स्मृतिमा आमाः बिर्सन नसकिने बिर्सने रोग !
|अमेरिकाका बसाइमा धेरै पटक घर अर्थात् नेपाल गएँ । आमालाई बिर्सने (Dementia) रोग लागेको थाहा पाएपछि झन छिटोछिटो गएँ । आमालाई भिषा नदिएपछि एकपल्ट आफू बसेको ठाउँ देखाउन पाउँदिन की भनेर गएँ । केही समयपछि भिषा दियो | अमेरिकामा घुमाउन ल्याएँपनि तर आमाको रोगको उपचार संसारमै बनेको थिएन र अझैसम्म बनेको छैन । केही समय आफूसँग राखेर पठाएँ। पछि रोगले गाल्दै गरेपछि झन धेरै जान मन लाग्यो र गएँ ।
आठौं पटक म सन् २०१९ को जनवरीमा गएँ । नयाँ जागिर खाएको ठाउँमा एकवर्ष हुनुपर्ने थियो परिवार अशक्त हुँदा कर्मचारीलाई दिइने १२ हप्ताको बेतलबी बिदा लिन। त्यो समय बलैले पर्खिएँ। आफ्नो पनि केही बिदा त थिए तर आमाको अवस्था दिनदिनै बिग्रदै गएको सुनेपछि बेतलबी बिदापनि लिएर गएकी थिएँ । त्यतिबेला आमाबुवा सान्दाजुको घर बाँसबारीमा बस्नुहुन्थ्यो । म उतै गएँ । आमा, भनेर धेरैपल्ट बोलाएँ । मात्र टुलुटुलु हेरिहनु भयो । सुत्दा-सुत्दा दुबै तिघ्रामा ठूला ठूला घाउ भएका रहेछन् । उठाएर बसाउन पनि नसकिने वेला भएको रहेछ । शरिरको मासु सबै सुकेर हड्डी र छालामात्र बाँकी शरिर कतै नअडिने भएको रहेछ । छेउमा बसेर सुमसुम्याएँ । आमाका लागि लगेको क्रिम झिकेर हातखुट्टामा लाइदिएँ । निकैबेर माडमुड पारें । टुलुटुलु हेर्नु बाहेक आमाका मुखबाट कुनै शब्द आएन ।
बिर्सिने रोग लागेका रोगीहरु साना -साना खेलौना पाए खुशी हुन्छन अरे भनेको कतै पढेकीले आमा पनि त्यस्ता गुडिया देखेर खुशी हुनुहोला कि भनेर लिएर गएकी थिएँ । गुडिया झिकेर हातमा राखिदिएँ । कुनै प्रतिक्रिया जनाउनु भएन । सायद केही भेटेर खेलाउने समय गैइसकेको थियो कि आमाको । गुडियाले पनि कुनै फरक पारेन आमालाई, न म पुगेरै केही फरक भयो । तैपनि मैले आमाको कपाल खेलाएँ । निधार सुम्सुम्याएँ, जीवनका उकाली ओरालीले कोरेका अनगिन्ती रेखाहरु सुम्सुम्याएँ । बोली थिएन मुखमा तर आमाका हातका औला चलमलाए, गोडा चल्मलाएं। भित्र कतै गढेर बसेको आवाज निस्कियो, त्यसैमा म ढुक्क भएँ मेरी आमाले मलाई चिन्नुभयो । बेलाबेला मेरो हातपनि सुमसुम्याउनुभयो, त्यो बेला केही सम्झना आयो कि भन्ने लाग्थ्यो तर बोली थिएन मुखमा ।
एक महिनामा दुई चार दिन यताउता गरेपनि बाँकी अरु दिन आमासँगैं बसें । बिस्तारै मेरो आमासँग बस्ने दिन सकिए । दिनका दिन आमाका पिडा देखेपछि अब यो भन्दा बढी दुख आमालाई नहोस भन्नु सिवाय केही रहेन म मा पनि । सधैं फर्कने बेलामा अब अर्कोपल्ट आउँदा आमालाई ठीक भएको हेर्न पाउँ भन्दै फर्कन्थे तर यो बेला … आमालाई निको हुने कुरामा मनले एक किसिमले हरेस खाइसकेको थियो । मैले सायद अब भेटदिन नै होला भन्ने निकर्षमा पुगें र बाटा लागें ।