टेकनाथ रिजालः क्षेत्रीय राजनीतिक अभीप्साप्राप्तिको साधन (भाग २)


जातिचेतनाको अग्रदस्ता निर्माण गर्ने द्रष्टाका रूपमा परिचित कवि अगमसिंह गिरीझैं एक दिनमात्र बाँच्ने हो भने शायद जीवनमा धेरै अनिच्छित कुराहरु देख्नपर्ने थिएन (मेरो बँचाइको एक दिन / अगमसिंह गिरी) ! तर, जीवन आफैंले चाहेको गोरेंटोमा मात्र हिँड्दैन !

जीवनले जीवन चिन्न अनेकन अनिच्छित, अनपेक्षित उवड-खापडहरु पार गर्दै लामो यात्रा तय गर्नुपर्छ । यो सबैलाई ज्ञान भएकै कुरो हो । मैले आफू बाँचेर सुन्न नचाहेको वा भनौं सुन्न नपरोस् भनी कामना गरेको कुरा अहिले सुन्नुपऱ्यो । मुटुमा घाउ लाग्नेगरी आकस्मिक, अनपेक्षित रूपमा अहिले सुन्नुपरेको कुरो के भने भूटानी शरणार्थीका नाममा ठगी, चन्दाअसुली र मानवतस्करीको विषय हो । नेपालको सरकारमै बसेका मान्छेहरुले यस्ता गजघन्य अपराधी धन्धा गर्ने र यो अवैध काण्ड सार्वजनिक भएपछि भूटानीहरुकै ऐतिहासिक नेतृत्वलाई फँसाएर आफू फुत्किन खोज्ने नौटंकी नेपालमा केही महिनादेखि चलिरहेको छ ।

अझ प्रष्ट भनौं, भूटानमा राजमहलको सुख-सुविधा त्यागेर जनताको दुःख,पीडामा साथ दिन निर्वासन चुनेका टेकनाथ रिजाललाई अहिले यो अवैधकाण्डको मतियारका रूपमा कैद गरिएको छ । यस्तो तानाबानाभित्र स्वयं रिजालका केही समकक्षी र समुदायकै केही मान्छेहरु यो विषयको भित्री तहसम्म नपुगी ‘मन नपरेको मान्छे बाटो हिँड्दै गह्नाउँछ’ भनेजस्तो उनी थुनामा पर्नेबित्तिकैदेखि उनको छवि धमिल्याउन खुनीखोत्रो गरी लागिपरे ।

पाठकहरुलाई एउटा पुरानो काण्डको स्मरण गराउन चाहें । विसं २०६०/२०६१ तिरको प्रसंग हो । सन् १९९० मा चिराङको नेता भनेर चिनिएका, निर्वासित भएपछि बेल्डाँगी बस्ने एक व्यक्तिले केही स्थानीयहरुसित मिलेर शरणार्थीहरुलाई अमेरिका लैजाने भन्दै लाखौं रकम उठाए । शिविरभित्रै, बाहिरका नेपाली नागरिकहरु, भारतीय र भूटानभित्रैबाट पनि सयौं युवाहरुलाई उनीहरुले जालमा लपेटेका थिए । भूटान र भारतबाट आएका मान्छेहरु काँकरभिट्टाबाट काठमाडौं ओसार्ने रात्रीसेवाका निर्धारित बसहरु नै थिए । अरबौंको धन्दा त्योबेला चलेको थियो । त्योबेला पैसा तिर्नेहरुलाई कसैले ‘त्यस्तो काम सम्भव हुँदैन-पैसा खर्च नगर्नु’ भनेर सुझाव दिइसक्नु थिएन । सुझाव दिनेहरु नै कुटिन्थे ।

समयक्रममा त्यो टोली केही पटक झापा-काठमाडौं ओहोर-दोहोर गरिरह्यो । निकै पछि काठमाडौंबाट अमेरिका उडेको त्यो टोली दिल्ली पुगेर होटलमा बास बस्यो ! बास बसेको ठाउँबाटै ‘अमेरिका लैजाने’ एजेन्ट बेपत्ता भए । केही दिनपछि अमेरिका उडेको सिंगै टोली रुँदै शिविर फर्कियो । त्योबेला आँसु झार्ने टोलीमा अधिकांश विद्यालयका हेडमास्टर, शिक्षकहरु, केही प्रौढ र विद्यार्थीहरु थिए । अहिले रिजालमाथि प्रश्न उठाउनेहरुमा त्यसबेलाका ठगहरु पनि सामेल छन् कि झैं लागिरहेको छ ।

कुनैबेला जापानबाट डा. मेन्फ्रेड भन्ने मान्छे झापामा आएर शरणार्थी विद्यार्थीलाई शिक्षासुविधाका लागि राहतरकम बाँड्थे । ‘पढ्ने इच्छा हुँदाहुँदै खर्चको अभावले पढ्न पाइनँ’ भन्दै राहतमुखी कमण्डलु थाप्नेहरुको ठूलो लस्कर हुन्थ्यो; तर, खर्च हात लाग्नासाथ वनभोज खान गएका मित्रहरु पनि मैले देखेको छु । त्यस्ता मान्छेहरु पनि अहिले कुरै नबुझी रिजालतिर औंला उठाउँदै छन् कि ?

शिविरमा हुँदा राशन काटिएको बेला आरसीयू (शिविरमा रहने नेपाल सरकारका प्रतिनिधि)-लाई हजार हजार घूस दिएर राशन उठाउनेहरु, भनेजति घूस नपुग्दा आरसीयूले फूलबारी गोड्न लाएपछि घोसे मुन्टो लगाएर नंग्राले माटो कोतर्नेहरु अहिले रिजालतिर औंला ठड्याएर ‘रिजाल भ्रष्टाचारी नै हो’ भन्दै उफ्रिरहेका छन् ! राशन भरपाईकै लागि आरसीयूलाई घुस बुझाउन आफ्नै दाजुभाइबाट रकमी चन्दा असुल्नेहरु अहिले नक्कली शरणार्थी प्रकरण विषयमा रिजालविरुद्ध सञ्जालका भित्तामा बौलाइरहेका देख्ता खित्का छोडेर हाँस्न मनलाग्छ । कसलाई थाहा नहोला रः शिविरमा छँदा बारम्बार नेपाल बन्द हुन्थ्यो । राशन बोकी ल्याउने संस्थाका गाडीहरु चक्काजाममा पर्थे । पन्ध्रदिनमा आउने राशन कहिले २५ दिनसम्म आइपुग्दैन’थ्यो ! त्यस्तो संकटको बेला धेरै दिनको भोको पेट बोकेर राशन ल्याउने गाडी कसको हो, राशन बाँड्ने संस्था रेडक्रशको हो कि एलडब्लुएफको हो भनेर निधो गर्नतिर कोही पनि लाग्दैन’थ्यो । राशन जसले ल्याए पनि फटाफट धोक्रो थाप्न सबै फालिममा हाँजिर हुन्थे । त्योबेलाको परिस्थितिले नै मान्छेलाई मगन्ते साबित गराइदिएको थियो ।

अहिले रिजालको अवस्था ठ्याक्कै त्यस्तै हो । कतैबाट सहारा-टेवा नभएपछि नेपाल सरकारले उनको बास र औषधि खर्च भनेर वार्षिक १२ लाख नेपाली रुपयाँ अनुदान दिन्थ्यो । तर, केही वर्षअघि अज्ञात कारणबाट त्यो सुविधा रोकियो । राजनीतिक ओहोदाका महामहिम मन्त्रीहरुद्वारा संरक्षित भ्रष्ट कर्मचारीहरु रिजाल भए ठाम आए र रोकिएको सुविधा खोलिदिन्छौं-हामीले भनेको कागजमा सही गर भने । नेपाल सरकारले मानिसहरुलाई समूह समूहमा अमेरिका पठाउँदैछ, छुटेका रहल शरणार्थीलाई पनि तीनै समूहभित्र मिसाएर सँगै पठाउन तिमीले सहयोग गर्नुपर्छ भने ।

रिजालकै भनाइमा प्रधामन्त्री प्रचण्डले टोपबहादुर रायमाझीमार्फत सबै काम गरिने हुनाले शरणार्थीहरुको सरोकारमा उनैसित विस्तारमा कुरा गर्न सुझाव दिएका थिए । यसरी नेपालका प्रधामन्त्रीको निवास र कार्यालयसम्म ठगहरु सक्रिय थिए भने अर्कोतिर तिनै ठगहरुले अनेकौं मान्छेलाई आफू र आफ्नो परिवार अमेरिका पठाइदिनँ शिफारिस माग्दै रिजालकहाँ पठाइरहेका थिए । पहिले नागरिकता त्यागेर शरणार्थी पहिचान किन्न औताएकाहरु पछि ‘पीडित’ बनेर जाहेरीवाला भए । पहिले नेपाल सरकारले तपाइँलाई सहयोग पठाएको छ, लु यति रकम लिनुहोस् भन्दै नाटकीय रूपमा पैसा थमाएको तस्वीर खिचे र पछि तिनै मान्छेहरु पैसा फिर्ता लिन भन्दै रिजालको निवास घेराउ गर्नथाले । अहिले तिनै मान्छेहरु रिजालले पनि ठगीधन्दाको केही लाख पैसा लिएका छन् भनी दाबी गर्नथाले !

