ज्यालेन्जी डायरीः कुमारबाट ओमार


जब हेलिकप्टरले मजाले आफ्नो पङ्खा घुमाउँदै धर्ती छड्ने तरखर गर्यो म हेलीकप्टरको झ्यालबाट ‘ज्यालेन्जी’लाई अन्तिम पटक आफ्नो नजरमा पार्ने तरखर गर्दै थिएँ । एकैछिनमा हेलिकप्टर उचाईमा पुगेको पत्तो पनि भएन मलाई, म माथिबाट ‘ज्यालेन्जी’लाई हेर्दे टोलाईरहेको थिएँ अनि तलबाट Zalingie पनि मलाई हेरेर त्यसैगरी टोलाईरहेको देखेँ । हिजोजस्तै लागेको थियो ज्यालेन्जी आएको पनि । अवश्य पनिआफू बसेको ठाउँ छाड्नु पर्दाको पिडा त बेग्लै थियो तर ठाउँसँगै म त्यस्ता मानिसहरुबाट पनि टाढिंदै थिएँ, जसले मलाई यो विरानो ठाउँमा परदेशीको महसुस हुन दिएनन् । एउटा अभिवाकले निर्वाह गर्नु पर्ने कर्तव्यभन्दा फरक थिएन तर समय ? समय नै हो सबथोक, म यही कुरा सोच्दै थिएँ हेलिकप्टर त धेरै टाढा पुगिसकेछ ज्यालेन्जीभन्दा । मेरो नजरबाट टाढिसकेको थियो ज्यालेन्जी, सिवाए सम्झनामा मात्र सीमित भइसकेको थियो नजरबाट टाढा धेरै टाढा !!

आज ज्यालेन्जीमा मेरो अन्तिम दिन थियो । हालीमा आज त बिहानै आएकी छिन् । उसले ले हिजो नै सोधेकी थिई नेपाली सदिक तिमीहरु साँच्चै भोलि नै जाने हो कहिल्य नफर्कने गरि ? अनि श्यामले भनेको थियो ‘आईवा सदिका आना बुकरा मुसाफिर ।’ त्यसोभए म भोली बिहानै आउँछु तिमीहरुलाई बिदाई गर्न भन्दै घरतिर लागेकी थिई हालिमा । हालीमा हामी बस्ने घरमा सुरक्षा गर्डको काम गर्थी । अंग्रेजी त फाट्टफुट्ट मात्र आउँथ्यो उसलाई । हामी कोठामा भएका केही सामानहरु झोलामा राख्दै थियौं, कोठा पनी आज त उदास भएको थियो सायद हामीलाई विदाई गर्नुपर्ने भएर होला ! कोठा त कस्तो रितोजस्तो देखिएको आज मैले त्यो कोठामा बसेदेखि त्यस्तो महसुस कहिल्यै गरेको थिईन ।

कोठा अगाडिको अम्बाको बोट पनी आज उदासै देखिएकोजस्तो थियो । आज त्यसले राम्रोसँग हावा नदिएको त छैन ! त्यो अम्बाको बोटले एक दिन भर्खर चिचिला लाग्ने बेलामा भनेको थियो, तिमीहरु यो अम्बा खाएर मात्र जानु है । तर आज उसको त्यो कुरा मैले नमानेको भनेर पो मसँग रिसाएको हो कि ? एक्कासी धेरै नै चिसो हावा आएजस्तो लाग्यो । म हतार हतार हेलिकप्टरको झ्याल बन्द गर्न थालें, ज्यालेन्जी बादल भित्र कता कता हराईसकेछ अनि एउटा गीत याद आयो । सूर्य दाइले गितारमा बडो मिठो पाराले गाउनुहुन्थ्यो हाम्रो ज्यालेन्जीको साप्ताहीक भेटघाटमा –
चलेछ बतास सुस्तरी मनै सरर
भरोसा छैन जिवनको बिताउँ हासेर …।

आज पनि मोहम्मद बुढी औंलोले ‘ओके’ संकेत गर्दे मेरो गाडीको छेउमा आयो । डार्फुरका केटाकेटी सँधै युएन गाडी अनी विदेशी मान्छे देख्योकी खाली त्यस्तै संकेत गर्छन् केही पाउने आशमा । मोहम्मद ११ बर्षको थियो, उ ‘ज्यालेन्जी’को हमादियामा बस्छ । पोलीयोको कारण ऊ अशक्त छ तर पनि हमादियाको सानो बजारमा हाम्रो गाडी देख्नेबित्तिकै खुट्टा खोच्याउँदै भएपनि ऊ हाम्रो नजिक आउँथ्यो । एकदिन मैले मोहम्मदसँग लामै कुराकानी गरें | मेरो भाषा सहयोगीकाअनुसार ऊ परिवारको चौथो नम्बरको सन्तान रे । ऊभन्दा मुनी तीनजना रहेछन् । स्कूल त ऊ नजाँदो रहेछ । मैले स्कूल त जानु पर्छ नि त भनें । प्रतिउत्तरमा उसले भन्यो, ‘भोको पेटले स्कुल कसरी जानु ? स्कूल गएर केमा लेख्‍नु ? किताब कलम कहाँबाट ल्याउनु ?’ त्यसैले उसका परिवारका केटाकेटी कोही पनि स्कूल जाँदैनन् रे । मोहम्मद हाउजा भन्ने समुदायको थियो । हाउजा समुदायको पुर्खौली थलो नाइजेरिया हो । धेरै वर्ष पहिले हाउजा समुदायका मानिस नाइजेरियाबाट हज गर्न मक्का जाने क्रममा यो ठाउँले लोभ्याएछ । उनीहरु यही घरजम गरेर बसेछन् हमादियामा अनी आफ्नो सानो बजारको नामाकरण पनी गरेछन् अबुजा बजार ।

आज त हेलिकप्टर पनि कति छिटो कुदेको ! सुडान आएपछि हेलिकप्टर पनि टेक्सीजस्तो गरेर नै चढियो कति पटक तर यसभन्दा अगाडि जब हेलीकप्टरको यात्रा शुरु हुन्थ्यो कुन बेला गन्तब्यमा पुगुँजस्तो लाग्थ्यो तर यसपटक हेलीकप्टर पनि बिस्तारै उडे हुन्थ्योजस्तो लागिरहेको थियो । हेलिकप्टरको झ्यालबाट मुन्टो बटार्दै हेरें फाट्टफुट्ट हरियो बाहेक अरु केही देखिएन ।

लौ खाना पकाउने ग्याँस त सकियो,बिहान खाना पकाउने बेलैमा श्यामजीले बडो उदास मुद्रमा भन्नुभयो । हुनत ग्याँस सकिनु कुनै नौलो कुरा त थिएन तर यसपटकको सिलिण्डरको रित्याई अनि नयँ सिलिण्डरको पर्खाईको पंक्तिमा हाम्रो नाम पनि सामेल भयो । हाम्री बस्ने घरको अरु सिलिण्डरु रित्तिए आदमले उसको साइकलमा पछाडी डोरीले बाँधेर लगेको धेरै दिन भइसकेको थियो । तर त्यो सिलिण्डर भरिएर आउने अत्तो पत्तो थिएन । आश नमार्दै हामीले पनि खाली सिलिण्डर आदमको जिम्मा लगायौं अनि शुरु भयो हाम्रो कोईलाको भुङग्रोमा खाना पकाउने यात्रा । यो यात्राले राम्रो निरन्तरतासमेत पाउन सफल भयो । जेहोस् कोईलाको रापमा पकाएको भात अनि लोकल कुखुराको स्वादले खाना पकाउन्जेल भोगेको पिडालाई केही हदसम्म भएपनि राहात दिएको थियो ।

त्यो हेलीकप्टरका सबै यात्रु त निन्द्रामा भुस भईसकेछन् । धन्न पाईलट टोली चाँही निदाएका रहेनछन् । हेलीकप्टर आफ्नो रफ्तारमै थियो । उसलाई त के बेलुकी फेरी ‘ज्यालेन्जी’ फर्केर आनन्दले हेलीपोर्टमा निदाउन पाईहाल्थ्यो तर म यति टाढा पुगीसकेको थिएँ की ज्यालेन्जीको अरिबो खोला पनि देखिन छाडिसकेको थियो सधैँ-सधैँको लागी ।

आजपनि कल धारामा धेरैवटा पानीका खाली जर्कीनहरु थिए | साना नानीहरु मचिँदै पानी खिच्दै थिए अनि धारा छेउमा ती जर्किनको प्रतिक्षामा चार पाचवटा गधाहरु उभिरहेका थिए । यहाँका गधा देखेर पहिला त म तीन छक्क परेको थिएँ । विचरा गधाहरू ! पानी बोक्नु परेपनि गधा, बजार जानु परेपनि त्यही गधा । सामान बोक्नु परेपनि त्यही दुई सय पचास सीसीको पल्सर मोटरसाईकलभन्दा पनि बलियो यहाँका गधा ! यहाँ मान्छेकोभन्दा गधाको बढि महत्व छ । गधा बिनाको जीवन सायद यहाँका धेरैले कल्पनासमेत गर्न सक्दैनन् होला । विचरा, आखिर एउटा परिवारलाई टाढा टाढाबाट पानी बोकेर ल्याएर प्यास मेटाउँछ । सकि नसकि पनि आफ्नो वजनभन्दा बढिका सामान बोकेर थोरै भएपनि भोक मेटाउने प्रयास गर्छ ।

एक दिन म आफ्नो गाडीमा ज्यालेन्जी बजारतिर जाँदै थिएँ । बाटो छेउमा एउटा खैरो रंगको गधा भुईँमा लरबराउँदै ढ्ल्यो । उसको मालीकले रिसाउँदै मसिनो छडिले ढाडमा नराम्रोसँग हिर्कायो । दुई तीन पटक अनि गधा हतार-हतार उठ्यो । मालिकले उसको ढाडमा ठूला ठूला दुईवटा बोरा राख्‍न लाग्यो । विचरा गधा फेरी भुईँमा लड्यो । मालीकले फेरि पिट्यो । उसलाई यसपटक अली दुखेछ कि क्या हो ऊ नराम्रोसँग करायो अनि म तिर हेर्यो । मैले पनि उसलाई हेरिरहेँ । ऊ सायद मलाई केही भन्न खोज्दै थियो- हेर मलाई, यो भारी त बोक्न सक्दिन एकदम वजनदार छ, त्यही भएरत म दुईपटक लडें नि ! मेरो मालीकलाई भनिदे न यो कुरा,सम्झाईदे न यो कुरा । तैंले यहाँको गधाको पिडा त देखिस्‌होला नि ? कति दुःख छ हामीलाई । तँ यो कुरामा किन बोल्दैनस् ? के मेरो दुःख, पीडा तेरो सरोकारको विषय होइन र ? तर म केवल उसलाई हेरिरहें ।

हेलिकप्टर दिशा परिवर्तन गर्न अलीकति मोडिए जस्‍तो मात्र भएको थियो सबै यात्रुको निद्रा खुलिहाल्यो ।

ग्यासँको सिलिण्डर भरिएर आदमले साइकलमा पछाडी बाँधेर ल्याएको अनि हामीले ग्याँसमै भात पकाएर खाएको मिठो सपनासमेत मैले कति पटक देखें तर सिलिण्डरले यसरी माया मार्‍यो कि मानौं त्यसलाई चिनेको नै छैन । विचरा मेरो सिलिण्डर कता पुग्यो होला त्यसलाई खोज्न एकपटक त आदम न्याला भन्ने अर्को शहरसम्म पनि पुग्यो तर मोरा रित्तो हात फर्कीयो । आदमले भन्थ्यो उसले हाम्रै सिलिण्डरलाई त्यो शहरमा देख्यो रे । त्यतिबेला पनि त्यो रित्तो नै थियो रे । अनि आदमले त सिलिण्डरलाई जाउ फर्किउँ भनेको रे तर सिलिण्डरले एकदम भावुक मुद्रामा म रित्तो फर्किन्न,म रित्तो फर्किएर मैले कसरी मुख देखाउनु मेरो बेईज्जत हुन्छ भनेर भन्यो रे ! अनी मलाई मेरो सिलिण्डरको छाति साँच्चीकै ठूलो रहेछ, जेहोस् हामीलाई माया त मारेको रहेनछ मोराले जस्तो लाग्यो । दिन बिते महिना बिते तर विचरा मेरो ग्याँसको सिलिण्डरले मैले ज्यालेन्जी छाड्दा विदाई गर्न पाएन न त मैले नै उसलाई नै विदाइका हात हल्लाउन पाएँ !

सूर्योदयसँगै घामका झुल्काहरुले ज्यालेन्जी वरिपरिका डाँडाहरुलाई चुम्बन गर्न थालिसकेको थियो । फेब्रुबरी महिनाको बिहानपखको चिसो लाग्ला भनेर अली हुने खाने स्थानीय मानिसहरुका शरिरमा बाक्ला लुगाहरु थिए । वातावरण एकदमै रमाईलो | वरिपरिका डाँडाहरु पनि हरिया । मानिसहरुको सामान्य चहलपहल थियो तर म भने बिहान आठ बजे नै कार्यालयमा उपस्थित हुनुपर्ने भएकाले हतार-हतार एक कप चिया रित्याउँदै कार्यालयमा पुगिसकेको थिएँ ।

बिहानैपख विभिन्न आन्तिरिक रुपमा विस्थापितहरुको बस्ती (IDP Camp) जाने उनीहरुका दुःख पिरमर्का सुन्ने अनि सम्बन्धित निकायमा त्यस्ता समस्याहरुलाई पठाउनु मेरो दैनिकी जस्तो नै बनिसकेको थियो । सलाम, हमादिया, ताईबा, खाम्सादगिगा अनि हासाहिसा यी ठाउँहरुसँग मेरो आत्मीयता प्रगाढ भईसकेको थियो । एक दिन बाईला जो जोर्डनी थियो उसले मलाई हासाहिसामा चिया खाउ भन्यो, अनि हामी पुग्यौँ हावा ईसाक मोहम्दको चिया पसलमा सुडानी चियाको चुस्की लिन । बाबरी हालेको चिया साँच्चीकै स्वादिलो थियो । यसैपनि म चिया भनेपछि तिन दिनले जेठो थिएँ तर बाबरी चियाको स्वाद मेरा लागि अली नयाँ । चिया खाँदै मैले हावालाई हेरें । उसले लगाएको साडीलाई हेरें, साडी पनि कस्तो अचम्मको पाराले लगाउँछन् सुडानी महिलाहरू ! न मुजा छ, न सप्को ? त्यतिकै बेरेर लगाउने । मैले बाईललाई भने ‘हेर त यिनीहरुले कस्तोगरी साडी लगाएका ? यसरी पनि साडी लगाउँछन् त ? हाम्रोतिर साडी यसरी लगाउँदैनन् ।’ बाईलले मेरो कुरा सुनेर हाँस्दै भन्यो ‘मित्र यो सुडान हो । साँच्चै यहाँका महिलाहरु धेरै पिडित छन् जुन सायद हाम्रो कल्पनाभन्दा पनि धेरैपर ।’ जता हेरेपनि केवल महिला मात्रै देखिने, पुरुषहरु त केवल आराम मात्र गर्ने । कामजति सबै महिलाको जिम्मामा ।

एक बिहान ज्यालेन्जि बजारमा कोइला बोकेका गधाको लर्को देखें अनी त्यसैगरि महिलाहरुको पनि । मेरो भाषा सहायकले भन्यो, ति महिलाहरु धेरै टाढाको गाउँबाट रातभरीको बाटो तय गरेर त्यो कोइला बेच्न ज्यालेन्जि आएका हुन् । हुनत महिलाका दुःख मैले नेपालमा पनि देखेको थिएँ । मध्य र सुदुरपश्चिमका पहाडी गाउँ अनि मधेशतिर तर ति दुःखभन्दा चौगुणा दुःख यहाँका महिलाहरुले भोगिरहेका छन् । एकदिन ताइबाको क्लिनिकमा एउटी पच्चीस वर्षीया महिला जसको काखमा एउटा दुधे बालख थियो, छेवैमा त्योभन्दा अली ठूलो बालक थियो । ऊसँगको कुराकानीमा उसले रुँदै भनी ‘यहाँ महिला र गधा बाराबर छन् । हामीमा केवल एउटा भिन्नता छ, त्यो गधा बोल्दैन तर हामी बोल्न सक्छौ।

श्यामजीले हातको इशारा गर्दै हेलिकप्टर उडेको कति समय भयो भनेर सोध्नुभयो । मैले घडी हेरेर हातकै ईसाराले दस मिनेट भयो भने।ओ हो आज त विहिवार पो ! फोनको घण्टीसँगै मैले सम्झिएँ, मधुरो स्वरमा उहाँले भन्नुभयो ‘आज बेलुका मेरोमा आउनुस् है ।

सूर्य दाइ पनि गितार बोकेर आइसक्नु भएको रहेछ । म र श्यामजी आज अली ढिला भयौं कि क्या हो ? जनक दाइले हतार हतार त्यो फ्रन्च कट दाह्रि मुसार्दै भन्नु भयो ‘भाइ के भयो ?’ हुनपनि आज हामी त्यहाँ पुग्दा त धेरै खानेकुराहरु पाकिसकेको रहेछ । सूर्य दाइको गितारको धुनमा बाँकी खानेकुरा सबैले मिलेर पकायौं । पेशाले ईन्जिनियर भएपनि सङ्गीतप्रतिको सूर्य दाइको लगाव सलाम योग्य नै छ । जब-जब उहाँको हात गितारका तारहरुमा पुग्दथे अनि सुरु हुन्थ्यो स्वर सम्राट नारायण गोपालका कालजयी स्वर्णिम गीतहरु ।

जब गीत सुरु हुन्थ्यो, कोठको वातावरण शान्त हुन्थ्यो । यस्तो लाग्थ्यो कोठामा सूर्य दाइ एक्लै गीत गुनगुनाईरहेछन् ! सबैजना कल्पनाको दुनियाँमा पुग्दथे सायद, एउटा सन्नाटा नै छाएजस्तो हुन्थ्यो । त्यो सन्नाटालाई चिर्दथ्यो सुजित सरको हास्यव्यङ्ग्यको कार्यक्रमले । ज्यालेन्जिमा यस्ता रमाईला जमघट यो न पहिलो थियो न त अन्तिम नै ! एउटा नशाजस्तो भईसकोछ यो जमघट ज्यालेन्जिलाई । कुनै हप्ता छुट्यो भने के के अपुग भएजस्तो लाग्दथ्यो ।
हुनत आज विहिवार होइन तर आज हाम्रो जमघट छ विशेष तपाईंहरुको लागि अनिल सरले भन्नुयो । सदाझैं कार्यक्रम हाम्रो उही थियो, तर आज अली विशेष । आजको कार्यक्रम मलाई खल्लो लागिरहेको थियो, कोठा भित्रको वातावरण साँच्चै रमाईलो नै छ तर मलाई किन हो किन आज एकान्त मन परिरहेको थियो । म कोठा बाहिरको पेटीमा थचक्क बसेर आकाशका ताराहरु हेरीरहेको थिएँ । आज आकाश पनि कति खुलेको सबै ताराहरु देखिन्थ्यो । मेरो आँखामा ज्यालेन्जीका सबै नेपालीहरुको तस्विर आईरहेको थियो । म एकोहोरिएर हाम्रो विहिवारे भेटघाटका रमाईला पलहरुलाई सम्झिरहेथें । अकस्मात राजु सरले भन्नुभयो ‘किन बाहिर बसेको भित्र जाऊ ।’ मैले राजु सरको अनुहार तिर हेर्दे भनें- हुन्छ । मेरो आँखामा आँशु टिलपिल भईसकेको थियो । मैले मनलाई बाँध्न सकिरहेको थिईन । हुनत म आफूले आँफैलाई धेरै कठोर छु भनेर मुल्याङ्कन गरेको थिएँ तर आज त्यो कठोरतालाई मैले निरन्तरता दिन सकिरहेको थिईन | कार्यक्रमको वतावरण बदलिएर भावुकता तर्फ उन्मुख भईरहेको थियो | त्यतिखेर मलाई बल्ल महसुस भयो, भोली म ज्यालेन्जिबाट विदाई हुँदैछु | मैले सबैको अनुहार हेरें, सबैजनाको अनुहार उदास थियो मेरैजस्तो । शेखर सर, गणेश सर, अनिल सर, राजु सर, जनक दाइ सबैको अनुहार त्यस्तो उदास मैले यसभन्दा अगाडि कहिल्यै पनि देखेको थिईन । त्यत्तिकैमा जनक दाइले भन्नु भयो -भाइ, भोली जाने बेलेमा भेटुँला है । मेरो आँखा भिजिसकेका थिए । मैले जनक दाइलाई भनें ‘तपाईंलाई म भोलि जानेबेलामा भेट्दिन ।’

हिजो राती म निदाउन सकिरहेको थिइन । यो पहिलो अनिदो रात त थिएन ज्यालेन्जिमा । पहिले पहिले पनि कैयौं रातहरु आकाशका ताराहरुले मलाई हेरिरहन्थे अनि म ताराहहरुलाई रातभरी । मलाई लाग्दथ्यो ज्यालेन्जिबाट देखिने ती ताराहरुले अब त मलाई राम्रोसँग चिनिसके होला। म मेरी उनीबाट धेरै टाढा थिँए, हरेक समय मलाई बिछोडको बेदनाले तड्पाइरहेको थियो । म हरेकपल हरेकक्षण उनीसँग नजिक हुन प्रयास गर्दथें । तर मोवाइल फोनले बेलाबेलामा यसरी धोका दिन्थ्यो, मानौं ऊ हामी बिचको कुरा सुन्दासुन्दा वाक्क भइसकेको छ। सुल्तानको पसलमा जब म छिर्थें उसले भन्थ्यो ‘सदिक रसिद’ । म भन्थे ‘आईवा आसरा’। उसलाई थाहा थियो; यो रिचार्ज कार्ड किन्नमात्र आएको हो । सुल्तान पनि रमाईलो मान्छे थियो । उसको मुड ठिक भएको बेलामा टाढैबाट हात उठाउँदै ‘ओ नेपाली सदीक सलाम वालेकुम’ भन्थ्यो । मुड ठिक नभएको बेलामा चाँही जहिले पनि टुस्स परेर बस्थ्यो, चिन्दै नचिनेकोजस्तो पनि गर्थ्यो । फोनमा मैले उनीलाई ज्यालेन्जीको बारेमा धेरै कुरा भनेको छु । बेलाबेलामा ठट्टा गर्दै उनी भन्थिन् ‘अब त्यही ज्यालेन्जिमै घरजम गरेर बसे हुन्छ ।

म सोमवार र शुक्रवारका दिन सलाममा अंग्रजी पढाउन जान्थें । आज म र मरो तान्जनियाको साथी मोहम्मद फुमो अंग्रेजी पढाउन सलाममा गएका थियौं । कक्षामा विद्यार्थीको संख्या साविकभन्दा न्यून थियो । कक्षामा महिलाहरु नै धेरै थिए लोग्नेमानिसहरु त सुन खोज्न गए रे ! यहाँ वर्षको एक पटक मे महिनातिर सुन खोज्न जाने चलन नै रहेछ । डार्फुरमा सुन खानी प्रसस्तै छ भन्थ्यो हाम्रो भाषा सहायक । तर मैले यस्तो सुनखानी देख्‍न पाइन । डेड घण्टाको कक्षा सकिएपछि मैले सबै विद्यार्थीहरुलाई म आउने हप्‍ताबाट एक महिना छुट्टी बस्दैछु त्यसकारण अब तपाईहरुसँग एक महिनापछि मात्र भेट हुन्छ भनें । त्यतिकैमा मारियमले भनिन् ‘ए त्यसोभए अब तपाईंले श्रीमती, बालबच्चालाई भेट्नुहुन्छ होला । हाम्रीले सोधेका छौं भनिदिनु है ।’ मैले भनें मेरो त बिहे नै भा’को छैन । मारियमले हाँस्दै भनी ‘उसोभए तपाईंलाई मेरी छोरी दिन्छु बिहे गर्ने हो ?’ मैले पनि ठ्ट्टा गर्दै भनें यहाँ बिहे गर्न त सयवटा उँट, गाई गोरु दिनुपर्छ । मसँग त केही पनि छैन । मारियमले पनि ठट्यौली पारामा नै भनी ‘तपाईं मेरी छोरीसँग बिहे गर्ने भए म केही माग्दिन सबै कुरा माफ।

बेलुकी पख नेपालमा उनीसँग फोनमा कुरा हुँदा मैले यो कुरा भनेको त उनीले भनिन् ‘लौ बधाई छ, अब त तपाईंको नाम पनि फेर्नु पर्ला कुमारबाट ओमार ।’ बीस मिनेट भइसकेछ ज्यालेन्जिबाट हेलिकप्टरमा उडेको पनि ।

पैंतालिस मिनेटको उडान समय पश्चात हेलिकप्टर अल्फासिरमा अवतरण गर्यौं । हामी पनि आफ्नो कार्यकाल (mission Duty) पुरा गरि नेपाल फर्कने प्रकृयामा लाग्यौं ।
सन् २०१२ डार्फुर, सुडान

Add a Comment

Your email address will not be published. Required fields are marked *