वन्य विज्ञानका लेखक- सामडुप छिरिक सिमिक लेप्चा- व्यक्तित्व र कृतित्व

सामडुप छिरिङ सिमिक लेप्चा

उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर

फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र?

 

ठिक यही सूक्तिलाई चरितार्थ हुने एक सफल व्यक्ति हुन्  सामडुप छिरिङ सिमिक लेप्चा। उनी एक उच्च पद्स्थ अधिकारी र आफ्नो क्षेत्रका प्रखर विद्वान् हुन् तर दर्पशून्य, विनम्र, हँसमुख, सहयोगी, सदाचारी, सबैसित मित्रवत् व्यवहार गर्ने साँच्चै नै फलेका वृक्ष हुन्।

सामडुप छिरिङको जन्म ६ अप्रेल, १९५८ मा देहरादुनमा भएको हो। यद्यपि उनी मूलरूपमा तल्लो बम बस्ती कालिम्पोङका हुन्। उनका पिताजी स्व. दोर्जी छिरिङ सिमिक तत्त्काल सेनामा कार्यरत भएको बेला देहरादुनमा हुँदा कान्छा छोराको रूपमा उनी जन्मिएका हुन्। यद्यपि उनी बालककालमा नै आफ्नो मूल घर बमबस्तीमा आएर हुर्की-बढी-पढी गरेका हुन्। आफ्नो गाउँमा घाँस दाउरा, मेला-पात, रेलीखोलामा पौडी खेल्ने, बालसुलभ बदमासी, बालखेललगायत सबै खाले दुःख गरेका हुन्। उनका ठुल्दाजु स्व प्रेम छिरिङ सिमिक गाउँमा ठुलो सम्मानित व्यक्तित्व थिए। उनले स्थानीय सरस्वती रूद्र निम्न बुनियादी पाठशालाबाट प्राथमिक पढाइ सकेपछि कालेबुङको प्रतिष्ठित एस यु एम आईमा पाँचौं श्रेणीदेखि एघारौं श्रेणीसम्म पढेका हुन्। उनी तत्त्कालीन हायर सेकेन्डरी प्रणालीका सबैभन्दा पछिल्ला ब्याचका विद्यार्थी हुन्। उनले सन् १९७५ मा मेट्रिक र एघारौं पढेपछि दार्जिलिङ सरकारी कलेजबाट वनस्पति विषयमा सन् १९७८ मा अनर्स र त्यही विषयमा सन् १९८०स्नातकोत्तर अध्ययन समाप्त गरेका हुन्।

आफ्नो जन्मथलो देहरादुन भएर होला, उनको जीवनको अधिकांश भाग देहरादुनमा नै बित्यो। उनले सन् १९८२ मा सर्वभारतीय स्तरको परीक्षा दिन तयारीमा लागेका हुन्। सन् १९८३ मा छ-सात महिना जति कालिम्पोङको एस यु एम आईमा डेपुटेसनमा शिक्षण कार्य गरेका थिए। त्यही वर्ष अर्थात् १९८३ मा उनले भारतीय वन सेवा (INDIAN FOREST SERVICE)उत्तीर्ण गरेका हुन्। उक्त सेवामा पसेपछि उनले इन्दिरा गान्धी नेशनल फरेस्ट एकाडेमीमा फरेस्ट्री विषयमा अफिस ट्रेनिङ लिएका हुन्। त्यसकै लगत्तैपछि लालबहादुर शास्त्री नेशनल एकाडेमीबाट प्रशासनिक तालिम लिएका हुन्। उनले सन् १९८५ मा औपचारिक रूपमा एसिस्टेन्ट कन्जर्भेटर अफ फरेस्टको पदमा आफ्नो सरकारी सेवाको थालनी गरेका थिए। उनी उत्तर प्रदेश क्याडरका आइ एफ एस अधिकारी थिए भने उत्तराखण्ड राज्य अलग भएपछि यस राज्यकै क्याडरका रूपमा रहेका हुन्। जनवरी १९९५ मा उनले म्यान्चेस्टर बेलायतबाट तालिमेहरूको तालिम, युनिभर्सिटि अफ ब्रिटिस क्यानाडाबाट २००८ मा मिडटर्म रिभ्यु ट्रेनिङ अन् फरेस्ट्रीमा व्यावसायिक तालिम लिएका थिए। आफ्नो सरकारी अधिकारीको रूपमा बढुवा हुँदै सेवाको अन्तिम चरणमा उत्तराखण्ड सरकारको प्रिन्सिपल चिफ कन्जर्भेटर अफ् फरेस्टको पदबाट सन् २०१८ मा सेवानिवृत्त भएका हुन्। उनी फरेस्ट डेभलपमेन्ट कर्पोरेसन, उत्तराखण्ड सरकारको सर्वोच्च पदमा पुगेका हुन्।

दार्जिलिङ पहाडबाट यो आइ एफ एस उत्तीर्ण गर्ने र उक्त सर्वोच्च पदमा पुग्ने छैनन् भन्दा हुन्छ। हालसम्म उनीबाहेक लेमसिङ लेप्चा, ज्योत्स्ना सित्लिङ, पि टि भोटिया, सुरभि राई मात्र भारतीय वन सेवा उत्तीर्ण गरेका छन्। सेवानिवृत्त भएर पनि सामडुप छिरिङले सरकारी सेवाबाट पूर्ण रूपमा मुक्तिपाएका छैनन्। उनी बाँस र अन्य पहाडी रूखका आधिकारिक ज्ञाता पनि हुन्। उनी राष्ट्रिय बेम्बो एण्ड फाइबर डेभलपमेन्ट बोर्डका सल्लाहकार,नेशनल बेम्बो मिसनका सल्लाहकार, इन्डियन माउन्टेन इनिसिएटिभ, उत्तराखण्ड शाखाका अध्यक्ष, सेस्टेनेबल डेभलपमेन्ट फोरमका सदस्य आदि जस्ता जम्मा एघारवटा राष्ट्रिय एकाइमा विभिन्न पदमा अझैसम्म आवद्ध छन्।

यीबाहेक उनी एक वन्य विज्ञानका एक लेखक हुन्। उनका कैयौं शोधपत्र र सहलेखनमा पुस्तक प्रकाशित छन्। उनी वन्य रूखपात, बाँस आदिका विशेषज्ञ हुनाले यस्ता विषयसँग सम्बन्धित उनका आधिकारिक लेखादिबाट नै सरकारले वन्य निती निर्धारण गर्दछ। देहरादुनबाट प्रकाशित हुने उत्तराखण्ड वन विभागको जर्नल अफ् नन टिम्बर फरेस्ट प्रोडक्ट (NTFP)का प्रधान सम्पादक पनि हुन्। उनको जीवन अत्यन्त व्यस्त, सक्रिय, कार्यरत भेटिन्छ। उनले उत्तराखण्ड, रतन टाटा ट्रस्ट, सामाजिक विभाग, राष्ट्रिय अनुसन्धान विकास कर्पोरेसन, भारत सरकार, विभिन्न सरकारी र गैरसरकारी परियोजनाहरू पनि सम्पन्न गरेका छन्।उनले यस्ता वन, कानुन, पर्यावरण, जन प्रशासन, आर्थिक सामाजिक र रोजीरोटी आदिसित सम्बन्धित विषयहरू पैतिस पटक जति तालिम लिएका छन्। उनी आफैं नै यस्ता तालिमका स्रोत व्यक्तिका रूपमा रहेका छन्। उनी उत्तराखण्ड सरकारकोएक इमानदार, विद्वत् र सम्मानित उच्च पदस्थ अधिकारी हुन्। यसका अतिरिक्त उनी बाँस र बहुपयोगी अन्य वृक्षसम्बन्धि आधिकारिक जानकार हुन्। यससम्बन्धी उनले केही पुस्तक पनि सम्पादन र लेखन कार्य गरेका छन्। उनी र अन्य साथीहरू मिलेर बाँसको उपयोगबारे शोध निती निर्धारण पत्र, कार्यपत्र र पुस्तक पनि तयारी गरेका छन्। उनी सरकारबाट सम्मानित पनि भएका छन्।

नवीन पौड्याल

सामडुप छिरिङ सिमिककी श्रीमती डा. बी. नाम्चु पनि चिकित्सा क्षेत्रमा उचाइँमा पुगेकी छन्। कालिम्पोङको होम्सकी डा बी. नाम्चूले कोलकाताको नीलरतन सरकारी मेडिकल कलेजबाट एम बी बी एस, पिजिआइ चण्डीगढ़बाट एम डी (मेडिसिन) अध्ययन गरेकी हुन्। हालमा उनी पनि सर्भे अफ इन्डियाको चिफ मेडिकल अफिसरका रूपमा कार्यरत रही यही वर्षको फरवरीदेखि स्वैच्छिक अवकाश लिएकी छन्।यी लेप्चा दम्पत्तिका एक छोरा एक छोरी पनि चिकित्सा संस्थानमा कार्यरत छन्। उनीहरूकी छोरी भने एम्स कल्याणीका रेजिडेन्ट मेडिकल अफिसरमा नियुक्त भएकी छन्।उनका छोरा पनि भारत इलोक्ट्रोनिक्स लिमिटेडका वरिष्ठ इन्जिनियरका रूपमा कार्यरत छन्।

सामडुप छिरिङ सिमिकले अहिले कालिम्पोङको होम्समा आफ्नो घर बनाएका छन्। यद्यपि उनीहरू देहरादुनमा नै कार्यमा व्यस्त छन्। उनी कालिम्पोङमा पनि वनसम्बन्धी सचेत हुनुपर्ने कुरामा जोड दिन्छन्। उनका अनुसार कालिम्पोङमा पहिलेको सिरूबारी जुन अहिले मासिएको छ, त्यहाँ चन्दनको रूख लाए सप्रने हुन्छ। यसै गरी चिउरीको रूख आफ्नो खेत वा पाखा बारीमा लाउन सके त्यसबाट धेरै लाभ हासिल गर्न सकिन्छ। यहाँका पौधा रूख पातमा धेरै कुरा पाउन सकिन्छ, त्यसको राम्रोसँग अनुसन्धान, सर्वेक्षण र संरक्षण गर्न सके पहाडको भविष्य उज्ज्वल हुन्छ। उनका अनुसार हाम्रो समाजमा वनजन्य सचेतता आए मानिसहरूको रोजीरोटीको धेरै सम्भावना देखिन्छ। अझ कालिम्पोङको जलवायु र भौगोलिक अवस्थान धेरै कुरामा वरदानसरह छ। यहाँ वन सम्बन्धी धेरै काम गर्न सकिन्छ।

यसरी यी विद्वान, गुणशाली प्रतिभाशाली एक सचेत सामडुप छिरिङ सिमिक र उनकी श्रीमती दुवै हाम्रा गौरव हुन्। उनीहरू दुवैजना आफ्नो पेशा र सेवामा अत्यन्त इमानदार, समर्पित भएर सेवारत छन्। हामीले उनीबाट धेरै ज्ञान अनुभव सरसल्लाह सुझाव पाउन सकिन्छ। दार्जिलिङ पहाडको विकासको सम्भावनाबारे उनीबाट अदै सुझाव लिनसक्छौं। हाम्रो पहाडको उद्भिद आजीविका, पेशा र आर्थिक सम्भावनाका क्षितिज उघार्न सक्छौं। प्रतिभालाईबेलैमा कदर गरेर उनको ज्ञान, अनुभव, सुझाव लिनसके हाम्रो पहाडको भलो हुने थियो।उनीहरू दुवैको सुस्वस्थ्य र दीर्घायुको कामना गरौं।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *