उद्यमी दम्पत्ति- अनुकरणीय कदम

(कर्म छिरिङ लेप्चा र श्रीमती प्रेमकित सिमिक लेप्चा)

कालिम्पोङ बजारदेखि पूर्वतिर पैंयूर दलपचन बस्ती छन्। तिनको तल्लो भेगतिर रेली खोलाको ठिकमाथि एउटा सुरम्य गाउँ छ-बिद्याङ। बिद्याङ् पहिले अपरिचित, अच्रर्चित, पछौटे र अभेक गाउँ थियो। न सडक, न बिजुली, न विकास नै पुगेको थियो। अहिले त्यो बिद्याङ विकसित, अगुवा, उद्यमी र चर्चित बनेको छ। अहिले त्यहाँका प्रत्येक घर होमस्टे र रिसोर्ट बनेका छन्, गाउँ नै कृषि र फूलको फार्म बनेको छ। गाउँ नै उद्यमी, परिश्रमी मानिसहरूको नमूना बनेको छ। त्यस गाउँमा पर्यटनको आकर्षण बढेको छ, त्यस गाउँदेखि तल रेली खोला भने मनोरञ्जनको केन्द्र बनेको छ। हेरिरहूँ लाग्ने खेतका गह्रा, रमिरहूँ लाग्ने हरियाली, बसिरहूँ लाग्ने गाउँ। त्यो गाउँ बिद्याङलाई विकासको पर्यटनको एउटा केन्द्र बनाउने श्रेय त्यस गाउँका केही व्यक्तिमध्ये एउटा लेप्चा परिवारलाई जान्छ। त्यस गाउँलाई आफ्नो जाँगर, बुद्धि कौशल र मेहनत गरी नयाँ रूप र ढाँचाको तुल्याउने यी लेप्चा दम्पत्ति हुन् श्रीमान् कर्म छिरिङ लेप्चा र श्रीमती प्रेमकित सिमिक लेप्चा।

यसभन्दा अघि कर्म छिरिङ कालिम्पोङका महकुमा भूमि तथा सुधार अधिकारी भई २००९ मा सेवानिवृत्त भएका थिए भने श्रीमती प्रेमकित लेप्चा भने आर्मी नर्सिङतर्फ कर्णेलको पदमा पुगिसकेकी हुन्। उनीहरूलाई नपुग्दो कही थिएन,दुवैजनाको पेन्सन नै बसीबसी खान पुग्दो छ। यद्यपि उनीहरू त्यसै निच मारेर बसेनन्। श्रीमान लेप्चा सेवानिवृत्त हुनेबित्तिकै आफुले सानैदेखि जानीबुझी आएको कृषिकर्म थियो र त्यसैलाई आफ्नो उद्योगको माध्यम बनाई शुरू गरेका हुन्।२०११ मा एक माउ गाई र पाँचवटा चल्लाबाट शुरू गरेर अहिले फस्टाएर उद्योगको रूपमा बनाएका छऩ्। आफ्नै छ ऐकर पुस्तैनी खेतबारीलाई आफ्नो त्रिस्तरीय उद्योगका रूपमा अपनाए। आफ्नो घरलाई बढाएर, चिटिक्क बनाएर होम स्टेको रूपमा प्रस्तुत गरे। अहिले त्यो होम स्टेमा देशी-विदेशी पर्यटकहरू आइबस्छन्। कोही पर्यटक आफैं खाना पकाएर खान्छन्, त कोही त्यहीं पनि पाउँछन्। पर्यटकहरूले आफनो स्वाद र रूचिअनुसारका सब्जीहरू त्यहीँको बारीबाट सोझै टिपेर पकाएर खानसक्छन्। होम स्टेका कोठा अत्यन्त आकर्षक, खुल्ला र प्राकृतिक परिवेशमय। बाहिर खुल्ला आँगन अनि डाँड़ा-काँडाका दृश्यावलोकन गर्दै खुला चौतारीमा चिया-खाजा, खाना र आरामले बस्ने ठाउँ बनाइएको छ। अर्कापट्टि घरमा व्यवसायिक उद्योगका रूपमा देशी कुखुरा, हाँस, टर्की र सुङ्गुर र गाई पालन गरिएको छ। यिनीहरू अत्यन्त विकसित र वैज्ञानिक ढाँचाअनुसार राखिएका छन्। तीन-चार माउ गाईले प्रशस्त दुध दिन्छन्। अर्कापट्टि माछाका तीनवटा पोखरी, जहाँ छिमल छिमलका माछाहरू अलग अलग राखिएका छन्। किन्नेले छानी छानी हेरेर मगाउन सक्छ। च्याउ खेतीका निम्तिपनि कोठा बनाइएको छ र त्यहाँव्यावसायिक रूपमा च्याउ खेती पनि गरिन्छ।

अब यीबाहेक त्यहाँ घरवरिपरि व्यसायिक रूपमा सब्जी खेती पनि गरिएको छ। त्यहाँ अलैंची, अदुवा, गोलभेंडा, गरेन्डल, सिमी, काँक्रा, लौका, खोर्सानीलगायत मौसमी र रसायनमुक्त सब्जी खेती गरिएको पाइन्छ। त्यस होमस्टेमा चाहिने सब्जी त्यही उत्पादन हुन्छ। यी सब्जीहरू बजार पनि पठाइन्छ। त्यहाँ विभिन्न किसिमका फूल फुलाइएको पाइन्छ। काम गर्ने जनशक्ति थोरै। यी भूतपूर्व उच्च पदस्थ अधिकारी दम्पत्ति बिहानदेखि रातीसम्म आफैं खट्ने गर्छन्। साथमा जवान कान्छा छोरा पनि सबै सरकारीलगायत सबै किसिमका नोकरीका पछि नलागी आमा बाबुको उद्योगमा अहोरात्र संलग्न छन्। यी घरका तीनजनाबाहेक अन्य युवक-युवतीहरू पनि त्यहाँ काम गर्छन्। दिनरात खेतबारीमा मेलो, पशु खाद्यको जोहो, गाडीमा प्रायः सधैं दाना, रसद र अन्य चिज लिएर जाने र ल्याउने काम क्रमिक रूपमा चलिरहेको हुन्छ। यद्यपि ग्राहक घरमा नै किन्नै कुरा किन्न आउँछन्।

बिद्याङ नाम जडिएको किम्वदन्ती पनि यही घर-परिवारसँग रहेछ। त्यस घरको छेवैमा एउटा माछा पोखरीछ। त्यसको फेदमा एउटा भौडी छ, जहाँबाट लगातार पानी उम्रिरहेको छ। श्रीमान लेप्चाको भनाइअनुसार त्यो भौडीमा उहिले उनका कुनै बाजेको पालामा एउटा गाईको खुट्टा परी भासिएर निस्कन नसकेको रे। गाईलाई लाप्चे भाषामा बिद् र ठ्याङ भनेको भौडी। त्यसकारण त्यो गाई डुबेको भौडीको अर्थ जनाउने बिद् र ठ्याङ शब्द समासित र विकसित भएर गाउँको नामै बिद्याङ भएको हो। यी लेप्चा दम्पत्तिको मेहनतले गाउँ नै विकसित, सुनाम र प्रशंसायोग्य बनेको छ। यी दम्पत्तिले यो कृषिजन्य व्यवसाय खोल्नलाई न कुनै सरकारी ऋण र सहुलियत लिएका थिए, न अहिले कुनै सहुलियत र सुविधा पाएका छन्, न कुनै पुरस्कार। आफैं पाखुरी चलाएर स्वाभिमानी र सफल उद्योगी बनेर कर्ममा विश्वास गर्छन्। गाउँका युवावर्गलाई मुखले मात्र उद्योग–धन्धा गर्नुपर्छ भनेर सिकाउनुभन्दा आफैंले प्रयोग गरेर उदाहरण बनेका छन्। पहाडका निम्ति उनीहरूको कर्ममय जीवन   राम्रो उदाहरण हो। हाम्रा समाजका युवा र सबैले यसरी नै आफ्नै प्रकारको उद्योग धन्धा खोलेर बसेदेखि कति असल हुन्थ्यो। जे होस्, उनीहरू उदाहरणीय, अनुकरणीय र प्रशंसनीय हुन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *