भानुभक्तलाई अमरता प्रदान गरिएका केही कामहरू
|भारतमा आदिकवि भानुभक्तको ठुलो स्थान, सम्मान र ऐतिहासिक मह्त्त्व छ। भारतमा रामकथाको एउटा लामो परम्परा छ। हिन्दी बङ्गला, तमिल तेलु मलयलम, उडिया, कन्नड, मैथिली प्रायः सबै साहित्यमा राम कथाको परम्पारा पाइन्छ। यसै भारतीय राम कथा परम्पराको शृङ्खलामा भानुभक्तको रामायणको भावानुवाद पनि महत्त्वपूर्ण रहेको छ। भारतीय समग्र साहित्यिक परम्परामा भानुभक्तको नाम पनि उत्तिकै आदरका साथ लिइन्छ। सूर्यविक्म ज्ञवालीको सम्पादनमा रहेको भानुभक्त रामायणको भूमिका लेखक तथा तत्कालीन राज्यपाल कैलाशनाथ काटजु भानुभक्तलाई भारतीय कवि समेत भनेको छन्। यसमा विराट भारतवर्षको सनातन परम्परामा रामकथाका अनुवादक सर्जकको रूपमा भानुभक्तको स्थान पनि महत्त्वपूर्ण रूपमा लिइन्छ। भारतमा सचेत भारतीय गोर्खाहरूले भानुभक्तलाई अमरता प्रदान गर्न उनको नामलाई विभिन्न किसिमका काम गरिएका छन्। यसमा उनको नाम सरकारी विदा, प्रतिमा स्थापना, स्थाननाम, भवन नाम, पथनाम, शैक्षिक संस्थान आदि उनको कृतित्वको पुस्तक प्रकाशन आदि आदि रहेका छन्।
१. भानुजयन्तीमा सरकारी विदा-
भारतमा भानुभक्तको विशेष स्थान छ। भारतको पश्चिम बङ्गाल, सिक्किम, असममा सरकारी तवरमा नै भानुजयन्तीलाई महत्त्व दिएर १३ तारिक जुलाईलाई सरकारी विदा गरिएको छ। भारतको पनि दार्जिलिङ सिक्किम र असममा भानु जयन्ती धुमधामले मनाइन्छ। सलुवा, कोलकाता, राँची, जम्मु, भाक्सू, देहरादुन, दिल्ली आदि स्थानहरूमा पनि भानुजयन्ती मनाउन थालिएको पाइन्छ। उत्तर-पूर्वाञ्चलका पनि असमबाहेक मणिपुर. नागाल्याण्ड, अरूणाचल, मेघालय, मिजोरामका विभिन्न स्थानमा भानुजयन्ती मनाइन्छ।
२. भानुभक्तको शालिक स्थापना-
नेपाल र भारत गरी लगभग तीन सय जति भानुभक्तका शालिकहरू स्थापना गरिएका छन् भनिन्छ। भारतमा भानुभक्तको शालिक स्थापना गरेर भारतमा हाम्रो अस्तित्वको मोहरछाप लाउने काम गरिएको छ। भानुभक्तले भारतीय धर्मग्रन्थ रामायणको भावानुवाद गरेका हुन् भन्ने प्रसङ्ग रहेको छ। भारतमा भानुभक्तका शालिकहरू धेरै स्थानमा स्थापना गरिएको पाइन्छ। दार्जिलिङको भानुशालिक सर्वप्रथम सन् १९४९ मा चौरस्तामा स्थापना भएको थियो। यो नै विश्वको पहिलो भानु शालिक हो। दार्जिलिङ र कालिम्पोङ जिल्लामा कालिम्पोङ, पेदोङ, खरसाङ, सिलगडी, खोलाचन्द फापरी, सालबारी, नक्सलबारी, मिरिक आदि स्थानमा भानु शालिक स्थापित छन्। सिक्किममा गान्तोक, सिङ्ताम, मङ्गन, रिनाक, पाक्योङ, नाम्ची, जोरथाङ, रोडाथाङ, मल्ली आदि ठाउँमा भानु शालिक रहेका छन्। गोजिङमा भने विशालकाय भानुभक्तको शालिक स्थापना गरिएको छ। त्यहाँ नेपाली भाषा साहित्य अनुसन्धान केन्द्र पनि रहेको छ तर हालमा यो निष्क्रिय रहेको सुन्नमा आएको छ। डुवर्सका मानाबारी, मालबजार, लुकसान, नगरकट्टा, सामसिङ, दलसिंहपाडा, जयगाउँ आदिमा शालिक रहेका छन्। असमका डिमाहासाउ जिल्लाको बागेटार, गमिरि, धेमाजीको डिमाउ, लखिमपुरको चौलदोवा, तीनसुकियाको जागुन, शोणितपुरको लोकरा, डिगबोयको नेपाली विष्णुमन्दिर, डिगबोयकै टिङ्राई, कछार जिल्लाको हरिनगर, पश्चिम कार्बी आङ्लाङको मैसान आदि स्थानमा भानुभक्तको शालिक स्थापना गरिएका छन्। भारतको उत्तर पश्चिमाञ्चलका केही स्थानमा पनि भानुभक्तको शालिक स्थापना भएका छन्।
३. भानुभक्तको नाममा स्थाननाम–
भानुभक्त नाममा केही स्थाननाम रहेका छन्। केही यस्ता ठाउँ र पथहरू हुन्- दार्जिलिङको सिंहमारीको भानुग्राम, चौरस्ताको एक स्थान भानुसरणी, भानु उद्यान- खरसाङ, भानुग्राम, भानुटोल मिरिक, भानुटोल-मङ्पु, भानुनगर- सिलगड़ी, भानुसरणी- जयगाउँ आदि हुन्। त्यसै गरी भानुभक्तको नाममा केही सार्वजनिक र सरकारी भवनको नाम राखिएको पाइन्छ। यस्ता केही भवनहरू हुन्- भानुभवन : दार्जिलिङ, रबीन्द्र-भानु मञ्च– उत्तर बङ्गाल विश्वविद्यालय, भानु स्मृति भवन– चलाउने, चियाकमान डुवर्स आदि हुन। भानुभक्तका नाममा पथको नाम पनि रहेका छन्। जस्तै भानु पथ– दार्जिलिङ, आचार्य भानुपथ– खरसाङ, भानु पथ सिलगड़ी मुख्य हुन्। त्यस्तै गरी केही सामाजिक सङ्घहरू पनि भानुभक्तका नाममा रहेका छन्। भानुभक्त समिति– सिलगड़ी, भानु सङ्घ– सिलगड़ी आदि हुन्। डुवर्सको नगरकट्टामा रबीन्द्र-भानु सेतू पनि पाइन्छ। यसै गरी उनको नाम रहेका केही विद्यालयहरूको हुन्- भानुभक्त प्राथमिक पाठशाला– दार्जिलिङ, भानु रात्री पाठशाला– दार्जिलिङ, भानुभक्त प्राथमिक पाठशाला– गुरूङ बस्ती सिलगड़ी, भानुभक्त प्राथमिक पाठशाला– मदारीहाट, अलिपुरद्वार जिल्ला, भानु निम्नोच्च विद्यालय-मङ्पु, भानु पाठशाला– बागडोगरा आदि हुन्। नेपालमा भानुभक्तको नाममा कति विद्यालय, संस्था छन् त्यसबारे गहन अनुसन्धान गर्न बाँकी छ।
४. भानुभक्तका नाममा पुरस्कारहरू–
नेपाली वाङ्मयको सेवाका निम्ति पश्चिम बङ्गाल सरकारले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका माध्यमबाट प्रत्येक वर्ष भानु पुरस्कार दिन गर्दछ। हालसमा यसको नगद राशी रू एक लाख रहेको छ। त्यसै गरी नेपाली साहित्य परिषद् सिक्किमले पनि प्रत्येक वर्ष भानु पुरस्कार रु. एक लाखको राशि प्रदान गर्दछ। यही नामको पुरस्कार अखिल भारतीय नेपाली भाषा समिति, देहरादुनबाट पनि प्रदान गर्दथ्यो। नेपाल सरकारको आदिकवि भानुभक्त आचार्य पुरस्कार पनि रहेको छ।
- भानुभक्तका कृति अध्ययनहरू-
भानुभक्तको कृतित्व र व्यक्तित्वबारे लेखाजोखा गरिएका धेरै पुस्ताकार कृतिहरू प्रकाशित देखिन्छन्। तिनमा कुनै एकल लेखकीय पुस्तक प्रकाशन, कुनै सम्पादित र संकलित, कुनै फुटकर रूपमा आदि प्रकारले देखा परेका छन्। कुनैमा काव्यकृतिको भावगत कुनैमा भाषागत, कुनैमा तुलनात्मक, तर्कसम्मत् आदि विश्लेषण गरिएको पाइन्छ।
5.1. एकल लेखकीय पुस्तक प्रकाशन-
भानुभक्तको साहित्यिक योगदानको मूल्याङ्कन गर्दै केही लेखकले पुस्तक लेखेका छन्। यस किसिमको पुस्तकको प्रारम्भ गर्ने मोतीराम भट्ट (वि सं. १९४८ सन् १९८१) हुन्। उनको आदिकवि भानुभक्त आचार्यको जीवन चरित्रलाई प्रमुख मानिन्छ। शम्भुप्रसाद ढुङ्गेलको आदिकवि भानुभक्तको जीवनचरित्र (वि सं.१९६९), त्यसपछि भाइचन्द प्रधानको सं २००९ आदिकवि भानुभक्त आचार्य प्रकाशित छ। हृदयचन्द्रसिंह प्रधानको भानुभक्त एक समीक्षा (२०१३), बालचन्द्र शर्मा भानुभक्त (२०१४), नारायणदत्त शास्त्रीको भानुको सम्झना (वि सं. २०१७), नरनाथ आचार्यको कविसम्राट भानुभक्तको सच्चा जीवनचरित्र, २०१८, चन्द्रेश्वर दुबेको भानुभक्त र घाँसी (खण्डकाव्य, २०२०), इन्द्रबहादुर राईको सम्पादनमा रहेको मोतीराम भट्टको कवि भानुभक्त आचार्य जीवनचरित्र (२०२१), भानु पुस्तकालय सहायक समितिको प्रकाशत्वमा रहेको जुननाथ शर्माद्वारा सम्पादित भानुका लघु कृतिहरू (सं. २०२३) प्रकाशित भएको छ। त्यसपछि मुक्तिनाथ शर्माको भानुको भावना (२०२९), गिरिराज आचार्यको भानुभक्त र नेपाली भाषाको विकास (२०३१), दयाराम श्रेष्ठको रामकथा परम्परा र भानुभक्तीय रामायण (२०४१), सुमन ढकालको कवि भानुभक्त आचार्य र उनका केही साहित्यिक पक्ष (सन् १९८९), गुमानसिंह पारसमणि प्रधानको कविवर भानुभक्तको उपाधि र आदिकवित्वका प्रश्न (सन् २००१), डा कविता लामाको भानुभक्त आचार्यको काव्यकृतिको भाषिक अध्ययन प्रकाशित देखिन्छ। पछिल्लो कृतिमा भानुभक्त आचार्यका भाषिक पक्षहरूको आधारमा विश्लेषण गरिएको पाइन्छ। डा. भद्रवीर अधिकारीको नेपाली कविताको विकासमा भानुभक्त आचार्यको योगदान (वि सं. २०६२) पनि प्रकाशित भएको पाइन्छ। भानु जन्मस्थल विकास समिति, चुँदी रम्घाको प्रकाशनमा रहेको डा ब्रतराज आचार्यको आदिकवि भानुभक्त (जीवनी र कवितको सम्परीक्षण, (सं. २०५८), पुण्यप्रसाद शर्माको सम्पादनमा रहेको केही समालोचना आदिकवि भानुभक्त आचार्य (२०१०), असमका अविकेशर शर्माको भानुभक्तको आदिकवित्वको चिरफार पनि प्रकाशित भएको पाइन्छ। यसै गरी भानुभक्तलाई अन्य भाषामा परिचय दिने क्रममा पारसमणि प्रधानको भानुभक्त आचार्य (सन् १९७९) अङ्ग्रेजीमा रहेको छ। हरेन घोषको बङ्गला पुस्तक कवि भानुभक्त आचार्य (सन् १९९०) डा. मोतीवीर राईको मोतीराम भट्ट भानुभक्तको जीवनी पुस्तकको अँग्रेजी अनुवाद The Life of Bhanu Bhakta Acharya (२०४३) पनि प्रकाशित भएका छन्। यीबाहेक फुटकर रूपमा लेख्नेहरू भने धेरै छन्। तिनमध्ये केही उल्लेखनीय समीक्षक अध्येताहरूमा लश्र्मीप्रसाद देवकोटा, राजनारायण प्रधान, केशवप्रसाद उपाध्याय, डा कुमार प्रधान, कमला सांकृत्याय आदि हुन्।
5.2. सङ्कलित पुस्तक-
