जीवन

अब के सुनाउँ
मेरो अभावको जीवन
सबै असरल्ल कथा
तिम्रै सामु सबै तेर्सिएको छ
मेरो सुख दुःखको व्यथा
अब बाँकि म छु
तिमी ममा छौ
तिमीलाई हेरेर म मुसुक्क हाँस्छु
मसँगै तिमी मुस्कुराउँछौ
हेर्दा हामी दुई
हेर्ने आँखा एकै
हाम्रो हृदय एउटै |

लाग्छ कतै ,
मलाई दुख्दा तिम्रो मुटु चर्किन्छ
तिमीलाई दुख्दा मेरो मन टुक्रिन्छ
मलाई लाग्छ ,
तिमी आकाश म क्षितिज
न शुरु छ न अन्त्य
ज्ञान अज्ञानबीच जानेर नजानेर
म र तिमी नबोली बोलेको
म बुझ्छु तिमी बुझ्छौ
त्यसैले त म र तिमी दुई नभएर
अर्ध नारी र नरबाट अर्धनारीश्वर
द्वैतबाट अद्वैतको अनुभूति |

यही हो चुरो कुरो
यही हो पूर्णत्व
यही हो आनन्द
यही हो सुखानन्द
यही हो ब्रह्मानन्द
हो यही हो मूल तत्व !

Add a Comment

Your email address will not be published. Required fields are marked *