घटनाहरुलाई विस्तारमा केलाउनुहोस्-दिनदिनै रिजालको घरमा फोन गर्दै हामी तपाइँलाई मात्र चिन्छौं, अमेरिका लाने टोलीसित भेट गराइदिनु-भनेर अनुरोध गर्नेहरुको धुइरो लागेको थियो । यस सरोकारमा एउटा फोन-अडियो सार्वजनिक भएको थियो । सो अडियोमा रिजालसित बोल्ने भेषराज शर्मा लम्साल भन्ने व्यक्ति रहेछन् । उनी कहाँका मान्छे-कोबाट परिचालित थिए ? लम्सालले भारतको नगरकट्टा र वरिपरिका मानिसहरु सम्मिलित आफ्नो ‘ग्याङ’ नै भएको दाबी गरेका थिए । पन्ध्रलाख प्रतिव्यक्तिको दरले पैसो बोकेर ८० जनाजति युवाहरु भारतबाट नेपाल पसिसकेका भनेर लम्सालले रिजाललाई जानकारीसमेत दिएको अडियोमा सुन्न सकिन्छ । लम्साल वास्तवमा पश्चिम नेपालका मान्छे हुन् । लम्सालहरुको पुर्ख्यौली बिरता नै स्याङ्जा हो छ । एकाध अपवादबाहेक लम्सालहरु सामान्यतः पश्चिमकै हुन्छन् । अनि ती भेषराजले नगरकट्टातिरका मान्छे र रिजालमात्र चिनेको कुरा कसरी सम्भव हुन्थ्यो । अहिले कुरा बुझ्दा ती मान्छे अभियुक्तमध्ये रामशरण केसी र गोकुल थापाका सहकर्मी रहेछन् । केसी र थापा दुवै अहिले पुर्पक्षमा जेल पसेका अभियुक्त हुन् ! यी सबैलाई रिजालसित जोड्ने सूत्रधारचाहिं जनक कार्की हुन् भनेर रामशरण केसीको बयानमै सार्वजनिक भएको छ । जनक कार्कीचाहिं को हुन् भन्ने यकिन खुलेको छैन ।

यी तथ्यहरु पढ्दै गर्दा तपाइँले बुझिसक्नुपर्ने होः त्यो अवस्थामा रिजालको सुरक्षा खतरामा परिसकेको थियो । आफ्नो सुरक्षाबारे चिन्ता भएको जनाएर रिजालले काठमाडौं गौशाला प्रहरीमा उजुरीसमेत हालेका थिए । विभिन्न समयका प्रधानमन्त्रीदेखि गृह, परराष्ट्रका सरदार नाइकेहरुलाई भेटेर शरणार्थीको नाममा चलखेल हुँदैछ है भनेर बारम्बार सतर्क गराएका थिए भन्ने कुरा त प्रचण्डले रायमाझीलाई देखाएर सबै उजुरी आपत्ति उनैसामु बिसाउन भनेको माथिको प्रसंगबाट यहाँहरुले बुझीसक्नु भयो शायद । रिजाल जो आफैं एउटा शरणार्थी पिउसो, आफू शरणागत बनेको देशको सरकार नै लागेर जो गर्न चाहँदैछ, त्यसका विरुद्धमा उजुरी-आपत्तिभन्दा बढी के गर्न सक्थे ?

हुनसक्छ, नेपालमा भ्रष्टाचार नियन्त्रणको मुद्दा पेचिलो बनिरहेको वर्तमान परिप्रेक्ष्यमा ताजा विषय बनेर सतहमा आएको शरणार्थी पहिचानको मुद्दा पनि भ्रष्टाचारकै माध्यम बनेकोले नेपालमै निर्वासित जीवन भोगिरहेका रिजाललाई पनि यसमा मिसाइयो भने पछि मुद्दा उनैमाथि खन्याएर आफूहरु सजिलै फुत्किने दाउ उनीहरुको थियो । तर, यस काण्डलाई सतहमा देखिने दृश्यहरुको आधारमा मात्र केलाइयो भने यसको अन्तर्यमा पुग्न सम्भव छैन । यसका विभिन तह र आयामहरु छन् । ती तह र आयामहरु पर्गेल्न समयगतिको केही पछाडि फर्किनुपर्ने हुन्छ ।

यद्यपि, यति बुझ्नलाई धेरै पछाडि फर्किनु भने पर्ने छैनः विगत चार/पाँच महिनाको परिदृश्यमा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह भारतमा सक्रिय थिए । त्यो परिप्रेक्ष्यमा आफू केही दशकदेखि नै नेपाली राजनीतिको नायक हस्ती बनेको दम्भ पालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतले आफूलाई भाउ नदिई पूर्वराजालाई स्वागत गरिरहेकोमा भित्रैसम्म कुँडिएका थिए । पटक पटक उनले आफू भारत भ्रमणका लागि आतुर भएको सन्देश दिल्लीतिर पठाउँदै थिए । तर, दिल्लीले भ्रमणको पूर्वाधारस्वरूप ‘विशिष्ट खाले’ वातावरण बनाउन उनलाई दवाब दिइरहेको थियो ।

त्यो ‘विशिष्ट खाले’ वातावरण निर्माणकै फलस्वरूप तीन तहका न्यायालयले दोषी करार गरी कैद गरेका रेशम चौधरीलाई राष्ट्रपतिद्वारा माफीनामा गराई रिहा गरियो । नेपाली नागरिकताको लागि विधि स्थापनार्थ संसदमा छलफल हुनुपर्ने विधेयक पनि हतारमा राष्ट्रपतिमार्फत नै घोषणा गराइयो ।

यी त भए, देखिने कुरा । नदेखिने तर, भित्रभित्रै उम्लीरहेको कुराचाहिं के थियो भने दिल्लीले राखेका प्रारम्भिक शर्तहरु पूरा गरिसकेर पनि प्रचण्डले भारतमा स्वागतयोग्य निम्ता पाएनन् । पूर्वराजा ज्ञानेन्द्रले भारतमा पाएको मानमनितो र जयगानमा आफ्नो हकदाबी गरिरहेका प्रचण्डलाई दिल्लीले अझै पनि टेरेको थिएन ।
त्यसपछिको सकसमा भारतसित आफ्ना कुरा राखिदिने मध्यस्थकर्ताको खोजीमा थिए प्रचण्ड । सोहीबेला वर्तमान भूटानी राजा गेशार वाङ्चुकका काकाबाजे नाम्गेल वाङ्चुक (पारो पेन्लप उपनामबाट चिनिने)-ले थिम्पूको तर्फबाट भारतीय गुप्तचरका वरिष्ठ एक नेपालीभाषी अधिकारीमार्फत १६ मई २०२३ का दिन प्रम प्रचण्डसामु एउटा प्रस्ताव पठाए । जुन प्रस्तावमा ‘नेपालका शिविरहरुमा बसेर आफूलाई भूटानी दाबी गर्ने मानिसहरुले अबउसो भूटानले अन्याय गऱ्यो भनेर हल्ला नगरुन्’ भन्ने आग्रह थियो । सो आग्रही प्रस्ताव आउनेबित्तिकै कुनै विश्लेषणात्मक गृहकार्य नगरी ‘यदि दिल्लीलाई नेपाली प्रधानमन्त्रीको भारत भ्रमणका लागि तयार गरिदिने हो भने थिम्पूको प्रस्ताव मञ्जुर छ’ भन्ने आशयको दोहोरो प्रस्ताव प्रचण्ड टोलीले तिनै गुप्तचरमार्फत भूटान पठायो । त्यसको लगत्तै प्रचण्डलाई दिल्लीको निम्ता पनि आइहाल्यो ।

राजनीतिज्ञहरुले आफू अनुकूल वस्तुस्थिति निर्माण गर्ने धेरै तिक्डम जानेका हुन्छन् । आफू अनुकूल काम गराउन सडकबाटै मान्छेहरु टपक्क टिपेर ताकिएका कुटिल लक्ष्यतिर झटारो हान्न यिनीहरु पछि पर्दैनन् ! भखरै प्रितम सिंहको प्रसंग जो चल्योः प्रचण्डलाई प्रधानमन्त्री बनाउन उनले दिल्लीतिर धेरै धाएका थिए भनेर मामहिम सुप्रिमो आफैंले बताइसकेका छन् । यी महाशयका आदर्शपुरुष गिरिजा बा’ पनि यसै गर्थे ! श्यामकुमार तामाङ र केशवकुमार बुढाथोकी कोइरालाका अनौपचारिक सन्देशबाहक भएर दरबारको पाहुना बन्न थिम्पू गएका कुरा उनीहरुले नै सार्वजनिक गरेका छन् ।

नेपाली राजनीतिमा सम्भवलाई असम्भव र असम्भवलाई सम्भव बनाउने यस्ता एकराते खेलहरु कति भए-शायद पाठकहरुलाई मैले व्याख्या गरिरहन आवश्यक छैन । प्रचण्ड भारत जानअघि जस्तो प्रकृति सिर्जना गरियो, त्योभन्दा थोरै सानो तर, दुरुस्तै हल्ला आफू चीन जाने पूर्वसंध्यामा गृहमन्त्री नारायणकाजीले पनि फैलाए । यहाँहरुलाई थाहा होला, २७ जून २०२३ मा आरजु राणा र पूराना गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न काजीले प्रहरीलाई निर्देशन दिएका भनेर मिडियामा सनसनी फैलाइएको थियो !

यो लेखकले अनुमानका कुरा लेख्यो नसोच्नुहोला ! ताजा वस्तुस्थितिलाई राम्ररी केलाउन भद्र पाठकहरुसामु म निवेदन गर्दछु; नेपालका पूर्वराजालाई ‘हिन्दू सम्राट’ घोषणा गरी पुनः गद्दी आरोहण गराउने योजनामा क्रियाशील गोरखपुरका अजयमोहन विष्ट (मुख्यमन्त्री आदित्यनाथ योगी) को पाहुना बनेर ज्ञानेन्द्र शाह लखनऊमा रहेका थिए । सोहीबेला भारतबाट ‘अखण्ड भारत’को चर्चा शुरु भयो । ‘आदिपुरुष’ नामक एउटा चलचित्रलाई आधार बनाएर भारत-नेपालबीच पैदा गरिएको सो भूखण्डको ताजा विवाद वास्तवमा बाहिर देखिएजस्तो मात्र थिएन । आदिपुरुष चलचित्रको विषय पछि जोडिएको हो । त्योभन्दा पहिले नै दिल्लीमा भर्खरै निर्मित संसदभवनको भित्तामा टाँगिएको ‘अखण्ड भारत’ नामक मानचित्रमा नेपालका केही ऐतिहासिक भू-भागहरु समेटिएको विषयबाट यो विवाद शुरु भएको थियो ।
उतिखेरै नेपाली प्रधानमन्त्रीको भारतभ्रमणको चाँजोपाँजो मिलाइयो । प्रम प्रचण्डको दिल्ली सवारी हुँदैगर्दा संसदको विपक्षी दल रास्वपाका अध्यक्ष र काठमाडौं महानगरपालिकाका मेयरसमेत अलग अलग भारत गए; दुवैको यात्रालाई ‘निजी भ्रमण’ भनिए पनि निम्ताबिना दुवैजना त्यहाँ गएका थिएनन् । उनीहरु फर्केलगत्तै काठमाडौबाट विशाल नेपाल (ग्रेटर नेपाल) को नयाँ विवादित चर्चा सतहमा आउनु र ठीक त्यहीबेला ‘ग्रेटर नेपालका लागि गुप्तयोजना बुनेको’ राजनीतिक अभियोगमा १० वर्ष थिम्पू जेल भोगेर नेपाल आएका टेकनाथ रिजाललाई पक्राउ गरिनुजस्ता कुरालाई कुनै हालतमा सांयोगिक घटनामात्र मान्न सकिँदैन । यी घटनाक्रमभित्र ठूला ठूला सौदावाजी भएका छन् । सतहमा हेर्दा सामान्य आर्थिक भ्रष्टाचार वा ठगीधन्दा देखिए पनि यस काण्डका भित्री कोशिकाहरुमा ठूला राजनीतिक अभीप्साहरु छन् । रिजाललाई ती अभीप्सा प्राप्तिको साधन नबनाइयोस् !

Add a Comment

Your email address will not be published. Required fields are marked *