पितृलोकको वर्णनःराम जन्मभूमिको बयान

 

नेपालको संसदीय राजनीति,कानून र प्राध्यापन पेशामा चिनिएका अशोकनाथ तिवारीको अर्को परिचय पनि छ- उनी ११ वटा मौलिक कृतिका लेखक पनि हुन् | आध्यात्मिक चिन्तन,सामाजिक-साँस्कृतिक वा धार्मिक दर्शन र ऐतिहासिकका साथै समसामयिक सन्दर्भहरूमा लेखिएका उनका कृतिहरू गद्य र पद्य दुवै विधामा छन् | उनका ११ वटा ती कृतिहरू निम्न अनुसार छन् –
१) अन्तरिक्ष युध्द (काव्य)
२) वागमती (काव्य)
३) इन्द्रकुमारी (महाकाव्य)
४) राजेन्द्रलक्ष्मी (महाकाव्य)
५) भुवनेश्वरी (महाकाव्य)
६) विरासद
७) चुनौती (आध्यात्मिक चिन्तनप्रधान निबन्ध संग्रह)
८) पितृलोकको वर्णन (आध्यात्मिक चिन्तनप्रधान निबन्ध संग्रह)
९) मैले नचिनेको म (आध्यात्मिक चिन्तनप्रधान निबन्ध संग्रह)
१०) हिरासत (आध्यात्मिक चिन्तनप्रधान निबन्ध संग्रह)
११) मैजु महारानी ( ऐतिहासिक विषयवस्तुमा आधारित)

मूलतः तिवारीका कृतिहरूमा आध्यामिक चिन्तन,राष्ट्रियता, संस्कृति,भूगोल,धर्म,राजनीति,इतिहास,नीति शिक्षा,प्रकृति,पर्यावरण वा प्रदुषण आदिलाई कल्पनातित स्वैर कल्पना वा मिथकीय प्रतीकहरूका रुपमा प्रस्तुत गरिएको छ | उनका ११ वटा कृतिहरू मध्ये चुनौती,पितृलोकको वर्णन,मैले नचिनेको म,मैजु महारानी र हिरासत यी पाँचवटा भने सबैभन्दा पछिल्ला हुन् | यी पाँचवटै कृति हिमालयन प्रतिष्ठान काठमाडौंले वि.सं. २०८० फागुन ७ गते (प्रजातन्त्र दिवस) एकै पटक प्रकाशित गरेको हो | यसरी एकै पटक पाँच-पाँचवटा कृति सर्वजनिक गर्नु लेखकको लेखकीय क्षमताको र प्रकाशकको व्यावशायिक पहुँचको उदाहरण पनि हो |

एकसाथ प्रकाशित यी पाँचमध्ये ‘पितृलोकको वर्णन’ का सम्बन्धमा यी हरफहरू यो पङ्क्तिकारको सामान्य पाठकीय अनुभूति र जिज्ञासाहरू मात्र हुन् | यसै पनि पितृलोक,यो सामान्य अध्ययनले बुझ्न सकिने सामान्य विषय भने होइन | यस पितृलोक भित्रका ६ वटा साहायक अध्यायहरू (शीर्षकहरू) यी हुन् – १) पितृलोकको वर्णन २) पितृ कस्ता ३) यम दरबार ४) यम दरबार भित्र ५) यसमा मेरा प्रश्न यमको उत्तर ६) नेपालको बारेमा |

यस कृतिमा लेखकले कल्पनातित भावनाहरू वा स्वप्न दृष्टिलाई प्रकटिकरण गर्न प्रयास गरेको देखिन्छ | पितृलोकको भ्रमणमा भेटिएका पितृहरूको गतिबिधि,तिनका भोगाइ र अनुभुति के कस्ता छन् भन्ने कुरालाई नेपाल राज्य र हिन्दू धर्मलाई केन्द्र गरेर वर्णन गरेको पाइन्छ | यसको पहिलो सन्दर्भको पहिलो प्यारा यहाँ केही प्यारा पछि उद्दृत पनि गरिएको छ |

कृतिमा पितृलोक प्रस्थानका सन्दर्भमा मृत्युपछि पशुपति आर्यघाटमा पशुपति मन्दिरकै पूर्व ढोकाको तल ओरालोमा वागमती नदीको किनारमा विशिष्ठ (ठूलाबडा भनिएका मानिस) हरूको मृत्युपछि शव जलाइने भनिएको ठाउँमा दाहसंस्कार गर्दा मोक्ष नपाउने तर दक्षिण तर्फको भष्मेश्वर मन्दिर अगाडिको चितामा दाहसंस्कार गर्ने सर्वसाधारण मानिसहरूले मात्र मृत्यु पछि मोक्ष पाउने सन्दर्भ उल्लेख गरिएको छ | यसले मृत्युपछि ठूलाबडाका नाममा छुट्याइएका अर्यघाटको चिताको वारेमा मानिसहरूमा रहेको भ्रमलाई आँखा खोलिदएको हुनुपर्छ | सन्देश हो, चितामा जलाउँदा पनि ठूलो-सानो वा धनी गरिब भनेर गरिने व्यावहार धर्म वा शास्त्र संगत भने छैन | मोक्षका लागि चिताको भष्म पनि भष्मेश्वरसम्म पुग्नुपर्छ यध्यपि यो पनि आर्यघाटका सन्दर्भमा जति तर्क सङ्गत हुन्छ,अन्यत्रका श्मशान घाटहरूका लागि के छ त ? के सबै श्मशान घाटहरूमा यस्तै भष्मेश्वर मन्दिरको व्यवस्था हुन्छ कि हुँदैन ? एउटा भ्रम चिर्दा अरु भ्रम पैदा हुने सम्भावना हुनु पनि राम्रो होइन |

लेखकले पितृलोकको बारेमा नै यसभन्दा पहिले प्रकाशित ‘विरासत’ कृतिमा पनि केही चर्चा गरिसकेको कुरा लेखकीय मन्तव्यमा उल्लेख गरेका छन् | हिन्दु सनातनी मान्यता अनुसार त पितृलोक भनेको त्यस्तो लोक हो जहाँ मानिसले अनुमानतः जिउँदो छँदा जान सक्दैन वा पाउँदैन | पितृ र पितृलोक भन्नाले के बुझिन्छ, यो पनि बुझ्न जरुरी छ | मानिसले जन्मदेखि मृत्युको मुखमा पुग्दासम्मका गितिबिधि अनुभुत गर्न र प्रकट गर्न सक्छ तर मृत्युपछिको सक्दैन । मृत्युपछिका मानिसका बुझाइ-भोगाइका विधि विद्या सामान्य वा सबैका लागि नभएर पूर्वजन्म,तान्त्रिक-योग आदि असम्भव वा कठिन साधनाका मिथकहरुकारुपमा चित्रित वर्णित वा श्रुति परम्पराका अवशेषकारुपमा छन् । हिन्दु सनातन धर्म परम्परामा गरुड पुराण मानिसको मृत्युपछिको यात्रा कथाको वर्णनकारुपमा पनि लिन सकिन्छ ।

पितृ – ना. (सं.) १. मरेका बाबुबाजेहरू,दिवङ्गत भएका आफ्ना पुर्खा | २. प्रेतको अवस्थाबाट मुक्त भएका पूर्वज | ३) सनातनि विश्वासअनुसार पितृलोकको निवासी |
पितृलोक – ना. पितृहरू बस्ने लोक,पितृहरूको लोक,यमलोक |
– नेपाली बृहत् शब्दकोश / ७७६, नेपाल प्रज्ञा प्रतिष्ठान,संशोधित र परिवर्धित दसौं संस्करण, वि.सं. २०७५

यस्तो लोकमा लेखक कसरी पुगे र यस्को वर्णन गर्न कसरी सके त ? लेखकीय मन्तव्य ‘दुई शब्द’ भित्र लेखक स्वयंले यसलाई अपत्यारिलो र डरलाग्दो विषय भएको उल्लेख गरेका छन् | उनले लेखेका छन्- ‘मैले यसमा नबिराउनु नडराउनु भन्ने सन्देश प्रवाह गर्न खोजेको हुँ | अर्थात् जसले सत् कर्म गर्छ त्यसले डराउनु पर्दैन | अधर्मी र पापीले वा असत् गर्ने मात्र डराउनु पर्छ | मानवता र परोपकार गर | वास्तवमा यमलोक डराएर सास्ती खाँदै जाने कि ससम्मान जाने भन्ने कुरा मान्छेको कर्मले निर्धारण गर्छ | जस्तो कर्म गर्छौं त्यस्तै फल पाइन्छ भन्ने कुरा सत्य देखाउने प्रयास छ |’

यसभन्दा पहिले प्रकाशित ‘विरासत’ मा लेखकले यमलोक अर्थात् पितृलोकमा कसरी पुगे र त्यहाँको के कस्तो वर्णन गरेका छन् ? त्यो पृष्टभूमि पनि यसै कृतिमा उल्लेख गरिएको देवराज इन्द्रको हुकुम वा अनुमतिबाट प्राप्त भएको थियो होला भनेर अनुमान भने गर्न सकिन्छ | पृथ्विमा वा यो धर्तिमा सबैभन्दा राम्रो ठाउँ नेपाल हो,नेपाली सभ्यता र संस्कृति हो भनेर लेखकले पितृहरूको सन्देश प्रवाह गरेका छन् | तर पितृलोकमा त्यस किसिमको विशिष्ठता वा विविधता वा रोजाइ नभएको पनि लेखकको पितृलोक भ्रमणको अनुभव पनि छ | पितृलोकमा यस धरामा जस्तो सामाजिक,साँस्कृतिक,धार्मिक,लैङ्गिक,जातीय लगायतको विविधता र विभेद पनि रहेनछन् !

यस सन्दर्भमा एउटा उदाहरण यसप्रकार छ-‘त्यहाँ मैले न कोही हिन्दु भेटें,न कोही क्रिश्चियन भेटें, न कोही मुस्लिम भेटें,न कोही बुध्दिष्ट भेटें, न त कोही क्याथोलिक र प्रोटेष्टयाण्ड भेटें | त्यहाँ घुम्दै बुझ्दै जाँदा कैल्यै पनि त्यहाँ कुनै पनि किसिमको धार्मिक द्वन्द भएको पाइएन | ’ – पितृ कस्ता, अशोकनाथ तिवारी (पेज २४)

पितृलोकको वर्णनमा लेखकको पहिलो स्विकारोक्ति यस्तो पनि छ- ‘देवराज इन्द्रको हुकुमले मैले पितृलोक भ्रमण गर्ने सुअवसर पाएको कुरा मेरो किताब ‘विरासत’मा उल्लेख गरि सकेको छु | पितृलोकमा मैले के-के देखें भन्ने कुराको वर्णन यहाँ गर्ने जमर्को गरेकोछु | त्यहाँ कसरी पितृहरू बस्दा रहेछन् ? तिनको रूप कस्तो हुँदो रहेछ ? त्यहाँ नर नारी थिए कि थिएनन् ? त्यहाँ एशिया अफ्रिका जस्ता सात महादेश थिए कि थिएनन् ? त्यहाँ यहाँका जस्ता गोरा,काला,गहुँ गोरा,चुच्चे,नेप्टे,चिम्से मान्छे भेटिए कि भेटिएनन् ? यहाँ जस्तो थरी थरीका देश थिए कि थिएनन् ? त्यहाँ एक ठाउँबाट अर्को ठाउँमा जान ‘पासपोर्ट’ र ‘भिसा’ चाहिने रहेछ कि रैनछ ? यहाँ जस्तो ‘चेक पोष्ट’ राखेको थियो कि थिएन ? त्यहाँ भ्रमण गर्न पितृहरूलाई रोक टोक थियो कि थिएन ? आदि सम्बन्धमा जानकारी गराउने चेष्टा मैले यो अध्यायमा गराउने प्रयास गरेको छु |’ पितृलोकको वर्णन,अशोकनाथ तिवारी ( पेज १)

