पहाडमा युवा पलायन एक चिन्तन
|दार्जिलिङ पहाड़ भनेको दार्जिलिङ खरसाङ मिरिक र कालिम्पोङ बुझ्ने गरिन्छ। यो चियाकमान र पर्यटनकेन्द्रका रूपमा विश्वसामु परिचित छ। गत चालिस वर्षदेखि यता यो दार्जिलिङ पहाड़ गोर्खाल्याण्ड आन्दोलनसित जोडिएकाले प्रसिद्धी कमाएको स्थान पनि हो। दार्जिलिङ शिक्षा केन्द्रका लागि पनि प्रसिद्ध ठाउँ हो।
अस्सीको दशकको गोर्खाल्याण्ड आन्दोलन र पछिल्लो पालिको बिमल गुरूङको आन्दोलनले दार्जिलिङ समाजमा ठुलो परिवर्तन ल्याएको थियो। आन्दोलनको उपलब्धि शुन्य रह्यो। बरू जनातामा नैराश्य फैलियो। राजनितीप्रति वितृष्णा फैलियो। समाजमा योग्यले भन्दा अयोग्यले नेतृत्व गर्न थाले। आर्थिक स्रोत घटेर गयो। सामाजिक संस्कार बिग्रेर गयो। सरकारी प्राइमरी स्कुल बन्द हुने स्थितमा पुगे तर प्राइभेट स्कुल ह्वात्तै बढे। समाजको संसरचना खज्मजियो। नैतिकता, शुद्ध आचरण, साइनोसम्बन्ध परपर हुन थाले। पहाडको शिक्षा व्यवस्था पनि ढुलमुल भयो। यसरी हेर्दा पहाड़को वर्तमान अवस्था धेरै कुराबाट सोचनीय बन्न पुगेको छ। पहाडमा सुनखरी चाँप गुराँसका साथै अब काँडेवनमारा फुल्न थालेको छ। हाम्रा जग्गाजमिनमा अब धान फल्न छोड्यो, इलामे झार फुल्न थालेको छ। सेताम्ये पहाड अब कालापहाड बन्न पुगेको जस्तो लाग्छ।
पहाडका युवाहरू भने पहाडबाट कुनै रोजगारको अवसर देख्दैनन्। बरू बेंगलोर पुना, दिल्ली मुम्बइति काम गर्न जान थालेका छन्। यहाँका जग्गा अब बेच्ने स्थितिमा आइसकेको छ। घरका जमिन घाँडो हुन थालेको छ। पहाड़ बचाउन पर्छ भन्ने अभियान पनि अब फिका पर्न थालेको छ। हाम्रो जीवन शैलीमा धेरैपरिवर्तन आइसकेको छ। हामी अब बिहानै चार बजेर उठेर घाँस दाउरा गर्न सक्दैनौं, हामी खेतीपातीबाट टाडामा रह्यौ। हाम्रा गाउँबस्तीमा अब धान कोदो, फापर, गहुँ, तोरी, सब्जी, आलु, दाल, अदुवा आदि रोप्न छाडेका छौं। गाईँ पालन पनि अब परको कुरा भयो। हामी कसरी हुन्छ छिटो कमाउँ, कमाइहालूँ, घर बनाइहालुँ भन्ने मानसिकताका भएका छौं। भ्रष्टाचार अब सामान्य बनेको छ।
धन भएका हाम्रा मान्छे शहरबजारतिर पलायन हुने चलन बसेको छ। अब गाउँमा ठुला ठालु महाजन छैनन्। साहु महाजनजति सबै शहरमा घर बनाउँदै बस्न थालेका छन्। पहिले गाउँबाट डोकाका डोका साग सब्जी शहरतिर लागेको देखिन्थ्यो तर अब बजारबाट साग सब्जी, चामल, सबै कुरा किनेर खाने भएका छौं। अलिकति दुःख गरेर आफ्नो घरबारी कोठेबारीमा साग सब्जी रोप्न छाडेका छौं। बजारमाथि भर पर्न लागेका छौं। यद्यि हाम्रो बारी बाँझो छ।
अहिले पहाड़का युवा जति सब अन्यत्र गइरहेका छन् भने अन्यत्रका युवाहरू भने पहाड़मा भित्रिन थालेका छन्। अन्य जातिका व्यक्तिका निम्ति यो पहाडमा कमाइको ठुलो स्रोत छ, मेहनत गरे पहाडमा जे पनि फल्छ. जति पनि पैसा कमाउन सकिन्छ भन्ने कुरा देख्छन्। जहाँ हाम्रा युवाहरू यहाँ कमाइ गर्न सकिन्न भन्ने ठान्छन् तर अन्य भने यहीँ अनन्त स्रोत देख्छन्। यो ठुलो बिडम्बना हो। यसरी पहाडबाट बाहिरिनु र पहाडमा भित्रिनुका बीच पहाड चेप्टिएको छ। यहाँका चियाबारी रुग्न छन्। खेतबारी बाँझो फुस्रा बनेका छन्, यहाँका जङ्गल उजाड़ छ। यहाँका जङ्गलमा रूख घटेका छन् तर गाउँमा जङ्गल बढेको छ। बाँसघारी बढेको छ। झारले खेती ढाकेको छ।
पहाडका मूलवासी हामी मेहनत दुख गर्न छाडेर लुटिल्यायो भुटिखायोखालका भएका छौं। यसरी कति वर्ष चल्ने हो. सोच्न पर्छ। हामीले यस्तै गर्न थाल्यौं भने कुनै दिन हामी यहाँबाट अल्पसङख्यक भएक विलीन हुनेछौं। बेलैमा सचेत बनौं।