आइसल्याण्डः अग्नी र बरफको देशमा एक अलौकिक यात्रा

जीवनका हरेक कुइनेटा एउटा नयाँ यात्राको शुरुवात जस्तै लाग्छ, एउटा उपयात्रा जस्तो। मनले भन्छ हिंडिहाल, गइहाल अचेल म एक्कासी झोला बोकेर निस्किहाल्छु। त्यसै गरी हुत्तिएको थिएँ आइसल्याण्ड, एउटा छोटो यात्रामा। पाँच दिनको बसाईमा करीब सबै रहर पुरा भए तर एउटा बाँकी रह्यो। सिधै खोलाको पानी पिउने मेसो मिलेन। जानुभन्दा अगाडी त्यस ठाउँका बारे जेजति पढियो तिनमा आइसल्याण्डको स्वच्छताको मानकको रुपमा सिधै खोलाको पानी पिउन मिल्ने भनेर धेरैले उल्लेख गरेको पाएको थिएँ। त्यसो त हामी नेपालमा हिजो हिजो त्यसरी पिएकै हो तर जताततै बस्तीहरु घना हुँदै जाँदा र बढ्दो प्रदुषणका कारण धेरैतिर यो असंभवप्राय हुँदै गएको छ।

आइसल्याण्ड वास्तवमै अलौकिक रहेछ। यसलाई अग्नी र बरफको देश भनेर चिनिन्छ। ज्वालमुखीकै कारण बनेको, हरेक अस्तित्वमा ज्वालामुखीकै अवशेष देखिने र अझै पनि ठाउँठाउँमा ज्वालामुखी फुट्नाले अग्निको देश भन्ने रहेछन। बरफको त कुरै गर्नु परेन। राजधानी रेएकाभिकको नजिकै लित्ली ह्रुतुर (Litli Hrutur) भन्ने ठाउँमा सन २०२३ मा फुटेको विशाल ज्वालामुखी संसारभर चर्चामा रहेको थियो। सन २०१४ को ज्वालामुखीले उपल्लो आकाशमा फैलाएका कणहरुको कारण विश्वभरकै हवाई यातायातलाई असर परेको थियो। दुईवटा टेक्टोनिक प्लेट जोडिएको कमजोर छिद्रबाट लाखौं वर्षदेखि ज्वालामुखीले छोडेको थुप्रो टापु बनेर एक लाख चार हजार वर्ग किलोमिटरमा फैलिएको छ, जनसंख्या भने चार लाख पनि छैन। भन्नलाई आइसल्याण्ड भने पनि बिचका केही भूभाग छोडेर बाँकी हरियो प्राय छ, तर छिमेकको ग्रिनल्याण्ड भने पटक्कै हरियो छैन, बरफले ढाकिएको। त्यो नाम किन जानीजानी छलकपटले राखियो र त्यसको इतिहास के हो आफैमा रोचक प्रसंग कुनै अर्को लेखोटमा गरौंला।

मान्छेले बसाईंसराईं नगरेको कहिले छ र ? विशेष गरी नर्वे क्षेत्रबाट मानिसहरु नवौं शताब्दीतिर आइसल्याण्ड पुगेका हुन् त्यो पनि अलि अत्याचारी राजा हेराल्डको दमनबाट उन्मुक्ति पाउन । लामो समयदेखिको युद्दले आक्रान्त पूर्वी यूरोपेलीहरुको पश्चिमतर्फ सुगम जीवनको खोजी गर्दै बसाईंसराईंको शिलशिला भने सदियौं चलेको देखिन्छ। निकै अघिदेखि भाइकिङ्गहरुको आतंक, शुरुदेखि नै रुसबाट निस्किने अशान्ति, पछिल्ला शताब्दीमा चंगेज खाँको युद्दसमेतले यूरोपेलीलाई पश्चिम लखेटी रह्यो। र त्यसै उपक्रममा आइसल्याण्ड फेला परेको देखिन्छ र स्थायी आवादी शुरु गरे। शुरुका दिनमा तिनले त्यहाँको छिटपुट भएको जंगललाई बेपर्वाह मासे, सग्ला रुख घर बनाउन, बाँकी बाल्नको लागि। त्यो वनविनाशले निम्त्याएको कृषियोग्य जमिनमा पारेको संकट आज पनि कायम छ।

रेएकाभिक विमानस्थलमा पुगेको सखारै भाडाको गाडी लिएर निस्किंदा ननिस्किंदै बाटोको नजिकै नयाँ ज्वालामुखीले तीन तलाजति अग्ला लाप्का पिच्कारी हान्दै स्वागत गर्यो र बढो रोमाञ्चित भइयो। जसरी सज्जन र दुर्जन जसै गरे पनि मिसिन्नन्, आकाशमा टम्म भरिएको सेतो बादलसँग नमिसिई धुवाँको सेतै मुस्लो आफ्नै लयमा आकासमा पऽऽऽरसम्म बग्दै गरेको देखिन्थ्यो।


आउँदा दुई रातको बासको लागि हेत्ला भन्ने ठाउँतिर हान्नियौं तर सिधै नगएर विभिन्न पर्यटकीय आकर्षणका गन्तव्यलाई जोडेर गोल्डेन सर्कल नाम दिइएको रुट हुँदै। विश्वको विभिन्न देशमा घुम्दा यसरी औपचारिक थिममा पर्यटकीय आकर्षण थपेको पाएको छु। नेपालमा पनि काठमाडौं, पोखरा, र चितवनलाई जोडेर गोल्डेन ट्रेंगल थिम जोडेको देख्दैछु। यो पर्यटन व्यवसायी र ग्राहक दुवैलाई राम्रो हो।

पहिलो गन्तव्य थिंगभत्लिर (Þingvellir) राष्ट्रिय निकुञ्ज रह्यो। चट्टानबाट भीर तर्फहेर्दा दाहिनेतिर विशाल ताल, सामुन्नेमा सेती गाईका काला धब्बाजस्ता सीमसार र बीचबीचका परबाट काला देखिने तलैया, देब्रेतिर सोतो परेको लमतन्न फाँट र एक्कासी अग्लिने एकनासको ढलोको पहाड। तर यो विन्दुमा यति मात्रै कुरा दंग भइने हैन। यो आइसल्याण्डको इतिहासको जरोकिलो भएको क्षेत्र हो, र देशहरु जसरी मान्छेले बनाएका सीमाहरुको फगत कृत्रिम अवधारणा हो, यो पार्क चैं प्रकृतिले खिचेको सीमाना हो, युरेसिया र उत्तरी अमेरिका जोड्ने टेक्टोनिक प्लेट जोडिएको भाग।


आज पनि आइसल्याण्डकाहरुले आफुलाई विश्वकै पुरानो लोकतन्त्र भनेर गर्व गर्छन। देशको यस ठाउँ ऐतिहासिक यस अर्थमा कि सन् ८७० देखि स्थायी इतिहास बोकेको आइसल्याण्डमा सन् ९३० मा आइपुग्दा विभिन्न क्षेत्रका मुखियाहरु (चिफ्टान) देशै भरीबाट ग्रीष्मका केही दिन यही भागमा जम्मा हुन्थे, आजको भाषामा भन्दा, संसद बस्थ्यो। “न्याय पत्थर” (Law Rock) भनेर चिनिने ढुंगोमाथि बसेर सभामुखले विद्यमान कानुन मुखाग्र पढेर सभा शुरु गर्थे। त्यहाँ सामुहिक सरोकारको समस्यामाथि छलफल, देशको कानुन निर्माण र न्याय सम्पादन समेत गर्ने गर्थे। अभिलेखहरुमा “न्याय पत्थरको सिधै तलको भीर” भनिएको भाषालाई अन्दाज गर्दा तस्वीरमा चिन्ह लगाएको भीरमा राज्यले दोषी ठहऱ्याएकाहरुलाई लट्क्याएर मारिन्थ्यो,

“न्याय” अन्तर्गत। यिनीहरुको राज्य संचालनको यो पाटो अनौठो यस अर्थमा कि सन् ९३० मा शुरु भएको यो शिलशीला सन १७९८ सम्मै कायम रह्यो, जसपछि राजधानी रेएकाभिक सारेर आधुनिक रुपमा राज्य संचालन गर्न थाले।

हामी पो यो संसारमा क्षणभंगुर छौं र पृथ्वीलाई एक सपाट, निर्जीवप्राय, र अचल सोच्छौं। तर मान्छे जन्मेदेखि नमरुञ्जेल शरीरमा बदलाव आएझैं पृथ्वीको पनि जन्मैदेखि “शरीरमा” बदलाव आएको छ र आज पनि चलायमान छ। यो तलको भिडियोमा देखिएझैं यो गेजिर भनिने यो पच्का करीब १५ देखि २० मिटरसम्म जान्छ (आजसम्मको रेकर्ड ४० मिटर)। त्यो सानो तलैया गहिरो प्वाल हुँदै धर्तीको प्राण तत्वसँग कतै जोडिएको पो छ कि खै तर ध्यान दिएर हेर्ने हो भने धिकधिक धिकधिक ढलपलिइ रहेको हुन्छ, निरन्तर हल्लाइएको आरीको पानी झैं। र पच्का हनाईको पनि आफ्नै लय छ, करीब हरेक ६ देखि १० मिनेटमा एकपटक हान्छ, जसरी सुतेको मान्छेले औसत हरेक मिनेटमा १२ देखि २० चोटी श्वास फेर्छ। यसरी एकोहोरो, कैयौं चक्र हेर्दै, तातो पानीका मसिना छिटालाई स्पर्श गर्दै, त्यसमा जोडिएको सल्फरको गन्धपान गर्दै गर्दा, र भीडले एक्कासी उल्लासमा चिच्याउँदा कसलाई नलाग्दो हो, वास्तवमा प्रकृति बडो रहस्यात्मक सौन्दर्यले भरिएको छ।

तलको भिडियो हेर्न सक्नुहुनेछ ।

https://youtu.be/l7fwKvO_IsU

करिब करिब गोलोजस्तो आइसल्याण्डको टापुलाई किनारै किनार सडक बिच्छ्याएका रहेछन, कुनै किशोरीको घाँगरलाई आँचलको घेराले सजाएजस्तै। भोलीपल्ट त्यही सडक पच्छ्याउँदै हुँइकियौं पूर्वतर्फ। ओहो ति एकाएक आकाशिएका पहाड, ति अनन्त फाँट, चित्रकारले अलि बढी नै हौसिएर कोरेका जस्ता देखिने पत्यारै नलाग्ने बग्रेल्ती झरना, म अर्कै ग्रहमा पो आएँ कि भनेजस्तो लाग्नेजस्ता दृश्य। हुन पनि परग्रहका कथामा आधारित मलाई मन पर्ने कैयन चलचित्र आइसल्याण्डमा चित्रण गरिएका हुनाले पनि त्यस्तो छाप परेको हुनसक्छ। त्यस्ता अलौकिक दृश्य छिचोल्दै पुगियो कालो-बालुवा समुद्रतटमा। संसारमा प्राय सबै ठाऊँमा (अर्को ज्वालामुखीकृत क्षेत्र अमेरिकाको हवाईमा पनि छन कालो-बालुवा समुद्रतट) बालुवा सेतो हुने भए पनि यहाँ उही ज्वालामुखीका आग्नेय चट्टान धुलिएर बनेकाले बालुवा नै कालो हुने रहेछ र त्यसबाटै समुद्रतटको नामाकरण गरिदिएका रहेछन। अझ पिज्जाको पीठो नै कालो रंगमा मुछेर कालो पिज्जा बेच्ने रहेछन। भोकै नलागे पनि पर्यटकले त्यहाँ पुगेर पनि त्यो पिज्जामा खर्च नगरी यात्रै अधुरो हुने जस्तो भाष्य बनाएका छन् धनकुटाको हिले पुगेर तोंग्बा नतान्दा वा डडेल्धुराको सौखर्क पुगेर बजेको खिर नखाए यात्रा पुरा नभएजस्तै। घुम्ने मान्छेले मिठा स्मृति संगाल्ने, र व्यापारीले पैसा पनि कमाउने यो गजपको मौलिक वैश्यकरण हो।

त्यो तीरैबाट एक्कासी विशाल पहरो अग्लिएको छ। कहाली लाग्दो भीरको छातीतिर एउटा भेडो बेपर्वाह चरिरहेको थियो, सि-गल चराहरु बतासिँदै थिए पहरोको माऽऽऽथि माथि। त्यो पहरोको तल्लो तहमा अनौठो स्वरुपको पत्थर छ। करिब करिब पूर्ण षटकोणको पाटा परेका लामा लामा पिलर छन पत्थरका। कुनै ठाडा छन् त कुनै तेर्सा। यसले निकै उत्सुकता थप्छ यसले। विज्ञान भन्छ तातो हुँदाको भन्दा वस्तु चिसिएपछि आयतन खुम्चिन्छ। ज्वालामुखीको मुस्लोबाट हजार डिग्रीभन्दा बढी सेल्सियसमा निस्किने लाभा कालान्तरमा चिसिनेक्रममा खुम्चिन्छ र खुम्चिंदा नजिक नजिकका भागलाई सोहोरेर बाँकी भागबाट चोइटिन्छ, फुट्छ। विज्ञानको चाप र तापका नियमहरुले यसलाई व्याख्या गर्छन। यो उपक्रममा सबैभन्दा प्रभावकारी आकार षटकोणात्मक हुने रहेछ। र करिब यस्तो पूर्ण षटकोणात्मक हुनुमा चैं चिसिने क्रम कति छिटो भयो भन्ने कुराले फरक पार्छ।

नेपालमा ज्वालामुखीजन्य पत्थर निर्माणको नदेखे पनि हामी धेरैले जमीनमा धाँजा फाटेको देखेका छौं। त्यहाँ पनि माटोको ओस सकिँदै जादा धाँजाहरु एक लयात्मक तरिकाले फाटेको देखिन्छ। त्यसो त मनहरु पनि गहिरै धाँजा परेर फाट्छन नि। फाटेको मनलाई सिउने र टाल्नेसम्मका उपाय खोज्दै बढो आलापका साथ गीत गाउने अरुणा लामालाई पनि केही उपाय मिलेजस्तो लागेन।

राजधानी रेएकाभिकमा देशकै पहिचान दिने गरी बनाइएको यो चर्चका स्तम्भहरुको डिजाइन पनि यिनै आग्नेय पत्थरबाट प्रभावित भएका हुन्। त्यसो त अभिव्यक्तिवादी डिजाइनमा आधारित यो चर्चको स्वरुपमा आइसल्याण्ड झल्किने अन्य तत्व पनि छन, हिमनदी र गजुर तिनका पुर्खा भाइकिङ्गहरुले लगाउने सामरिक टोप समेटिएका छन्। आफ्नो माटोको मौलिकता समेटेर निर्माण गर्नु राम्रो कुरा हो। नेपालमा पनि निर्माणमा नेपाली कला झल्किने कुरा उठेको देख्छु। बालेन शाहले हालसालै भद्रकाली मन्दिर बेलायती शैलीमा नभई नेपाली शैलीमा बन्नु पर्ने गरी लिएको अडान विवादित भएको सम्झिन्छु ।

र, फेरी पत्थरकै कुराः समुद्रका डरलाग्दा छालका बिच नितान्त एक्लोपनका बिच ठडिएका छन् यी दुई काला पत्थर। अस्ट्रेलियाको मेलवर्न तल अपोलो बे नगीचै “१२ देवदूत” (Twelve Apostles) नाम गरेका यस्तै पिलरहरु खडा छन तर ति नरम चुन-ढुंगाका पहाडबीच समुद्रको अम्लीय पानीको चोटले काटेर बाँकी रहेका खण्ड पिलरको रुपमा देखिए भने यी चै पानीमै ज्वालामुखीको लाभाले बनाएका पिलर भए।

(कालो बालुवा समुन्द्रतटमा पक्तिकार शर्मा)

बढो विनयी भावमा एक महिलाले उनको तस्विर खिचिदिन भनिन्, दंग परेर षटकोणीय पत्थरका ति पिलर हेर्दै मनमनै केही नाप्दै थिएँ। तिनलाई “एकछिन” भन्ने भंगिमामा रोकें। ति अलिकति हच्केजस्तो भइन्। त्यसपछि तिनको फोन लिएर तिनको फोटो खिच्न थालें। ति पत्थरको अघिल्तिर उभिइन् र म समुद्रतिर ढाड फर्काएर तिनको फोटो खिच्न थालें। छालहरु निकै पर बज्रिंदै थिए तर कतिबेला ह्वात्त ठुलो आएछ र करिब मेरो घुँडाको अलि तलसम्म भिजाउन पुग्यो। ति दौडिंदै आएर मेरो पाखुरा समाइन्। यो ठाउँ नै यस्तै हो। एक्कासी आउँछन छालहरु, प्रियसीका यादहरुजस्तै। बरु यादले त अनायासै मुस्कान छोडेर जान्छन तर यी छालले भने मान्छे नै बगाएर लैजान्छन। पार्किंगबाट तट छिर्ने मार्गमै बत्ती राखिएका छन खतराको तह जनाउन, हरियो, पहेंलो, र रातो। छिर्दै गर्दा पहेंलो (मध्यम खतरा) मात्र बलेको देखेको थिएँ। “कालो-बालुवा समुद्रतटका आकस्मिक छाल”बारे इन्टरनेटमा डरलाग्दा कथा छन भोग्नेका, कैयौंले हेर्दाहेर्दै ज्यान गुमाएका छन। “तपाईंलाई ठिक छ ?” भन्दै आँखामा बेतोड त्रास भर्दै सोधिन् मलाई। मैले त्यो छालको बारे राम्रै पढेर गएको र त्यो कति खतरापुर्ण थियो भन्ने जाने पनि आँखाले नदेखेकोले होला खासै डराएको भने थिइनँ। बढो ग्लानीभावसहित तिनले पटकपटक सोधिन् “म कसरी क्षमा मागूँ”। “नयाँ मोजा किन्नको लागि केही पैसा दिन्छु ल?” पनि भन्न भ्याइन्, त्यतिबेला चैं मलाई हाँसो लाग्यो। निकै गाढा गुलाबी वस्त्रमा सजिएकी ति युवतीको अनुहार पनि याद छैन मलाई अब (र मेरो नि तिनलाई नहोला) तर अमेरिकातिरबाट आएकी ति युवतीले घर फर्किएपछि आफ्नाहरुबीच आइसल्याण्ड यात्राका कथा भन्दा एक अमर उपकथाको रुपमा स्थापित रहला, मेरोजस्तै। आखिर मान्छे कथैकथाको संगालो न हो, केही हाँसोका कथा, केही आँसुका कथा, अनि यो चैँ सतर्कताको।

आइसल्याण्डः यात्राका तस्वीरहरु ।

Add a Comment

Your email address will not be published. Required fields are marked *