मिठो स्वरका धनी थुपदेन भोटिया

(लेखक: नवीन पौड्याल)

नेपाली साङ्गीतिक जगत्‍मा थुपदेन भोटियाको स्थान उँचाइमा छ। सङ्गीत पारखीका निम्ति उनको गीत गायन सुमधुर र सुगम हुन्छन्। गम्भीर श्रोता र सचेत व्यक्तिका निम्ति थुपदेनको गायनमा उत्कृष्टता हुन्छ। उनका गीतमा गायनको गहिराई, स्वरको अमृतमय स्वाद, भावलहरी गोता लाउने र सिर्सिरे हावाका मन्द बहावसरह, आत्मिक आनन्द दिने किसिमको हुन्छ। गीतको रचना चयन, शब्दोच्चारण, धुनको मनमोहकता आदिले गम्भीर श्रोताका निम्ति उनका गीतले आनन्द दिन्छन्। सबै गीत मिठा छन्, गीतहरू सुनिरहूँ लाग्ने, गीतमा नै डुबिरहूँ लाग्ने। उनका गीतका शब्द शब्दमा मर्म हुन्छन्, सुन्दा श्रोता कल्पनामा कता कता पुग्छन्, आकाशमा विचरण गर्छन्, अलौकिक आवाजमा लट्टिन्छन्, मन मुग्ध र आह्लादित हुन्छन्, आत्मिक सुखानुभूति प्राप्त गर्छन्।

१८ मई १९७३ मा कालिम्पोङको गुम्बाहट्टामा जन्मेका थुपदेन भोटियाका बाबु स्व. टासी फुन्सोक भोटिया र आमा स्व. लोपसाङ डोमा भोटिया हुन्। उनले केन्दीय तिब्बती विद्यालयबाट प्राथमिकदेखि छैटौं श्रेणीसम्म र सातौं श्रेणीदेखि एस यु एम आइमा भर्ना लिएर त्यहींबाट १९८९ मा माध्यमिक र १९९१ मा उच्चमाध्यमिक उत्तीर्ण गरेका हुन्। त्यसपछि कालिम्पोङ महाविद्यालयबाट १९९३ मा स्नातक उत्तीर्ण गरेका हुन्। हुने बिरूवाको चिल्ला पात भनेझैं विद्यालय पढ्दादेखि नै विभिन्न कार्यक्रममा गीत गाउने गर्थे। उनको गीत गाउने सानैदेखिको रुचि थियो। उनले पहिलोचोटि स्टेजको सुरुवात भने आफुले पढेको S.U.M.I. विद्यालय शिक्षक दिवस (Teachers Day) 1987 मा आफु नवौं श्रेणीमा पढ्दा किशोर कुमारको फ्लिम ‘याराना’ फिल्मको हिन्दी गीत ‘भोले ओ भोले” बाट भएको थियो। त्यसपछि स्कुलकै प्रत्येक साङ्गीतिक कार्यक्रममा किशोर कुमारका लोकप्रिय गीतहरू गाएर लाई एक दक्ष गायक सिद्ध गरिसकेका थिए। एघारौं बाह्रौं श्रेणीमा पढ्दा अहिलेका चर्चित गायक एड्रिन प्रधान, सङ्गीककर्मी विजय कालिकोटे, पनि उनका सहपाठी थिए।

१९९० तिर त्यस बेलाको कालिम्पोङको चर्चित साङ्गीतिक ब्याण्ड मेलोडि मेकर्स (Melody Makers) सँग पनि काम गरी गरेका थिए। त्यस ब्याण्डको तर्फबाट कालिम्पोङका विभिन्न कार्यक्रममा गीत गाउने गरेथे। त्यसपछि भने आफ्नै musical band पनि साथीहरूसित मिलेर खोलेका थिए- इन्टोनेसन सिम्फोनी (Intonation Symphony)। यस ब्याण्डका मुख्य सदस्य र साथीहरुमध्ये फनिन्द्र राई, दीपक लकान्द्री, विजय कालिकोटे, देबेन छेत्री, चाँद सिंह, सुबीर थापा, सञ्जय प्रसाद, प्रसाद छेत्री, उपेन्द्र घतानी, बबी घतानी, महेन्द्र सिंह, लह्मु भोटिया, उर्मिला पाल आदि।

वि. सं. २०५३ मा रेडियो नेपालको गीत प्रतियोगितामा सर्वश्रेष्ठ गायकको रूपमा पुरस्क़ृत भएदेखि उनी यस दिशामा पूर्णरूपमा समर्पित भएका हुन्। काठमाडौं गएपछि उनको सांगीतिक प्रतिभाले फस्टिने मौका पायो। उनले काठमाडौंमा गोपाल योञ्जन, टिका भण्डारी, सचिन सिंह, न्हूँ बज्राचार्य, शक्तिबल्लभ, दिव्य खालिङ आदिका संगीतकारका साथमा गीत गाए भने यता दार्जिलिङ-कालिम्पोङका मधुसूदन लामा, योगेन्द्र घतानी, बसन्त छेत्री मणिकमल छेत्री आदि अनेक सङ्गीतकारहरूका संगीतमा गीत गाए। उनले नेपाली चलचित्रमा धेरै गाए, रेडियो नेपालको फर्माइसी गीतमा लोकप्रिय भए, उनको नाममा संगीतमय साँझको रूपमा स्टेजमा हजारौं श्रोताको मनमा छाए, चारैतिर वाहवाही पाए। उनी संगीत श्रोताको निम्ति युवा आइकोन हुन्।

(लेखक:थुपदेन भोटिया)

थुपदेनको स्वरमा कताकता नारायण गोपालभन्दा भिन्न तर उत्तिकै स्वरका गम्भीर छन्। नारायण गोपालको गायनको तृष्णा मेट्ने एक विकल्प हुन्। नारायण गोपाल, भक्तराज आचार्य, प्रकाश श्रेष्ठ, दीपक खरेल, दीप श्रेष्ठ, रबिन शर्माका परम्परामा थुपदेन भोटिया पनि उत्तिकै लोकप्रियता रहेका छन्। रामकृष्ण ढकाल, आनन्द कार्की, यम बराल, राजेश पायल राई आदि आफ्ना समकालीन गायकहरूसँगसँगै उनी पनि नेपाली संगीताकाशमा चम्किएका छन्। उनी आफ्नै मौलिक स्वर, गायन ढाँचा, शैली, मिठास भएका गायक हुन्। उनको स्वरमा गीतमा हुनुपर्ने गम्भीरता, आह्लादकारिता र मिठासपन पाइन्छ। थुपदेनका गायनमा हुनुपर्ने जुन गीतपन, स्वरगत कोमलता, निर्मलता, मुग्धता एकप्रकारले नादमय उच्चार, दुई शब्दका बीचको निरन्तरता जस्ता गण पाइन्छन्। गायनको श्रोता बजारको प्रतिस्पर्द्धामा उनी उत्तीर्ण भएर नेपाली सांगीतिक जगतमा छाएका छन्, श्रोताका मनमा उनी छाएका छन्। उनी भीडदेखि बाहिरका कलाकार हुन् जसले आफ्नो छुट्टै परिचय राखेका छन्। समूहको कोरसभन्दा भिन्नै र स्पष्ट स्वर गुञ्जाउने गायक हुन्।

हालसम्म उनले नेपाली फिल्मका निम्ति डेड़ सयवटा जति र फाल्टो चारसयभन्दा बढी गीतहरू गाइसकेका छन्। उनी नेपालबाट विभिन्न पुरस्कारले पुरस्कृत भएका छन्। उनको आफनो पहिलो एकल गीति अल्बम ALONE हो जो १९९८ मा काठमाडौंबाट निस्केको थियो। त्यस अल्बम नेपाली श्रोतामाझ निकै लोकप्रिय भएको थियो। यसपछि उनका एकल गीतिअल्बमहरू हुन्- ‘हर पल’, ‘यो मन’, ‘मिठास’, ‘आफ्नोपन’ आदि जस्ता पाँच छ वटा आइसकेका छन् भने संयुक्त रूपमा उनका अल्बम भने धेरै छन्। उनले नेपाली चलचित्रमा पनि १५० वटा भन्दा बढी गीत गाइसकेका छन्। उनले लगभग छब्बीसवटा नेपाली फिल्म गीत गाएका छन्। ती हुन्- ‘कहीँ कतै’, ‘जाउँन हिँड पोखरा’, ‘अकाल’, ‘दुई मुटु एक धडकन’, ‘नमस्ते’, ‘वसन्त ऋतु’, ‘बन्धकी’, ‘परें नी माया जालैमा’, ‘मेरी आमा’, ‘जीवन रेखा’, ‘कर्तव्य’, ‘कर्मवीर’ ‘देशद्रोही’, ‘त्रिवेणी’, ‘लहना’, ‘भुतुक्कै भएँ नी’, ‘शहीद गेट’, ‘षडयन्त्र’, ‘नाता, ‘रगतको’, ‘चमत्कार’, ‘देवदूत’. ‘सगुन’, ‘जमीन’ ‘शङ्कर’, ‘रगत’ ‘अवतार’, ,आप्पा, आदि। यीबाहेक भजन, जातीय जागरणका गीत पनि गाएका छन्।

थुपदेनका अल्बमका केही चर्चित गीतहरुमध्ये ‘यो मन बरालिन्छ’, ‘मेरो हजुर झोपडीमा बास छ’, ‘गाउँ जाने परदेशी दाई’, ‘बिर्सी देऊ तिमी मलाई’, ‘फुटेको चुरा सम्झेर’, ‘फर्की हेरे’, ‘दिलमा दिल बसेछ’, ‘मायाले माया गाँसी देऊ’, ‘तिमी भन्छौ म उनको हुँ’, ‘हृदय तोडी जानु रहेछ व्यर्थै माया लायौ किन’, ‘हत्केलाका रेखाहरु’, ‘हरियाली वनपाखा’, ‘टाढा टाढा’, ‘मनको कुरा’, ‘वियोगले;, ‘आँसुलाई उम्लिएर’ इत्यादि! यसैगरी उनले गाएका चलचित्रका हिट गीतहरुमा ’आगो लाग्यो दिलैमा दमकल बोलाई देऊ’, ‘नौरथाको दियो बाती डोलीमा फूलपाती’, ‘त्यो सानु गाउँको’, ‘तिम्रो आँखामा के छ’, ‘पहिलो भेटमै’, ‘सिरिरिरी बतास चल्यो’, ‘कस्तुरीको विना’, ‘हावा सरर’ इत्यादि। उनले आफनो साङ्गीतिक समर्पण र योगदानका निम्ति केही पुरस्कार पनि पाएका छन्।  उनले केही ठाउँबाट अभ्यर्थना पनि पाएका छन्। उनले सिक्किम दार्जिलिङ कालिम्पोङतिर साङ्गीतिक कार्यक्रमतिर गीत प्रस्तुति,  नयाँ गीत रेकर्डिङ, गीत प्रतियोगितातिर जाँचक आदि जस्ता काममा सक्रिय देखिन्छन्। उनको पेशा, कर्तव्य, कर्मजीवन सबै सबै नै गीत सङ्गीत हो। उनी जन्मजात कलाकार हुन्। उनले सुगम गीतलाई छाडेका छैनन्। जुनसुकै गीत गाएका छैनन्।

उनको स्वरमा मौलिकता छ। उनी सुगम स्वरका धनी हुन्। गीत गायनमा हुनेपर्ने वर्णगत स्पष्टता, गलामा टोनको उच्चता, स्वर गाम्भीर्य आदि जस्ता गुण पाइन्छन्। गीत र सङ्गीतमा हुनुपर्ने सुमधुरता र आह्लादकारिता (Rhythmic) जस्ता गुण पाइन्छन्। उनका प्रायः गीतमा सुगम शङ्गीतले भरिएका पाइन्छन्। नेपाली गीतमा पनि धेरै उतार चढाउ आएका छन्। शास्त्रीय गीतदेखि लिएर र्‌याप-पप-रक सबै खाले गीत पाइन्छन्। यद्यपि थुप्देनले आफ्नो सुगम सङ्गीत छोडेनन्। शब्दभन्दा झ्याङ्झ्याङ् र सस्ता खाले गीतको बजारबाट उनी विचलित र प्रभावित भएनन्। उनको आफ्नो मौलिकता, सुगमता, सुमधुरतालाई छाडेका छैनन्। उनले आफ्नो जीवन नै नेपाली गीत- सङ्गीतमा समर्पित गरेका छन्। उनले गीतमा सम्झौता गरेनन्। गीतलाई हलुका सस्तो बनाउने काम गरेका छन्। गीतमा हुनपर्ने सुमधुरता, आह्लादकारिता, लयात्मकतालाई छाडेका छैनन्।

थुपदेन भोटिया एक सफल, कुशल र उत्कृष्ट स्वरका धनी गायक कलाकार हुन्। उनी आफ्ना परिवारसित कालिम्पोङमा बस्छन्। उनले दार्जिलिङ, कालिम्पोङ, सिक्किमतिरका विभिन्न साङ्गीतिक कार्यक्रममा सहभागिता दिइरहेका छन्। अझै पनि उनी लोकप्रिय छन्, स्वर तिखार्दै लगेका छन् र गायनको उच्च स्थानमा बसेका छन्। उनका गीतहरू सिडीअल्बम, युट्युब, ज्युकबक्स, गुगल आदितिर पनि उपलब्ध छन्। आफ्नो मेहनत, इमानदारिता र प्रतिभा सबैको बलले उनी कलाकार भएर बसिरहेका छन्। यता आफ्नो ठाउँमा उनी आजसम्म कुनै ठुला ठुला पुरस्कारबाट पुरस्कृत नभए तापनि श्रोताबीचबाट माया पाइरहेका छन्। उनको लोकप्रियता कायमै छ, उनका गीत सुन्ने चाहनामा अझ पनि धेरै श्रोता छन्। उनी धेरैका प्रिय बनेका छन्। उनलाई शुभकामना छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *