कवयित्री उमा शर्मालाई प्रश्न : कविता नै किन लेख्नुहुन्छ ?

१. कविता के हो ?
मान्छेका अनुभव, विचार, मनका भावना होस् वा कुनै वस्तु, कुनै स्थान, प्रकृति सबैलाई कलात्मक, आकर्षक र सबैभन्दा महत्वपूर्ण कुरा मिठो ढंगले अभिव्यक्त गर्ने माध्यम कविता हो ।

हुन त साहित्यमा सबै बिधाको महत्व र स्थान बराबरी नै हुन्छ | मलाई भने कविता आमाको सबैभन्दा प्यारो सन्तान हो जस्तो लाग्छ ।

२. कविता कस्तो हुनुपर्छ ?
आफूले भन्न खोजेका कुरा आफूले मात्र हैन सबैले प्रष्ट बुझ्ने, एकचोटि पढेपछि फेरिपनि पढौँ-पढौँ झैं लाग्ने हुनुपर्छ कविता । कवितामा गहन शब्दहरुका भूमिका धेरै होलान् तर मस्तिष्कबाट निस्केका शब्दहरुले मन छोयो भने कविता लेख्नुको अर्थ पुरा हुन्छ ।

कविताले मान्छेको आचारण नै बदल्छ बदल्दैन त्यो त म जान्दिन तर हर्षका कविताले मन रमाओस्, दुःखका कविताले आँखा रसाओस् जस्तो लाग्छ। प्रकृतिका कविता पढ्दा फूल हाँसेको र बतास नाँचेको पनि अनुभव होस् | झरीका कविता पढ्दा रुझे झैँ होस् | ज्ञानका कविता पढ्दा केही बुझे झैँ होस् ।

समग्रमा भन्दा, कविको सन्देश पुगोस् | कविको भावना बुझियोस् तर मिठास नमरोस्,ती भए कविता कविता हुन्छ ।

३. कविता किन लेख्नुहुन्छ ?
आकर्षक,कलात्मक ढङ्गले कुरा गर्न जान्दिन । आफ्नो देखाइ, भोगाइ, आफ्नो मनका भावना सम्प्रेषण गर्ने सबैभन्दा गतिलो माध्यम कविता नै हो जस्तो लाग्छ, त्यसैले कविता लेख्छु ।

४. पहिलो कविता कहिले, कहाँ र कसरी सार्वजनिक गर्नुभयो ?
मिति ठ्याक्कै सम्झना छैन तर ६, ७ कक्षा तिर पढ्दा फर्पिङ्ग बोर्डिङ्ग स्कूलको कविता प्रतियोगितामा कविता पढेर सुनाएको सम्झिन्छु ।

५. हालसम्म कति कविता सार्वजनिक भए ?
पुग-नपुग ३०- ३५ वटाजति सार्वजनिक भए होलान् ।

६. कुनै कविता कृति वा अन्य कृति प्रकाशित छन् ?
कविता आफ्नो रहरले लेख्छु,अप्रकाशित केही कविता पनि छन्। प्रकाशन गर्ने बारेमा पहिले कहिल्यै सोचाइ नै आएन। हिजो आज भने अब केही गर्नु पर्छ कि जस्तो लाग्न थालेको छ ।

७. तपाईँलाई आँफैलाई मन परेको आफ्नो कविता कुन हो ?
यही नै हो भन्न त सक्दिन तर ‘मौन भगवानहरु बोल्दैनन्’, ‘झूलभित्रको लामखुट्टे’, ‘किन बदलिए यी आशिषहरु’ साथी भाइहरुले धेरै मन पर्यो भन्नुभयो । ‘झुल भित्रको लामखुट्टे’ पढेर धेरै जनाले यो त मेरो आफ्नै जीवनसँगै मिल्दो जुल्दो लाग्यो भनेर भन्नु भएको पनि थियो ।

८. नाम नै तोकेर कुनै कविका कुनै कविता राम्रा छन् भन्ने लाग्छ भने ती कवि र कविता कुन हुन ?
मलाई धेरै कविताहरु मन पर्छन । नैतिक दृस्टान्त (लेखनाथ पौड्याल्),मुना मदन, म शून्यमा शून्य सरी बिलाएँ (लक्ष्मी प्रसाद देवकोटा), गौरी (माधव प्रसाद घिमिरे) कविताहरु यती धेरै मन पर्छ कि अहिले पनि बेला बेलामा पढिरहन मन लाग्छ ।

९. कुनै पनि कविता लेखिसकेपछि के गर्नुहुन्छ ? कसैलाई सुनाउनुहुन्छ ? सुनाउनुहुन्छ भने कसलाई ?
कविता लेख्छु, पहिला आँफै पढ्छु, नमिलेजस्तो लाग्छ अनि केर्छु, मेट्छु, मिलाउन खोज्छु ।

मेरो कविताको पहिलो श्रोता मेरो श्रीमान हो । सबैभन्दा राम्रो कुरा वहाँ सधैँ साँचो प्रतिक्रिया दिनुहुन्छ । वहाँको प्रतिक्रिया सुन्छु अनि आफूले भन्न खोजेको कुरा सम्प्रेषण भए नभएको जान्न खोज्छु । – २३ सेप्टेम्वर २०२०

प्रस्तुत छ कवयित्रीलाई मन परेको आफ्नो कविता-

झूलभित्रको लामखुट्टे

भव्य पलंगमा टाँगएिको झूल
झूलभित्र न चर्को घाम छ
झूलभित्र न बर्खे झरी छ
त्यही झूलभित्रको एउटा लामखुट्टे म
सबैको हेराइमा भाग्यमानी लामखुट्टे म

अभिमानी सेता लामखुट्टेहरू
अनि असन्तुष्ट काला लामखुट्टेहरूको हुलमा
रंग अलि नमिलेको ढंग अलि नपुगेको
न आमा उस्तै न जामा उस्तै
अलिफरक लामखुट्टे म
झूलभित्रको खैरो लामखुट्टे म

कराउँदै डराउँदै आफ्नैसँग हराउँदै
झूलभित्र छिरेको म
मठ-मन्दिर ढोगी आफ्नालाई छोडी
झूलभित्र पसेको म
केही चाहनाले केही बाध्यताले
झूलभित्र बसेको म

म पसीना यही झूलभित्र चुहाउँछु
म रगत यसैभित्र खन्याउँछु
म माता-पिता अन्नदाता सबै यसलाई भन्छु
म बन्धु सखा भाग्य लेखा यसलाई नै मान्छु
मारे पाप पाले पूण्य
यही झूललाई ‘त्वम् शरणम्’ भन्छु

बाहिर मेरा बन्धु-बान्धव भुनभुनाउँछन्
बाहिर मेरा आफन्ती गुनगुनाउँछन्
मेरो भाग्यमा ईर्ष्या नि गर्छन्
मेरो जीवन धन्य ठान्छन्
मजस्तै झूलभित्र पस्ने योजना बनाउँछन्
मेरोजस्तै झूलभित्र बस्ने सपना सजाउँछन्

झूलभित्रको व्यथा भने अलि बेग्लै छ
झूलभित्रको कथा फूलभन्दा भिन्न छ
भित्रकाहरुको आँखाको तारो हुँ म
म न्याय माग्न डराउँछु यहाँ
म आँफै एक्लो कराउँछु यहाँ
भिडमा एक्लै हराउँछु यहाँ

झूलभित्र नखाए भोकै मर्छु कि भन्ने डर छ
झूलभित्र खाए यसै मारन्छिु भन्ने डर छ
कालगतिले मरे कसैका ढाडमुनि चेपन्छिु भन्ने डर छ
अकाल मरे कसैका हत्केला भित्र कचिन्छिु भन्ने डर छ
अब त वरत्र हैन साथी परत्रको अझै ठूलो डर छ
किनकि झूलभित्र न सहयात्री भेटन्छि न सहगोत्री भेटिन्छ
किनकी झूलभित्र न आर्य घाट भेटन्छि न गङ्गा जल भेटिन्छ !

Add a Comment

Your email address will not be published. Required fields are marked *