अमेरिकी सपना र अवसरको सुक्ष्म अध्ययन

अमेरिका विश्वकै अधिकांश मानिसका लागि आकर्षणको केन्द्र हो | यो आकर्षण भूगोल र त्यहाँका व्यक्तिअनुसारका प्राथमिकताहरुका आधारमा फरक हुनसक्छ | नेपालका वरिष्ठ पत्रकार किशोर नेपालको मुल्याङ्कनमा अमेरिका ‘अवसर र स्वतन्त्रता’को केन्द्र हो | यही विश्वको आकर्षणको केन्द्र मानिएको अमेरिकाको विविधता र आप्रवासीहरूको सपनाको सुक्ष्म अध्ययन २ जना नेपाली अध्येताहरूले एक कृति मार्फत सार्वजनिक गरेका छन् | त्यस प्रकारको सुक्ष्म अध्ययनलाई विस्तृतरुपमा प्रस्तुत गरिएको त्यो कृति – Diversity and Immigrants’ Dream in America अर्थात् ‘विविधता र आमेरिकामा आप्रवासीहरूको सपना’ हो | पुस्तकका लेखकव्दय हुन् – कृष्ण कंडेल र अश्विन ढकाल |

गैरआवासीय नेपाली संघ (एन.आर.एन.ए.) एनसीसी अमेरिकाको यही जुलाई १३ र १४ मा मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सम्पन्न १३ औं साधारण सभा तथा चौथो ज्ञान सम्मेलनस्थलमा एकजना नेपालीले पुस्तकको बिक्री कक्ष राखेका रहेछन् | सम्मेलनस्थलको वायाँतर्फका टेवलहरूमा सम्मेलनका सहभागीहरूको दर्ता प्रकृयाका लागि सहजिकरण गर्न केही स्वयंसेवीहरू व्यस्त थिए | सहभागीहरूको हतारो चैं दर्ता प्रकृया सकेर आ-आफ्ना परिचय पत्र घाँटीमा झुण्डाउँदै सभाहलमा प्रवेश गर्नुथियो | कमै सहभागीहरूका आँखा दर्ता प्रकृयाको टेवलहरूको दायाँतर्फको पुस्तक बिक्रि कक्षमा परेको उदाहरण यो पङ्क्तिकारको अनुभव पनि हो |

सभाहलमा उद्घघाटन लगायतका प्रकृयाहरू सकिए | नृत्य प्रदर्शन तथा चिया चमेनामा सहभागीहरुको ध्यान जान थाल्यो | यो पङ्क्तिकार सभास्थलबाट बाहिर फर्कंदै गर्दा सहभागीहरूका लागि दर्ता प्रकृयालगायतका काममा स्वयंसेवी सहयोगको व्यस्तताबाट मुक्त भएका पारिवारिक मित्र कृष्ण पराजुलीसँग भलाकुसारी शुरूभयो | त्यसक्रममा सन्चो विसन्चो र पारिवारिक सोधखोजपछि लेखन र प्रकाशनका केही पुराना प्रसङ्गहरू पनि कोट्याइएका थिए | त्यही भलाकुसारीले दर्ता प्रकृयाको टेवलको अर्को तर्फको पुस्तक बिक्रि कक्षमा उभिएका लेखक तथा बिक्रेताको कानमा यो पङ्क्तिकारको परिचय उनको सो कृतिको सम्भावित क्रेताकारुपमा ध्वनित भएको हुनसक्छ |

‘तपाईं पनि पत्रकार हुनुहुँदोरहेछ!’ पत्रकारकारुपमा मैले परिचय दिने कसैसँगको कुनै साइनो सम्झनामा पनि आएन र त्यो परिचय यो पङ्क्तिकारका लेखहरूमा पाठकहरूले पढ्ने अक्षरले दिने सन्देशमा मात्र सिमित हुने गरेका थिए वा हुनेगरेका छन् | नेपाली पोष्टको पर्दा भित्रको नामअनुसारको काम नगरेकाले त्यो परिचय स्वतस्फुर्त प्रकट हुने गर्दैन | अढाई दशक पहिले सुरू भएको नेपाली भाषाको पहिलो अनलाइन पत्रिका नेपाली पोष्टमा यसका संस्थापक तथा प्रधान सम्पादक गिरिशजीको मित्रवत सहृयताले दिएको नाम र कामको जिम्मेवारी तथा जवाफदेहिता व्यवहारमा निर्वाह गर्न नसकेको यसका पाठकहरू तथा शुभेच्छुक सहयोगीहरूले पक्कै पनि महसुस गरेको हुनुपर्छ वा परिणामले पनि देखाएकै छ |

‘तपाईंले यो किताबको प्रबर्धनका लागि सहयोग गरिदिनु पर्यो |’ लेखक कंडेलको यो विनयताले नेपाली भाषाको यो मरुभूमिमा नेपाली भाषी पत्रकारका लागि व्यँङ्य गरिरहेको त थियो नै त्यसमा पनि अङ्ग्रेजी भाषामा प्रकाशित त्यो अध्ययन ‘कागलाई बेल पाकेको’ भने झैं ‘न हर्ष न विस्मात’को अवस्था आइलाग्यो | आयोजकहरूका तर्फबाट उपलब्ध गराइएको लेखक पत्रकार (MEDIA) को परिचय पत्र घाँटीमा झुण्डाएर अर्को लेखकको कठघरामा उभिएको यो पङ्क्तिकारले प्लाष्टिक पेपरमा बाँधिएको ५० डलर नपुग १ सेन्ट कम मूल्यको यो पुस्तकको प्रयोजन के हुनसक्छ ठम्याउन सकेन तैपनि लेखकलाई पुस्तकको मूल्यकै कारण निराश पार्नु पनि मनासिव लागेन | एन.आर.एन.ए.को ज्ञान सम्मेलनमा सहभागी यस पङ्क्तिकारलाई आफ्नै भाषा ज्ञानले पनि यो कृतिको प्रयोजनका लागि प्रश्न गर्नु स्वभाविक थियो |

नेपाली जनबोली ‘कुलो र कुरो जता लग्यो त्यतै जान्छ’ भन्छ | Diversity and Immigrants’ Dream in America का लेखक कंडेल अङ्ग्रेजीमा आफूले लेखेको यस कृतिको नाम नेपालीमा ‘विविधता र अमेरिकामा आप्रवासीहरूको सपना’ भन्छन् | नेपाली पत्रकारितामा अङ्रेजी भाषाको पनि ज्ञान भएका परिचित पत्रकार तथा लेखक मित्र जयदेव गौतमका अनुसार ‘Diversity and Immigrants’ Dream in America’ लाई नेपालीमा यसरी लेखिनु,बुझिनु र बोलिनु पर्छ – अमेरिका : विविधता र आप्रवासी सपना | कृतिको नामका शब्दको अनुवादमा कुनै अघिपछि केही फरक नै परे पनि ‘Diversity and Immigrants’ Dream in America’ यस पुस्तकले प्राथमिकतामा राखेका अन्तराष्ट्रीय विधार्थीहरू र आप्रवासीहरूका लागि भने नपढे पनि ‘छामेर पनि बुझ्न सकिने’ पुस्तक हो भनेर बुझे हुन्छ | तर यस पुस्तकले दिएको सूचना र सन्देशबाट लाभ लिन छामेर मात्र बुझ्दा पक्कै पर्याप्त हुन्न | पक्कै पनि पुस्तक किन्नु र पढ्नु बिक्रेताका लागिभन्दा क्रेताका लागि नै ज्यादा महत्त्वपूर्ण वा फाइदाजनक हुन्छ | पुस्तक अमेरिकामा शिक्षा,रोजगारी,बसोबास, आप्रवासी कानुन,अध्यागमन तथा अन्य अध्ययन भ्रमण गर्नेहरूका लागि पनि सन्दर्भ सामाग्रीकारुपमा सहयोगी हुनसक्छ |

Dr. Kristina Wolff (Professor Bellevue university, Nebraska, USA) का अनुसार पुस्तकले अमेरिकी समाजमा आप्रवासीहरूकाबिचको भाषिक र सांस्कृतिक मान्यताहरू र तिनको अभ्यासहरूको भिन्नतालाई जोड्न सहयोग गर्दछ | यसै पुस्तकका बारेमा डा. राम आशिष गिरि ( Academic Monash University, English Language Center, Melbourne, Australia) लेख्छन्- अमेरिकी समाजको वास्तविक चित्रका बारेमा जानकारिका अतिरिक्त आप्रवासीहरू र अन्तराष्ट्रिय विधार्थीहरूको सामाजिक एकिकरणमा सहयोग गर्नुका साथै शिक्षावीद् र अनुसन्धानकर्ताहरूलाई पनि यो पुस्तक उपयोगी छ |

डा. अर्जनु बन्जाडे (Director of Institutional Research, Notre Dame of Maryland university, Baltimore, USA) ले उल्लेख गरेअनुसार विभिन्न प्रकारले अमेरिका आउनेहरूका लागि कानुन, शिक्षा,रोजगारी लगायतका आधारभुत जानकारिका लागि यो पुस्तकले सहयोग गर्दछ | डा. बन्जाडे गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए.) एनसीसी अमेरिकाको अध्यक्ष पनि हुन् |

कृतिमा विभिन्न २४ वटा मुख्य अध्याय (शिर्षक) र ८२ वटा उपशिर्षक अन्तरगतका विषयहरू समेटिएका छन् | आवरण र अन्य सामाग्रीहरू समेटिएको २० पेज बाहेकको १ सय ४९ पेजको यो कृतिको १३ प्रतिशत बराबर (१९ पेज) को अंशमा त सन्दर्भ सामाग्री नै रहेको छ | त्यसभित्र करिव २ सय ५० वटा सन्दर्भ सामाग्रिहरू समेटिएका छन् |

यसले समेटेका मुख्य विषयहरू हुन्- आप्रवासीहरूको भूमि संयुक्त राज्य अमेरिकामा विविधता र सपना,कार्य क्षेत्र,भाषा-संस्कृति,कानुन,सीप,रोजगारी,आप्रवासीहरूको योगदान, शरणार्थी र तिनका संघर्ष,आप्रवासीहरूका संस्कार र अभ्यास,बालाबालिका,विवाह,पारिवारिक सम्बन्ध आदी | अघिल्ला प्रसङ्गहरूमा पनि चर्चा गरिएका विषय हुन्- शिक्षा, दुई भाषाको ज्ञान,अध्यागमन सम्बन्धि जानकारि,रोजगारी,आम्दानी,गरिबी,मानसिक स्वास्थ,पारिवारिक विछोड,नागरिकता र स्थायी बसोवासका सुबिधा आदि | यस बाहेक राजनीति,सांस्कृतिक तनाव,ऋण र महङ्गो व्याज,अन्तराष्ट्रीय विधार्थीहरूका अनुभव तथा उत्साहजनक भविष्य र अवसरहरू,अन्तराष्ट्रीय संस्थाहरू,सांस्कृतिक तथा कुटनीतिक प्रतिनिधीहरुका भूमिका आदि विषयहरू यस अध्ययनले समेटेको छ | लेखक कृष्ण कंडेलको मत हो- अमेरिकामा अन्तराष्ट्रिय विधार्थीहरूलाई अमेरिकी समाजमा एकिकरण गर्ने उदेश्यले यो अध्ययन तयार गरिएको हो |

लेखकद्वयको भूमिका र परिचय कृतिको अन्तिम पेजमा उल्लेख गरिएको छ भने उक्त पेजको फोटो यो पाठ्य सामाग्रीमा समावेश गरिएको छ | यसका अतिरिक्त अमेरिकामा आप्रवासी र शरणार्थीहरूका उदाहरणीय सफलताका कथाहरूमा बुध्दी सुबेदी,डा. कुमार गुरुङ्,राजन भट्टराई र कर्ण गुरुङहरूको परिचय समेटिएको छ | यसमा सम्बन्धित व्यक्तिहरूले अमेरिकामा गरेका संघर्ष,अनुभव,अवसर,सफलता तथा व्यावशायिक र सामाजिक जीवनका बारेमा उल्लेख गरिएको छ |

यो कृति प्राप्त गर्न चाहनु हुने पाठक तथा अध्येताहरूले लेखक कंडेलको यो इमेलमा सम्पर्क गर्न सक्नुहुन्छ –krishnakandelsirji@gmail.com

Add a Comment

Your email address will not be published. Required fields are marked *