेखोट पढ्दै जाँदा पाठकलाई रोचक लाग्न सक्छ। यात्राका अनुभव र भावनालाई जतिसक्दो इमानदार भएर प्रस्तुत गरेका छन्। यात्रामा देखिएका नदी नाला, समुद्र, सहर, बजार, गाउँ, घर आदिबारे जतिसक्दो प्रकाश पारिएको छ। उनले आफ्नो जीवन त्यसै खेर जान दिनुभएको छैन। आफ्नो जीवनलाई परिवार सेवा, समाजसेवा र विद्यालय सेवामा समर्पित गर्नुभएको छ। कहिले विद्यालय संस्थापक, मन्दिरका व्यवस्थापक, राजनैतिक सचेतक आदि थुप्रै भूमिका रहिआएको देखिन्छ।
प्रस्तुत पुस्तकमा तीनवटा अध्याय रहेका छन्। पहिलो अध्याय पत्र नाममा रहेको छ। यस लेखमा पत्रसाहित्यको महिमा व्यक्त गरिएको छ। पत्रको महत्त्व प्रकार, पत्र लेखन परिपाटी, ढाँचा आदि प्रस्तुत गरिएको छ। यै लेखमा नै आफु आफ्नो सहोदर दिदी र भान्जाभान्जी बसेको ठाउँ अस्ट्रेलिया गएको र त्यहाँका विभिन्न स्थान घुमेको वर्णन पाइन्छ। बुढेसकालमा विदेश यात्रा, त्यहाँको अनुकूल-प्रतिकूल जलवायु, त्यहाँका भौगोलिक अवलोकन, त्यहाँका शहर, सङ्ग्रहालय, ऐतिहासिक कुरा, यानबाहन, पार्क आदिको बडो रोचक वर्णन गरिएको पाइन्छ। यद्यपि साह्रै छोटो वर्णन गरिएको हुनाले पाठकको धीत मर्दैन, तृप्त हुँदैन। पाठकलाई लाग्छ अझै बढी वर्णन गरिएको भए रमाइलो नै हुन्थ्यो।
यसमा रहेको दोस्रो लेख ‘मेरो जीवन यात्रा’ पनि रोचक रहेको छ। यसमा आफ्नो जीवन अनुभवलाई पाठकसामु अघि सरिएको छ। यसमा आफ्नो बाल्यकाल, विद्यालय पढ्दाको अनुभव, तत्कालीन सामाजिक आर्थिक भौगोलिक स्थितिको रोचक तथ्य प्रस्तुत गरिएको छ। त्यसपछि आफु बाध्य भएर स्कुल छोड्नुपरेको अवस्था, त्यसपछि जागिरे जीवनमा होमिनु परेको अवस्थाको रोचक वर्णन पाइन्छ। आफु नोकरी गर्ने क्रममा घरि विद्यालयमा घरि कुनै नोकरी गरेको तथ्य पाइन्छ। सन् 1947 मा भारत स्वतन्त्र भएको समयको राजनैतिक स्थिति, हाम्रो दार्जिलिङ पहाड़ र गोर्खाबहुल क्षेत्रमा डम्बरसिंह गुरूङको उदय र गोर्खा लीग दलको राजनैतिक स्थितिको पनि इतिहास केलाइएको छ। त्यसबेला दार्जिलिङको राजनैतिक दलमध्ये गोर्खालीग साँच्चै शक्तिसाली थियो। त्यसले पहाड़को सर्वाङ्गीन विकास, जातीय उन्मुक्ति, हक र हितका निम्ति गरेका कामकुराको इतिहास केलाइको छ। त्यसमा एक गोर्खाली दलको सिपाही भएर आफ्नो गाउँ अलगडा पैंयुतिर आफुले गोर्खालीगको सेवा गरेको कुराको उल्लेख गरेका छन्। अहिले त्यस बेलाको राजनैतिक प्रतिवद्धता, निस्वार्थता र निष्ठा पाइँदैन। यसमा उजिरसंह भेटुवाल, नरबहादुर खतिवडा नरबहादुर गुरूङ, चन्द्रवीर थापा, हर्कबहादुर भेटवाल, एस टि दोर्जी, एल आर जोशी, रेणुलीना सुब्बा आदिको नामोल्लेख गरिएको छ। आफुले दार्जिलिङ पार्वत्य प्राथमिक शिक्षक सह्गठनको शाखा समितिका अध्यक्ष रही केही शिक्षक शिक्षिकाहरूलाई प्राथमिक विद्यालयमा नोकरी दिलाएको, विद्यालयको सरकारी मान्यता प्राप्तिका निम्ति खटेको, विद्यालय समितिमा रही सेवा आदि गरेको धेरै कुराको उल्लेख पाइन्छ। लेख पढ्दा पाठकले नै यस लेखमार्फत् धेरै जानकारी पाउनेछन्। गाउँ-ठाउँका केही व्यक्तिहरूको पनि समाजमा शैक्षणिक, धार्मिक, राजनैतिक, नैतिक, आर्थिक आदि क्षेत्रमा योगदान रहेको हुन्छ। तिनको लेखाजोखा गरिएको हुँदैन। समाजका यी ज्ञात अज्ञात तर वास्तविक समाजसेवीहरू ओझेल परेका हुन्छन्। तिनको सही मूल्याङ्कन गर्नुपर्ने देखिन्छ।
तेस्रो लेख ‘परमेश्वरलाई पत्र’मा संसारको विकृति, मान्छेको स्वार्थी चरित्र आदि कुराले लेखकलाई विरक्ति भएको र यसका निवारणका निम्ति भगवानलाई चिठी लेखेर गुहार मागेको पाइन्छ। यसमा लेखकको सांसारिक अनुभवलाई अघि सारिएको छ। यसमा आफुलाई सशरीर कतै यमलोकतिर पुर्याइएको र त्यहाँ आफुलाई हतेडेर नर्कतिर लानखोजेको तर फुत्केर फरिकन सकेको कुरालाई काल्पनिक रूपमा उतारिएको छ। मान्छ मरेपछि पनि अर्को कुनै संसार छ. त्यहाँ पनि मान्छे जस्ता कोही बस्छन् भन्ने आफ्नो धार्मिक विश्वासलाई अघि सारिएको छ। यसमा आफ्नो देशमा प्रजातन्त्रको स्थिति उचित रहेको, भ्रष्टाचार, व्याभिचार, शोषण दोहन, अकर्म्यता आदि जस्ता राष्ट्रिय रोगले देश गर्सित छ। त्यसलाई निवारण गर्न सक्ने भगवानबाहेक अरू छैनन् भन्ने भाव अघि सारिएको छ।
अतः प्रस्तुत पुस्तक लेखकको उमेरको अनुभवको सार हो, बुझाइको अभिप्राप्ति हो, ज्ञानको निचोड हो। यसमा रहेका भिन्नाभिनै विषयका तीनवटा लेखहरूले पाठकलाई धेरै जानकारी, ज्ञान र तथ्यादि पाउन सक्छन्। जीवन बग्दो नदीसरह हो, यसमा लेखक नब्बे वर्ष नाघिसकेर लेखिएको लेखहरू पाठकका निम्ति लाभदायक हुन्छ। उनको यस पुस्तक पढेर युवाहरूलाई सामाजिक उत्थानका निम्ति दिशा निर्देश मिल्नेछ, अभिभावकीय निर्देशन पाइनेछ। उनको जोस नघटोस्, यस्ता संस्मरण संगालो अझै लेख्ने जाँगर ईशवरले नित्य बढाइरहुन् भन्दै उनको सुस्वस्थ्य र दीर्घायुको कामना गर्दछु।