समय र नारायण पाण्डे सर

(भरतमान श्रेष्ठ)
(भरतमान श्रेष्ठ)

समयलाई काल पनि भनिन्छ र कालले मान्छेको मृत्युलाई पनि जनाउँछ। कसैको देहवसान भयो भने कालले लग्यो वा कालको प्यारो भयो भनिन्छ। पूर्वीय दर्शनमा पृथ्वीलाई मर्त्यलोक अथवा मृत्युलोक पनि भनिन्छ, जहाँ हरेक प्राणीको मृत्यु अनिवार्य छ। यसैले त कवि शिरोमणि लेखनाथ पौडेलले मानवको अनिवार्य मृत्युबारे लोकलाई बुझाउन काल महिमा नै लेखेका छन् –
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति सुन्दैन त्यो !
तर पूर्वीय दर्शन अनुसार जन्म-मृत्यु अटुट चक्र हो, यो जुनी सकिए पनि सबै प्राणीको पुनर्जन्म हुन्छ।

समयको कालखण्ड बुझाउन वर्तमान, भूत र भविष्य काल भनिए तापनि समय निरन्तर बगिरहने अटुट नदी जस्तै हो, यसको शुरू र अन्त्य छैन। मानवले आफ्नो सहजताको लागि मात्र समयलाई घडि, पला, दिन, महिना, वर्ष, दशक, शतक आदि भनी विभाजन मात्रै गरेको हो। म समयलाई सापेक्षित अंक मात्रै मान्छु त्यसैले तिथी, मिति त्यति याद गर्दिन । तर जीवनका केही कालखण्डमा घटेका घटनाहरूले भने अमीट छाप छाडेका हुँदा रहेछन्। दिवंगत नारायण पाण्डेले पनि मेरो जीवनमा केही घटनाहरूले बिर्सन नसकिने त्यस्तै छाप छाडेका छन्।

जन्मभूमी गोरखाको अश्राङ गाउँमा आजभन्दा ४८ वर्ष अघि मैले अक्षरारम्भ उहाँकै कक्षाबाट गरेको दिन मेरो मानसपटलमा अझै पनि ताजै छ। कखरा मैले मेरो पिताजीकै सान्निध्यमा घरमै आरम्भ गरेको भएतापनि बाह्र स्वर र छत्तिस व्यञ्जन वर्णको सिकाई पूरा गरिसकेको थिइन। बुबाले मलाई नेपाली ठूलो वर्णमाला ल्याईदिनु भएको थियो। त्यही हेरेर पढ्ने लेख्ने गर्थेंँ। मेरो सात वर्षको उमेरमा बुबाले मलाई कक्षा एकमा भर्ना गरी पहिलो दिन कक्षा कोठामा लिएर जानुभयो। नारायण सर पढाउँदै हुनुहुँदो रहेछ, बुबाले ‘माड्साप मैले कान्छालाई भर्ना गरें’ भन्नुभयो। ‘ए, भित्रै आउनुस् न बाबुलाई लिएर ।’ नारायण सरले भन्नुभयो। बुवाले मलाई कक्षाको पछिल्लो बेन्चमा लिएर जानुभयो।

कान्छी चोकेल्नी चमाको ठूलो छोरा काजिमान दाइ बसेको बेन्चमा बसाएर बुवाले मलाई नारायण सरको जिम्मा लगाएर निस्कनुभयो। काजिमान दाइ साथमा हुनाले ढाडस पनि मिल्यो। मैले पनि झोलाबाट कापी र सिसा कलम निकालेँ। नारायण सरले कक्षामा बाह्र स्वर वर्ण (अ आ इ ई) पढाई सकेर छत्तिस ब्यन्जन वर्णका कखरा सिकाई रहनु भएको रहेछ र विद्यार्थीहरूलाई लेख्न लगाउनु भएको रहेछ। मैले पनि क ख ग सिसाकलमले लेख्न थालेँ । घरमै ठूलो वर्णमाला हेर्दै लेख्न जानिसकेको हुँदा मलाई केही अप्ठेरो परेन। नारायण सर मेरो पछाडि बसेर मेरो लेखाई हेरिरहनु भएको रहेछ। मैले ल अक्षर लेखेको उल्टो भएछ | उहाँले ल उल्टो भयो,अगाडि फर्काएर लेख भन्नुभयो। म झसङ्ग झस्कें। काजिमानले मुसुक्क हाँसेर मेरो मुखमा हेरेकोले मलाई भने लाज भयो। मेरै सिसाकलम लिएर नारायण सरले ल लाई घेरा लगाएर सुल्टो लेखेर देखाऊ भयो। यो घटना आजसम्म मेरो मानसपटलमा ताजै छ।

