बल्ग्रेलती सपनाहरुको थुप्रोमा
छमछम नाच्ने रहर साच्दा-साच्दै खहरेको भेलले
किनारामा पुगेको म तर्न सकुला वा नसकुला
र पनि
जिजीविषाको लर्कन
मभित्र ताजै छ र
तिमी मान या नमान
तिम्रा सम्मोहित लयहरुले छुने छैन अब मलाई
सट्टामा
छुट्टै लय र ताल,
अनि भिन्न परिवेश
खास अर्थपूर्ण आभासको खोजमा
जगार तर्नुछ यथार्थमा र
बिझाई क्याक्टसको
रुझाई वर्षाको
तप तप अश्रु-दाना पिइरहेछु
भिटामिनका क्याप्सुल सरि
र तंग्रिने यत्न गर्दै
घस्रिरहेछु नियात्रामा र
तिमी बुझ या नबुझ
खोज सोच र मोजमा दुनियाँको रमिते बन्दै
कुदेकी तिमी
अनि पहाडको ओसमुनि ओझेलिएको म
अनबरत निस्कने भूल्काहरुको पानी सरि
रसातलमा छाइरहेछु
यात्रुहरुको तिर्सना मेट्न र
म एउटा मैनबत्ति
सल्कदै जलिरहेछु दिप्त प्रकाश छर्न
म एउटा क्रान्ति बिबेक
हरदम लडिरहेछु
अक्षरहरु कोर्न ।।

Add a Comment

Your email address will not be published. Required fields are marked *