भानुभक्त आचार्यको कृतित्वलाई लिएर विभिन्न विद्वानहरूले लेखेका लेखहरूलाई सङ्कलन र सम्पादन गरेर पुस्तकाकार रूपमा प्रकाशित भएको पाइन्छ। सर्वप्रथम, नेपाली साहित्य सम्मेलन, दार्जिलिङबाट प्रकाशित भानुभक्त स्मारक ग्रन्थ सूर्यविक्रम ज्ञवालीको पहिलोचोटि सम्पादनमा रहेको वि सं. १९९७ (सन् १९४१) थियो। यसैलाई पछिबाट वि सं. २०२६ (सन् १९७०) मा पूर्वार्द्ध र उत्तरार्द्ध मिलाएर पूर्वार्द्धका सम्पादक सूर्यविक्रम र उत्तरार्द्धका सम्पादक तुलसीबहादुर छेत्री र जगत् छेत्री रहेका छन्। यसै भानुभक्त स्मारक ग्रन्थलाई तेस्रो चोटि पनि सन् २०१६ मा पनि गोपीचन्द्र प्रधानको प्रधान सम्पादकत्व पुराना र नयाँ लेखकका लेखहरू थपेर जम्मा ३७८ पृष्ठको प्रकाशित गरेको छ। भानुभक्तलाई अन्य भाषा-भाषीसमक्ष चिनाउने मनशायले पारसमणि प्रधानले अँग्रेजीमा आदिकवि भानुभक्त आचार्य नामक पुस्तक प्रकाशित भएको छ। पारसमणि प्रधानले नै भानुभक्त आचार्यका सबै कृतिहरूलाई एक स्थानमा सङ्कलन गरेर भानुभक्त ग्रन्थावली प्रकाशित गरेका छन्।
इन्द्रबहादुर राईको सम्पादनमा रहेको भानुभक्तका कृति अध्ययनहरू (२०३६) भानु अध्येताका निम्ति निकै महत्त्वपूर्ण पुस्तक बनेको छ। वि. सं १९७१ तदनुसार सन् २०१४ मा भानुभक्त आचार्यको २०० औं जयन्तीको अवसरमा नेपाल, भारत र विश्वका विभिन्न देशहरूमा धुमधामले समारोहपूर्ण जन्म जयन्ती पालन भएको विभिन्न समाचारपत्रहरूमा समाचार आएका थिए। त्यस अवसरमा द्विशतकीय भानु स्मारिका आदि प्रकाशित भएका थिए। त्यसै अवसरमा नेपाली साहित्य संस्थान, सिलगडीले प्रकाशित गरेको र डा. घनश्याम नेपालको प्रधान सम्पादकत्वमा रहेको भानुभक्तीय कृति द्विशतकीय दृष्टि नाम गहकिलो पुस्तक प्रकाशित भएको थियो। त्यसको समारोहपूर्वक लोकापर्ण पनि भएको थियो तर त्यसमा रहेका छपाइसम्बन्धित त्रुटीहरूका कारण उक्त महत्वपूर्ण पुस्तक बाहिर आउन सकेको छैन। भानुभक्तका कृतित्वमाथि विभिन्न अनुसन्धानमूलक लेखहरू समावेश रहेका थिए। त्यसरी प्रकाशित भएर पनि पाठकसमक्ष नपुग्नु एउटा विडम्बना हो। यस विषयमा सम्पादक मण्डलीले पुनर्विचार गरेर सच्याएर पुनः प्रकाशित गरे भानुप्रेमी पाठकहरूलाई महत्त्वपूर्ण खुराक प्राप्त हुने थियो। गान्तोकका पुण्यप्रसाद शर्माको सम्पादनमा रहेको ‘केही समालोचना : आदिकवि भानुभक्त आचार्य’ प्रकाशित भएको छ। यसै गरी जीवन नामदुङ र प्रेम प्रधानको सम्पादनमा रहेको साहित्य अकादेमी नयाँ दिल्लीले प्रकाशित गरेको भारतीय नेपाली साहित्यमा भानुभक्तको रामायण पनि भानुभक्तको कृतित्वको विभिन्न पक्षमा लेखिएका विभिन्न लेखहरूका जम्मा २३ वटा लेख समावेश रहेका छन्।
यस क्रममा सिक्किमकी डा. शान्ति छेत्रीको रामायणका नारी पात्रहरू एक चिन्तन (1986) पनि प्रकाशित छ। यसमा रामायणका नारी पात्रहरूमा केन्द्रित रही समीक्षा गरिएको छ।
५.३. भानु स्मारिका– विभिन्न स्थानमा सम्पन्न हुने भानुजयन्ती कार्यक्रमका अवसरमा केही साहित्यिक संस्थाहरूले प्राय वार्षिक र सामयिक रूपमा भानु स्मारिका प्रकाशित गर्दछन्। यसमा मुख्य गरी नेपाली साहित्य परिषद्, सिक्कमले वार्षिक रूपमा भानु स्मरिका प्रकाशित गर्दछ। यसमा वार्षिक रूपमा भानुभक्तसम्बन्धित कुनै न कुनै विमर्शमूलक लेख प्रकाशित भएको पाइन्छ। सिलगडी देवकोटा सङ्घले पनि सामयिक रूपमा भानु स्मारिका प्रकाशित गर्दछ।
- विद्यावारिधि :
भानुभक्तको कवित्वमाथि केही विद्यावारिधि कार्यहरू पनि सम्पन्न भएका छन्। डा. भद्रवीर अधिकारीले नेपाली कविताको विकासमा भानुभक्त आचार्यको योगदान, डा गोकुल सिन्हाले नेपाली रामकथा परम्परा, डा कविता लामाले भानुभक्तका काव्यकृतिहरूको भाषिक अध्ययन, कमला सांकृत्यायनले भानुभक्त र तुलसीदासका काव्यको तुलनात्मक अध्ययन (हिन्दीमा) आदि हुन्।
७. भानुभक्तीय रामायणको अन्यभाषामा अनुवाद-
भानुभक्तका निम्ति अध्यात्म रामायण स्रोत काव्य हो भने भानुभक्तीय रामायण नै केही अनुवादका निम्ति स्रोत काव्य बनेको छ। तेजपुरकी बहुमुखी स्रष्टा गीता उपाध्याय भानुभक्तीय रामायणको भानुभक्तीय रामायण शीर्षकमा असमिया भाषामा अनुवाद गरी पुरस्कृत भएकी छन्। यो बंगाली हिन्दी, अवधी, मैथिली, मगर र लिम्बूलगायतका भाषामा समेत अनूदित छ। त्यसै गरी डा भजनगोपाल सन्यालले बङ्गलामा गद्यानुवाद गरेका छन्। हिन्दीमा नन्दकुमार अमात्य र तपेशव्रत अमात्यले गरेका छन्। भोजपुरीमा मुकुन्द आचार्यले अनुवाद गरेका छन्। त्यसै गरी डा. गोकुल सिन्हाले The Ramayan of Bhanubhakta भन्ने पुस्तकमा अङ्ग्रेजीमा गद्यानुवाद गरेका छन्। असमकी गीता उपाध्यायले भानुभक्तीय रामायणको असमिय अनुवाद प्रकाशित गरेकी छन्। सार्क सांस्कृतिक सार्क राष्ट्रहरूको क्लासिकल साहित्यहरूको अनुवाद कार्यक्रमअन्तर्गत डा गोविन्दराज भट्टराईले भानुभक्तीय रामायणको पद्यानुवाद गरिरहेको सूचना पाइन्छ। कृष्णप्रसाद श्रेष्ठले भानुभक्तका तेह्रवटा फुटकर कविताहरूको रूसी भाषामा पद्यानुवाद गरेका छन् भन्ने सूचना पाइन्छ। ‘लोकको गरौँ हित् भनी’ (२०७०) पुस्तकमा निम्नलिखित शीर्षकका भानुभक्तका कविता रुसी भाषामा अनुवाद गरिएका छन्- ‘परिचय’, ‘घाँसी’, ‘बालाजी’, ‘कान्तिपुरी नगरी’, ‘इजहारपत्र’, ‘बिन्ती डिट्ठा-विचारीसित’, ‘आग्रह’, ‘लामखुट्टेहरू गाउँछन्’, ‘बिन्तीपत्र’, ‘तारापतिलाई’, ‘वधूशिक्षा’, ‘प्रश्नोत्तरमाला’, ‘भानुभक्त भनी प्रसिद्ध जगमा’, ‘लोकको गरूँ हित् भनी’ जम्मा १३ वटा कविताको अनूदित सङ्ग्रह प्रकाशित छ। (स्रोत- नेपाल प्लस, शिलाङ, तेजपुर, गुवाहाटी यात्रा, डा. गोविन्दराज भट्टराई, २०७८ असार १२ गते १०:५८)
- उपसंहार-
भारतमा भानुभक्ति आचार्यको ठुलो स्थान र महत्त्व छ। भानुभक्तलाई जातीय एकताको प्रतीक मानिन्छ। उनले अनुवाद गरेको रामायण हाम्रो जनजीवनको संस्कार र संस्कृतिको आधार बनेको छ भानुभक्तका नममा सडकका नाम, टोलको नाम, पुरस्कारका नाम आदि राखेर उनलाई अमरता प्रदान गरिएको छ।