सबैले ज्ञ सम्म लेखिसकेपछि भाका हालेर कपुरी क, खरायो ख देखि ज्ञानी ज्ञ सम्म पढाउनुभयो । भोलिपल्टलाई राम्रो अक्षरमा क देखि ज्ञ सम्म लेखेर ल्याउने गृहकार्य दिनुभएको थियो। भोलिपल्ट गृहकार्य बुझाउँदा पनि उहाँले मैले लेखेको ल अक्षर नै हेरेजस्तो लाग्यो, तर मैले यसपाली सही लेखेको थिएँ। उहाँले राईट चिन्ह लेखेर ‘ठीक छ, अक्षर अझै सफा लेख’ भन्नुभयो। उहाँलगायत मेरो प्राथमिक तहका शिक्षकहरूले यसरी नै मायालु पाराले शिक्षण गरेकै कारणले मलाई अहिलेसम्मको शैक्षिक यात्रासम्म डोहोर्यायो।

अर्को अविष्मरणीय घटना, विसं २०३६-३७ सालतिरको हो। सोही स्कूलका पूर्व शिक्षक ईश्वर पाण्डेले अत्यधिक बहुमतका साथ अश्राङ गाउँ पञ्चायतको प्रधानपञ्चमा विजय हासिल गर्नुभयो । फूलमाला अविरसहित विजय र्‍यालीले ठाँटी बजार घुमेपश्चात भएको सभामा नारायण सरले उद्घोषक भएर कार्यक्रम संचालन गर्नुभएको थियो। सबै जननिर्वाचित प्रतिनिधिहरूले भाषण गरिसकेपछि उहाँले कार्यक्रमको अन्त्यतिर भन्नुभयो ‘आदरणीय जन समुदायहरू, तपाईंको एक एक भोटले उहाँहरू आज निर्वाचित हुनुभएको छ, तर उहाँहरुले काम गर्न सक्नुभएन , काम गर्न अल्छी गर्नुभयो र नैतिक पतन हुने काम गर्नुभयो भने तपाईंहरू सबै मिलेर तुरुन्तै अविश्वासको प्रस्ताव ल्याउन सक्नुहुन्छ र उहाँहरुलाई फिर्ता बोलाउन सक्नुहुन्छ। उहाँहरूको पद तुरुन्तै स्वाहा हुन्छ।’ नारायण सरले यसोभन्दा दर्शक दीर्घामा करतल ध्वनिको पर्रा छुटेको थियो भने विजयी प्रतिनिधिहरूको मुहार भने हेर्न लायक भएको थियो। त्यतिबेलासम्म निर्वाचित प्रतिनिधिहरूलाई अविश्वास प्रस्ताव ल्याएर फिर्ता बोलाउन सकिन्छ भन्ने सायद कसैलाई थाहै थिएन।

नारायण सरका यी दुई प्रसंगहरू मेरो मानसपटलमा अझै पनि ताजै छन्।बाल्यकालमा छाप बनेका घटनाहरूले मानसिक विकासमा भूमिका खेल्ने भएकाले होला बालबालिकाहरूलाई काँचो माटो र शिक्षक अभिभावकहरूलाई कुम्हाले पनि भन्ने गरिन्छ। कुम्हालेले काँचो माटोलाई विभिन्न आकारमा ढाल्न सकेजस्तै शिक्षक अभिभावकहरूले पनि बालबालिकाहरूलाई समाजिक व्यक्तित्वमा ढाल्न अहम् भूमिका खेल्न सक्नुहुन्छ। मिजासिलो, नरम वचनका धनी नारायण सरले अश्राङ स्थित नव जागृति चण्डी निमाविमा केही समय पढाएपछि क्याम्पस पढ्न जानुभयो। त्यतिबेला उहाँकै कान्छा काका मित्रलाल पाण्डे सो विद्यालयमा हेडमास्टर हुनुहुन्थ्यो।

केही समयपछि नारायण सर जुम्लामा पढाउन जानुभयो रे भन्ने सुनेको थिएँ। उहाँको काहिँला काका रविलाल पाण्डे भने ठाँटी बजारमा कपडा पसल गर्नुहुन्थ्यो। नारायण सरको कान्छी बहिनी कल्पना र हेडमास्टर मित्रलाल सरको छोरी सीता मेरा सहपाठी थिए। नारायण सरको जुम्ला बसाई सायद दुई वर्षको भयो । उहाँ फर्केर आएपछि केही समय नामजुङमा पढाउनुभयो। त्यसको केही समयपश्चात गोरखा बजारमा खाद्यान्न पसल र आफ्नै आरती बस सेवा सञ्चालन गर्न थाल्नुभयो। गोरखा बजार जाँदा म उहाँकै घरमा बास बस्थेँ। उहाँको बहिनी कल्पना आठ कक्षादेखि उहाँसँगै बसेर शक्ति माविमा पढ्थिन्। म बोर्लाङको सरस्वती माविमा पढ्थेँ। तर विभिन्न कामका लागि गोरखा बजार जाँदा उहाँकैमा बास बस्न पुग्थेँ। परिवार कै सदस्य सरह माया गरेर सहजै खान बस्न दिनुहुन्थ्यो। एस एल् सी पछि गोरखा र काठमाडौं आउजाउ गर्दा पनि सकेसम्म उहाँहरूकै आरती बस चढ्थें। उहाँको कान्छा भाइ भरत पाण्डेले सो बस संचालन गर्थे। प्रायःजसो मलाई भाडा लिंदैनथे । लिएपनि विद्यार्थी कन्सेक्सन २५ प्रतिशत छुट सजिलै दिन्थे। अरू बसहरूले भने परिचय पत्र देखाउँदा समेत आजको विद्यार्थी कोटा सकियो भनेर पुरा भाडा असुली गर्थे।

(स्वर्गीय नारायण पाण्डे)

 

नारायण सरसँग मेरो सम्पर्क समयसँगै पातलिंदै गयो। म नर्वेमा पढ्न गएपछि मित्रलाल सरका कान्छा छोरा सुशिल मैले पीएच. डी. गरिरहेको युनिभर्सिटीमा सन् २००६ तिर एम् एस्सी गर्न आईपुगे। हाम्रो पारिवारिक सौहार्दता पुनः नवीकरण भयो। सुशीलका दाइ फणिन्द्र र म एकैदिन जन्मेका हौं रे भनेर मेरो घरमा आमा दिदीहरूले कुराकानी गर्नुहुन्थ्यो। सुशील नर्वे आएपछि आफ्नै भाइ आइपुगेको महसुस भयो। उनीबाटै फणिन्द्र बेलायतमा र नारायण सर अमेरिकामा रहनुभएको थाह पाएँ। म क्यानडा आएपछि फेसबुकमा फ्रेण्ड भयौं, तर कुराकानी भने खासै भएन । एक त गुरू चेलाको सम्बन्धको दकसले पनि मैले उहाँलाई फेसबुकमा नमस्कार बाहेक अरू केही भन्न सकिनँ।

कोभिड महामारीले विश्वलाई नै तहस नहस पार्‍यो । वि.सं.२०७७ कार्तिक ७ गते ८४ वर्ष उमेरका मेरो ससुरा बुवा परशुराम श्रेष्ठलाई कोभिड संक्रमण भएको जानाकारी पाएकै रातमा हामीले गुमायौं। मेरो ससुरा बुवा गोरखा जिल्लामै कहलिएका शिक्षक सँगठनको अध्यक्ष पनि हुनुहुन्थ्यो। उहाँले आजीवन शिक्षा क्षेत्रमा गर्नुभएको योगदानलाई पुस्तकाकाररूपमा दस्तावेज बनाएर राख्नुपर्छ भन्ने पारिवारिक निर्णय भयो र सोही बमोजिम उहाँलाई निकटबाट चिने जानेकाहरूबाट संस्मरणात्क लेख रचनाहरु संकलन गर्न थालियो। नारायण सरलाई पनि मैले सोही प्रयोजनका निम्ति सम्पर्क गरें। उहाँले आफ्नो व्यस्तताका बावजुद मसँग मेरो ससुरा बुवा बारे लामो कुराकानी गर्नुभयो र “परशुराम सर,देखिने भगवान” शीर्षकमा एउटा लेख पनि पठाउनुभयो।

