बालबालिकाहरूमा लगानी किन गर्ने ?

यदि हामी १०० वर्षको समृद्धि चाहन्छौं भने बालबालिकाहरूमा लगानी गरौं ।
दश वर्षको समृद्धि चाहन्छौं भने फलफूलको विरुवामा लगानी गरौं ।।
एक वर्षको समृद्धि चाहन्छौं भने अन्न उत्पादनमा लगानी गरौं ।।
( चाईनिजहरुको भनाईबाट उद्धधृत गरिएको)

बालबालिकाहरूको क्षेत्रको कार्य अनुभव र बाल विकासको क्षेत्रमा यो पंक्तिकारले गरेको अध्ययनको आधारमा यो लेख लेखिरहँदा गाउँघरको चालचलन र आफ्नो बालापनको याद आइरहेको छ । बालबालिकाहरूलाई हुर्काउने र हामी हुर्केको वातावरण, अनि हाम्रा अभिभावकहरूको सोच र छोरा-छोरीको लागि स्वास्थ्य र शिक्षाप्रति उहाँहरूले गरेको लगानीलाई खर्च गरेको भन्ने परिपाटी थियो । अनि भन्नुहुन्थ्यो यि भुरा भुरीको लागि धेरै पैसा खर्च भयो । जानेर वा नजानेर उहाँहरूले हामीप्रति जेजति गर्नु भयो त्यो उहाँहरुको माया र कर्तव्य थियो ।

त्यो समयमा बालबालिकासम्बन्धी अनुसन्धान गर्ने चलन थिएन वा संसारमा भए गरेका अभ्यासहरुलाई यति धेरै नजिकबाट नियाल्ने र सिक्ने माध्यमहरु थिएनन् र उहाँहरु यी तर्कहरुबाट बेखवर आफ्नै धुनमा मस्त हुनुहुन्थयो । हाम्रा पुर्खाले जे जसरी बालबालिकाहरु हुर्काउनु भयो त्यो धेरै कहाली लाग्दो छ । कुनै पनि परिवार छैन होला जहाँ बाल मृत्यु नभएको होस । गाउँमा जाँदा एकजना हजुरआमाले भनेको कुरा यहाँ उल्लेख गर्न मन लाग्यो । नानी “मैले ११ जना छोरा छोरी पाएँ तर सबै माटा मुनी पुर्न परयो अहिले हामीसँ सन्तान छैन, कुनैलाई विफरले लग्यो, कुनैलाई हैजाले लग्यो” । हेर्नुस त कस्तो विढम्बना, जीवन जल, विफर र दादुराको खोपको अभावले ११ जना बालबालिका ती हजुरआमाले गुमाउनु पर्यो ।

त्यो समय बच्चा बचाउनै मुस्किल थियो, अहिलेको जस्तो स्वास्थ्य सेवाहरु थियन । समयक्रमसँगै धेरै कुरा परिवर्तन भएर गयो, र बालबालिकाहरुलाई लगानी किन भन्ने सवालमा धेरै अध्धयनहरु भए जुनकुरा प्रमाण सहित टढकारो रुपमा अएको छ । यि कुराहरु भविष्यका आमा बुवा, सरकारको नीति निर्माणतहमा बस्ने र यस क्षेत्रमा काम गर्ने सबैले बुझ्न आवश्यक छ । विभिन्न समयमा गरिएका बालबालिकाहरुको क्षेत्रमा लगानी किन भन्ने अनुसन्धानहरुले ल्याएको चारवटा निचोढलाई विस्तारमा तल उल्लेख गरेकी छु ।

पहिलो तर्क, बालबालिकामा लगानी गर्नु भनेको अधिकारको सिद्धान्तमा आधारित छ । हरेक मानवले यो धर्तिमा पाइला टेक्नासाथ उसले घरपरिवार र राज्यबाट पाउनु पर्ने सुविधा उसको नैसर्गिक अधिकार भित्र पर्दछ र उनीहरुमा लगानी अपरिहार्य छ । त्यसकारण बालबालिकाहरुलाई दयाले होइन मायालु वातावरणमा र्हुकन दिउँ ।

दोस्रो तर्क अर्थतन्त्रको सिद्धान्तमा आधारित छ । यदि हामी गरिबीको कुचक्र तोड्न चाहन्छौं भने बालबालिकाहरुको प्रारम्भिक बाल्य अवस्थामा लगानी गरौं । आमाको गर्भदेखि दुई वर्षको यो समय बालबालिकाहरुको लागि सुनौला हजार दिनको समय हो । यो समयमा हामीले बालबालिकाहरुको लागि गरेको लगानीको प्रतिफल उच्चतम हुन्छ र यो लगानी भनेको मानव पूँजी निर्माणमा गरिएको लगानी हो । साथै यो लगानी भनेको स्मार्ट लगानी हो जसलाई Copenhagen Consensus – 2008 ले पुष्टि गरेको छ । बालबालिका र गर्भवती आमाको स्वास्थ्य, पोषण र पूर्व प्राथमिक शिक्षामा गरिने लगानीले भविष्यमा बन्ने आमाहरुको जिवन चक्रमा समेत सकरात्मक असर गर्ने भएकोले उनीहरुप्रति लगानी आवश्यक छ । हामीहरुको लागि भवन, बाटो, विद्यालय सबै कुरा आवश्यक छ, तर गर्भवति र बालबालिकाहरुलाई हामीले गर्ने लगानीलाई उच्च प्राथमिकतामा राखौं ।

तेस्रो तर्क सामाजीक तर्क हो र यो अनुसार बालबालिकाहरुमा गरिने लगानी भनेको भविष्यको असल बुवा आमा बनाउने, राम्रो नेतृत्व लिने लिडर र असल नागरिक तयार गर्नको लागि गरिने लगानी हो ।

चौथो तर्क राजनैतिक तर्क हो यसलाई हेर्दा बालबालिकाहरुमा लगानी गर्नुभनेको लोकतान्त्रिक शासन र सामाजिक स्थिरतामा योगदान पुयाउनु हो जसले गर्दा भविष्यमा कुशल नेतृत्वकर्ताहरु, असल प्रशासकहरुर योग्य जनसक्ति तयार हुन सकुन ।

नेपालले १४ सेप्टेम्बर सन् १९९० मा अनुमोदन गरेको बालअधिकार सम्बन्धी महासन्धिले बालबालिका र किशोरकिशोरीका आधारभूत आवश्यकताहरूलाई मौलिक आर्थिक र सामाजिक अधिकारकाहरु राज्यले ग्यारेन्टीका साथ लागू गर्नुपर्छ भन्दछ । त्यसकारण हामी नेपालको राम्रो अर्थतन्त्र, असल राज्य व्यवस्था, दक्ष जनशक्ति र कुशल नेतृत्वकर्ताहरु बनाएर समृद्ध नेपाल बनाउन चाहन्छौं भने बालबालिका र गर्भवति आमाहरुको स्वास्थ्यमा लगानी गरौं । जमैका भन्ने देशमा सन् २०११ मा गरिएको Caring and learning together अध्ययनले देखाएको छ, यो समय राज्य र घरपरिवारहरुले उनीहरुप्रति लगानी गर्ने एउटा महत्वपूर्ण समय हो (Windo of Opportunity for Investment) साथै अनुसन्धानले के पनि देखाएको छ भने सानो अवस्थामा अभाव, दरिद्रता र हिंसामा बालबालिकालाई हुर्काइयो भने त्यसको असर दिर्घकाल सम्म रहन्छ र भविष्यमा पनि यस्ता बालबाविकाहरुको समय उत्पादनमुलक रहँदैन । तसर्थ भन्ने गरिन्छ “जस्तो परिवेशमा शिशु हुर्कन्छ उ त्यस्तै बन्दछ” । हामीहरु सबैले जान्नुपर्ने कुरा भनेको बालबालिकाहरु यो धर्तिमा हाम्रो कारण ल्याइएका हुन, उनीहरु आफ्ना रहरले आएका होइनन, उनीहरु हाम्रो लागि खर्च होइनन्, उनीहरु हाम्रो भविष्यको लागि गरिएको राम्रो लगानी हुन र उनीहरु हाम्रो समस्याको समाधान हुन । यी भुरा भुरी भएनन भने यो धर्ति बाँझो हुन्छ । उनीहरुले हामीसँग कच कच गरेनन् भने घर सुन्य हुन्छ । अंग्रेजीमा भनिएको छ “Invest your Children, Invest Your Future”

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *