बुध्दको लोटा
|
कसैलाई बुध्दसँग रिस उठेछ । यो समाज भडुँवा त बुध्द नै रहेछन् उसलाई परेछ ।
बुध्द आफ्ना केही अनुयायीहरूलाई वरिपरि राखेर जीवन र जगतको महिमा, दु:ख र दु:खका कारणहरूको बारेमा बोलिरहेका थिए ।
बुद्धलाई उसले यसरी गाली गर्यो कि बुध्दभन्दा खराब यो संसारमा अरु कोही छैन ।
रिसाहा मानिस भन्दैथ्यो- तिमी आफू पनि भाँडियौ,अरूलाई पनि भाँड्यौ यस्तै अनेक कुरा सुनाएर अलमल्याइरहेछौ ।
बुध्दले विनयी भावमा सोधे- तिमीले मलाई जे भन्नु वा दिनु थियो त्यो सकियो कि केही अझै बाँकी छ ?
रिसाहा मानिस – सकियो । तिमी जे गर्दैछौ,यो ठीक छैन । तिमीले यसरी लाटा सोझा मानिसहरूलाई अलमल्याउन पाउँदैनौ ।
बुद्ध – तर मसँग तिमीलाई दिने कुनै कुरा छैन । मसङ्ग भएको यो पात्र (धातुको लोटा)तिमीलाई दिन्छु । यही भए पनि लैजाऊ ।
बुध्दलाई गाली गर्ने रिसाहाले भन्यो- यो तिम्रो थोत्रो लोटा मलाई चाहिंदैन,तिमी नै राख । म तिमी जस्तो कतै मागेर हिंड्ने जोगी हो र ? तर यसरी ध्यान स्यान गरेर दुनियाँलाई जोगी बनाएर नबस ।
बुध्दले सोधे- ठिकै छ,मैले दिएको लोटा तिमीले नलिएपछि अब यो कसको भयो ? मैले त तिमीलाई दिइसकें त !
रिसाउनेले थप्यो- यो कसैको हुन्न । तिम्रै हो,तिम्रै हुन्छ ।
बुध्द मसिनो स्वरमा बोले- तिमीले दिएको गाली पनि मलाई काम लाग्दैनन् । म पनि तिम्रो कुनै गाली लिन सक्दिन । तिमीसँग नै राख है ।
बुध्दले क्षणभरमै देखे रिसाहा मानिस उनका अरु भक्तहरूको लाइनमा बसिसकेको थियो ।
निष्कर्ष यो हुनुपर्छ- अरूलाई के दिन सकिन्छ,आफूसङ्ग जे छ तर अरूले त्यही फिर्ता दिए आफूले लिन सकिन्छ कि सकिन्न त ?
यो नयाँ विषय/कथा होइन ।बुध्द कालिन समयका यी भनाई/कहावतहरूको पुनर्लेखन मात्र हो । मानौं, विषय पुरानै भएपनि सम्झनाका लागि नयाँरूपमा प्रस्तुत गरिएको मात्र हो । अन्न त उही हो, नयाँ परिकार बनाएर स्वादु व्यन्जन बनाउन पनि सकिन्छ !