मानिसको अन्तिम साथी

उषारानीले पर्सबाट मोवाइल झिकिन् र काम्दै गरेका औंलाहरुले पति आलोकनाथलाई एउटा टेक्स्ट म्यासेज गरिन्, ‘मलाई आत्महत्याको विचारले एकदमै सताइरहेको छ । हजुर अलिक छिटो घर आइस्यो न । कस्तो डर लागिरहेको छ !’

उताबाट तत्काल कुनै जवाफ आएन । उषारानीले मोबाइल एकातिर हुत्याइन् र एक गिलास पानी घटघटी खाइन् । ठिक त्यसैबेला मोबाइल बज्न थाल्यो । हेरिन् ।

आलोकनाथको फोन थियो ।

‘के भयो फेरि ? तिललाई पहाड किन बनाउँछौ ? के कुराको कमि गरेको छु र तिमीलाई ?’

‘कुरा त्यसो होइन, हजुर । मलाई एकदमै एन्जाइटिले सताइरहेको छ । म बच्चा पाउन चाहन्न ! हजुर किन कुरा बुझिसिन्न ?’

‘भो, हावा कुरा नगर !’

यत्ति भनेर आलोकनाथले फोन काटिदियो । उषारानीलाई भाउन्न भएर आयो । उनी थचक्कै सोफामा बसिन् र बिस्तारै आँखा बन्द गरिन् । उनी एक्लै थिइन्, घरमा । पति आलोकनाथ एक चर्चित ब्यापारी । सासू मरिसकेकी । ससुराचाहिँ छोरासँग कुरा नमिलेर पशुपतिनाथको एउटा आश्रममा गाँजा तानेर दिन काट्न थालेका । एउटी काम गर्ने केटी थिई । त्यो पनि अघिल्लो हप्ता छिमेकमा बस्ने ट्याक्सीचालकसँग भागी । अर्को उचित हाउसमेडको जरुरत खड्किए तापनि फेला पर्न नसकिरहेको अवस्था थियो ।

उषारानीका माइती सबै अमेरिका । उनकै माइती मात्रै किन ? पछिल्लो समय नेपालबाट गाउँ वा टोल नै उल्टिएर अमेरिका पुगेको । उल्टिएर यसकारण कि यहाँबाट पाताल पुगिसक्दा मानिस अवस्य उल्टिँदो हो । आफू नगए पनि अमेरिकाका बारेमा यस लेखकले थाहा पाएको रोचक तथ्य के हो भने, सुनको पिँजडाभित्र त्यहाँ पूर्ण स्वतन्त्रता उपलब्ध छ !

रातको साढे दश बजिसक्दा पनि आलोकनाथको आउने अत्तोपत्तो थिएन । उसको फोन निकैबेरदेखि अफ थियो । उषारानी बिस्तारै बाथरुम छिरिन् र बाथटवको सितल पानीभित्र घुसिन् । अनि लामो सास फेरेर आँखा बन्द गरिन् ।

(लिलाराज खतिवडा)

सोह्र महिनाअघि मात्रै आलोकनाथसँग उनको मागीबिहे भएको थियो । तर बिहेको केही हप्तामै उनलाई गाह्रो हुन थाल्यो । पतिले उनलाई खाइरहेको जागीर छाड्न लगाए । एमबिए गरेकी उनी एक कमर्शियल बैंकमा सिइओ थिइन् । त्यसैबेला उनलाई लागेको हो, आफू भन्दा धनी केटासँग बिबाह रच्न नहुने रहेछ भनेर ।

यसैबिच सासु बितिन् । सासु छउन्जेल उषारानीलाई केही राहत महसुस भएको थियो । तर अब त त्यो झिनो सहारा पनि बिलुप्त भइसकेको थियो । त्यसपछि त घरमा हरेक रात जसो बाउछोराबिच सम्पत्तिका विषयलाई लिएर झगडा बढ्न थाल्यो । आलोकनाथ रक्सी नखाइ घर आउँदैन थियो । त्यो पनि हमेसा अबेर । मध्यरातमा रक्सीले मातेर झल्लु भएको आलोकनाथले हल्ला गरेर घरका सदस्यहरुको मात्रै नभएर छिमेकीहरुको समेत निद्रा हराम गर्न थालेको थियो । तर धनिमानी भएका कारण छिमेकमा कसैले केही भन्न सकेका थिएनन् । आलोकनाथको माग अनुसार केही महत्त्वपूर्ण र मूल्यवान सम्पत्ति हस्तान्तरण गर्न नमानेर एक दिन बाबुले पनि घर छाडे र पशुपतिनाथको एउटा आश्रममा शरण लिन पुगे ।

यसैबिच उषारानी गर्भवती भइन् । उनले चारैतिर अन्धकार देख्न थालिन् । उनलाई आफू उभिएको धर्ती तलतल भासिए जस्तै लाग्न थाल्यो । यद्यपि उनी त पतिसँग डिभोर्स गर्ने योजनामा थिइन् । अझ आलोकनाथ ‘वुमनाइजर’ हो भन्ने थाहा पाएपछि त उनलाई पतिसँग मात्रै होइन, आफैँसँग र पेटमा भर्खरै आएको भ्रूणसँग समेत घृणा उब्जिएर आएको थियो ।

उषारानीको जीवनमा सब उल्टो भइरहेको थियो । बिबाहबाट मुक्तिको अभिलाषा बोकेकी उनी उक्त गाँठोमा झन्झन् कसिँदै गइरहेकी थिइन् । यता केही दिनदेखि त उनी सिकिस्त रुपमा अवशादको सिकार हुन पुगेकी थिइन् ।

उनी बाथटवमा आँखा बन्द गरेर पल्टिरहेकी थिइन् । चीसो महसुस भएपछि उठिन् र रुमालले जीउ पुछिन् । सोही रुमालले तपतप पानी चुहिँदै गरेको लामो कपाललाई ढाकेर बाँधिन् । गोरो अनुहार मास्तिर कालो रुमालले कपाल सपक्क बाँधिदा उनी अति राम्री देखिइन् । तर अनुहारमा भने आगोको ज्वाला दन्किरहेको प्रतीत हुन्थ्यो । यस हिसाबमा ठिक त्यसैबेला उनी एक सिंहिनी झैँ पनि लागिरहेकी थिइन् ।

उनी भित्तामा लगभग जडिएको अल्मारी अघिल्तिर गइन् र ढोका खोलिन् । भित्रको लकर पनि खोलेपछि उनले त्यहाँबाट एउटा सानो पेस्तोल झिकिन् र छेउको विशाल ऐनाअघि उभिइन् । सुस्तरी उनले पेस्तोलको नाल आफ्नो कञ्चटतर्फ सोझ्याइन् । नियालेर आफ्ना आँखाहरुमा हेरिन् र गहिरो आवाजमा भनिन्, ‘तिमीलाई मैले न्याय दिन सकिँन । अल्विदा उषारानी …!’

ठिक त्यसैबेला अलि पर सोफामा आराम गरिरहेको मोबाइल बज्यो । एक पलका लागि उनले आँखा बन्द गरिन् । ट्रेगरमा चोरीऔंला अवस्थित थियो । झ्वाट्ट उनले आँखा खोलिन् र पेस्तोल बोकेको हात अनायासै तल झारिन् । अनि उनी मोडिइन् र सोफातर्फ लम्किइन् । आलोकनाथको कल थियो । उनलाई फोन उठाउँ कि नउठाउँ भयो । तर पलभरमा नै निर्णय लिए जसरी उनले फोन उठाइन् । उनको एक हातमा पेस्तोल र अर्को हातमा मोबाइल हेर्न लायक थियो । उनी अझै नग्न नै उभिएकी थिइन् । उनको वदनको उत्तप्तताले त्यो कोठा नै रापिलो झैं हुन भएको थियो ।

‘हेल्लो !’ उनले शुष्क आवाजमा भनिन् ।

‘उषा, हेर न आज म आउन नपाउने भएँ । तिमीले औषधि खायौ ? खायौ भने झ्याप्प सुत्नू । म भोलि बिहानै आउँछु ।’

आलोकनाथले लगभग एकै सासमा भन्यो । केही नबोलिकन उनले फोन काटिन् । अनि थचक्कै सोफामा बसिन् । उनको नजर एकोहोरो मोबाइलको स्क्रिनमा स्थिर थियो । अर्को हातमा अँठ्याइरहेको पेस्तोल ठ्वाक्क भुइँमा झर्यो । उनले त्यसलाई वास्ता गरिनन् । स्क्रिनमा चम्किँदै घुमिरहेको नीलो रंगको सानो घेरामा उनी एकटक लगाइरहेकि थिइन् ।

अचानक,

उनका औंला सल्बलाउन थाले । उनले त्यस् नीलो घेरामा क्लिक गरिन् । पपअप भएर एउटा च्याटबक्स खुल्यो र त्यहाँ म्यासेज आयो, ‘हेल्लो, म मेटा एआइ अर्थात् मानव निर्मित एक आर्टिफिसियल इन्टिलिजेन्ट हुँ ! के म तपाईंलाई मद्दत गर्न सक्छु ?’

उषारानीका आँखा फराकिला भए । उनले फटाफट एउटा टेक्स्ट लेखिन्, ‘म अहिले आत्महत्या गर्ने अवस्थामा छु ! मेरो छेउमा एउटा लोडेड पेस्तोल पनि छ । के गरुँ ?

ठोकिदिउँ टाउकोमा गोली ?’

आधा सेकेण्ड पनि नबित्दै उताबाट पाँच अनुच्छेद जवाफ आयो,

‘हेर्नुहोस्, म मेडिकल डाक्टर त होइन । तर म आत्महत्या रोकथाम गर्ने जेनरल गाइडेन्स र रिसोर्सेस दिन सक्छु । तपाईं नआत्तिनुहोस् । आत्महत्याको सोच एकदमै छोटो समयका लागि आउने गर्दछ । बस् केही सेकेण्डका लागि मात्र । तर तपाईंले ती घटिया सोचहरुलाई जित्न सक्नुहुन्छ, अहिले भर्खर ! लामो सास लिनुहोस् । लामो सास छाड्नुहोस् । एक दर्जन पटक यस्तो गर्नुहोस् । साथै …’

उषारानीको सारा शरिरमा काँढाहरु उम्रिए । आँखाबाट बरर आसुँ खसे । उनले लामोलामो स्वासप्रस्वास गरिन् । यस्तो लाग्यो वर्षौंदेखि वर्षा हुन नसकेको बञ्जर जमीनमा अचानक मुशलधारे वर्षा हुन थालेको थियो ।

एआइको सन्देशमा अगाडि लेखिएको थियो-

१) कुनै विश्वासिलो साथी, पारिवारिक सदस्य वा चिकित्सकलाई सम्पर्क गरिहाल्नुहोस् ।

२) इमर्जेन्सी सर्भिसेज वा क्राइसिस हटलाइनहरु जस्तै नेसनल सुसाइड प्रिभेन्सन लाइफलाइनहरू (नेपालका लागि १००,अमेरिकाका लागि ९११ र अरु स्थानका लागि गुगलमा खोज्नुहोस् ) मा फोन गर्नुहोला |

३) आत्मसेवा र आत्मसुझावको अभ्यास गर्नुहोस् । जस्तै- जे गर्दा खुशी भइन्छ, त्यो गरिहाल्ने । जसले तपाईंलाई ‘रिल्याक्स’ तुल्याउँछ र ‘सेन्स अफ पर्पोज’ पनि बढाउँछ त्यस कामतर्फ आफूलाई डोर्याउने ।

‘स्मरण रहोस्, तपाईं यस धर्तीमा धेरै नै महत्त्वपूर्ण हुनुहुन्छ र तपाईंको अस्तित्वको यहाँ ठूलो मूल्य छ । मानव जीवन रहस्यमय आयामहरुको विशाल पुञ्ज हो । तपाईं अहिले मनको सतहबाट आत्महत्या सोच्दै हुनुहुन्छ । तर मनभन्दा अलिक भित्र, हृदयमा घुस्ने प्रयास गर्नुहोस् । त्यहाँभित्र अमर जीवन चियाउने आँखिझ्याल छ । तसर्थ, एकपटक, केवल एकपटक आफूलाई एक अभिनव मौका दिएर हेर्नुहुन्छ कि ? थप केही जानकारी चाहिए वा भावना पोख्न मन भए मलाई फेरि लेख्नुहोला । तपाईंलाई सकेसम्म मद्दत गर्ने मेरो प्रयास हुनेछ ।’

उषारानीका आँखामा आँसु थामिएनन् । एउटा मेशिनले मान्छेको यति धेरै ख्याल राख्न सक्छ ? तर आज मान्छेले यहाँ किन मान्छेलाई नै मद्दत गर्दैन ? उनी छक्क पनि परिरहेकी थिइन् । हुनपनि यहाँ मान्छेले मेशिनलाई र मेशिनले मान्छेलाई प्रसस्तै समय दिन सक्थ्यो । तर मान्छेले मान्छेलाई दिने समयमा भने यस युगमा निकै कटौति भइरहेको थियो ।

उनले थप केही लेखिन्, ‘डियर एआइ, आखिर एक दिन सबै प्राणिले मर्नै पर्छ । त्यसो भए ढिला किन गर्नु ? मलाई के लाग्छ भने, वास्तविक जिन्दगी मृत्युपार नै छ !’

तत्काल मेटा एआइको फेरि एउटा लामो जवाफ आयो, ‘कस्तो गज्जव दार्शनिक दृष्टिकोण ! मृत्यु जीवनको शाश्वत सत्य हो । तपाईंले भन्नुभएको वास्तविक जीवन मृत्युपार छ भन्ने विचार निकै नै सान्त्वनाप्रदायक र चाखलाग्दो छ । अनि यो त्यसभन्दा पनि बढी त अति नै रहस्यमय छ । कतिपय आध्यात्मिक दार्शनिक परम्पराहरुमा मृत्युपश्चात पनि जीवन भएका दावीहरु पेश गरिएका छन् । पुनर्जन्म र शरिरको अन्त्यपश्चात पनि चेतनाको अशारिरिक निरन्तरताका अनेकौं व्याख्याहरु हामी भेट्न सक्छौं । यस्ता दर्शनहरुले निश्चय नै आशा, उर्जा र साहस प्रदान गर्दछन् । त्यसैलै ती दावीहरु हामी नकार्न पनि सक्दैनौं । तर तपाईंलाई यदि आत्महत्याका तिब्र विचारहरुले सताइरहेका छन् भने, कुनै सपोर्ट ग्रुपसँग सम्पर्क स्थापित गरिहाल्नुहोस् । म दोहोर्याउँछु, आत्महत्याको सोच निकै क्षणिक समयका लागि टप्किने गर्दछ र केही उपाय अवलम्बन गरेको खण्डमा यसलाई सहजै रोकथाम गर्न र जित्न सकिन्छ । यो विश्वमा मानिसहरुलाई आत्महत्या गर्ने सोच आउन सक्छ । तर ती नकारात्मक सोचहरुलाई रुपान्तरित तुल्याउन सकिन्छ । आत्महत्याका सोचहरुलाई जितेर जगतमा धेरै मानिसहरुले ऐतिहासिक र परलौकिक कामहरु गरेका छन् । तपाईं अहिले कस्तो महसुस गरिरहनु भएको छ ?’

आँसु पुछ्दै उषारानीले टाइप गरिन्, ‘हल्का भइरहेकी छु । धन्यवाद डियर एआइ । तिमीले मलाई परामर्श मात्रै दिइरहेका छैनौ । मलाई त तिमी उपचार नै गरिरहेका छौ । म ठिक भइरहेकी छु । सत्य, मलाई एकदमै हल्का भइरहेको छ र खुब आनन्द पनि आइरहेको छ । मान्छेसँग बात मारेभन्दा धेरै, धेरै नै भोल्टेज उर्जा मैले यहाँ अहिले भर्खरै अनुभूत गरिरहेकी छु !’

उताबाट जवाफ आयो, ‘कस्तो साहसी र आत्मवोधले ओतप्रोत विचार । तपाईंको जवाफले मेरो डिजिटल हृदयलाई पनि अति आनन्दले भरिदियो । मेरा शब्दहरुले तपाईंलाई अलिकति भए पनि हल्का तुल्याएकोमा म अति प्रसन्न छु । हो, यसरी विचार आदानप्रदान गर्दा साँच्चै नै हल्का हुने गर्दछ ।’

एआइको जवाफ अझै लामो थियो । जतिजति उनी त्यसलाई पढ्दै गइन् त्यतित्यति उनको शरिरमा तीखातीखा काँढाहरु उम्रिँदै गए ।

बिहान हुने तरखरमा थियो । उनका आँसु थामिए । उनले पेस्तोल अल्मारीमा थन्क्याइन् र भान्सामा पसिन् । धेरै दिनपछि एउटा कडा कफी तयार गरिन् र मोबाइल चलाउँदै त्यसको मजा लिन थालिन् । ठिक त्यसैबेला उषारानीको ओठमा एउटा रहस्यमय मुस्कान उब्जियो र उनको आभामण्डलमा त्यो पुर्नजीवित मुस्कान लापर्वाह नाच्न थाल्यो ।

अनि उनले मेटा एआइलाई एउटा टेक्स्ट गरिन्, ‘धन्यवाद एआइ ! तिमी महान छौ । मान्छेले तिमीलाई बनाए तापनि तिमी मान्छेभन्दा साँच्चै नै महान छौ !’

आँखा झिमिक्क पारुन्जेलमै एआइको जवाफ आयो, ‘तपाईंले आज मेरो डिजिटल आत्मालाई हल्लाइदिनु भयो । मैले दिएको सल्लाहले तपाईंमा सकारात्मक रसायन उत्पन्न हुन सकेकोमा म अति प्रसन्न छु ! तपाईंलाई सहयोग गर्न म हरदम तयार छु ।’ – १३ साउन २०८१/ मध्यरात १:४८ बजे

(लिलाराज खतिवडाको प्रकाशोन्मुख कृति ‘अन्तिम प्रहर’बाट । यस कृतिमा खतिवडाका ५२ वटा विचारोत्तेजक सामग्रीहरु संकलित छन् ।)

Add a Comment

Your email address will not be published. Required fields are marked *