नवौं पटक सन् २०१९ को एप्रिलमा घर जाँदा संधैजस्तो रहेन जाँगर म मा । आठौं पटक नै भएछ मैले अन्तिमपटक आमालाई भेटेको । जागिरमा फर्किएको दुई हप्तापछि अर्थात सन् २०१९ एप्रिल २ गते आमाले हामी सबैलाई छोडेर जानुभएछ । दिदीको कान्छो छोरो निमेष जागिर खान थालेदेखि साथीसँग बस्न थालेको थियो । उ मैले थाहै नपाइ आयो घरमा। रातीको समय किन आयो भन्दैथिएँ, त्यही समाचार लिएर आएको रहेछ । विश्वास नलागेर दिदीलाई फोन गरें । उ उता आँखाका भङ्गाला फाटेर बसेकी रहिछे । आवाज सुन्ने बित्तिकै मेरो अर्को भङ्गालो थपियो र ठूलो आवाज गरेर आँशुको नदी बगिरह्यो । यता र उताबाट हामीले आफ्ना आँखा पुछिरह्यौं। समुद्र वारि र पारिबाट दिदी-बहिनीका हिक्का छुटिरहे धेरैवेर ।
केहीवेरसम्म दुवैजना बोल्न सकेनौं । आकाश खसेर थिचेजस्तै भयो। चल्दाचल्दैको हावा रोकिएजस्तै भयो । एकछिन त अब जिन्दगीमा आश भन्ने कुरै छैनजस्तो भयो । आफूलाई निकैवेर सम्हाल्न सकिन । मेरो अवस्था देखेर होला सायद श्रीमानले जानसक्छौ भने टिकट काटिदिन्छु, भोलि नै जाऊ भन्नुभयो । टाउको उठाएँ र आँट बटुलेर जान्छु भनें । काम गरिरहेको अफिसमा खबर गरें । दुई हप्तापछि आउने जानकारी दिएर भोलिपल्ट बिहानै बाटा लागें । हिंडेपछि त रोएरमात्र पनि नहुने रहेछ । अथाह पिडाले कमजोर भएको मनपनि ठाउँ र समयअनुसार बलियो बनाउँदै जानुपर्ने रहेछ । घर, परिवार र छोराछोरी सम्झेर फेरी आफूलाई दह्रो बनाउनु पर्ने रहेछ मान्छेले । नियम कानूनमा बसेर, त्यति लामो बाटो एक्लै हिड्नु थियो,आफैलाई केही भए के गर्ने भन्ने कुराले मन दह्रो बनाउँदै लगें ।
ओहो ! आमा हुनुहुन्छ भनेर हिड्नु र हुनुहुन्न भनेर हिड्नुमा कति फरक हुने रहेछ । आमालाई भेट्न गएका हरेक वर्षहरु सम्झनामा आए । आफनै आँशुले बाटालाई भिजाउँदै हिडें। योभन्दा बढी नहोस् भनेर भन्न त भनेकी थिएँ हिड्ने बेलामा तर साँच्चै आमा नहुँदाको घरभित्र कसरी छिर्छु होला ? मैले कल्पनासम्म गरेकी थिइन । मेरो मन एक्लै कुरा गरिरहयो । मान्छे त सहानुभूति दिन आएका होलान तर आमा नहुँदाको भीड केवल शुन्य भीड होला, रित्तो भीड होला, मनले अड्कल गरिरह्यो । अब मैले रित्तो घर कसरी पस्ने होला तर नसम्हालिएर पनि त हुँदैन, सोच्दै बाटो काटदै गएँ । आमा जानुभएको कुरा सुनेदेखि नै मनमा एक किसिमको आँधी चलेको थियो, रोकिएकै थिएन । त्यही भएर होला ‘ट्रान्जिट’को समय कसरी सकियो थाहै पाइन ।
समयमै काठमाडौ पुगें । त्यही दिन विराटनगर जाने टिकट थियो। अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रिय विमानस्थल जान एउटा विल्डिगंबाट अर्को विल्डिगंमा मात्र जानु थियो तर मेरो लगेज आउन समय लाग्यो । मैले लगेज लिइसक्दा उता बिराटनगर जाने जहाजले धेरैपल्ट मेरो नाम बोलाइसकेछ । बल्लबल्ल अनुरोध गरेर भिनाजुले केही समय रोक्न लगाउनुभएको रहेछ । म हतारिएर आएको देखेपछि कति ढिलो गर्नुभएको भन्दै बन्द हुन लागेको जहाजको ढोका खोलिदियो । म सीटमा गएर बस्नेवित्तिकै जहाज उढिपनि हाल्यो । अनि पो थाहा पाएँ बुवापनि छलिनु भएको कुरा । बुवा हलेंसी मन्दिरको दर्शन गर्न जानुभएको बेला आमाले अर्कै लोकको बाटो तय गर्नुभएछ। बुवा आइपुग्नलाई मात्र पर्खिएछन । मलाई पनि पर्खिदिएका भए हुन्थ्यो नि ! बाटा लागिसकेकी छोरी चाँहि के आइपुग्नु पर्दैनथ्यो त आफ्नी आमाको अनुहार अन्तिमपटक हेर्न ? मपनि त आमाकी उत्तिकै सन्तान थिएँ नि ! केहीबेर पुरुष प्रधान समाजप्रति आक्रोसपनि उब्जियो मनमा तर हुने कुरा भइसक्यो, गर्ने कुरा गरिसके । मैले भनेर केही हुनेवाला थिएन र चुप लागें ।
एकैछिनमा विराटनगर एयरपोर्ट आइपुग्यो । जब ट्याक्शीमा बसेर इटहरीतिर लागें, मेरो मुटु जोडजोडले उफ्रिन थाल्यो । दुहबी नजिकैको बुढिखोलाको पुलमा पुग्दा बुढी खोला हाम्री आमाको अन्तिम दिनको खरानी लिएर बगिरहे झैं लाग्यो । मैले ताते र तोते गर्ने बेलादेखि थाहा पाएको हाम्रो खेत नजिकै भएर बग्ने बुढी खोलामा आमाले आफ्ना मनका सुख-दुःखलाई धेरैपल्ट धुनु भएको थियो होला, मनमनै भनें । बुढी खोलाले आउन त आइस नानी, आमा नभएको घर आइस तर धैर्यचाहिं गर् है भने झैं लाग्यो । यस्तै यस्तै सोच्दा-सोच्दै इटहरी आइपुग्यो । सँधै त इटहरी पुग्दा मन अघि घर पुगिसक्थ्यो तर त्यो दिन न खुट्टा सर्न माने न मन । खुट्टासँगै मेरो मनपनि अडकियो तर घर त पुग्नु नै थियो ।
आफ्नो रफ्तारमा हिंडेको ट्याक्शी एकैचोटी घर अगाडि पुगेर रोकियो । बुबा बाहिर आउनुभएको रहेछ, देख्नेवित्तिकै ‘खै आमा बुबा ?” भनेर डाको छोडें । बुबाले बाँधी सक्नु भएकोको मन फेरी भत्काइदिएँ मैले । दिदी आएर मलाई हतेर्दै घर पछाडि लगी । एकछिन अँगालो हालेर दुवैजना रोयौं । “तैले नै भनेकी हैनस् अस्ति आउँदा अब योभन्दा बढि नहोस आमालाई” ? अब बुबाको मुख हेरेर हामीले चित्त बुझाउनु पर्छ भनेर सम्झाई । साँझ परिसकेको थियो,आँखा खोलेर वरिपरी हेरें । शोकका बेला गर्नुपर्ने कामहरु यो गर, त्यो नगर भन्दै थिए मेरा अगाडि उभिनेहरु । नुहाएरमात्र घरभित्र पस्नुपर्छ अरे भाउजुहरु भन्दैहुनुहुन्थ्यो। सबैले भने अनुसार मैले गर्दै गएँ । नुहाउँदा नुहाउँदै अंजुलीमा पानी थापेर आमाका लागि तीनपटक दिनुपर्छ भने त्यही गरें । लुगा फेरेर भित्र जाँदा दादाहरु नाङ्गै-मुडुलै बस्नुभएको रहेछ । वहाँहरुलाई देखेर बाँधेको मेरो मन फेरी पनि भत्कियो, भत्किइरह्यो धेरैबेर।
म घर पुग्दा आमा जानुभएको दुईदिन भैसकेको थियो । मरिमराउ परेको घरमा काममा बसेका वेला खान हुने कुराहरु थोरै थिए । के खाने र ? निलिएको केही थिएन । तैपनि समय त कटाउनै थियो । बाँच्नेले सबै कुरा गर्नै थियो । एक छाक भात एक छाक अरु कुरा खाँदै शोकमा बसेका दिनहरु बिते । आमाको नाममा समवेदना प्रकट गर्ने आउने मान्छेहरुको ताँती नै थियो । आमाको फोटोलाई फ्रेममा हाली समवेदनाका शब्दहरुले सजाएर कहिले बुवाआमाका इष्टमित्र आए, कहिले दादा दिदीका साथीहरु त कहिले मेरा साथीहरु सान्त्वना दिन आए ।
तेह्रौं दिनको दिनमा काज-क्रिया गरिदिने पुरोहितलाई दिने दान त छँदै थियो त्योभन्दा बाहेक अरु के गर्ने, सल्लाह गर्यौं । आमाले आफूले पढ्न नपाएको पीडा ठूलो थियो । वहाँले बाँसको कलम मसीमा चोबेर धानका बोरामा आफनो नाम लेखेको मैले पनि देखेकी थिएँ । विद्यालयमा पढ्ने केही छात्राहरुलाई बोलाएर सानो रकम हातमा हालिदिन पाए कतै आमाको आत्माले शान्ति पाउँथ्यो कि ? भन्ने लागेर हामी सबै छोराछोरीले पढेको ज्योति माध्यामिक विद्यालयसँग कुरा गर्यौं । आमाको वार्षिकीमा छात्रावृति राखिदिने र १३ औं दिनको कामका दिन केही छात्राहरुलाई बोलाएर सानो रकम हातमा हालिदिने सल्लाह गर्यौं र ५ जना छात्राहरुलाई बोलायौं । केही रकम हातमा राखिदियौं र आमाको तेह्र दिनको काम सम्पन्न गर्यौं ।
कुनैपनि कुराको अन्त्य हुन्छ नै, यो ध्रुवसत्य कुरा हो । जन्मिदा सबैले आ-आफ्नो आयु लिएर आएको हुन्छ, त्यो आयुलाई अलिकति लम्ब्याउन सकिन्छ कि भनेर हो रोगका उपचार निस्किएका । रोग नै नलागि संसारबाट बिदा हुने मान्छे त थोरै मात्र हुन्छन होला । उमेर बढदै गएपछि प्रायः धेरैजसो मान्छेहरुलाई केही न केही रोगले समातेकै हुन्छ ।
उच्च रक्तचाप र सुगर भनेका साधारण रोगजस्तै भइसके अचेल, तिनिहरुको उपचार छ । धेरै खालको क्यान्सर रोगकोपनि उपचार छ, समयमै थाहा पाएमा तर बिर्सने रोगको उपचार नै छैन र यो रोग दिन प्रतिदिन बढिरहेछ । मान्छेहरु बिभिन्न खालका मानसिक रोगका शिकार बनेका छन् जसलाई कन्ट्रोल त गर्न सकिएला तर निको पार्ने उपचार बनेको छैन अहिलेसम्म । भविष्यमा नहोला भन्न त सकिंदैन तर उपचारको पहुँच सबैलाई हुनेबेलासम्ममा मेरी आमाजस्ता संसारका कति आमा-बा, दिदी-बैनी र दाजुभाइले जीवित हुँदै निर्जिवजस्तो जीवन बिताउनु पर्ने हो थाहा छैन । आफूलाई नलागी र नजिकबाट नदेखि थाहापनि हुँदैन रहेछ तर बिर्सने रोगजस्तो अपराधी रोग कसैलाई पनि नलागोस् भन्ने लाग्छ मलाई जसले मान्छेको चल्दै गरेको दिमागलाई नै ठप्प पारेर एउटा श्वास मात्र फेर्ने प्राणीमा परिणत गरिदिंदोरहेछ ।
तपाईंहरु नै भन्नुहोस्, आफूलाई जन्मदिने आमासँग म तपाईंकी छोरी हुँ भन्नुपर्दा र छोरी भनेर नचिन्दा कति मन फाट्छ होला ? कति मन टुक्रिन्छ ? नपरी अनुमानपनि गर्न सकिंदैन तर परेपछि ती फाटेका र टुक्रेका मनहरु आफैले सिलाउन र जोडन कर लाग्दोरहेछ । अझ आमाले नै माया गरेर सानैदेखि बोलाएको नाम लिएर म फलानो हो नि भन्दा अनि आमाले चार्हिं खै को हो को हो भन्दा कस्तो हुन्छ होला तर परेपछि सबैकुरा पचाउनु पर्ने रहेछ ।
एकपटक अमेरिकन न्यूरोसर्जन डा. सन्जय गुप्ताले “प्रोटिन भएका खानेकुरा पर्याप्त नहुँदापनि दिमागले राम्ररी काम गर्न नसक्नु र क्रमशः प्रोटिन कम भइरहनु एउटा कारण हो तर बिर्सने रोग एउटामात्र कारणले हुँदैन, धेरै सोच्न बाध्य बनाउने कुराहरुले दिमागमा सानैदेखि केही न केही थप्दै जाने गर्छ । उदाहरणका लागि साधारण रुघा-खोकीलाई लिन सकिन्छ । कसैलाई रुघा लागेर केही दिनमा सन्चो भयो भने सकियो तर लगातार लागिरहयो भने त्यसले किन भइरहेको छ त भनेर त्यसका बारेमा धेरै सोच्न बाध्य बनाउँछ र यो कुरा थपिन्छ” भनेका थिए । यस्तो सानतिना कुरा त कति हुन्छन् कति मान्छेको जीवनमा । के के थपियो मेरी आमालाई र हामी सबैसँगबाट बेखबर बनायो धेरै वर्षसम्म थाहा छैन | तर आशा छ, यो रोगको निदान चाँडै निस्किने छ र संसारका सबै ‘आमा-बाहरु’ले यस्तो अपराधी रोगबाट मुक्ति पाउनेछन् ।
मार्मिक संस्मरण….