एनसेल घोटाला प्रकरणमा प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीका परिवारको संलग्नता

नेपालमा झाँगिएर गएको भ्रष्टाचार नै लोकतन्त्र संस्थागत गर्ने मार्गमा प्रमुख वाधक भएको धारणा पूर्व प्रधान न्यायाधीश शुसिला कार्कीले व्यक्त गर्नुभएको छ । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा २०८० मंसिर २४ गते मानव अधिकार तथा शान्ति समाजको आयोजनामा काठमाण्डौमा सम्पन्न लोकतन्त्रको प्राणः सुशासन र सद्भाव विषयक नागरिक संवाद कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै कार्कीले ठूलो संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नभएको र विकल्प खोज्न पनि नहुनेमा जोड दिँदै भ्रष्ट नेताहरु कसैलाई पनि उन्मुक्ति दिन नहुने बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै सांसद अमरेशकुमार सिंहले एनसेल घोटाला प्रकरणमा वर्तमान प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीका परिवारका सदस्यहरु र विभिन्न व्यक्ति र निकायहरुको संलग्नता र मिलेमतोबारे विस्तृत प्रकाश पार्नुभएको थियो । यस्तै पूर्व कावा महालेखा परीक्षक सुकदेव खत्री भट्टराईले एनसेल घोटाला प्रकरणमा राज्यका निकायहरुको बदमासीबारे चर्चा गर्नुभएको थियो । प्राध्यापक लोकराज बरालले लोकतन्त्रको स्थायित्वबारे प्रकाश पार्नुभएको थियो ।

समाजका संस्थापक सभापति कृष्ण पहाडीले भ्रष्टाचार घोटालामध्ये पनि एनसेल प्रकरण महाघोटाला भएको बताउँदै दोषीहरुलाई दण्डीत गर्न देशव्यापी अभियान जारी रहने बताउनुभयो ।

समाजका सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न नागरिक संवाद कार्यक्रममा महासचिव रेनुका पौडेलले समाजद्वारा तयार गरिएको अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो भने सचिव चन्द्रमणी बञ्जाराले शान्ति समाजद्वारा २०८० मंसिर १६ गतेदेखि २० गतेसम्म लोकतन्त्रको प्राणः सुशासन र सद्भाव शिर्षकमा ९ जिल्लामा आयोजित नागरिक संवाद कार्यक्रमबाट सर्वसम्मतिले जारी भएको नौ वटा नागरिक संकल्प प्रस्तुत गर्नुभएको थियो । कवि अर्जुन पराजुलीले भ्रष्टाचार विरुद्ध कविता प्रस्तुत गर्नुभएको कार्यक्रममा नागरिक अगुवाहरु डा केदारनरसिंह केसी, श्याम श्रेष्ठ, विजयकान्त कर्ण, श्रीकृष्ण अनिरुद्र गौतम, होमकान्त चौलागाई, पत्रकार कृष्णमुरारी पुडासैनी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस ९ डिसेम्बरका सन्दर्भमा एनसेल महाघोटाला प्रकरणमा संलग्नहरुलाई दण्डीत गर्नुपर्ने मागसहित शान्ति समाजका चितवन, रुपन्देही, पाल्पा, सुर्खेत, लगायत शाखाहरुले प्रदर्शन गरेका छन् ।
समाजका तर्फबाट प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *