दार्जिलिङ पहाडको आर्थिक अवस्था र भैयाको गीतको प्रसङ्ग
|अहिले प्रचलित भइरहेको भैयाको गीतबारे निकै चर्चा चल्यो। हाम्रो सामाजिक सञ्जाल र चर्चामा रहेको विषयलाई एउटा गीतले बोकेको छ। यस गीतमा अन्य कसैलाई नराम्रो भनिएको छैन, हियाएको छैन तर हामीलाई नै धिक्कारिएको छ। हाम्रै कमजोरीमाथि ठुङ हानिएको छ। हाम्रै अकर्मण्यता, अनुत्पादनता, अन्धता, अदुरदर्शिता आदिलाई व्यङ्ग्य कसिएको छ। यस गीतको सन्देश भने गहिरो छ। यसले धेरै कुरा भन्न चाहेको छ। यस गीतको सिर्जनामा हाम्रो मनोवैज्ञानिक पृष्ठभूमि रहेको छ। हामीलाई वीर भन्ने उपाधि दिइएको छ। हाम्रो डिएनएमा नै व्यापार गर्ने स्वभाव छैन। हाम्रा वरिपरि नै व्यापारको ठुलो सम्भावना छ। यद्यपि व्यापारका निम्ति चाहिने मेहनत, धैर्य, जुक्ति कौशल हाम्रामा छैन। गीतमा व्यापारिक परनिर्भरता र हाम्रो कमजोरी जस्ता अनेक पक्षको सङ्केत गरिएको छ। गीतको पृष्ठभूमिको प्रसङ्गमा हामी निम्न कुराहरू केलाउन सक्छौं-
क. व्यापारका सम्भावना रहेका सबै कुरामा हामी पछि परेका छौं। ससाना उद्योग-धन्धा, व्यापार, हाम्रा दैनिक आवश्यकताका कुराहरू, कारीगरी सबैमा हामी कमजोर भएका छौं। आफ्नो काम गर्नो जाँगर, सिप, कौशल, बुद्धि नभएपछि हामी ससाना कुरामा पनि अर्काको भरमा पर्नुपर्दैछ। यसो गर्दा हामी आफैंले धेरै कुरामा गुमाउँदैछन्। हाम्रा युवाहरू जीवन धान्ने उपाय नदेखेर पलायन भैरहेका छन्। अर्काको ठाउँमा दुःख गर्छौं तर त्यही दुःख आफ्नो ठाउँमा गर्न सक्दैनौं। हामी आफ्नो ठाउँलाई मरूभूमि देखेर अन्य मरूभूमि भएको देश- ठाउँतिर जान्छौं तर अरूतिरका मान्छेहरू हाम्रो ठाउँलाई सुनको कचौरा देखेर यता आउँछन्। गीतको साङ्गीतिक पक्षले भन्दा यसले बोकेको अर्थले समाजमा चर्चा पाएको छ। हाम्रो सामाजिक सुधारका निम्ति केही व्यक्ति, संस्था, समाजहरू जुरमुराएका छन्। हाम्रो सुधारका निम्ति लेखेर, बोलेर तताउने भन्दा यस्ता गीतको माध्यमले निकै प्रभावकारी काम गर्न सक्छ भनेर नै गीतकारले यस्तो गीत रचेको हुनुपर्छ। आफ्नो ठाउँको मायाले, हाम्रो दुर्दशा, लाचारी, अचेतनता, महत्त्वहीनमाथि टीठ लागेर यो गीत सिर्जित भएको हो।
ख.दार्जिलिङ पहाडको अहिलेको अवस्था अरूका निम्ति आनन्दित भए पनि हाम्रा लागि कारूणिक बन्न पुगेको छ। हाम्रो हामी त जति समय बित्दै गयो उति उति खिँइदो अवस्थामा पुग्दैछौं।हाम्रो सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक, अनुशासन, विश्वसनीयता आदि सर्वत्र क्षेत्रमा बिग्रँदो अवस्था छ। चारैतिरबाट गए गुज्रेको अवस्था छ। घर घर समस्याग्रस्त बनेका छन्।
ग.हाम्रो आर्थिक अवस्था सन्तोषजनक छैन। अहिलेसम्म पनि हामी व्यवसायिक रूपमा सचेत छैनौं। व्यापारिक क्षेत्रमा हाम्रो उपस्थिति र सचेतता थोरै नै छ। हाम्रा ठुल्ठुला व्यापारिक प्रतिष्ठान अति थोरै छन्। हामी राम्रो क्रेता भयौं तर सफल बिक्रेता हुनसकेका छैनौं। हामी दिने मात्र भयौं लिने भएनौं। हामी उडाउने भयौं कमाउने भएनौं। हामी सामान्य रूपमा अझैसम्म निम्न र निम्न मध्यमवर्गीय आर्थिक अवस्थामा छौं। न कमाउन सक्छौं न जमाउन नैं। न त कम्मर कसेर व्यापार गर्नसक्छौं। हामी त साना साना कुरामा नै रमाउन सक्छौं तर गुमाउन पछि पर्दैनौ। आर्थिक क्षेत्रमा हाम्रामा चेतना अझै पसेको छैन।
घ. हामीले जाँगर चलाउन नसकेर हाम्रा जग्गाजमिन बाँझा, अनुत्पादक, अप्रयोग बन्न पुगेका छन्। गाई बाख्रा पाल्न छोड्यौं, खेती-पाती गर्न छोड्यौं। गाउँले जीवन विस्तारै अब शहरीया जीवन शैलीमा परिणत हुँदैछन्। गाउँघरमा गाई पाल्नुभन्दा कुकुर पाल्नपट्टि बेसी लाग्छौं। आफ्नो जमिन बेचेर सडकको छेउमा सानो घरेडी किन्ने, अर्काको भाडामा बस्ने भयौं। हाम्रा जग्गा जमिनहरू अरूले दिनका दिन भटाभट किन्दैछन्। हामी भने ग्राहक खोज्दैछौं। हाम्रो गाउँघरमा खेताला पाउन छाडियो, पर्म, अधियाँ कुत गर्ने मान्छे पाउन छोड्दैछौं। अब त कुन दिन बाहिरका मान्छे आएर हाम्रोतिरको खेत खन्न आउन मात्र बाँकी छ।
ङ. हामीले प्रयोग गर्ने शरीरका वस्त्रदेखि लिएर खानेकुरा, प्रयोग गर्ने हरेक वस्तुको व्यापार गर्ने अपार सम्भावना हुन्छ। चारैतिर पसलै पसल छन्। खानेमुखको सङ्ख्या बढिरहेको छ। यहाँ ठिका, हातको सिप, कृषिजन्य वस्तु उपार्जन, शारीरिक श्रम, पसल आदि हरेक कुराको अझै सम्भावना छन्। हामी आफ्नो वरिपरिका सम्भावना नदेखी बाहिर गएर दुःख गर्नुतिर लाग्छौं। यसर्थ, यहाँका भैयाहरू बढ्दो सङख्यामा यहाँ आएर व्यापार वाणिज्य, मेहनत, काम धन्धा गर्छन्।
च. भैयाहरू भनेर यहाँ व्यापारीहरूलाई भनिएको हो। उनीहरू यहाँ व्यापारको अपार सम्भावना देखेर यता पसेका हुन्। उनीहरू हाम्रो कमजोरीका कापबाट उब्जेका हुन्। उनीहरूप्रति हाम्रो रिसराग छैन तर हाम्रै आनीबानी, जीवनशैली, स्वभाव प्रवृत्ति आदिका कारणले हामी चारैतिरबाट पछि पर्दैछौं।अरूले हाम्रो ठाउँमा आएर व्यापार गर्दैछन्, गरिखाँदैछन्। अरूहरूले हाम्रो ठाउँ ढाकिसके भनेर हामी मन दुखाउँछौ तर आफु भने केही गर्दैनौँ। शारीरिक श्रम मेहनत गर्न भने सिन्को भाँच्दैनौँ।
माथिका यी कुराहरूमा हाम्रामा चेतना नभए हामी पनि ‘आफ्नै रागले चाउरिने मारिच’ भएर बस्नुपर्ने हुन्छ। हाम्रो छोरा नातिका लागि डोकाले छोपेर ठाउँ राखिदिनुपर्छ। नत्र भावी सन्तानले सराप्न बेर लाग्ने छैन।गीत कसले रचेको भन्ने थाह नभए पनि गीतकारलाई धेरै धन्यवाद छ। हाम्रो समाजमा हाम्रै उत्थानको जागरण ल्याउन यस्ता खालका गीतको पनि महत्त्व हुन्छ नै। कसरी हुन्छ हाम्रो उन्नति होस् भन्ने ध्येयले लेखिएको यो गीत तर च्याउजस्तो जस्तो चाँडै बिलुप्त नभएर जागरणको डड़ेलो जस्तो चारैतिर फैलियोस्।