दुई टाउकेहरू !
|अनुहार भित्र
अर्को अनुहार भएका
दुई टाउकेहरू !
नोटको गर्मीले गर्दा
उम्लेका छन्
तातेका छन्
अहंकारको नशाले
उन्मत्त साँढे झैं मातेका छन् ।
घमण्डको
कालो चस्मा भिरेर
मस्त छन् आँफैमा
याद छैन
जमिनमा टेकेको ।
बादल माथि छु
भ्रममा छन्
मुसो झैं
दुलामा बस्नेहरू
अहिले
आडम्बरको आडमा
प्रदर्शन गराइरहेछन्
आफ्नो हैसियत,
शक्ति र प्रवृत्ति !
चरितार्थ हुँदैछ उखान
” उल्फाको धन
फुपूको श्राद्ध ”
टुलुटुलु हेरेर बस्न
विवश छौं
निरीह हामीहरू !