खाइराइडको परिक्रमा
|राजेन्द्र कार्कीको खाइराइड प्रकाशनको लगत्तै निकै चर्चा मात्र भएन यो पुस्तकको दोस्रो संस्करणको पनि घोषणा भयो। लेखकको पहिलो कृतिको दोस्रो संस्करण विरलै हुने कुरा हो, तर यसका कारण धेरै छन्-
१) ससक्त छ कृति यद्यपी यो लेखकको पहिलो कृति हो। लेखनमा पाको पनि देखिन्छ।
२) ससक्त छ कृति यद्यपी लेखक लामो समय लेखनको साधनामा जीवन अर्पेका ब्यक्ति होइनन्। लेखनको छोटो यात्रामै यो पुस्तक तयार भएको थियो भनेर यसैमा भनिएकोछ।
३) ससक्त छ कृति, यद्यपी लेखकको अध्ययन अनुभव पनि भाषासाहित्यमा थिएन, लेखक निरस भनिएको लेखाशास्त्रका ब्यवसायकर्मी हुन्।
४) ससक्त छ कृति यद्यपी उनले ससाना दैनिक जीवनका भोगाईमा पनि ससक्तता साथ प्रस्तुति गरेका छन्।
५) ससक्त छ कृति, यद्यपी उनले ठुला भनिएका मुद्दामा भन्दा समसामयिक ससाना सामाजिक मुद्दा उठानमा खरो उत्रिएका छन्….।
सुचि लामै बन्छ तर यो प्रसंग यही रोकें, पुस्तकको पहिलो संस्करण बाडेर मात्रै होईन बेचेरै सकियो, खित्कैली प्रकासन गंभीर र वजनदार साहित्यिक कृति प्रकासनको परिचित नाम हो, ब्राण्ड हो।
लेखकले जन्मभूमीको तृणमुलको यथार्थ भोगे, प्रवासको कठिनता हावा हुन्डरी थेगे। अनि जीवनले एउटा आकार लियो।गति लियो। बिश्वविद्यालयले के सिकाउछ होला र उतार-चढावले सिकाएको अनुभवको तुलनामा। लेखकले पनि आफैले भोगेका फ्रस्ट-ह्यान्ड अनुभुति र बोधले उनको लेखनको धार लगाएको छ। लेखकसँग भन्नपर्ने धेरै कुरा छन्। बिश्रृङ्खलताको रोदन मात्र छैन, समाधानका विकल्प पनि छन्। यसैमा लेखकका धेरै सम्भावनाहरु देखिन्छ।
लेखकसँग एक जोडी छुट्टै आँखा हुनुपर्छ, जुन आँखाले अरुले वेवास्ता गरेको ठाउमा जादुमय चित्र भेट्छ। लेखकसँग एक जोडी छुट्टै कान पनि हुनुपर्छ, जसले निरस र कर्कस आवाजहरु भित्र सूत्र र लयबद्द जीवनसंगीतको आश्वादन गर्नसक्छ। लेखकसँग एक पत्र छुट्टै छाला हुनुपर्छ, जसले हरेक स्पर्सहरुमा नविन अनुभुति पाउन सक्छ। राजेन्द्र कार्कीसँग पनि ती थप एक जोड आखा, कान, जिब्र, नाक र छाला छ जसले हासिहासी आशुका मुहान पनि साक्षात्कार गर्न सक्छ।
खाइराइड भित्र मान्छे छन्। जनावर छन्। चराचुरुङ्गी र किटपतंङ्ग छन्। अझ गहिरिएर हेर्दा चराहरु भित्र पनि मान्छे छन्।
चरा जति पनि सचेत उडानको हैसियत नभएका कथित मान्छे पनि छन् त्यसै भित्र। जनावर भित्र दाम्लाले बाधेर राख्न सुहाउने हिश्रक मान्छे छन्। रुखपात वा माटो भित्र पनि माटोको जस्तो जीवन्त उर्वरत्व नभएका मान्छे छन्। यत्तिले मात्र खाइराइड यत्तिबिधी चर्चित हुदैनथ्यो। पुस्तकमा मान्छे भित्रको जनावर पनि छ, मान्छे भित्रको चरा पनि छ, उडान र अलि माथी उडेर हेर्ने दृष्टी बिन्दु पनि छ।मान्छे भित्र गलेर ढुटो-माटो बनेको मान्छे पनि आफै गलेर पनि करोडौ जीवनको लागि उर्वरत्व दिने मान्छे समेत छ। मान्छे भित्रको जनावर र जनावर भित्रको मान्छेको सम्बन्धको कोलाजबाट यो पुस्तकको मुहान निस्केको छ। मान्छे भित्र बह्माण्ड छ। ब्रह्माणका हरेक अस्तित्वमा मान्छे छ। यो अचम्मको संयोजन भित्र फुलेको ब्यङ्ग्य खिलेको ब्यङ्ग्य मनोहारी छ।
पुस्तकको अर्को ठुलो बिशेषता भनेको आफैलाई ब्यङ्ग्य गर्न सक्नु हो। लेखकसंग भएको र लेखकले पढेको एउटा मात्र विशाल विश्वकोष पुस्तकालय भनेको उ आफै हो। आफ्नै वारेमा भन्न सक्नु र ब्यङ्ग्य गर्न सक्नु त्रासद र भयानक यथार्थ हो। लेखकले धेरै जसो ठाउमा आफ्नै अनुभव र अनुभुतिको जालो बुनेका छन्, कसले पो अर्काका अनुभव ज्ञान लेख्ने हो र आफ्नै त हो भन्न सकिन्छ तर अनुसन्धान रिपोर्ट वा कुनै तथ्याङ्क विश्लेषणमा आफ्ना भन्दा अरुका भनाईको मुल्याङ्कन हुन्छ। आफ्ना कमजोरी बटुलेर पात्रको माध्यमबाट भन्नु लेखकको बिशेषता हो तर सबै लेखक ती कमजोरी प्रति धृणानै लाग्ने गरी निर्मम हुन सक्दैनन्, कता कता कमजोरी प्रति लेखकको पक्षधरता देखिदा लेखक खिस्रिक्क पर्छन् पाठकको सामुमा तर लेखकले पत्तै पाउदैन। तर खाईराईडमा लेखक आफ्नै कमजोरीहरु प्रात्रको माध्यमबाट संप्रेशित गरिरहदा सामान्य भन्दा माथिल्लो स्तरमा नङ्ग्याउदा पनि किन्चित नर्भस् देखिदैनन्। यो पनि अर्को बलियो पक्ष हो लेखकको।
खाइराइड लेखेपछि लेखकको चर्चा मात्र बढेन एउटा सामाजिक जिम्मेदारी पनि बढ्यो। लेख्न सजिलो होला बरु लेखे अनुसारको जीवन बाच्न कठिन छ। अझ ब्यङ्ग्यमा मानव ब्यवहारको हरेक पत्र पत्र केलाईएको हुन्छ। त्यस्ता पत्रहरुको विचमा आफ्नै पनि कथा हुन्छन्, ती पत्र भित्रका कथासंग सजग नहुने हो भने सरकारी जग्गा लुटेर होटेल खोल्ने अनि सफलताको “सोच” लेखे जस्तो हुन्छ। सामाजिक सन्जाल डिएक्टिभ गर्न पर्ने गरी प्रश्न उठेर थाम्नै नसकेर भागेको कथा सबै लेखले सम्झनै पर्छ। ब्यङ्ग्य लेखक भनेको यस कुरामा झन बढी चियो गरिने विधाको श्रजक हो।
दासताको विरोध गरेपछि आफै भित्र त्यो विकृति छ कि छैन भनेर लेखकले हेर्नै पर्छ, लेख्नु भनेको यो बिकृति त्याग्ने क्रममा छु है म भन्नु हो। तर ब्यबहार त्यता अभिमुख भएन भने लेखक बदलिएर गठन बन्धन मुसे सांस्द हुनपुग्छ। त्यस्तै परनिर्भरता झ्याँको झारेपछि लेखकको जीवनमा त्यो घटित होला कि नहोस् चासो हुन्छ। आफ्नो कुनै मुल्य नहुने र अर्काको बार्दलीमा पुच्छर हल्लाउने प्रबृत्ति त बरा कुकुरको के छ र मान्छेको बढी छ, अब लेखकले त्यसलाई पनि जीवन कागताली सम्म पर्न दिन भएन। लेखन भनेको लेखनका लागि लेखन त सहज होला तर लेखन जीवनका लागि भन्दा मात्र लेखनको अर्थ हुन्छ त्यसो गर्दा भरमार आखाहरुले आफैलाई कर्के नजर लगाएको सहनै पर्छ।
लेखक जति चर्चित भएका र पढिएका छन् त्यसलाई अर्को भाषामा भन्दा त्यतिधेरै “कुरा काट्ने” हरुको सामना गर्न तयार भएका छन्। लेखकले कतिपयमा ब्यङ्ग्य कम र हास्य टाक्सिएका छन्। यस्तोमा ती तुलनात्मक कमजोर आलेखले औसतलाई हलुका पारेका छन्। यतिवटा लेख लेख्नै पर्छ भन्ने हुदैन आगामी संग्रहमा कमजोर ठानिएका लेख संग्रह नगर्दा राम्रो हुन्छ। चामललाई धेरै बनाउन गहुका गेडा थपियो भने चामलको महत्व घट्छ। मेरो भनाई अरुसंगको तुलना होईन, लेखककै दुईवटा रचनामा पनि तुलना हुन जादो रहेछ, पाठकीय आखा त्यस्तोमा गै हाल्दो रहेछ।
ब्यङ्ग्य लेखनमा सायद सबै भन्दा बढी अध्ययनको जरुरी हुन्छ। विविध विषय र स्तरमा जान्नु जरुरी हुन्छ। ब्यङ्ग्य लेख्दा हरेक वर्ग, क्षेत्र र संस्कृतिका पाठक छन् भनेर तिनको पाठक-क्षितिज मनमा राखेर लेख्नुपर्छ। हासोमा धेरैको रुची हुन्छ। एउटा प्राविधिकलाई कसरी हसाउने र एउटा भूगोलविदलाई कसरी छाप छोड्ने भन्ने फरक र कस्टसाध्य अध्ययनले मात्र सिक्न सकिने कुरा हो। दोस्रो पुस्तकमा लेखकबाट पाठकले बिबिधताको अपेक्षा गर्छन्, बिबिधताको श्रृजना निकै कठिन यात्रा हो। भबिश्यको त कल्पना मात्रै गर्न सकिन्छ तर लेखकले यस्तो कठिन यात्रालाई स्विकारेर लेखेको अनुभुत हुन्छ खाईराई पढिरहदा।
अन्तमा, खाइराइडले धेरै चर्चा पाएको छ, यसबारे धेरै लेख लेखिएकाछन्। पुरस्कार पाएको छ। धेरै पाठकले मन पराएका छन्, मेरो शुभकामना लेखकलाई पाठकहरु कहिलै निरास नहोऊन्। सधैं यसैगरी तारिफ गर्ने अबसर पाइरहोस् ।