आयतन


जहाँ जहाँ जान्थ्यो
जे जे देख्थ्यो
सबै सबै कुराको
एक्सरे गर्थ्यो
स्क्यान गर्थ्यो
सुक्ष्म निरीक्षण गर्थ्यो
दोष/खोट खोज्थ्यो
जस/जसलाई देख्थ्यो
शिरदेखि पाउसम्म हेर्थ्यो
अनुमान लगाउँथ्यो
अड्कल काट्थ्यो
आँखैले
नाप/तौल गरेर
आयतन पत्ता लगाउने
कोशिस गर्थ्यो
मापन गर्थ्यो मनमनै
कसको कति आयतन !

उसको मस्तिष्कले
जसलाई
जस्तो आकार दिन्थ्यो
उसले ऊप्रति
उस्तै व्यबहार गर्थ्यो
तर,
उसको आफ्नो
आयतन कति थियो
र अरूले उसलाई
कसरी तालिरहेछन्
कसरी नापीरहेछन्
कसरी जोखिरहेछन्
उसले कहिल्यै सोचेन
आफ्नो आयतनमा
सधैं अनभिज्ञ रह्यो ऊ !

Add a Comment

Your email address will not be published. Required fields are marked *