कृतिमा त्यस्ता कतिपय कुराहरू जो पितृलोकमा पनि थिएनन् तर ती कुराको अपेक्षा लेखकले यस लोकमा अर्थात् धरामा भने गरेका छन् | पितृलोकको कुनै प्रकारको असमानता नभएको उदाहरण दिएर यो धरामा मेरो मौलिक जात समुदाय,भाषा,धर्म वा सँस्कृतिको पहिचान बोकेर यसमा हुन थालेको विचलन,सुधार वा परिवर्तनलाई पूर्ववत अवस्थामा फर्काउन खोज्नका लागि गरिएको प्रयास वा अपेक्षाले यस धरालाई पितृलोक तुल्य सुन्दर बनाउन सकिन्छ होला र ? कि अहिले भइरहेकै अवस्थालाई मलजल गर्छ ? उदाहरण पितृलोकमा कुनैपनि प्रकारका विभेद वा भिन्नता नभएको सर्वत्र समान रहेको उदाहरण र धरामा हामीले आ-आफ्ना मौलिकता र पहिचानको रक्षा गर्नुपर्छ भनेर अपेक्षा राख्नु बिरोधाभास भएन र ? त्यसरी हामीले हाम्रो मौलिक पहिचानको वकालत गर्दा पितृलोकको सादृश्य दृश्य नै यो धरामा पनि सिर्जना हुन्छ कि विपरित ? सनातनी परम्पराको मौलिकता कायम गर्ने केही सत्कामना र सत् अपेक्षाहरू र उदाहरण छन्, तिनलाई अन्यथा मान्नु हुँदैन तर यसमा विरोधाभास पनि कम छैनन् | असामानता नहोस र सबै समान हुन् वा हुनुपर्छ,यो कामना र सन्देश पनि लेखकको छ ।

लेखकले पितृलोक भ्रमणका क्रममा अमेरिका वा चीन जस्ता विकशित देशहरूको सन्दर्भको पनि चर्चा गरेका छन् । यस धरामा जतिसुकै विकशित वा स्वतन्त्र नै भने पनि लेखकले कल्पना गरेको पितृलोकको जस्तै विधी बिधान त कहीं छैन निश्चित छ । तर विधिको शासन,आपसी प्रेम र सद्भाव ,समानता आदिको वर्णन पढ्दा लेखक कतै माथि भनिएकै कुनै विकशित र धनी मानिएका देशहरूको अनुभवको बयान त गरिरहेका छैनन् भन्ने महसुस पनि हुनसक्छ पाठकलाई । यो धरामा सबै समाजका आ-आफ्नै विविधता,असमानता आदि समस्या त छन् तर कुन समाज कता जाँदै छ र रोज्न पर्दा मानिसले कुन समाज चैं के कति कारणले रोज्छन् अनुमान गर्न सकिन्छ ।

कृति कति भावनामा बहकिएको छ वा कति तथ्यहरूमा केन्द्रित छ भन्ने प्रश्न पाठकहरूलाई उठिरहन्छ | र, यो प्रश्न उठ्नु किन स्वभाविक छ भने प्रकाशक हिमालयन प्रतिष्ठानका तर्फबाट अध्यक्ष शेषराज सिवाकोटीले ‘प्रकाशकीय’मा लेख्नु भएको यी पङ्क्तिहरूले पनि पाठकहरूको प्रश्नलाई बल पुर्याउँछ – … कानूनका प्राध्यापक अधिवक्ता अशोकनाथ तिवारीले आध्यात्मिक विषयवस्तुलाई विज्ञानको आँखीझ्यालबाट चियाउन खोज्नु भएको पाइन्छ | यसमा उहाँको ज्ञानको क्षितिजको विस्तृतता मात्र नभएर कल्पनाशिलता पनि भेटिन्छ | यसमा सक्कली अयोध्या कुन हो भन्ने जस्ता विवास्पद विषयमा विना ठोस् प्रमाण निश्चयात्मक धारणा र अन्ध राष्ट्रभक्तिले ओतप्रोत भएको अभिव्यक्ति पनि पाठकहरूले पाउन सक्नु हुनेछ | भगवान् श्रीरामद्वारा संस्थापित रामेश्वरम शिवलिङ्गको प्राण प्रतिष्ठा गराउँदा रावण पुरोहित बनेर आएको जस्ता नयाँ धारणा र निष्कर्ष प्रस्तुत गर्दा ठोस शास्त्रीय प्रमाण र आधार स्रोत उल्लेख गरिएको पाद टिप्पणि पनि दिइएको भए पुस्तकमा अभिव्यक्त धारणा प्रमाणिक देखिने थिए होलान् |’ तर थाहा हुँदा हुँदै पनि प्रकाशक र लेखकबाट नै हुनसक्ने यो काम किन भएन भनेर पाठकहरूले अब कस्लाई सोध्ने त ? यहाँ प्रकाशकबाट जानाजान आफ्ना कमजोरी माथि पाठकलाई प्रश्न गर्ने मौका दिइएकोछ |

यसमा प्रकाशकले लेखकमाथि गरेको प्रश्नले पाठकलाई प्रकाशकको इमान्दारिता त महसुस हुन्छ तर लेखकको ज्ञान क्षमता,कल्पनाशिलता र सूचना स्रोतलाई दोहन गर्न भने किन प्रकाशकबाट कन्जुस्याईं गरेको होला भनेर अर्को प्रश्न पनि उठ्छ नै | प्रकाशकले उठाएका प्रश्नहरूको उतर लेखकसँग खोजिनु पर्नेमा लेखकको कमजोरी पाठकलाई देखाएर प्रकाशक आफू माथि उठ्ने प्रश्नबाट भाग्न हुँदैन थियो |

‘ … हाम्रो शास्त्र अनुसार यो संसारमा बलिया तीन व्यक्तिमा पहिलो शिव हुन् भने दोस्रोमा नारायण अनि श्रीराम हुन् | यस्ता वीरका सन्तान हुन् नेपाली र त्यसैले अयोध्या नेपालकै वाराको (यहाँ चितवनको हुनुपर्छ) अयोध्या हो | भारतमा त पछि बनाइएको मात्र हो | … जसरी लुम्बिनी भारतमा पनि निर्माण गरिंदैछ | त्यसरी नै रामको राज्य भनेर बनाइएको हो | रामको अयोध्या त नेपालको सच्चा साँचो हो | … पहिलो कुरा अयोध्याबाट मध्यान्नमा वाल्मिकी आश्रम पुगिनुले नै ठाँटीको (यो पनि ठोरीको हुनुपर्छ) अयोध्या हो | लक्ष्मणले सीता छोड्न जाँदा मध्यान्नमा पुगेको कुरा वाल्मिकी रामायणमा छ | भारतको अयोध्याबाट किमार्थ मध्यान्नमा वाल्मिकी आश्रम पुग्न सकिंदैन | … अयोध्या नगर वाल्मिकी रामायण अनुसार १२ योजन लम्वाइ र तीन योजन चौडाइमा फैलिएको लेखिएको छ | यस हिसाबले हेर्दा पनि भारतको अयोध्या धेरै ठूलो छ | यो त ठ्याक्क नेपालको ठोरीमा भएको अयोध्यासँग मिल्छ | नेपालको बारेमा,अशोकनाथ तिवारी (पेज ९६-९७)

पाठकहरूलाई पढ्दा पढ्दै भ्रम नहोस् वा नकारात्मक धारणा नबनोस भनेर माथि मूल लेखमा उल्लेख ‘वारा’को र ‘ठाँटी’को भन्ने शब्दलाई सच्याएर कोष्ट भित्र ‘चितवन’ र ‘ठोरी’ भनेर दिइएक हो | यो कृतिका लेखक,प्रकाशक वा सम्पादकहरूमा यी ठाउँका जिल्ला वा स्थानिय नामहरूको बारेमा अलमल भएको पनि हुनसक्छ वा प्राबिधिक त्रुटी टाइपो अर्थात् मुद्रा राक्षसको त्रुटी ! व्याकरणगत हिज्जेका यी दुई शब्दको त्रुटी पाठकहरुले अनुमान गर्न सक्लान् तर यसमा भएका यस्ता अन्य व्याकरणका कमजोरीका बारेमा लेखक,सम्पादक र प्रकाशकले आँखा चिम्लन मिल्दैन थियो | यध्यपि यहाँ प्रस्तुत गर्न खोजिएको विषयका लागि यी ठाउँका नामहरू पनि महत्वपूर्ण तथ्य हुन् |

यसबाट पनि के अनुमान गर्न सकिन्छ भने रामजन्म भूमी अयोध्या र रामसँग सम्बन्धित अन्य भूमिहरूको बारेमा हामीले जुन दाबी गर्न खोजेका छौं ती प्रश्न वा जुन विषयमा विवाद सतहमा आएको छ,त्यसमा अझै अध्येताहरूमा अलमल छ | यसका अध्येताहरूमा मतैक्य हुन अझै धेरै बाँकी छ | राम जन्म भूमि नेपाल नै हो भन्न थालिएको भएता पनि यसबारे राम्रो अध्ययन र पर्याप्त अध्ययन सामाग्रीहरू छैनन् |

यस्ता कतिपय पुरातात्विक,ऐतिहासिक,धार्मिक महत्वका मानिएका धरोहरलाई सम्मान,सम्झना र अध्ययनको सहजताका लागि तिनका विषयहरू (परिचय,भुमिका आदी) को प्रतिस्थापन गरेर संरक्षण गर्न प्रयास गरिएको पनि हुन्छ | यी प्रयासहरूमा संग्रालय,प्रतिमा,नगर वा सडक आदिको नामाकरण पनि गरिएको हुन्छ | सामान्यतः एउटा व्यक्ति यध्यपि यस सन्दर्भमा भगवान रामलाई एउटा व्यक्ति भनेर सामान्यिकरण गर्न खोजिएको नबुझिएमा कुनै पनि जीवको जन्म एउटै जुनीमा दुई-दुई ठउँमा हुन सक्दैन | अर्को जुनीको बारेमा विश्वसनीय प्रमाण पनि छैनन् । तर किन रामको जन्मभूमिको नामको अयोध्दा एक भन्दा धेरै ठाउँमा छन् र किन मिल्दाजुल्दा पनि भए ? यो प्रश्न भने उत्खनन् योग्य नै हो ।

एक भन्दा धेरै ठाउँका नामहरू र ती नामहरूको ऐतिहासिकतासँग सम्बन्धित अन्य केही पक्षहरूको पनि मेल हुने अवस्था हुनै नसक्ने त हुन्न तर त्यसलाई कुन वास्तविक र कुन चैं काल्पनिक वा पछि प्रतिस्थापना गरिएको हो ? कुनरुपमा कुन उदेश्यले कहिले कसले किन प्रतिस्थापन गरे भनेर आधिकारिक अभिलेखहरू नहुँदा यसमा अन्यौल हुनु स्वभाविक हो | यो अन्यौल स्वभाविक त हो तर यस्लाई हतारिएर दाबि बिरोधको विवाद शुरु गर्नुभन्दा पनि प्रमाण र पुष्टि हुने आधारहरू खोज्नु राम्रो हो | यो राज्य राज्यका बीचको विभाजनको समयभन्दा धेरै पहिलेको घटनासँग सम्बन्धित हो राम जन्म भूमिको सन्दर्भ | आधुनिक राज्यका सिध्दान्त वा सिमा विभाजनको समयभन्दा लाखौं वर्ष पहिलेको कुरा हो यो |

पहिलो कुरा त मानौं यो मिथक हो,दोस्रो यो धार्मिक-पौराणिक विश्वास हो र तेस्रो यो यस सृष्टिको कुनै काल खण्डको इतिहास नै हो | यी जे अवस्था भए पनि अहिले यस्लाई हामीले नेपालमा भएको रहेछ भनेर मान्दा हामी नेपाली जति खुशि हुन्छौं,त्यो कुरा तथ्यहरूले प्रमाण र पुष्टि नहुँदा हामी भन्दा अर्को ठूलो समुदाय त्यतिकै दुःखी हुनु स्वभाविक हुन्छ | आदर्श पुरुष राम,यो धर्तिका सारा प्राणी र प्रगतिका पालक थिए भनेर मान्ने हो भने हामीले उनी यहाँ वा कहाँ जन्मेका थिए वा थिएनन् भनेर रामको महत्व घट्ने वा बढ्ने वा उनको भूमिकामा फरक भने पर्दैन | उनको आदर्शको पालना,उनको सम्झना र सम्मान ठूलो कुरा हो | यसका भौतिक विषयहरूको बारेमा पनि खोज अनुसन्धान गर्दै जाँदा कुनै दिन यसमा सबैको मतैक्य हुने प्रमाणहरू फेला पर्न सक्छन् | कामना गरौं,त्यो एकदिन फेला पर्ने छ र त्यो पनि नेपालमा नै होस् !

व्यक्तिगतरुपमा यो पङ्क्तिकार यसमा कुनै मत जाहेर गर्न असमर्थ छ तर यस्का अध्येताहरूले यसलाई ‘नेपालमा नै हो राम जन्म भूमि ’ भनेर प्रमाणित गर्न सके खुशीकै कुरा हुनेछ | वाल्मिकी रामायणमा वर्णन गरिएअनुसार रामको जन्म त्रेता युगको अन्तिममा भएको हो । शास्त्रहरूका अनुसार दैत्यहरूको क्रुरताबाट देव तथा ऋषिहरूको रक्षा गर्न राम यस लोकमा ११ हजार वर्ष बसेका थिए । व्दापर युग, राम बसेको वर्ष र व्दापर युगको अन्तपछि आजसम्मलाई जोड्दा र वेदको गणनाका आधारमा रामको जन्म ८ लाख ८० हजार १ सय वर्षभन्दा पनि पहिले भएको हुनुपर्ने अनुमान छ | हामी पनि थप अनुमान गरौं यति लामो समयकालको यो घटनाका वारेमा कहिले किन र के भयो वा कस्ले कसरी कहाँ के गर्यो वा गरेन भनेर कसरी दावी,बिरोध वा विवाद गर्न सकिन्छ ? यसको आधार जे हो त्यो पनि त विश्वसनिय हुनुपर्छ नि होइन र ?

राम जन्मभूमि नेपालको अयोध्या हो कि भारतको हो भनेर आएका यस्ता केही कल्पनातित् मिथक वा अन्य केही तुलनात्मक अध्ययनका ध्वनिहरू पनि मुखरर त भएका छन् | कुनै पनि विषयमा त्यस्को उदेश्य,कारण र परिणामका बारेमा प्रश्न वा आलोचना गर्न नै नहुने भन्ने छैन | ती प्रश्न-आलोचना पनि कारण सहित गर्न सकिन्छ र यो यस्तै कारणसहित गरिएको प्रश्न भने पक्कै हो | यस प्रश्नलाई केही अध्येता विद्वानहरूले सतहमा ल्याएका छन् | यसलाई अझै मुखरर गरेका हुन् खड्गप्रसाद ओलीले | ओलीले नेपालको प्रधानमन्त्रीकारुपमा वा पार्टी नेताकारुपमा पनि यो विषयलाई केही वर्ष यतादेखि सार्वजनिक गर्दै आएका छन् |

यी र यस्तै कल्पनातित विषय र सन्देशहरू समेटिएको ‘पितृलोको वर्णन’मा पितृलोक, पितृ,यमराज-यम दरवार र पुण्यभूमि नेपाल तथा रामजन्म भूमिको बारेमा लेखक तिवारीले चर्चा गरेका छन् | नैतिक शिक्षा,अध्यात्म वा ऐतिहासिक विषहहरूमा तिवारीका ‘कल्पनातीत’ अर्थात् कल्पनाभन्दा पनि परको वा कल्पना नै गर्न नसकिने अनुभूतिहरू रहेका छन् | यस्तो लाग्छ, साँच्चिकै लेखक तत् तत् स्थानमा तत् तत् पात्रहरूसँग साक्षात्कार गरेको ‘आँखो देखा गबाह’ हुन् त ? लेखक स्वयंले यो अपत्यारिलो र डरलाग्दो विषय हो भनेर स्विकारेको कुरा त माथि चर्चा भैसकेको छ ।

पितृलोकको वर्णन, स्वैरकल्पनामा आधारित एक प्रकारको कथा हो | लेखक धार्मिक आस्था र आध्यात्मिक उत्प्रेणाका कथा बाचक झैं लाग्छन् | सबै कथाहरू र सबै मिथकहरूको तथ्यगत तर्क वा विज्ञानले निर्धारण गर्न वा पुष्टि गर्न सक्दैन | कल्पना जति गरे पनि हुन्छ तर विज्ञान र तर्कले कारण वा परिणाम पनि खोज्छन् | हाम्रा कल्पनालाई अहिले विज्ञान प्रविधिले चलचित्रकारुपमा पर्दाहरूमा उतार्न र हेर्न सक्छौं | तर पर्दाका ती दृश्यहरू आम मानिसको जीवन व्यावहारमा अपनाउन र परिणाम वा कारण दिन सम्भव हुन्न |

हिन्दु धर्मका ग्रन्थहरूमा पनि यस्ता कल्पनातित तिलस्मी कथाहरू पनि छन् | अन्य धर्महरूमा पनि हुनसक्छन्,त्यो पनि छुट्टै अध्ययन र चर्चाको विषय हुनसक्छ । कुनै समय कालको कसैको सपना कल्पना अर्को कुनै कालमा परिणाममुखी नै हुनसक्दैन भन्ने पनि छैन | भन्न त नेपाली साहित्यका महाकवी लक्ष्मीप्रसाद
देवकोटाले भनेका थिए-‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक ।’ आखिर यो पनि देवकोटाको निधनपछि सम्भव भयो । विश्वका धनी र विकशित राष्ट्रहरूले सफलता दोहोर्याउन थालेपछि हिन्दू धर्मको बाहुल्यता रहेको भारतले चन्द्रयान -३ चन्द्रममा अवतरण गराएको १ वर्ष पनि भएको छैन । जबकि यही भारतवर्ष केन्द्रित रहेको हिन्दु धर्मका हजारौं वर्ष पुराना ग्रन्थहरूमा ‘पुस्पक विमान’को प्रयोग गरिएको छ ।

कुनै समयको कालखण्डमा गरिएको कल्पनातित मिथक वा तिलस्मी कथा यस धरामा आज वा भोलि व्यावहारमा उतार्यो भने त्यसको मौलिकता ‘कपि राइट’ को दाबि,बिरोध वा समर्थन र स्वागत गर्न कहाँ जाने ? प्रश्न यो पनि अनुतरित छ | यसै सन्दर्भमा लेखक तिवारीको ‘पितृलोकको वर्णन’ लाई पनि लिन र बुझ्न सकिन्छ | लेखक आध्यामिक,धार्मिक विषयका उत्प्रेरक कथा बाचक हुन् | हिन्दु धर्म ग्रन्थमा उल्लेख ‘पुष्पक विमान, लगायतका त्यो युगका देव वा दानवका अपत्यारिला लाग्ने कतिपय तिलस्मी कथा आजको विज्ञानले प्रमाणित पनि गरेको छ । लेखक तिवारीको पितृलोकका विषयहरू यस्ता पनि छन् ।

लेखकको कल्पनाशिलता, लेखन शैली,विषयको उठानले पाठकमा थप रहस्योद्गाटनका प्रति हुने उत्सुकताले यो कृति पाठकहरूका लागि रुचिकर पनि छ | तर प्रश्न र तथ्यलाई आँखा चिम्लेर गरिने पठनले पाठकलाई दिने सन्देश निस्प्रभावी पनि हुनसक्छ र लेखकलाई पनि थप उचाइमा पुर्याउने सिर्जना मार्गबाट बिचलित गराउन सक्छ | यस दृष्टिमा लेखक,प्रकाशक र पाठक पनि प्रश्न,उदेश्य,सन्देश र परिणामका बारेमा सचेत हुनसके लेखक तिवारीबाट अझै राम्रा सिर्जना प्राप्त हुने आशा गर्न सकिन्छ | लेखकका यी कृति रत्न पुस्तक भण्डार काठमाडौंमा उपलब्ध हुन सक्छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *