विकासको यात्रातिर पेदोङ सरकारी कलेज

२०१५ मा पेदोङ सरकारी कलेजको वास्तविक र आधिकारिक तवरमा स्थापना भएको हो। २४ जुलाई, २०१५ शुक्रबारका दिन पेदोङको यही शैक्षिक समाजले हामी सन्त जर्ज उच्चत्तर विद्यालयको सेबेमो हलमा हामीलाई भव्य रूपमा स्वागत समारोह गरेको थियो। उक्त स्वागत समारोहमा सत्तर अस्सीजना जति विद्यार्थी, सात आठजना शिक्षक शिक्षिका, एकजना कर्मचारी र चारजना सुरक्षाकर्मीहरू थियौं। त्यो ऐतिहासिक समारोहमा यस कलेजको स्थापनाको जिम्मेवारी मेरो काँधमा आएकाले मैले यहाँ गण्यमान्य महानुभावहरूका सामु मैले केही अडान राखेको थिएँ। केही प्रतिबद्धता र प्रण गरेको थिएँ। आज लगभग नौ वर्षपछि त्यो दिनको मेरो प्रतिबद्धतालाई फर्केर हेर्नु परेको छ, मूल्याङ्कन र सम्झना गर्नु परेको छ। तिनलाई पछ्याउन परेको पनि छ। तीमध्ये केही पूरा भए केही पूरा हुन बाँकी नै छन्। अब यस विज्ञ समाजले नै मूल्याङ्कन गर्नेछ भन्ने आशा गरेको छु।

आज नौवर्षपछि ती स्थापनाका दिनहरू सम्झिरहेको छु। केही त्यो शिशुलाई किशोर अवस्थामा ल्याउन धेरै कष्ट गर्नुपर्‌यो। दिन रात नभनी काम गर्नुपर्यो। घर बस्ता पनि कलेजकै काम, चिन्ता र चिन्तनमा बिताउनु पर्‌यो। घरि घरि कोलकाता कुद्नुपर्ने अवस्था थियो। हठात कोलकाता जानुपर्दा कहिले रेलको टिकट नपाएर बसमा यात्रा गर्दै, कहिले जेनेरल डब्बामा बसेर पनि कोलकाता पुगेको छु। स्थापना कालका सरकारी अधिकारीहरू अहिले सरूवा अथवा सेवानिवृत्त भएका छन् कोही अहिले पनि छन्। नयाँ नयाँ कुरा र मान्छे देखें। सकारात्मक र नकारात्मक दुवै कुराहरू देखेँ -भोगें। सबल र दुर्बल पक्ष दुवै कुराहरू देखेँ। यद्यपि त्यो क्रम अझैसम्म सकिएको छैन। हेड अफिससितको सम्पर्क, सन्देश ग्रहण र ग्रुपमा वितरण, डाटा सङ्कलन, रिपोर्टिङ, विभिन्न किसिमका अनलाइन पोर्टलमा नयाँ नयाँ कुरा हालिरहनु पर्ने, कता कता जाइरहनु पर्ने, स्थानीय समाजसित पनि तालमेल राख्दै, अन्य कलेजसित पनि तालमेल गर्दै आदि दिनरात आदि काम भइरहेछ। यसका साथै आफै क्लासमा विद्यार्थीहरूलाई पढाउनु पनि पर्छ। कोही बेला क्लरिकल र पिउनको काम पनि गर्नुपर्छ। शिक्षकको कमी, आर्थिक बजेटको कमी, अन्य किसिमका कर्मचारीका कमी, केही आदिसित जुझ्दै अघि बढ्नु परेको छ। त्यसमाथि राजनैतिक अस्थिरता, २०१७ को १०५ दिन हडताललाई कसो कसो मिलाइएको थियो। २०२० र २०२१ का कोरोनाका कहालीलाग्दा दिनहरू सम्झँदा अहिले पनि सिरिङ्ग हुन्छ।
यद्यपि हामीलाई गर्व लाग्छ। हामीले हिडिँसकेको बनिबनाउ बाटो पाएनौं बरू आफैं बाटो बनाउँदै हिँड्यौं। बाटो बनाउँदै हिँड्दा झोडी फाँड्नलाई चाहिने हँसिया सिकल जस्ता हतियारलाई उध्याउँदै लानुपर्छ। हामी हिम्मत नहारी तर पनि काम गर्दै अघि बढेका छौं। हेरूँ यो यात्राको मार्ग कहाँसम्म पुग्न सकिन्छ।

म आफु इमानदार छु र अरूबाट पनि सोही चाहन्छु। यद्यपि कलेजमा अरू केही शिक्षक इमारदार, समर्पित र सहयोगी सहकर्मी मित्रहरू छन्। उनीहरूको कार्यतत्परताले कलेज सुचारू चलिरहेको छ। आफ्नो ठाउँमा कलेज हुँदा यसको माया लाग्दो रहेछ। कतै यो कलेज डुब्छ कि, अलोकप्रिय हुँदै जान्छ कि, कतै हाम्रा सानाठुला खेंलाईचीले कलेज बिग्रिन्छ कि, हाम्रो अकर्म्यताले विद्यार्थीको भविष्यमा खेलवाड़ हुन्छ कि? हाम्रो अनुपस्थितिले विद्यार्थीको भविष्यमा प्रतिकूल असर पर्ला, डर नै लाग्छ। यो कलेज डुब्यो भने हाम्रा समाज डुब्छ। यहाँको पढाइ बिग्रियो भने हाम्रो समाजको पढाइ बिग्रिन्छ। यो ठाउँ पढाइका निम्ति केन्द्र बनोस्, चारैतिर पेदोङ कलेजको नामसुवास चलोस् भन्ने चाहन्छौं।

कलेज स्थापना गर्न निकै सङ्घर्ष गर्नु पर्यो तर अहिलेसम्म पनि सङ्घर्ष थामिएको छैन। केही अत्यन्त इमानदार शिक्षकहरूलाई अन्य कलेजमा सरूवा हुँदा हामीलाई निकै क्षति भइरहेको छ। जोहन कपिल छेत्री सर, पुजा गूरूङ र रिपन्दी गुरूमा सरूवा भएर यहाँबाट जाँदा कलेजलाई ठुलो क्षति पुगेको छ। यद्यपि अझै केही सक्रिय, इमानदार, समर्पित सहकर्मीका सहयोगले कलेज सुचारू चलिरहेको छ। कलेज केही समस्याहरूसित जुझेर काम गर्नुपरेको छ। एकापट्टि आर्थिक कठिनाई छ अर्कापट्टि एकाउन्टेन्ट र बडाबाबु आदि जस्ता कर्मचारीको कमी छ। एकापट्टि कतिपय सरकारी निकायको ढिलासुस्ती, खेलाइँचीको शिकार अर्कापट्टि संशाधनको कमी छ। कलेजलाई काम ठग्ने, खेलाइँची गर्ने, कामचोर्ने खालका कर्मचारी होइन इमानदार, दक्ष र समर्पित कर्मचारीको अपेक्षा हुन्छ।

कलेजका केही उपलब्धि र अनुपलब्धिहरूलाई यसरी हेर्न सकिन्छ-
१. २०१५ को कलेजको स्थापनाको केही पछि यहाँहरूले नै हामीलाई स्वागत कार्यक्रम आयोजना गर्नुभएको थियो। त्यतिबेला कलेजको शैशव अवस्था थियो। आफ्नो बिल्डिङ थिएन, विद्यार्थी र कर्मचारी थोरै थिए, कलेजमा सामान केही थिएन। अहिले आएर २५ जना शिक्षण, ९ जना अशिक्षण, चारजना सुरक्षाकर्मी र लगभग ३५० जति विद्यार्थी छन्। विज्ञान विषयका प्रयोगशालादेखि लिएर कलेजलाई तत्कालीन आवश्यक धेरै चिजबिज उपलब्ध छन्।

२. यहाँ नेपाली अङ्ग्रेजी, राजनितीशास्त्र, समाजशास्त्र, इतिहास, भूगर्भशास्त्र (जिओलजि), भौतिकशास्त्र, रसायन शास्त्र र गणितशास्त्रमा अनर्स अध्ययन अध्यापन हुन्छ। हाम्रो कलेजले पनि चारवर्षे स्नातकीय नयाँ शिक्षा नीति-२०२० लागु गरिसकेको छ।
३. कलेजका लागि सरकारले अहिलेसम्म ४४ जना शिक्षकहरूको अनुमोदन गरेको छ र हालमा २५ जना शिक्षक-शिक्षिका कार्यरत छन्। अझै बङ्गला, दर्शनशास्त्र र शिक्षाशास्त्र अनुमोदन भएर पनि कक्षाकोठाको कमीले गर्दा ल्याउन सकेका छैनौं।
४. हाम्रो कलेज पढेको एकजना विद्यार्थी कोलकाताको एउटा कलेजमा प्राध्यापक बनेको छ भने कोही राम्रो नोकरी पनि पाएका छन्। तिनको तथ्य सङ्कलन गर्न बाँकी नै छ।
५. हाम्रो कलेजमा लिङ्से, कागे, पवक, लिङ्सेखा, लदाम, मन्सोङ, बर्मेक, काश्योङ, पैयुङ आदि जस्ता दुर्गम गाउँका विद्यार्थीहरू पढ्न आउँछन्। यहाँ मधेसबाट पनि केही विद्यार्थी पढेर गएका छन् कोही पढ्दैछन्। गोजीमा एक कञ्ची नभइकन पनि राम्रो सरकारी कलेजमा थोरै मासिक शुल्कमा पढ्न पाउँदैछन्। छ महिनामा आठसय र हजार रूपियाँ शुल्क तिरेर पढ्न पाइरहेका छन्। यसलाई पेदोङले उपलब्धि नै मान्नु पर्छ।

६. हाम्रो कलेजमा पढ्ने विद्यार्थीले सरकारी सहुलियतहरू सबै पाइरहेका छन्, लिन चाहनेका निम्ति सरकारी शिक्षा ऋण (WBSCC) पनि उपलब्ध हुन सक्छ।
७. हाम्रो कलेजका विद्यार्थीहरूले अन्तर-जिल्ला खेलकुद र अन्य प्रतियोगितामा पनि जितेर मेडल र नगद राशी जितेर ल्याएका छन्।
८. हाम्रा विद्यार्थीहरू सांस्कृतिक क्षेत्रमा पनि अब्बल छन्। २०१८-१९ तिरका एक ब्याचका विद्यार्थीहरूले चलचित्र पनि निर्माण गरेकै हुन्। कोही गीत रेकर्ड गर्ने, नाच्ने आदि कलाकार पनि छन्।
९. कलेजको NSS को टोलीले क्याम्प लगाएर केही प्राथमिक विद्यालयमा केही काम गरेका पनि छन्। नगर सफाइ, कलेज क्याम्पस सफाइ, वृक्षरोपन आदि जस्ता अभियान पनि सम्पन्न गरिरहेको छ।
१०. पेदोङ सरकारी कलेजमा विज्ञान विभागमा पढ्ने विद्यार्थीहरूको घोर कमी भएको छ। विज्ञान विषयहरू जस्तै जियोलजी, गणित, भौतिकशास्त्र र रसायन शास्त्रमा दुई- चारजना जस्ता विद्यार्थी मात्र भर्ना लिइरहेका छन्। यहाँका स्थायीय विद्यार्थी अत्यन्तै कमी छन् अनि बाहिरबाट आएर केही विद्यार्थीले भर्ना लिएर ती ती विभागहरूको मुस्किलले सञ्चालन भइरहेका छन्। कतै हामीले विज्ञान विषयमा आकर्षण बनाउन सकेका छैनौं कि?, स्थानीय पेदोङकै विद्यार्थीहरूले समाजले यहाँ विज्ञान पढाउन इच्छा नगरेको हो कि?

११. पेदोङ सरकारी कलेजको बिल्डिङ अब सानो भयो। अझै यस्तै अर्को बिल्डिङ पायो भने मात्र कक्षाकोठाको अभाव रहँदैन। यहाँ दुईवटा साना साना कोठाबाट एउटा विभाग चलाउनु पर्दैछ।
१२. यो पेदोङ सरकारी कलेजका २०२१ को २ डिसेम्बरमा पश्चिम बङ्गाल विधानसभाको पन्ध्रजना विधायकहरूको उच्च शिक्षा स्टान्डिङ कमिटिका संयोजकसहितको सदस्य टोलीले स्थलगत भ्रमण गरेको थियो। यस टोलीका निम्ति सम्पन्न गरिएको स्वागत कार्यक्रममा कलेजका समस्याहरू अघि राख्दै यस पहाडी क्षेत्रका निम्ति यस कलेजलाई एउटा जियोलजिकल केन्द्र, एउटा फिजिकल एडुकेसन केन्द्र जस्ता दुई-चार मागपत्र प्रस्तुत गर्दै पत्र पनि हातमा थमाएका थियौं। उक्त समितिका संयोजक र दुईजना सदस्यको वक्तव्यमा हाम्रो कलेजको उक्त माग पूरा गरिदिने, विधानसभामा कुरा उठाइदिने आश्वासन पनि थियो तर केही उपलब्धि हासिल भएन। उहाँहरूको हाम्रो कलेजको भ्रमणले कुनै फाइदा भएन। उहाँहरू गएपछि कुनै प्रत्युत्तर पनि आएको छैन।

१३. कलेजका मागहरू मन्त्रीदेखि लिएर सम्बन्धित सबैलाई जनाइएको हो। केही माग पूरा भएका छन् अनि कुनै पूरा भएका छैनन्। यद्यपि समयमा पूरा हुँदै जालान् भन्ने आशा गरौं।
१४. हामीले यस कलेजलाई एउटा मोडेल कलेज बनाउनु छ। भूगर्भविभाग- जियोलजिका निम्ति एउटा पहाडी अनुसन्धान केन्द्र बनाउनु छ। पहाडमा नभएको यहाँ फिजिकल एडुकेसनको एउटा केन्द्र बनाउनु छ। यदि सरकारबाट प्रशस्त मात्रामा धनराशि आवण्टन हुनु हो भने यहाँ धेरै कुरा गर्न सकिन्छ।
१५. कतिपय कुरामा भने सरकारी हुँदा आफ्नो हात बाँधिदो रहेछ। चाहेजस्तो काम गर्न नसकिँदो रहेछ। कतिपय झट्टै गर्नुपर्ने काम धनाभाव, सरकारी आदेश र अनुमोदनको कमी जस्ता कारणले गर्न सकिन्न रहेछ।
१६. कलेजको सञ्चालन समिति अझसम्म सरकारी अनुमोदन नपाइनाले गठन गर्न सकिएको छैन। कतिपय भत्केका, थप्नु पर्ने साना साना काम पनि बनाउन नसकिँदो रहेछ।
१७. यस वर्ष कुनै हालतमा यस महाविद्यालयलाई NAAC भन्ने मूल्याङ्कन गर्ने राष्ट्रिय इकाईद्वारा यसलाई मूल्याङ्कन गराउनु परेको छ। यसका लागि केही साथीहरू लागिपर्नु भएको छ।
१८. पेदोङका शिक्षित र शिक्षाप्रेमी सचेत जनताबाट हामी के आशा राख्छौं भने तपाईंहरूको चाहनाबाट उब्जेको कलेजको पढाइ कस्तो छ? राम्रो पढाइ हुन्छ कि हुँदैन? इत्यादिबारे हामीलाई स्वस्थ्य फिडव्याग दिनुहोस्। यस कलेजमा पढिरहेका आफ्ना वा छिमेकीका छोराछोरीहरूलाई कलेजमा पढाइ कस्तो पढाइ हुँदैछ, सबै शिक्षक शिक्षिकाहरूले पढाइरहेका छन् कि छैनन्? आदिबारे सोधखोज गर्ने तपाईं अभिभावकहरूको पनि अधिकार र दायित्व हुन्छ। यो कलेज बिग्रियो भने तपाईंहरूको छोराछोरीको भविष्य पनि बिग्रिन्छ।
१९. सरकारी कलेज भनेको पब्लिक सर्भिस कमिसनमार्फत् नियुक्त भएका शिक्षक हुन्। यो कलेज अन्य प्राइभेट र अर्धसरकारी कलेजभन्दा अझ गुणस्तरीय पढाइ हुनपर्छ। यहाँ पढ्ने विद्यार्थीले गोजीमा पैसा बिना नै यत्रो चारवर्षसम्म स्नातकसम्म पढ्न पाउँछन्। शुल्क तिर्ने नाममा छ छमहिने एक सेमेस्टारका लागि आठसयदेखि हजारसम्म नाममात्रका लागि तिर्नु पर्छ। यति थोरै शुल्क धेरै पढ्न पाउनु भनेको ठुलो उपलब्धि हो। यदि सरकारी कलेजमा खेलाइँची भयो भने समाजको ठुलो क्षति हुन्छ। सरकारले जुन उद्देश्य यहाँ कलेज खोलेको छ, त्यो उद्देश्य र सपना खालि सपना नै रहन्छ। यसर्थ, कलेजलाई चारैतिर सुदृढ बनाउन विद्यार्थी, शिक्षक-शिक्षिका, अभिभावक, स्थानीय सचेत समाज आदि सबै पक्ष जिम्मेवार हुन्छन्।
२०. कलेजलाई अहिलेसम्म त राजनैतिक हस्तक्षेप छैन। एक दुई पटक कुनै कुनै राजनैतिक दलका विद्यार्थी शाखाले यहाँ युनियन खोल्छौं भन्न आएका थिए। तर हामी सबै जाहन्छौं यस कलेजलाई राजनैतिक अखडा नबनाउँ। यसो भए यहाँको शैक्षणिक वातावरण बिग्रिन्छ। यतिञ्जेल जोगाएर ल्याएको कलेज बिग्रिन्छ। स्वच्छ परिवेश धमिलो परिवेशमा परिणत हुनसक्छ। हामीले दिनरात विद्यार्थीकै भलाई र सुन्दर भविष्यका लागि काम गरिरहेका छौं।
२१. हामी हाम्रो काम गरिरहेका छौं तर अझै अपुग भइरहेको हुन् सक्छ। कोहीबेला भनेजस्तो नहुन सक्छ। कलेजको साफ सफाइ, क्लास हुन्छ- हुँदैन, कलेजका चिजबिज सुरक्षित छन् वा छैनन् भन्ने जस्ता सबै कुरामा कलेज प्रशासन, शिक्षकगण, अशिक्षण कर्मचारी, विद्यार्थीलगायत स्थानीय समाज पनि जिम्मेवार हुन्छन्।
२२. यो कलेजका निम्ति भविष्यमा नयाँ नयाँ सम्भावना छन्। अझै नयाँ युगसुहाउँदा नयाँ नयाँ विषय, नयाँ बिल्डिङ, नयाँ चेतना, नयाँ सुविधासम्पन्न शिक्षा केन्द्र बनाउनु छ, यहाँको विद्यार्थीको भविष्य सुन्दर बनाउनु छ, पेदोङलाई चम्काउनु छ।
आउँ हामी सबै मिलेर यस विद्या मन्दिरलाई अझै सुन्दर, शान्त, स्वच्छ, स्तरीय र नमुना कलेज बनाउँ।

Add a Comment

Your email address will not be published. Required fields are marked *