फलामको ढोका : हारेको जीवनलाई पाठ
|दिन चिसो थियो | हरिया साना हिमाली सुगाहरु धान उठाएर खालि भएका खेतमा छपक्कै थिए । लेकमा चिसो बढ्दा सुगाहरु बेंसी झर्ने गर्थे । लिपे लेकको टुप्पोमा थोरै हिउँ बाँकी नै थियो । र, यो वि.सं. २०६२ साल माघ महिनाको उत्तरार्ध थियो । राजा ज्ञानेन्द्रले २०६१ माघ १९ का दिन सम्पूर्ण राज्यसत्ता आफ्नो हातमा लिएको एक बर्ष पुरा भएको थियो । श्री लक्ष्मी मा.वि. श्रीमंज्यांगले कक्षा १० को एसएलसी टेस्ट परिक्षाको नतिजा सार्बजनिक गरेको थियो ।
भित्तामा १ नं मा प्रशन्न घिमिरे र २ नं मा सुमन घिमिरेको नाम थियो । सबै जना खुशि थियौं । सरहरू पनि निक्कै खुशी हुनुहुन्थ्यो । हाम्रो ब्याचका सम्पूर्ण विद्यार्थीको बखान गरेर थाक्नु भएको थिएन । सबैलाई हाम्रो ६२ ब्याच अन्यभन्दा राम्रो छ ट्यालेन्ट छ र यसपाली स्कुलकै रिजल्ट राम्रो आउँछ भनेर सरहरू ढुक्क हुनुहुथ्यो । अब एक महिना राम्रोसँग पढ । चैत्रबाट फलामे ढोका मानिने एसएलसी परिक्षा दिन सदरमुकाम बेंशीसहर गएर राम्रो गर्नुपर्छ भनेर सम्झाउँदै हुनुहुन्थ्यो । अझ म त झन् सेकेन्ड भा’थें । ४६ किलो र ५.७ को उचाइको टुप्पोमा कालो लाम्चो अनुहारमा देखिने ठूलो नाक झनै बढेर घिरिम्ला जत्रो भएको थियो । प्रशन्न र म एउटै गाउँ, सँगै घर र स्कूलमा सबैभन्दा टाढाबाट आउने बिद्यार्थीमध्ये थियौं । स्कूल डाँडामा थियो भने हाम्रो घर बेंसीमा । एकजना प्रथम र एकजना द्धितीय हुँदा सबैको लागि उदाहरण बनेका थियौं ।
हाम्रो गणित पढाउने वस्ती सर हुनुहुन्थ्यो | असाध्यै असल, मिठो बोल्ने र बुझाएर पढाउन सक्ने हामी | धेरै खुसि थियौं वस्ती सरजस्तो शिक्षक पाएर । तर खुशी लामो समय टिक्न पाएन । स्कुलको राजनीति असाध्यै खराब थियो । र उहाँको व्यक्तिगत कारणले पनि होला राजिनामा दिएर जानुभयो । त्योभन्दा अगाडी गणित पढाउने हरिश्चन्द्र सर हुनुहुन्थ्यो | उहाँ लक्ष्मी मा.वि.को प्रधानाध्यापक पनि हुनुहुन्थ्यो र लम्जुङ्गकै कहिलिएको गणित शिक्षकमा गनिनुहुन्थ्यो। त्यतिबेलाको कथित माओवादीले स्कूलमा आएर उहाँलाई कालोमोसो दल्ने कोसिस गरेका थिए | राजनीतिक कारण थियो तर विद्यार्थीको प्रतिरोधले उनीहरू लखेटिएका थिए | तर उहाँलाई भौतिक कारबाही गर्ने धम्कि दिएर गएका रहेछन् । भोलिपल्टबाट उहाँ स्कूल आउन छोड्नुभयो । जागिरभन्दा ज्यान प्यारो हुन्छ नै | त्यसको निकै लामो समयपछि विद्यालयले गणित शिक्षकको रुपमा वस्ती सरलाई पाएको थियो । तर उहाँ पनि लामो समयसम्म टिक्न नसकेपछि विद्यालयको हिसाब किताब बिग्रियो । विद्यार्थी गणित बिहिन भइयो । तिबेलाको एसएलसीमा कक्षा ९ र कक्षा १० दुवैको पाठ्यक्रमबाट प्रश्न आउंथ्यो तर हामी गणित बिहिन भएका थियौं । गणित सर नहुँदा कहिले राजु सर,कहिले सरोज सर, कहिले मिन सरबाट गणित पढ्ने कोसिस भने जारि थियो ।
विद्यार्थीको उच्च माग र १ दिने हड्ताल पछि पुनः विद्यालयले वस्ती सरलाई नै के के भनेर फकाएर, आश्वाशन दिएर फिर्ता ल्याएको थियो । वस्ती सरसँगै हाम्रो खुसि पनि फिर्ता भएको थियो । पुन: स्कुलको हिसाब किताब मिल्लाजस्तो त भएको थियो । तर समय दुःखको होस् या खुशीको क्षणिक हुने रहेछ ! वस्ती सर फेरी आएको केहि समयपछि कथित माओवादीले उहाँलाई पनि भौतिक कारबाही गर्ने भनेर हतियार सहित स्कुल प्रवेश गरेपछि उहाँ त्यहाँबाट भाग्न बाध्य हुनुभयो ! अनि फेरी कहिल्यै उहाँ त्यो स्कुल फर्केर आउनु भएन । पछि सुनियो उहाँ जङ्गल जङ्गल भाग्दा हात खुट्टा भाँचिएको छ रे भनेर । तर उहाँले पनि हरिश्चन्द्र सरलेजस्तै जागिर छोडेर ज्यान जोगाउन सफल हुनुभयो ।
हामीले गणित राम्रोसँग पढ्ढ्नै पाएनौं । त्यसपछि सेडांईं सर गणित शिक्षककोरुपमा आउनु भयो र ९ र १० दुवै कक्षाको कम्पल्सरी र अपसनल म्याथ पढाउन थाल्नुभयो । लगभग ५० जना विद्यार्थीमा हामी अप्सनल म्याथ पढ्ने १० जना केटा र ४ जना केटी गरेर १४ जना थियौं | समय घर्किसकेको थियो । हाम्रो ९ र १० कक्षाको गरेर कम्पल्सरी म्याथको लगभग कोर्स सकिएपनि अप्सनल म्याथको भने ६० प्रतिसतजति मात्र कोर्स सकियो । अलजेब्रा, त्रिगोनमेट्री, स्टाटिक्स र मेट्रिक्सलगायत पाठ पढ़ेतापनि भेक्टर, ट्रांस्फर्मेसन, कोअर्डीनेट जोमेट्री, लिमिट एण्ड कनटिन्युटिलगायत पाठ पढ्न भ्याइएको थिएन | तर पनि एसएलसी दिन सदरमुकाम जाने दिन आयो | समयलाई रोक्न नसकिने रहेछ ।
एसएलसीको लागि सदरमुकाम जाने दिन तरकारी, दाल लुगाफाटो अनि किताब, कापी लगाएतको भारी बोकेर मसँग बा जाने हुनुभयो ! उदीपुरसम्म हिंड्दै (घरबाट ५ किमि टाडा गाडी चड्ने ठाउँ) सम्म पुगेर गाडी चढेर सदरमुकाम पुगियो | सेन्टर परेको स्कुल जनविकास मा. वि. हेरेर बेंसीसहर मै बस्ने सरिता दिदिको नजिकै एउटा कोठा खोजेर खाना चाँही सरिता दिदिकोमा खाने प्रबन्ध मिलाएर बा फर्किनुभयो । फर्किने बेलामा बाले ‘तँ बिहान ढिलासम्म सुत्छस् | अबदेखि बिहानै उठेस् | बिहान ४ बजे उठेर पाठ एकपल्ट दोहोर्याएस् | नआत्तिकन बस | म जाँच सकिएको दिन लिन आउँछु’ भन्नुभयो । मैले ‘हुन्छ’ भनें । अनि बा घडी त छैन बिहान ४ बजे कसरी था’पाउने भनें ! बाले आफ्नो हातमा बाँधेको कालो पलास्टिकको चेन फ़ुस्किएर रबर बेरेको घडी फुकालेर ‘ला’ यही बाँध’ भन्नुभयो । हुन्छ भनेर घडी मैले बा को त्यही घडि हातमा लिएँ | बा जाने बेला मेरो आँखा बाको हातमा पुग्यो बाका हात पनि मेराजस्तै काला रहेछन् । बाको घडी बसेको ठाउँमा मात्र सेतो रहेछ । मैले बाको घडी हातमा बाँधे, असजिलो भएजस्तो लाग्यो । गरुङ्गो घडी भएको थियो कि मन तर गरुङ्गो भने महसुस भयो । मलाई घडी लाउनै मन लागेन । अनि घडी बालाई नै फिर्ता दिएँ | बा म गएँ भनेर हिड्नुभयो । बा हिंडेपछि म १० दिन बस्ने कोठा मिलाउन थालें । आधि घण्टामा बा फेरी आउनुभयो बा त जानु भएकै रहेनछ । बाले त बजरतिर गएर अलार्म बज्ने टेबल घडी ल्याउनुभएको रहेछ । टेबल घडी दिंदै ‘अब ४ बजे घन्टी लगाएर उठ्ने अनि पाठ दोहोर्याएर पढ्ने’ भन्नुभयो | मैले हस् भनें ! बा जानुभयो त्यो दिन भर मेरो काम त्यो घडीमा आलार्म सेट गर्नी र पिपिपिपी पिपिपिपी पार्ने मात्र भयो । बेलुकासम्म ब्याट्री सकिएछ । भोलिपल्ट आलार्म नै बजेन | म ढिला उठें र इङ्लिशको जाँच दिन गएँ ।
वि.सं. २०६२ चैत्र २३ गते हाम्रो वैकल्पिक गणितको जाँच थियो र २४ गते इङ्लिशको सुन्ने र बोल्ने प्राक्टिकल जाँच थियो । गणितको कोर्स पनि सकिएको थिएन र इङ्लिश सुन्ने र बोल्ने प्राक्टिस पनि थिएन हाम्रो । यही दिन हो २०६२/६३ को जनअन्दोलनको शुरुवात भएको दिन पनि । बिहानैदेखि सदरमुकाममा नारा जुलुस सुरु भयो । अन्य कति ठाउँमा जाँच क्यान्सिल भएको खबर आयो ! हाम्रोमा पनि क्यान्सिल हुने कुरा भयो हामी पनि क्यान्सिल भैदिए हुन्थ्यो भन्नेमा थियौं ! किनभने कोर्ष नै जो सकिएको थिएन, पढेको नै जो थिएन ! तर बाहिर नारा जुलुस भएपनि ढिला गरेर जाँच शुरु भयो ! प्रश्न पत्र हेर्दा जुन जुन पाठ हामीले पढेको थिएन त्यही त्यही मात्र आएजस्तो लाग्यो | मनमा पनि अनेक किसिमका नारा जुलुस सुरु भए तर यो नारा जुलुसको कुनै निकास थिएन | हतार हतार गरेर जानेको लेखियो नजानेको छोडियो र परिक्षा कोठाबाट निस्किईयो |
आन्दोलन चर्किएका कारण इङ्लिशको सुन्ने र बोल्ने प्राक्टिकल जाँच पनि भोलि होइन आजै सक्ने कुरा भयो ! त्यसको पनि जाँच सकेर बाहिर निस्किंदा आम हड्ताल थियो | नारा जुलुस चलिरहेको थियो |गाडीहरु चलेका थिएनन् | बाटोमा टायर बलेका थिए ! आर्मी पुलिस हतियार र लाठी सहित तैनाथ थिए | त्यतिबेला हामीलाई यिनीहरु हाम्रा दुश्मन हुन् जस्तो लाग्थ्यो | हतार हतार कोठामा आएर आजै फर्किने भन्ने सुरमा लागियो | गाडी नचलेपछि बा लिन आउने कुरा पनि सम्भव भएन | लुगा फाटो,किताब कापी लगायत सबै जेब्रा झोलामा मिलाएर राखें र घडी जतनको साथ सबैभन्दा माथि राखें !
तन्नाको नाम्लोले बोकेर हिंडेरै घर पुग्ने आँटका साथ यात्रा शुरु गरियो | करिब २० कि. मि. हिड्नु थियो बेंशिशहरबाट घरसम्म ! प्रशन्न, म लगायत सबै हिड्न थाल्यौं ! हिंड्दा हिंड्दै बाटोमा झोलाबाट पिपिपिपी पिपिपिपी आलार्म बज्यो ! ४ बजेछ ! बल्ल बाटो आधा भएको थियो ! जेन तेन बेलुका घर पुगियो | थकित गलित र मनमा अनेक किसिमका नारा जुलुसका साथ ! एसएलसी सकिएको थियो | हिजोसम्म पढ्नु पर्ने तनाब थियो | तर अब खुला आकाशमा उडेको पन्छीजस्तो अनुभव भएको थियो | अबको दैनिकी बाख्रा, भैंसी र गोरु चराउन खोलातिर जाने, काफल, ऐंसेलु, अङ्गेरि, डुम्री खाने ,चरा लखेट्ने, माछा,मर्ने र दिन भर पौडी खेल्ने थियो ! करिब ३ महिना यसरी नै बिताइयो ! बिचमा एक पटक काठमाडौँ घुम्न पनि आएँ | दाइ जो काठमाडौँ बस्न थाल्नुभएको थियो |
वि.स.२०६२|०६३ को १९ दिने जनआन्दोलन सकिएपछि बैशाख १४ मा राजा ज्ञानेन्द्रद्वारा सात राजनीतिक दलको सर्वसम्मत निर्णयका आधारमा नेपाली काङ्ग्रेस संसदीय दलको नेता गिरिजाप्रसाद कोइरालालाई नेपाल अधिराज्यको संविधान, २०४७ बमोजिम प्रधानमन्त्री पदमा नियुक्त भएपछि देशको गृहयुद्द समाप्त भयो | हाम्रो १० कक्षा सकिए सँगै १० बर्षे जनआन्दोलन समाप्त भयो | हाम्रो ब्याच देशकै लक्षिणको ब्याच रह्यो ! सबैभन्दा ठूलो विकाश भनेकै देशमा शान्ति सुरक्षा कायम हुनु हो | म भने खुशी नै थिएँ | तर खुसि होस् या दुख एक दिन बितेरै जाने रहेछ |
हिजो दिनभर हरिस्वांरोमा रोपाईं थियो | हिजो दिउँसोदेखि नै झम झम पानी परिरहेको थियो | बिहानैदेखि बेलुका ७ बजेसम्म खेतमा काम गरेर ज्यान गरुङ्गो भएको थियो | खुट्टा हिलाले खाएर चर् चर् भएका थिए ! आज म मेलामा गएको थिईन | घरमा बिजुली आएको थिएन | बिहान ९ बजे तिर बिजुलीको लाइन आएपछि मैले रेडियो खोलें | हिजो बेलुका एसएलसीको नतिजा प्रकाशित भएको रहेछ | यो असारको दोस्रो- तेस्रो हप्ता थियो | नतिजा हेर्ने २ वटा तरिका थिए एउटा गोरखापत्रमा पास भएको सिम्बोल नं हेर्ने र अर्को फोनबाट 1१६०१ डायल गरेर सिम्बोल नं हानेर पास र फेल सुन्ने | काठमाडौँबाट गोरखापत्र स्कुल आइपुग्न २ दिन लाग्थ्यो | गाबिस भरिमा नवीन दाइको घरमा मात्र सिडिएमए फोन थियो त्यो पनि बिग्रेको रहेछ ! रिजल्ट थाहा हुने कुरै भएन | भिष्मकान्त सर जो हामीलाई इङ्गलिस पढाउनु हुन्थ्यो,उहाँको घर भोटेवडारमा थियो हाइवेमा | रिजल्ट बोकेर उहाँ आउने भन्ने खबर सुनियो | तर उहाँ १० बजेसम्म पनि आउनु भएन | बाटो हेर्दा हेर्दै ११ बज्यो तर आइपुग्नु भएन |
प्रशन्नसँग उसको आमा पनि मेरो घरमा आउनुभयो | रिजल्ट थाहै भएन तिमीहरु जाओ भोटेवोडार (७ कि मि टाढा ) भन्नुभयो | प्रशन्नले पनि जाम न त भन्यो | तर मलाई भने जान मन त थिएन | ज्यान उति सन्चो पनि थिएन | तर प्रशन्नले भनेको कुनै पनि कुरा नाइँ भन्ने गरेको थिईन मैले | ऊ मेरो जिक्री जो थियो ! यति सारै दौडिएछौं कि आधा घण्टामा ७ किलोमिटर टाढाको भोटेवडारको बाटो माथिको सापकोटा स्टेसनरी पुगियो | सापकोटा स्टेसनरीमा निक्कै भिडभाड थियो | भिष्मकान्त सर त त्यहीं हुनुहुँदो रहेछ | गोर्खापत्र आइसकेको रहेछ तर हामीले त्यही हेर्न पनि १ घण्टा कुर्नु पर्यो | प्रशन्नको सिम्बल नं झट्टै फेला पर्यो | अरु हेर्दै थियौं, भिष्मकान्त सर हाम्रो स्कूलको जम्मा ३ वटा मात्र सिम्बल नम्बर छ भन्दै आउनु भयो | हेरें तर ०४०१७०० Z ती तीनवटाको लिस्टमा थिएन | १ पटक हेरें,चित बुझेन | फेरि २ पटक, ३ पटक, ४ पटक हेरें तर अहं यो ०४०१७०० Z सिम्बल नम्बर भने पत्रिकामा छैन !
मेरो मनले हरेस खायो | प्रशन्नले कन्फर्म गर्न फोनबाट पनि आफ्नो रिजल्ट सुनिहेर्यो | पास भएको आयो | तर मलाई फोनमा सुन्नु थिएन ! तर भिष्म सरले फेरी सबै विद्यार्थिको फोनबाट कन्फ़र्मम गर्नु भयो |अहँ ३ बाट चार भएन ! जसमा मेरो सिम्बोल नम्बर परेको थिएन | कक्षाको सेकेन्ड ब्वाइको थिएन ! अप्सनल म्याथ पढ्ने जान्नेमध्येको केटोको थिएन | थियो त बस फस्ट ब्वाई, थर्ड र अर्थशास्त्र पढ्ने १ जनाको मात्र ! के यो विपना नै हो ? के राजु नि पास भएन ? के साँच्चिकै विनय, प्रताप, ब्रह्मकान्त, विनोद, चन्दन, सुजाता, राधिका, इन्द्रमायाँ, डिकुमारी, दिलकुमारी, सुकुना कोही नै पास भएनन् त ? अनि म पनि पस नभएकै हुँ त ? के म पहिलोपटक फेल भएकै हुँ त ?
म शुन्य भएँ | सिताङ्ग भएँ | अब के गर्ने कहाँ जाने घर गएर के भन्ने ? पेट पोल्न थाल्यो | वमिट आउलाजस्तो भयो | पिसाब आउलाजस्तो भयो |पेट दुखेजस्तो भयो | म एक्कासी भीरबाट खसेजस्तो भएँ | मलाई लाग्यो अब म सकिएँ | मैले त्यसपछि केहि अनुभव गर्न सकिन |गाडी गुडेको, मान्छेको भिडभाड, हल्लाखल्ला मलाई केही थाहा हुनै छाड्यो | अघिसम्म बोलिराख्नु भएको सर बोल्न छाड्नुभयो | रिजल्ट हेर्न जाम भनेको साथी अघिजस्तो बोल्न छाड्यो | अब घर फर्किने बेला भयो | म पनि पछि लागें उनीहरूको | भिष्मकान्त सर र प्रशन्न कुरा गर्दै थिए के पढ्ने कहाँ पढ्ने ? म चुपचाप उनीहरुको पछिपछी अचल झैं बनेर हिंडिरहें | घरसम्म आइ पुग्नै लागुन्जेल पनि म एक शब्द कोही सँग बोलिन ! उनीहरुको कुरा सुन्दै उनीहरुसँगै हिड्ने हिम्मत भएन मलाई | म सकेसम्म पछि नै बसें | फर्स्ट र थर्ड पास भए सेकेन्ड भएर पनि फेल भयो के भन्लान सुन्नेले ? अरु सबै फेल हुनेहरुको लागि त सेकेन्ड ब्वाइ सुमन त फेल भा’छ भनेर चित्त बुझाउने ठाउँ थियो तर म के भनेर चित्त बुझाउँ ? सेकेन्ड हुनु कति खराब कुरा रहेछ ? म किन भएँ सेकेन्ड ? राजु किन भएन सेकेन्ड ? म दसौं एघारौँ किन भइन ? अब के गरूँ म ? बाको भरोसा, सरहरुको विश्वास, मेरो मेहनत र आश, दाइले के भन्ला ? अब मामाघर कसरी जानु ? भोलिबाट रोपाईंमा फेल भएको अनुहार लिएर कसरी जान सक्छु ? काठमाडौँ गएर पढ्ने धोको अब के हुन्छ ? म कसरी बाँचौं अब ? मनमा अनेक तर्कना आउन थाले, गोडा अगाडी बढ्न छोडे | प्रशन्न र भिष्म सरसँग धेरै नै पछि छुटिसकेका थिए | चित्रेको पहरोसम्म आइपुग्दा म घर नजाने निर्णयमा पुगिसकेको थिएँ | भेल आएको दोर्दीमा फाल हान्ने निर्णय गरेपछि छाती ढक्क फुल्यो | गोडा टक्क अडिए, आँखा तिर्मिर हुन थाल्यो |
म आफ्नो कारणभन्दा पनि परिवार, सरहरु, समाजको कारण कमजोर भएको थिएँ | म बढी दुखी यसकारण थिएँ कि मेरो अघि र पछिका दुवै पास भएका थिए | सुख दुःख सफलता असफलता सबै तुलनात्मक हुँदा रहेछन | म सेकेन्ड भएर मान्छे फेल भएको थिएँ | अरु पास भएका थिए | कसरी देखाउने अनुहार गाउँमा ? जिन्दगीमा पहिलोपटक फेल भएको थिएँ त्यो पनि फलामे ढोकामा ! सानैदेखि एसएलसी नै सबथोक हो भनिएको थियो | यसैमा फेल भएँ म ? अब म बाँच्न कसरी सक्छु फेल भएर ? ! बस ! दोर्दिको धमिलो पानी र स्याँ…याँ गरेको आवाजमा मेरो मनका तर्कनाहरु मिसिंदै थिए |
म हराएपछि बा आमा मलाई खोज्दै हिड्नुहोला | कति रुनुहोला ? बहिनी कति रोली ? भोलि हाम्रै रोपाईं छ के होला ? बादुरे गोरु ? सेती भैंसी ? लाम्कने डुँडि माउ, रेसमे र जोबने बोकालाई कसले चराउँछ ? कविता लेखॆका डायरी अरुले पढ्लान ! बालाई लागेको ऋण कसले तिर्ला ? दोर्दी बाल क्लबको काम के होला ? यो क्लबको म अध्यक्ष थिएँ | स्कूलमा रोपेको सुन्तलाको बोटको के होला ? कुडारमा रोपेका बडहरका बिरुवा कसले हुर्काउला ? ती ठूला ठूला काप्रो र बडहरको घाँस कसले खसाल्ला ? किसेदीमा थापेको ढडिया अर्कैले लैजालान ? अहो सोच्दा सोच्दै सास फेर्न गाह्रो भएको थियो | पहिलो पटक स्वचालित फेरिने सास मैले बल लगाएर फेर्नुपरेको थियो | स्याँ…स्याँ गर्दै म घर पुगें |
आमाले देख्नेबितिकै म फेल भएको था पाउनुभयो | आमा रुन थाल्नु भयो | नरुनु आमा म फेरी पढेर पास भैहाल्छु नि भनें | आमालाई त त्यसो भने तर मलाई सम्झाउने मेरो भावना बुझ्ने कोहि थिएन | नआत्ति जाबो १ पटक फेल हुदैमा आत्तिन्छन त भन्ने कोहि थिएन | न म आमाको अगाडी रुन सक्थें | नाम्लो र आँसी लिएर खनायो झार्न हिंडे घर बस्नै मन लागेन | र कंडेल खोलानेरको बाँसको झ्याङ् पछाडी बसेर १ घण्टा रोएँ | मन अल्लि हल्का भएपछी घाँस नली घर फर्किएँ | बेलुका भात खान मन लागेन | कोठामा गएर सुतें | आमा ओछ्यान मै भात लिएर आउनुभयो बा पनि रोपाइँबाट आउनुभयो | साने फेल भएछ्स् नि भन्नु भयो | पढेकै थिस् कसरी फेल भइस् भन्नुभयो | यसको उतर त मसँग पनि थिएन | बाको बोलि सुनेपछि मेरा आँसु रोकिएनन् | बा म नपढेर फेल भएको होइना भन्न वाक्य फुटेन | रुँदा रुँदै कतिबेला निदाएछु थाहै पाइन | राती बिउँझिंदा हन्-हन्ति ज्वरो आइराको’थ्यो | म कनेको सुनेर आमा आउनुभयो | ल सानेलाई त ज्वरो आएछ भनेर बालाई उठाउनुभयो | घरायसी औषधीतिर लाग्नुभयो | मलाई लगातार ३ दिन जोरो आएपछि जचाउँन सेरा जाँदा पो थाहा भयो,टाइफ़ाइड भएको रहेछ | एक हप्तासम्म म ओछ्यान परें !! एक्लै फेल भएको उत्सव मनाउँदै रहें | मनमा अनेक कुराहरू आइरहन्थे | सिरानी भिज्दै सुक्दै गरिरह्यो | टाइफाइडको ४ पत्ता र एक सिसी औषधी सिद्दिए ! दोर्दी र किसेदिमा ४ दिन भल आयो | घडीको ब्याट्री सकिएको रहेछ | अलार्म एक पटक पनि बजेन, त्यसैले म १० दिन सम्म सुतें |
ठुलाबाको गर्भे खेतको साउने मूल पनि पलायो र मेरो तन र मन पनि बिस्तारै पलाउँदै गयो | यो बिचमा कुनै पनि सर फेल भयो भनेर मलाई भेट्न आउनुभएन | सान्त्वना दिन, हिम्मत बढाउन, हिम्मत नहार भन्न कोहि आएनन् | जबकि हरेक एसएलसी दिने विद्यार्थीको घरमा राती १०-११ बजेसम्म पनि पढ्दै छ कि सुत्यो भनेर सरहरूको गस्ती हुने गर्थ्यो | पहिला गाउँका सबै आउँथे कस्तो छ तयारी भन्थे | यसपटक न साथीहरु नै आएर एक बचन कस्तो छ तलाई नै भने न आफन्त नै आए | हुन त असफल मान्छेसँग सङ्गत गर्न चाहने को नै हुन्छ र ? रोपाईंको चटारोमा कसलाई कसको मतलब र ? गाउँलेको लागि एउटा खेतालो घटेको’थ्यो बस ! प्राय सबै सरहरुको म पृय विद्यार्थी नै थिएँ | गाउँमा सबैसँग हाँस्ने बोल्ने सबैसँग राम्रो थियो | लाग्थ्यो दुःखमा हुँदा समाज छ | तर होइन रहेछ दुःख पर्दा कोही नै आफ्ना नहुँदा रहेछन् जस्तो लाग् थाल्यो |
मलामीमा नआएको कुरा दोहोर्याएर हुँदैन तर बिहेमा बोलाउन छुट्यो भने जिन्दगीभर फलानाले बिहेमा बोलएन भन्ने कुरा भइराख्ने समाज हो यो | हो त्यहीबेला देखि म एकलकाटे हुन थालें | मेरो जिन्दगीको ठूलो दुःखमा म एक्लो भए र बलियो भएँ | बा पनि कम बोल्न थाल्नुभएको थियो | हुन त फुर्सद नभएर पनि होला | जहिले खोलामा बाडी आएको, पुल भत्किएको, बगाएको, बादुरे गोरु भीरबाट खसेर मरेको, हवाइजहज क्र्याश भएको जस्ता मात्र सपना देख्थे | कसैसँग बोल्न मन लाग्दैन थियो | घरमा कोही नआए हुन्थ्यो जस्तो लाग्थ्यो | दिनभर रेडियो बजाएर सुतेर बस्थें | यसरी नै दिन बित्यो,कोठामा थन्किएर आफ्नै सोचाइमा गुम्सिएर |
टाइफाइडबाट १० दिनपछि अलिअलि तङ्ग्रिएँ | घडीमा ब्याट्री हालें | भोलिपल्टबाट आलर्म बज्न थाल्यो | स्कुलमा लब्धाङ्क पत्र आएछ | फेल भएपछी मैले लख काटिसकेको थिएँ-अप्सनल म्याथमा मैले जम्मा ६० नम्बरको हल गर्न भ्याएको थिएँ | सबै मिलेको पनि थिएन | त्यसैमा फेल भएँ कि भन्ने लाग्यो तर पास त हुनै पर्ने कुनै पनि हालतमा तर अहं जम्मा २२ नम्बर मात्र पो आएको रहेछ तर ३२ नम्बर आएको भए पास हुने थिएँ ! मान्छेको जिन्दगी १० नम्बरले कहाँबाट कहाँ पुर्याउने रहेछ | मलाई १० अंक मन नै पर्दैन त्यो दिनबाट | अरु ७ वटा बिषयमा राम्रो नम्बर आएको थियो तर एउटामा फेल भएपछी फेल ? यो कस्तो नियम हो ? यो के तरिका हो ? कक्षामा अप्सनल म्याथ लिनेको अप्सनल म्याथ र अर्थशास्त्र लिनेको कम्पल्सरी म्याथ विषय लागेको थियो | विद्यालयको गलत राजनीति र किथत माओवादी जनयुद्दले हामीजस्ता कति विद्यार्थी फेल भए होलान ? राजनीति र शिक्षा नीति माथि प्रश्नहरू उठ्न थाले |
पास हुनेहरु उछुट्टिए र लामो समय भेट भएनन् ! हामी फेल हुनेहरु भेला भएर चान्स एक्जाम दिने तयारीमा जुट्यौं | जति पीर भए’नी जति मन रोए’नि जिन्दगी अगाडी बढाउनु पर्ने रहेछ | सम्हालिनु पर्ने रहेछ | एक डेढ महिनामा चान्स एक्जाम भयो | दशैं वरपर रिसल्ट भयो | सबै जान पास भैयो | यो बीचमा बा र म चितवन गएका थियौं | बालाई म स्वास्थ्यकर्मी भएको हेर्न मन थियो | र मलाई पनि त्यहि पढ्छु भन्ने लागेको थियो ! तर नागरिकता र सर्टिफिकेट नभई फर्म भर्न नपाइने रहेछ ! हामीँगग दुवै चिज थिएन |
रिजल्ट आएपछि पनि फेरी एकपटक बा चितवनमा बुझ्न जानु भएको थियो | फर्म भर्ने समय सकिसकेको रहेछ | मेरो एउटा सपना यहाँ तुईयो | मेरोभन्दा पनि बाको इच्छा पुरा गर्न नसकेकोमा अझै पनि दुःखी हुन्छु | म एच ए पढेर गाउँकै हेल्थ पोस्टमा बसेर बा आमा लाई ग्यास्ट्रिकको दबाइ दिन सक्थें कि ! बाका आँखा बोल्थे मुख भन्दा | त्यसपछि जिन्दगीको सबैभन्दा दुःखद दशैं आयो तिहार आयो अनि गयो | समय खुशीको होस् या दुखको एक दिन बितेरै जानेछ |
तिहारपछि म काठमाडौँ जाने भएँ दाइसँगै कोठामा बसेर पढ्न | आमाले एक बोरा चामल, गुन्द्रुक दाल, तरकारीलगायत दुई बोरा सामान तयार गर्नुभयो | एक बोरा आमा र एक बोरा मैले बोकेर उदीपुरसम्म (लगभग ५ कि मि ) गयौं ! म गाडी चढेर काठमाडौँ आएँ ! दाइले स्किमस कलेज महाराजगंजमा मेरो भर्ना गरेर आउनुभएको रहेछ कमर्समा ! म भोलिपल्ट कलेज पुग्दा कलेजको सुचना पाटीमा कक्षा ११ को पहिलो त्रैमासिक परिक्षाको रिजल्ट आएको थियो | एक नम्बरमा राजु पुजारी श्रेष्ठ र २ नं मा सुजन श्रेष्ठको नाम थियो ! मनमा लाग्यो यिनीहरु कहिल्यै असफल नहुन जिन्दगीमा | सफल भैराखेको मान्छे असफल हुँदा उसको पछाडी कोही हुँदैनन् भन्ने कुरा मैले भोगिसकेको थिएँ | बरु सँधै असफलता अभ्यस्त हुन सकियो भने जिन्दगि सहज हुने रहेछ ! मलाई फस्ट सेकेन्ड हुनु थिएन अब जिन्दगीमा कहिल्यै पनि | कि कहिल्यै फर्स्ट सेकेन्ड नहुनु कि कहिल्यै फेल नहुनु | म ११ र १२ कक्षामा राम्रै नम्बर ल्याएर पास भएँ | अनि बिबिएस शंकरदेव र मास्टर्स टी यु बाट सकियो ! २०६४ साल देखिनै सहकारीमा जागिर खाँदै पढ्दै गरेको हुँ | हालसम्म ५ वटा संस्था परिवर्तन गर्दै अहिले अर्को संस्थामा कार्यरत छु | पहिलो दोस्रो हुन परेको छैन र फेल हुन पनि परेको छैन | उतार चढावहरु छिचोल्दै जिन्दगी चलिरहेको छ | फोक्सो, मुटु स्वचालित छन् सास फेर्न बल गर्नु परेको छैन | अबका असफलताहरु सहज होलान् किनभने म त्यसपछि कहिल्यै फस्ट र सेकेन्ड भएको छैन |
अहिले फेसबुकमा एसएलसी पास हुनेहरुलाई बधाईका ओइरा लागेका छन् ! बधाई खानेहरु कहिल्यै असफल हुन नपरोस, यदि असफल भै हाल्यौ भने पनि अहिले कमेन्टमा बधाई भन्नेहरु तिम्रो साथमा सँधै उभिउन् | शुभकामना ! कहिलेकंही बन्द हुन खोज्छ जिन्दगि पनि | फोक्सो स्वचालित नचल्न सक्छ | जबर्जस्ति बल गरेर सास फेर्नु पर्छ ! घडीको ब्याट्री जस्तै जिन्दगीमा हिम्मत फेर्नुपर्छ | सोच फेर्नुपर्छ | बाटो फेर्नुपर्छ | जिन्दगि सजिलै सकिदैन। सक्नु हुँदैन |