त्यपछि भने उहाँसँग मेरो समय समयमा कुराकानी हुन थालेको थियो। कुराकानी कै प्रसंगमा अश्राङको नवजागृति चण्डी माविलाई कसरी राम्रो र दिगो बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुन्थ्यो। गतवर्ष उहाँले आफ्नो वयोवृद्ध पितामातासँगै केही समय बिताउन लामो बिदा लिएर नेपाल जान लागेको खबर गर्नुभयो। सो खबर पाउने बित्तिकै मैले उहाँसँग मेसेन्जरमा कुराकानी गरें | त्यसक्रममा हामीले विद्यालयलाई प्राविधिक शिक्षामा कसरी लैजान सकिन्छ भन्नेबारे छलफल गर्यौं। उहाँले अश्राङ गाउँमा पुग्दा मेरो घरमा गएर माइला दाजु ओम नारायणसँग आत्मीय भेट गर्नुभएको फोटो सहित खबर पठाउनु भएको थियो। तर विद्यालयले भने हामीले सोचेको कुराहरू त्यति धेरै सान्दर्भिक नठानेकोजस्तो भन्नुभयो। सो विद्यालयको संस्थापक सदस्यहरुमा उहाँको हजुरबा महाप्रसाद पाण्डे लगायत मेरो बुवा वीर बहादुर पनि हुनुभएकोले हाम्रो सो स्कूलसँग भावानात्मक सम्बन्ध छ। मैले २०५४ मा मेरो विवाहको अवसरमा स्वर्गीय पिताको सम्झनामा पहिलो छात्रवृत्ति कोष स्थापना गरेको थिएँ। वि.सं. २०५४ मा गाविस अध्यक्ष ईश्वरी भट्ट हुनुहुन्थ्यो भने सोभितबाबु श्रेष्ठ सो विद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो। सो नवीनतम् कार्यको धेरैजनाले अनुसरण गरी अहिले १४-१५ जनाले आफ्ना पितृस्मरणमा अक्षयकोषहरू स्थापना गर्नुभएकोछ। नारायण सरको काहिँलो भाइ कालिका पाण्डे सो विद्यालय संचालक समितिको अध्यक्षमा धेरै समय हुनुहुन्थ्यो।

नारायण सरको बारे कुराकानीमा बढोत्तरी म ग्राण्डपेरीमा आएपछि सौरपानी गोरखाको भेटनरी डाक्टर सुवास ढकाल भेटेपछि पनि भयो। उनका फूपुदिदीको बिहे नारायण सरका साहिँला भाइ रामचन्द्रसँग भएको रहेछ। फूपुदिदीलाई घर-माईती गराउन सुवास धेरै पटक अश्राङ पुगेका रहेछन्।

नारायण सरका काहिँला काका रवीलालका छोरी निर्मला पाण्डे पनि एडमण्टनमा सपरिवार बस्ने रहिछन्। उनीसँग बेला बेलामा कुराकानी हुन थालेको थियो। निर्मला बहिनीलाई आफ्नो छोरीलाई अमेरिकामा मेडिकल साइन्स पढाउन जानकारी चाहिएको हुनाले सम्बन्धित कोहीसँग मेरो चिनजान छ कि भन्ने कुराकानी गत महिना हुँदा पो नारायण सर २०२३ मार्च २३ बिहानै सडक दुर्घटनामा घाइते हुनुभएको जानाकारी पाएँ। आई सि यु मा रहनु भएको कुरा बहिनीले एक सासमा भनिन्। तर उहाँको परिवारको फोन नम्बर थाहा नभएकोले केही सोधखोज गर्न सकिनँ। एउटा उपाय सुझ्यो, ईश्वरी भट्ट दाइसँग बुझ्ने। उहाँसँगको कुराकानीबाट दुर्घटना ठूलो भएको र कम्लीकेसनको कारण गर्नुपर्ने सर्जरी पनि हुन नसकेको थाह पाएँ। निर्मला बहिनीसँग भाउजुको फेसबुक आइ डि मागेको पनि थिएँ तर २ दिनपछि निर्मला बहिनीले नै नारायण सरले २०२३ मे ३ मा यो संसार छाडेको दुःखद खबर पठाईन्। कटु यथार्थ तर विश्वास गर्न साह्रै गाह्रो भयो। नारायण सर बारे स्मृतीका पानाहरू एकपछि अर्को गर्दै मेरो मानस्पटलमा आउन थाले । लेखक राजेन्द्र अर्यालकै शब्द सापटी लिएर भन्नुपर्दा ‘राम्रा मान्छेको चाह सबैतिर हुन्छ। सायद मृत्युलाई पनि।’

नारायण सर अब हामी बीच सम्झनामा मात्रै हुनुभयो। स्व. नारायण सर दिवंगत हुनुभएको ४५ दिनको तिथीमा उहाँको आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार र नातेदारहरूमा गहिरो समवेदना।

 

(नोटः स्व. नारायण पाण्डे २०१२ भाद्र ५ मा अश्राङ गोरखामा जन्मनु भई २०८० बैशाख २० (सन् २०२३ मे ३ मा) मा अमेरिकाको टेक्सास, डालासमा दिवंगत हुनुभयो। सामाजसेवी स्व. पाण्डे गोरखा लाईन्स क्लवका पूर्व अध्यक्ष, गोरखा द्रव्यशाह बहुमुखी क्यापसका संस्थापक सदस्य, तथा गोर्खा काठमाडौं सम्पर्क मंचका पूर्व अध्यक्ष, तथा गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नयाँ बजार, काठमाडौंका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो।)

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *