शरणार्थी सन्दर्भः सतरञ्जको गोटी भए टेकनाथ रिजाल (भाग- १)

केही समयदेखि नेपालका पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा सल्लाहकार, बहालवाला सचिव र कैयौं नेताका स्वकीयहरु मिसिएको जम्बोटोली आफ्नै देशका नागरिकबाट बेहिसाब अवैध रकम असुलेर ‘वैध’ शरणार्थी बनाउने षड्यन्त्रमा रमाइरहेको घटना गत वैशाखमा सार्वजनिक भयो । केही पक्राउ परे ! सोही सिलसिलामा भूटानी शरणार्थी मुद्दामा घरी घरी कराइरहने टेकनाथ रिजाललाई पनि सुनियोजित तरिकाले मुछिएको तथ्य सार्वजनिक भयो । यो काण्डको कालक्रम र फेहरिस्त निकै लामो छ । तर, यही बेला विष्फोट गरिनुको तात्पर्यचाहिं प्रचण्डको भारतभ्रमणको सम्भाव्यता ओझेल पर्नु र थिम्पूबाट आएको एउटा गोप्य प्रस्तावको योगफल थियो । यद्यपि, नेपाली मिडियाहरुको ध्यान त्यहाँसम्म पुगेझैं लागेको छैन ।

राष्ट्रसंघ अधीनस्थ व्यवस्थापनमा भूटानी शरणार्थीहरुलाई विभिन्न देशमा छरेपछि यो मुद्दा पूर्णरूपले सेलाउने आशा थिम्पूले साँचेको थियो । तर, पुनर्वाश योजनाको १२/१५ वर्ष बितिसक्ता पनि टसको मस नचलेका टेकनाथ रिजाल घरीघरी मेचमाथि मुड्की बजार्दै शरणार्थी मुद्दामा चिच्याउने गरेकाले उनलाई ठेगान लगाउन थिम्पूले नेपाल सरकारलाई एउटा आग्रही प्रस्ताव पठायो । प्रस्तावको लगत्तै रिजालसमेतलाई नक्कली शरणार्थी उत्पादन गर्ने खतुकीहरुसँगै मिसाइयो र अहिलेसम्म उनी पुर्पक्ष थुनामा छन् ।

नेपालमा केही वर्षदेखि नै (विशेष गरी कोरोना महामारीपछि) नागरिकहरुलाई नक्कली शरणार्थी बनाएर पश्चिमी देशतिर छिराउने मानवतस्करीको योजना बुनिँदै’थ्यो । नेपालदेखि अमेरिकासम्म समन्वय गर्ने सम्पर्क व्यक्तिहरु सक्रिय थिए ! अमेरिका- क्यानाडातिर घर-घर घुमेर ‘शिविरमा छुटेका आफन्तलाई ल्याउन १५/२० लाख रकम जुटाउनुपर्ने’ उर्दी जारी गर्दै केही मान्छेहरु हिँडेका पनि थिए ! यही तस्करीका दौरान हाल भूटानभित्रै रहेका युवाहरु, भारत र नेपालसमेतका मानिसहरुलाई ग्राहक बनाएर जालसाजीपूर्ण सपना बेच्ने यस्ता अभियानहरु अहिले चर्चामा रहेको नक्कली शरणार्थी प्रकरणकै हाँगा थिए ।

यस विषयमा थिम्पू बेखबर थिएन । फलाम बंग्याउन तातेकै बेला ठोक्नुपर्छ भन्ने दाउ हेरिरहेको थिम्पूले ऐन मौकामा गत १६ मई २०२३, मंगलवार पारो पेन्लप (नाम्गेल वाङ्चुक)-को तजबीजमा एकजना भारतीय गुप्तचरका अधिकारीलाई काठमाडौं पठायो । सन् १९९० पछिको भूटानी राजनीतिक सन्दर्भ रिजालको नामसितै जोडिएकाले उनलाई डस्न पाइयो भने शरणार्थी कोहोलो सधैंका लागि साम्य हुने बुझाइ थिम्पूले दशकौंदेखि साँचेकै हो । “के खोजिस कानोः आँखो”, भनेझैं भइरहेको बेला टेकनाथ रिजाललाई अगेनोमा हालेर काठमाडौ र थिम्पूले आगो झोसेः दिल्लीले अलिकति घिउ तुर्क्याइदियो । त्यसपछि त के चाहियो रः ज्वालो नै उठ्यो ।

यो प्रकरणलाई सतहीरूपमा हेरिएको बुझिँदैछ । वास्तवमा खड्गप्रसाद ओली नेतृत्वको सरकारका गृहमन्त्री रामबहादुर बादलको सक्रियतामा गठित ‘पन्थी कार्यदल’ नै भ्रष्टाचार अभिप्रेरित छ । त्यो समितिको स्थापना, त्यसका सदस्यहरु र त्यसले बुझाएको प्रतिवेदनको सन्दर्भ नै भ्रष्टाचारोन्मुख देखिन्छन् । ती तमाम विषयमा गहन छानबीन भएकै छैन-अब हुन्छ भन्ने छाँटकाँट पनि देखिँदैन ! ‘नक्कली शरणार्थी प्रकरण’ नाम दिइएको यस काण्डमा संलग्नताको सन्देह राखेर व्यक्तिमाथि लागेका अभियोग छानबीनका छुट्टाछुट्टै तरिकाहरु होलान् । तर, मूल मुद्दाको विषय शरणार्थीको पहिचान र समस्या समाधान हो । मूलमुद्दामा कतैपनि चर्चा भएको छैन ! यहाँनेर केही गहन प्रश्नहरु छन्- आखिर नक्कली शरणार्थी नै बनाउनु’थ्यो त किन तिब्बती बनाइएन? किन भूटानी नै बनाउनुपऱ्यो ? विगत ६० वर्षदेखि नेपालमा रहेका तिब्बतीहरुको नाममा नक्कली शरणार्थी बनेर कोही नेपाली विदेशतिर उडे होलान् ? पक्राउ र छानबीनको सिलसिला टेकनाथ रिजालसम्म पुगेपछि यो प्रक्रिया किन मत्थर हुँदै ओरालो लाग्यो ? यी प्रश्नमा उत्तर दिने निकाय कुन हो ? नेपाली मिडियाको चासोको यतातिर पनि मोडिनुपर्छ ।

साँच्चै भन्ने हो भने नक्कली शरणार्थी प्रकरणको विजारोपण भएका स्थानीय निकायसम्म छानबीनको पहल भएकै छैन । गएको वैशाख १९ गते पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीले नक्कली प्रकरणभन्दा पहिले नै साबिक पुनर्वाश योजनाभित्रै करीब चारसय नेपालीहरु भूटानी बनेर अमेरिका गइसकेका बताएका थिए । शरणार्थीहरुको पुनर्वाश योजना नै आफूले शुरु गराएको दाबी गर्ने पूर्वप्रम ओली यस प्रकरणका सबै तथ्यहरु आफूसँग भएकाले संसदमै गएर सम्पूर्ण काण्डको पर्दाफास गरौंला भन्दै चिच्याइरहेका थिए । तर, कतातिर सम्झौतामा तथ्यहरु जोड-घटाउ भए, उनले त्यो खुलासा आजसम्म पनि गरेनन् ! जति कुरा गर्दैगयो, यो विषय त्यति जेलिँदै जान्छ । कुरो जे होस्, समष्टिमा भन्नसकिने यति हो-उल्लिखित षडयन्त्रको दहमा मुसलतिघ्रेहरु छिल्लिएर डुबुल्की मार्दैगर्दा पल्लो छेउमा एउटा बुढो अनुहार बोकेर उभिएका टेकनाथ रिजाललाई हिलो उच्छिटिएर लाग्यो ।

हुनसक्छ इतिहासमा रिजालका अनेक गल्ती-त्रुटीहरु होलान् । तर, नक्कली शरणार्थी प्रकरणमा उनको रौंजति पनि अपराध छैन भनेर म दाबी गर्दैछु । अपराधमा उनको संलग्नता छ भन्नेहरुले यथेष्ट प्रमाण पेश गरेर अदालतलाई सहयोग पुऱ्याए हुन्थ्यो ! मनबाट नसोचेर मस्तिष्कबाट सोच्नुस्- एउटा शरणार्थीले कसरी अरु कसैलाई शरणार्थी बनाउन सक्छ ? जसको संगठन छैन ऊ कसरी संगठित अपराधमा सामेल हुन्छ? जो राष्ट्रविहीन असवस्थामा बाँचेको छ; उसले राजद्रोह गर्न सक्छ? राजद्रोहको मुद्दा राज्यको शासनमा प्रत्यक्ष सरोकार राख्ने निकाय र व्यक्तिविशेषलाई लाग्नसक्छ तर, विदेशीलाई लाग्दैन । यसको तात्पर्य अमुक देशमा शरण लिएर बसेको विदेशीले जे जे गरे पनि हुन्छ भन्ने होइन । तर, कुरो कति भने-जस्तोसुकै आपराधिक काण्डमा आरोपित हुँदा पनि शरण लिएको व्यक्ति एक्लै सो सम्बन्धित देशका विरुद्धमा निर्णायक बनेर कहिल्यै लाग्न सक्तैन ! यो सरासर असम्भव कुरो हो ।

सन् १९९९ मा चेम्गाङ जेलबाट छुटेका रिजाल भारत हुँदै सन् २००३ मा मात्र नेपाल पसेका थिए । १९९०  अघि पञ्चायती व्यवस्थाको भूमरीमा अपहृत भएर थिम्पू पुऱ्याइएका रिजालले नेपाल आउँदा सो कालखण्डभरि नेपालमा कति परिवर्तन भयो-उनलाई जेल लगेपछि लखेटिएका भूटानीहरु नेपाल पसेर कति परिवर्तन भए भन्ने आँकलन गर्न भ्याए र ! उनी दोस्रोपटक नेपाल पसेको लगत्तैपछि पुनर्वाश योजना शुरु भइहाल्यो ! जब पुनर्वाश योजना सम्पन्न भएको घोषणा गरियो अनि शुरु भयो उनको नामलाई नाफाको लागि दुरुपयोग गर्ने सिलसिला ।

अहिले रिजाल पक्राउ परेपछिका धेरै प्रसंगहरु पहिले नै सार्वजनिक भइसकेका छन् । अदालतमा उनले औंला उठाएर बोलेको कुरादेखि पक्राउ परेकामध्ये आजसम्म बयान नफेर्ने रिजालमात्र एकजना छन् । रिजाल अहिले पुर्पक्षको लागि सुन्धारा केन्द्रीय कारागारमा छन् ।

पूर्पक्ष थुनामा पनि रिजाललाई अन्य अभियुक्तहरुसँगै राखिएको बताइन्छ । यो स्थिति उनको सुरक्षाका लागि हितकर छैन । हुन त उनी बाहिर फुक्का हुँदा पनि सुरक्षित थिएनन् नै ! यहाँनेर म पाठकहरुसामु एउटा ताजा परिस्थिति उजागर गर्नचाहन्छु । जुन २७, मंगलबार एउटी ठाँटबाँट परेकी महिला रिजाल राखिएको जेलमा पुगिन् । प्रहरीको अनुमतिमा उनले रिजाललाई भेटिन् । त्यसपछि उनले रिजाललाई “तपाइँ यूएनएचसीआरको ढड्डामा दर्ता नभएको शरणार्थी हुनुहुँदो रहेछ, तपाइँको राहदानी पनि छैन रहेछ । हामी तपाइँको स्वास्थ्य र सुरक्षाको लागि काम गर्छौं, मानवाधिकार आयोगमा पनि यो विषय लान्छौं-लु यसमा हस्ताक्षर गरिदिनुस”-भन्दै एउटा कागज रिजालतिर बढाइन् । रिजालले उनको कागजमा सही गर्न मानेनन्, त्यो बेग्लै कुरा हो । तर, ती महिलाले अज्ञात विवरण भएको त्यो कागजमा सही गराएर के गर्न खोजेकी थिइन् भन्ने सन्देहास्पद षड्यन्त्रको गन्ध चलेपछि खोजी हुँदा उनी पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीकी वकील रहेको पत्तो लाग्यो । रिजालले ‘हुँदै-नभएको मानवाधिकार संगठनको परिचय पत्रमा सही गरेर बाँड्यो’ भन्दै कीर्तेमुद्दामा जेल हालिएको बेला अर्को नामुद अभियुक्तको वकील जेलमै गएर ब्योहोरा नखुलेको कागजमा यसरी सही गर्न लगाउँदैछ ! योभन्दा ठूलो इन्द्रजाल के हुनसक्छ ? अस्ति बाहिर खुल्ला हुँदासम्म झन् के केचाहिं भएन होला ? अनुमान गर्न सकिन्छ ।

पक्राउपर्ने बित्तिकै शुरुमा हँ- टेकनाथ रिजाल यस्तो मुद्दामा फँसेछन् –उनको पनि केही कालो पक्ष छ किः भनेर धेरै मान्छेहरु सशंकित भएका थिए । यद्यपि, ती धेरै मान्छेहरु अहिलेका ताजा गतिविधिको भित्रीतह बुझेपछि रिजाल त नराम्रो परिबन्दमा फँसेका रहेछन्-भन्न थालेका छन् । यतिसम्म कि विपक्षी जाहेरीवालाकै वकिलले पनि ‘टेकनाथ रिजाललाई जालसाजीमा दुरुपयोग गरिएको रहेछ, उनी निर्दोष हुँदाहुँदै फँसेछन्’ भनिसकेका छन् । यो अवस्थामा ठोस प्रमाणहरुको आधारबिना उडन्ते कुरा सुनेकै भर रिजाललाई ‘अपराधी’ घोषणा गर्ने सामाजिक सञ्जालका ‘अभियोक्ता’ र ‘न्यायाधीश’हरुले यति कुरा बुझुन्- टेकनाथ रिजाल उत्ताउलिएर आफू दलदलमा पौडी खेल्न पसेका होइनन्- उच्छिटिएर लागेको हिलो थोरै पानीले पखाल्दा जान्छ, नुहाउनु पर्दैन !

मलाई ज्ञान छः रिजालको नाम लिँदै यसरी दोषमुक्त दाबी गरिरहँदा- किन? कसरी? जस्ता प्रश्नका तीरहरु मैतिर ताकिने छन् ! ती तीर र बज्रका प्रहार खप्न म हरदम तयार छु । कुनै विषयप्रति वैचारिक मतान्तर हुनु मुनासिब कुरा हो । तर, मलाई के कुरामा सन्देह छ भने, जीवनमा कुनै दिन ‘भ्रष्टाचार’ आरोप नलागेका मान्छेमात्र रिजालका विरुद्धमा ‘फतवा’ जारी गरिरहेका छन् के?  यही लेखबाट म त्यस्ता मान्छेका नाम र उनीहरुमाथि भएका आरोपहरु सार्वजनिक गर्न चाहन्न ! आफ्नो समुदायका अग्रजहरुको बेइज्जतीको बिस्कुन नफिँजाई, व्यापक सामुदायिक पहलमा निराकरण गर्नुपर्छ भन्ने सिद्धान्त मैले पढेको छु । म आफैंप्रति कामना गर्दछुः कुनै त्यस्तो दिन देख्न नपरोस्, जहाँ हामी आफू-आफैं गाँड कोराकोर गरेर सञ्जालका भित्ताहरु ‘रगताम्य’ देखिउन् !

थिम्पूका नोकरशाहहरुले देशबाट धपाउँदै गर्दा ‘तिमीहरु आफू आफू जुधेर सकिन्छौ तर, हाम्रो राजालाई केही गर्न सक्तैनौ’, भनेर दिएको श्राप सफलीभूत गराउन कोही पनि विवेकशील मान्छेहरु नलागे हुने’थ्यो ! उनीहरुले श्रापमा राजालाई जोड्नुको अर्थ के थियो भने भूटानमा राजनीतिक अभियान शुरु गर्ने मान्छेहरु वास्तवमा न्याय र नागरिक अधिकारको प्रश्नमा लक्षित नभएर ‘राजगद्दी छिनेर आफैं राजा बन्न खोजेका’; ‘भूटान देश नै नेपालमा लगेर जोड्न (ग्रेटर नेपाल बनाउन) खोजिरहेका’ मान्छेहरु थिए । थिम्पूको दरबारबाट फिँजाइएका यस्ता बजारु अभियोगहरु जो सरासर झूटा, कपोलपल्पित थिए ! यद्यपि, त्यो भ्रामक अभियोग उत्तरी भूटानमा बसेका ड्रुक्पा नागरिकहरु, दक्षिणमै रहेका केही अवसरवादी भाट र लम्पट नोकरशाहहरुले पत्याइदिए । आजसम्म पत्याइरहेका छन् । कुरो यतिसम्म कि थिम्पूको भ्रामक अभियोगमा लत्पतिएर शणार्थी बनी हाल पुनर्वाशमा अमेरिका-अष्ट्रेलिया पसेकामध्ये पनि केही मान्छेहरु  खोपडीमा त्यही विष-प्याला बोकेर हिँडेका छन् । उनीहरु आफ्नो समुदायमा बेलाबेला आउने यस्ता संकटापूर्ण घडीमा सोही भ्रमको विशाक्त गहुँत छर्किँदै “ॐ अपवित्र: पवित्रो वा सर्वावस्थां गतोअपी वा ! य: स्मरेत पुण्डरीकाक्षं स बाहान्तर : शुचि: ।।” मन्त्र जप्न थाल्दछन् ।             

अँ ! हामी टेकनाथ रिजालबारे कुरा गर्दै’थ्यौं ! रिजालले कमाएको ख्याती, उनले आर्जेको इतिहासको विरासतप्रति इर्ष्या गर्ने रिजालकै समकक्षी मान्छेहरु पनि उनी बाटो चिप्लिएर कुवामा खसेको बेला डोरी दिएर निकाल्ने भन्दा माथिबाट हिलो खाँदेर अझ पुर्न तत्पर देखिन्छन् । यसमा रिजालकै तर्फबाट पनि विगतमा केही गल्ती कमजोरी भए होलान्-नकार्न सकिँदैन । रिजाल भनेका पनि सधैं चुपचाप ठडिएर बस्ने, पिपलको फेदमा राखिएको शिवलिंग होइनन् । उनी पनि मान्छे नै हुन् । सबै मान्छेले सानो होस् वा ठूलो-जीवनमा कुनै दिन एउटा भूल त गरेकै हुन्छ । कहिल्यै भुल नगर्ने मान्छे खोज्नु र नाताको आफन्त कोही पनि नमरेका मान्छेको घर खोज्नु बराबर हो ।

यहीँनेर जातक कथाको एउटा किस्सा सम्झें । कृशा गौतमीले आफ्नो छोरोको मृत्यु स्वीकार्न नसकी लाश लगेर गौतम बुद्धको काखमा राखिदिँदै छोरो बँचाइदिन अनुरोध गरिन् । बुद्धले भने, “कृशा, तिमी जाऊ आजसम्म कोही पनि आफन्त नमरेको घरबाट एकमुठी तोरी लिएर आऊ । म तिम्रो छोरो बँचाइदिन्छु ।” कृशाले ४० कोश हिँडेर कोही नमरेका घरको एकमुठी तोरी खोजिन् । तर, सबै घरमा कोही न कोही मरेकै थिए भन्ने सन्देश पाइन् । त्यसपछि फर्केर बुद्धको काखबाट आफ्नो छोरोको लाश टिपेर हिँडिन् ।

यति लेखिरहँदा राम्रैसँग थाहा छः धेरैले मलाई रिजालको ‘भरिया’ भन्नेछन् । अझ ‘झोले’ नै भन्लान् । ठिकै छ, म झोलामात्र होइन, यो बेला रिजालका लागि कसैले बोह्रै बोकाए पनि तयार छु । रिजालले एउटा निकै पुरानो अन्तरवार्तामा बोलेको कुरा लिएर अहिले सामाजिक सञ्जाल तताउनेहरु धेरै छन् । तर, त्यो बेला पनि सैद्धान्तिक रूपले उठेर रिजाललाई झपार्ने, सुधार्ने र पुनः सिर्जनात्मक बनाउनेहरुमा एउटै हातका औंलामा गन्न नपुग्ने मान्छे थिए । अहिले पनि रिजाल पूर्पक्ष थुनामा परेपछि उनको मुद्दा निष्पन्न गराई टुंगोमा पुऱ्याउनेतर्फ औंलामा गन्न नपुग्ने मान्छेमात्र देखिन्छन् । तर, उता सञ्जालमा हाँकिएका ‘न्यायाधीश’हरुलेचाहिं अपराधी नै करार गरिसके । यो प्रशासनिक व्यवस्थापन र कानुनी प्रक्रियाबारे अज्ञानताको नतिजा पनि हुनसक्छ । तर, कुनै कुराको निष्कर्षमा पुग्नुअघि धैर्य गर्नुपर्छ । नेपालको सर्वोच्च अदालतले नै रिजालको अपराध निर्धारण गऱ्यो भने त्यसपछि गरौंला नि रिजाललाई गाली, अहिले नै तारन्तार किन ? अन्य धेरै सरोकारमा रिजाललाई गाली गर्ने ठाउँ होलान् तर, यो नक्कली प्रकरणको सवालमा केही पनि छैन, यति कुरा सबैको चेतनामा पुगोस् ।

जुन अन्तरवार्ता देखाएर रिजालप्रति मान्छेहरु अधीर बने, त्योबेला उनले गल्ती बोलेका थिए- यो पंक्तिकारले पनि उनको झिज्याटलाग्दो बोलीबारे खरो टिप्पणीमा उनलाई सचेत गराएको थियो । आफ्नो उत्तेजनापूर्ण बयानप्रति पश्चाताप गर्दै रिजालले सार्वजनिक क्षमायाचना पनि गरेका थिए । गल्ती गरेको बेलामा रिजाललाई सम्मुखिन बेस्सरी गाली गर्ने त्यही मान्छे हुन्छ जसले समस्या परेको बेला पनि न्यायको निर्क्यौल गर्न अघि बढ्छ । त्योबेला सोही साबित भएको थियो; अहिले पनि लगभग उस्तै छ ।

स्पष्ट होस्, म यहाँनेर नक्कली शरणार्थी प्रकरणमा रिजालको संलग्नता (संशय मात्र, प्रमाणित होइन) जायज थियो भनिरहेको छुइनँ । तर, छवटा ‘क’ हरुको प्रश्न र ती प्रश्नका उत्तर केलाउन थालेपछि थाहा हुन्छ उनी कुन परिबन्दमा परेका छन् । एउटा देशको सिंगै राज्यसंरचना लागेर उनको नाम र छविलाई दुरुपयोग गरेको टुंगोमा कानुनविद्हरु नै पुगिसकेका छन् । नक्कली शरणार्थी बन्न तयार रकमी ग्राहकहरुका सामु पक्का भरोसा गराउन सरकारी भ्रष्टहरुले रिजालको नाम र हस्ताक्षर दुरुपयोग गरेको ठहर भइसकेको छ ।

सरकारी टोली नै लागेर एकातिर रकमी धन्दा चलाउने अनि अर्कोतिर रिजाललाई पनि प्रधानमन्त्री (हरु) समेतले विचौलियासँगै राखेर ‘उहाँसँगै भन्नुहोला, हुनेजति काम उहाँबाटै हुनेछ’-भन्नेजस्ता आश्वासन दिने अनि तिनै विचौलियाहरु आज जाहेरीवाला बनेर रिजाललाई ‘यो पनि भ्रष्टाचारी हो’ भन्दै मुद्दामा जाक्ने ! यो कस्तो निर्लज्ज नौटंकी हो ? अर्कोतिर भ्रष्टहरुका हातमा पैसा बुझाएर शरणार्थीको पहिचान किन्न आतुर ती मुर्गाहरुलाई ‘पीडित’ भनेर सम्बोधन गरिएको कुरा पनि ठ्याम्मै चित्त बुझ्दो छैन । तिनीहरु कोही पनि पीडित होइनन् । तिनीहरु गरिब पनि होइनन् । गरिबले लाखौं-करोडौं खर्च गरेर राष्ट्रविहीनताको परिचय किन्न आँट गर्दैन । आफ्नो जायजेथा अर्पिएर सरक्क विदेशी बनी जहाज चढ्न चाहने ती सबैलाई सर्वस्वहरण गरी सुक्खा बगरमा लगेर खाद्य, शिक्षा, स्वास्थ्यको अभावमा अनिश्चितकालसम्म राख्नुपर्छ-तब तिनीहरुले बुझ्नेछन् शरणार्थी बन्नु भनेको के रहेछ !

कानुनतः टेकनाथ रिजाल भूटानी हुन् । थिम्पूले पनि रिजाललाई भूटानी नेताको रूपमा जेलमा राखेको हो । “शरणार्थी समस्या टुंगो लागेपछि मात्र रिजाललाई जेलबाट रिहा गरिनेछ” भनेर पूर्वराजा जिग्मेसिंगेले घोषणा नै गरेका थिए । विश्वले पनि उनलाई भूटानीको रूपमै चिनेको छ ! उनी अहिले राज्यविहीन अवस्थामा नेपाल निर्वासनमा छन् । जसको राज्य छैन त्यही व्यक्तिमाथि राज्यद्रोहको मुद्दा कसरी लाग्छ ? ठगी र संगठित अपराधको मुद्दा पनि रिजालमाथि लाग्ने फित्तलो अभियोग मात्र हो ।

कुनै व्यापारी, किसानहरु वा सर्वसाधारणलाई भेला गरी टेकनाथ रिजालले अमेरिका लान्छु भन्दै पैसा असुलेका थिए भने यो काण्डमा रिजाललाई नै मुख्य नाइके भन्न सुहाउँथ्यो शायद । तर, यहाँ घटनाविवरण त्यस्तो छ र ? आफैंलाई अपहरण गरी एउटा निरंकुश जंगली शासकको हातमा बुझाइएका रिजाल फेरि त्यही अपहरण गरिएको देशमा फर्केर आए । त्यहीँ सुरक्षित हुने भरोसा र विश्वास गरे । त्यही देशका सरकार (हरु)-लाई आफ्ना मुद्दामा पुकार गरिरहे । अनि त्यही देशका सरकारी मान्छेहरु जुटेर रिजालको नाम, प्रतिष्ठा र छविको दोहन गरे ! रिजालले ठगी धन्दा गर्न ठगिने मान्छेहरु चाहिन्थ्यो । संगठीत अपराध गर्न उनको संगठन चाहिन्थ्यो । यस काण्डमा न रिजालले ठग्नसक्ने मान्छेहरु देखिए न त उनको कुनै आधिकारिक संगठन नै छ । १५/२० वर्ष नेपाल बसाइको अनुभवमा मलाई ठ्याम्मै विश्वास छैन कि रिजालले ठग्नसक्ने मान्छे नेपालमा होलान् ! नक्कली शरणार्थी प्रकरणका आरोपीहरुमाथि ‘संगठीत अपराध’को मुद्दा लगाउँदा रिजाललाई मुछ्ने सरकारी अभियोजकहरुमाथि पनि प्रश्न जान्छ-रिजाल नेपाल सरकारको संरचनाभित्र कुन पदीय हैसियतमा थिए ? टेकनाथ रिजाल नेपालको कुनै मन्त्री वा कर्मचारी थिए- जसले नेपाली नागरिकलाई ‘विदेश लैजाने’ ठगी धन्दा शुरु गऱ्यो ?

साँच्चै भन्ने हो भने अर्काले हात उठाएर दिएको सिदा खाएर बसेका एकजना सन्यासी-जोगी हुन् रिजाल । भूटानको दरबारमा हुँदाताकाको सारा वैभव त्यागेर न्यायको खोजीमा लागेका उनी आफैंप्रति निर्मोही जोगी हुन्, पक्का सन्यासी नै हुन् रिजाल ।

रिजाल को हुन् भन्ने पृष्ठभूमि केलाएर उनको विगत खोतल्न चाहन्न तर, म निर्धक्क भन्न सक्छुः उनी भ्रष्ट होइनन् । आसन्न सुनुवाईमा अदालतले रिजालमाथि विवेकपूर्ण न्याय गर्ने आशापूर्ण बाटो हामी हेरिरहेका छौं ।  न्यायालयले उनका केही सामान्य प्राविधिक त्रुटी किटान गऱ्यो भने पनि त्यो तपसिलको कुरा हुनेछ । किनभने राज्यसंरचना स्वयं लागेर आफ्ना कर्मचारीमार्फत चलाएको सुनियोजित योजनामा रिजाल निमित्तमात्रै हुनेछन् । उनी नेपाली राजनीतिक सतरञ्जको एउटा गोटीमात्र बनेका हुन् ।

क्रमशः

(नोटः यो लेखको बाँकी भाग अर्को साता बुधबार पढ्न सक्नुहुनेछ ।)

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *