पार्श्वधुन : एउटा कथामा कतिवटा कथा हुन्छन् ?

कथाकारको अनुरोध त ‘पठन सुखद् रहोस्’ भन्ने नै थियो । जवाफ फर्काउन मन थियो ‘समाजका दुःखजति बटुलेर लेख्ने अनि ‘पठन सुखद् होस्’ भनेर पाठकहरूलाई आदेश गर्ने ? त्यसरी त कसरी हुन्छ ?’

लेखकले अपेक्षा गरेजस्तो पङ्क्तिकारको पठन सुखद भएन ।’ सुखद् होस् पनि कसरी जबकि कथा नै दुःखद छ !

एउटा अन्त्य, कथाकार कृष्ण कुसुमको पहिलो कथा सङ्ग्रह ‘पार्श्वधुन’मा समेटिएको पहिलो कथा हो । कथाकार कुसुमको यस पङ्क्तिकारले पहिलो पटक पढेको कथा पनि यही थियो । कथामा हुनुपर्ने गुण दोषका सैध्दान्तिक पाटोको चर्चा नगरि यस कथाको चर्चा गर्दा यति भन्न सकिन्छ- यो कथा एउटा सुखद् प्रस्थानबिन्दुबाट शुरू भएको अनेक दुःखहरुको परिणाम हो । यसो भन्न सकिन्छ- मानव समाजमा दु:ख छन्, दु:खको कारण पनि छन् र त परिणाम पनि दु:ख बोकेर आउँछन् ।

कथाकारको तिन वर्ष वा हुनसक्छ साढे तीन वर्षका बीचको परिघटनाहरूको बयानको यो बुनौट संस्मरणात्मक नियात्राको यात्राबाट शुरुहुन्छ । अमेरिकाको पूर्वी शहर न्यूयोर्क शहरस्थित हडसन नदी किनारबाट पश्चिमी शहर लस भेगासको यात्रामा निस्केका कथाकारले हवाइ यात्रामा आएका पूर्वस्मृतिहरू हवाइ यात्राका बीचमा नै टुङगिन्छन् । कथा भित्रका कथाहरूले पाठकलाई लेखकसँगै कुदाउँछन् । सफल कथाकारको औसत मानक यो पनि हो ।

कथाकार कुसुमको यस कथा सङ्ग्रहमा ‘एउटा अन्त्य’ बाहेक अन्य १२ वटा कथाहरू समेटिएका छन् । यी १३ कथामध्येको एक कथा ‘एउटा अन्त्य’ भित्रका कथाहरूको बारेमा यो पाठकीय अनुभूति हो ।

(लेखनाथ भण्डारी)

 

कथा नम्बर-१
कथा बाचक हुन् नेपाली विधार्थी अर्थात् इन्टरनेशनल स्टुडेन्ट इन अमेरिका । नेपाली विधार्थीका अमेरिकी जिवनका कथा र व्यथा स्वभाविक छन् । गोरखा केन्द्रविन्दु भएर गएको महाभूकम्पले आफ्ना परिवारको घरबास खोसिएका नेपाली विधार्थीलाई कलेजको प्रोफेसरले पाउँदै गरेको छात्रवृति दिन नसक्ने जानकारी दिन्छन् । नेपाली विधार्थीलाई अमेरिकामा काम पाउन सहज छैन । भुईँचालोले ताण्डव मच्चाएको मातृभूमिको खबरले भोक न निद्रा भएका नेपाली विधार्थिलाई लस भेगासको सडकमा उभिएकी गोरीले ‘ स्माइल प्लिज,फर मि-फर वर्ल्ड | डन्ट लुज् योर स्माइल । चियर्स अप् लाइफ …।’ भनेर हसाउँन सक्ने कुरै भएन ।

कथा नम्बर – २

कामको खोजिमा निराश भएर भौतारिएका नेपाली विधार्थिलाई आफ्नै काम छोडेर नेपाली भाषीका नाताले काम दिने गोपाल अङ्कल र उनका छोरा विष्णुको सदासयता व्यावहारमा

कम र लेखक कविहरूको कल्पनामा ज्यादा आउने पात्र हुन् भनेर पाठकले शङ्का गर्न सक्छन् | तर समाजमा अझै त्यस्ता आशाका किरण हुनु खुशिको कुरा हो | लेखकको सन्देश उदेश्यमूलक छ । समाजलाई असल मनशायका मानिसहरूले मार्ग निर्देशन गरिरहेका छन् ।

कथा नम्बर – ३
दुई दशक लामो कष्टकर शरणार्थी जीवन नेपालमा बिताएर पुनर्बासका लागि अमेरिका आएका नेपाली मूलका भुटानीहरूको जिवन ‘तावाबाट भुङ्ग्रामा’ परेको माछाको अवस्थामा रहेको भेट्छन् नेपाली विधार्थीले । भुटान छोड्नु पर्दाको सरकारी नीति र पारिवारिक किचलोका बारेमा भुटानी शरणार्थी समस्याको अलिखित पिडामा छन् गोपाल अङ्कल । ‘आफ्नै बडाबाले आफ्नो परिवारको सदस्यकारुपमा अंशबण्डा गरेर जायजेथा ननिंदा पो हामी लखेटिएका हौं,हामीलाई त सरकारले लखेटेको कहाँ हो र ?’ गोपाल अङ्कलको जीजिविषालाई अमेरिकी नागरिकता लिएर भएपनि भुटान घुम्नजाने सपनाले डोहोर्याएको छ ।

अमेरिकी नेपाली समुदायमा भुटानी शरणार्थी भनेर जात काडिएका अर्थात् एक अर्को समुदायमा आवत जावत नभएका गोपाल अङ्कलको परिवारमा नेपाली विधार्थी भने परिवार का सदस्य झैं नजिक भएका छन् । गोपाल अङ्कल सुनाउँछन् ‘ एउटै भाषा-संस्कृति र चाडपर्व पनि मिल्ने । सबैको पुर्खाको थलो नेपाल र अमेरिकामा सबैको चिनारी नेपाली जाति (भाषी) भयो ।’ तर दुवै समुदायको ‘अहमको आगो’ ले दुवैलाई पर पर धकेल्दो रहेछ । हिजो वा आज पनि यस्तो छ भने अब चैं यस्तो नहोस्, यो पङ्क्तिकार उपनिषद्को यो उक्ति दोहोर्याउँन चाहन्छ- वसुधैव कुटुम्बकम् ।

कथा नम्बर – ४
भुटानी नेपाली समुदायका अनेक उकाली ओरालीका कथाको साँची थिए गोपाल अङ्कल । यहाँको भाषा र सामाजिक जिवनका बेमेलका कारण परेका मानसिक,सामाजिक र आर्थिक समस्याका बारेमा पनि उनलाई ज्ञान नभएको होइन । ‘आँखाभरी शिखरको लालसा बोकेका थिए गोपाल अङ्कलले’ । नेपाली विधार्थी यो परदेशमा आफूलाई छोराले झैं माया गर्ने तिनै नेपाली भाषी गोपाल अङ्कलको मृत शरिरमा श्रध्दाञ्जली चढाउन लस भेगास जाँदैछन् आज । तर अचानक गोपाल अङ्कलले किन आत्माहत्या गरे ?

यस्तो लाग्यो- लेखकले गोपाल अङ्कलमाथ‍ि अन्याय गरे ! के यो समाजमा उनको भूमिका सकिएकै थियो त ? यो पङ्क्तिकारको मत यो हो- कथाकार समाजभन्दा भिन्न र समाजभन्दा बाहिर कसरी हुनसक्छ ? शिखा बुक्सको प्रकाशकियमा लेखिएको पनि छ- ‘तीक्ष्ण सामाजिक र राजनीतिक चेत,सिमान्त आवाज र मानवीयता कृष्ण कुसुमका कथाका विशेषता हुन् ।’

यस कथामा योभन्दा पनि थप कथा पाउन अन्य पाठकहरू स्वतन्त्र हुनुहुन्छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *