विजया दशमी जापान र अष्ट्रेलियामा नेपालको भोलिपल्ट किन ?

वैदिक सनातनी ज्योतिष पञ्चाङ्ग बमोजिम यो सालको (वि.सं. २०८१, इ. स. २०२४) को विजयादशमी स्थानिय समयअनुसार नेपालमा असोज २६ वा अक्टोबर १२ शनिवारका दिनपर्छ भने जापान र अस्ट्रेलियामा अक्टोवर १३ आइतवारका दिन पर्ने भएको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिले निर्णय गरी संसार भरका नेपालीहरु बसोबास गर्ने मुख्य-मुख्य देश र शहरहरुमा पर्ने शुभ साइतको मिति र समय तालिका प्रकाशन गरिसकेको छ ।

नेपालमा त्यस शनिवारका दिन नेपाली स्थानीय समयअनुसार सूर्योदय बिहान ६.०२ बजे हुन्छ भने दशमी तिथि त्यसको अगाडि नै ५ बजे र ४० मिनेटमा शुरु भइसकेको हुनेछ | भोलिपल्ट आइतवार बिहानको सूर्योदमा भन्दा पहिले नै बिहान ४.०२ मा एकादशी तिथि लाग्नेछ । जसअनुसार जापानमा शनिवारका दिन विजयादशमी तिथि शुरु हुँदा बिहानको ९ र अस्ट्रेलियामा बिहानको ११ बजिसकेको हुनेछ | जुन दिन स्थानीय समयअनुसार जापनमा बिहान ५.४५ बजे र अस्ट्रेलियामा ६.४७ बजे सूर्योदय भैसक्नेछ अर्थात् सूर्योदय हुँदा नवमी तिथि चलिरहेकोले भोलिपल्ट आइतवारको दशमी तिथिलाई मान्यता दिएर त्यसदिनको शुभमुहूर्तमा पर्नेगरि विजयादशमीको टीकाको साइत निर्धारण गरिएको हो ।

नेपाली समाजको विश्वव्यापी विस्तारसँगै हाम्रा रिति रिवाज र चाड पर्वहरुले पनि बृहत रुप लिएका छन् । पूर्वीय दर्शनमा आधारित हाम्रा चाडपर्वहरु, अब दक्षिण एशिया तथा प्राचीन भारतवर्षमा मात्र सिमित रहेनन् । पूर्वको जापानदेखि पश्चिम गोलार्धको अमेरिका र उत्तर रूसदेखि दक्षिण गोलार्धका अष्ट्रेलिया र न्युजील्याण्डसम्म फैलिएर गएको नेपाली समाजमा आफ्नो परम्परागत मान्यतामा एकरुपता दिनु एक चुनौतिको विषय हो । तर हाम्रा पुर्वजहरूले प्रतिपादन गरेका ज्योतिष शास्त्र र सिध्दान्त (पञ्चाङ्ग) लाई संसारभर अनुशरण गर्दा सजिलै एक रूपता दिन सकिने हेतुले गरेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग समिति र अन्य ज्योतिवीद‌‌्हरुले संसारभरका लागि तिथि र साइत निर्धारण गरिदिन गरेको प्रयासहरू धेरै सह्राननीय विषय हो ।

संविधान र नियम-कानुन मिचिंदा राष्ट्रको राष्ट्रियता र राजनीतिमा अराजकता पैदा हुन्छ भने समाजको अधार स्तम्भको रुपमा रहेका दर्शन शास्त्र र सिद्धान्तलाई पनि बुझेर अनुसरण गर्न सकिएन भने अन्धविश्वास र कुरीतिको जन्म हुने मात्र हैन मानव सभ्यताको विकास नै धरापमा पर्न सक्छ । आदिम वैदिक कालदेखि अहिलेसम्मका समाजमा व्याप्त कुसंस्कार विसंगति र कुरितिहरुलाई केलाउँदा शास्त्र र सिद्धान्त लत्याउने र तोडमोड गरेर परिभाषित गर्दा थप अन्धविश्वास विकास हुनसक्छ | ज्योतिष, खगोल शास्त्र र विज्ञानमा आधारित संसारकै प्राचिन सनातानी हामीहरूको सभ्यता र यस भित्रका ब्रह्माण्डिय सिद्धान्तहरुको मर्म बुझेर चल्न सक्यौं भने मात्र हाम्रा सन्ततीहरूले पनि हाम्रो संस्कार र परम्परालाई सगौरव विज्ञानको कसीमा जाँच्दै संसारभरी पछ्याइरहनेछन् ।

यो लेखमा विशेषगरी नेपाल बाहिर पश्चिमी र दक्षिणी गोलार्धमा बस्ने नेपालीहरुले मान्ने चाडपर्वमा पृथ्वि ( सौर्य मण्डल)को देशान्तरले गर्दा चाडपर्वका समय र तिथि फरक दिन पर्न गएका कारण जनमानसमा उत्पन्न केहि द्विविधाहरुलाई जनमानससँगको बार्तालापबाट प्राप्त प्रतिनिधिमूलक प्रश्नहरुको जवाफद्वारा सूक्ष्म रुपमा केलाउन प्रयाश गरिएको छ-

१) हाम्रो परम्परामा पुजा आराधना श्राद्ध तर्पण किन दिन ( गते) र वार फरक परेपनि उही तिथिमा गर्नु पर्ने कारण के हो ?
हाम्रो सनातन परम्परामा ऋतु परिवर्तन झल्काउने जस्तै माघे संक्रान्ति, साउन संक्रान्ति र असार १५ जस्ता सामान्य चाडहरु बाहेक अरु सम्पूर्ण चाड पर्वहरु चन्द्रमास अनुसार मनाइन्छन् । पूर्विय दर्शन र पाश्चात्य दर्शनको भिन्नता भनेकै आफ्नो संस्कार वा परम्परामा चन्द्रमास वा सूर्यमास कुन क्यालेण्डर अनुसरण गरिन्छ भन्ने कुरा हो |

अमेरिकाको उत्तरी भर्जिनियामा स्थित राजधानी मन्दिरमा सोरहश्राद्ध गर्न आएका कुनै व्यक्ति नेपालमा रहेका दाजु भाइले भोलिपल्ट पितृको श्राद्ध गरेपनि अमेरिकाम तिथि अघिल्लो दिन परेकोले आजै श्राद्ध गर्न आएको बताउँछन् । नेपालमा भोलि कुरेर गर्दा के फरक पर्छ भन्ने प्रश्नमा पहिले खासै नबुझेको र अहिले केहि अध्ययनको प्रयासपछि पृथ्वीमा देशान्तर फरक पर्दै जाँदा तिथि र वार फरक पर्दै जाने र भोलिसम्म कुर्दा आफ्नो पितृको श्राद्ध पर्ने तिथि सकिने, तिथि सकिएपछि पितृको श्राद्ध गर्दा कर्म फल प्राप्त नहुने कारणले यहाँको स्थानीय समय अनुसार नै तिथि आजै अर्थात् जुनदिनपर्छ वा नेपालभन्दा परेकोले आजै वा अघिल्लो दिनमा नै पितृ श्राद्ध गर्न आएको बताए । भौतिक रुपमा हेर्ने हो भने आफ्नो आफ्नो ईश्वर वा देवता भनेको मान्छेको आफ्नो दिमाग र चेतनाको सिर्जना हो भने पितृ भनेको भौतिकरुपमा उपस्थित भैसकेर यस धर्तिबाट विदा भएका आत्मा वा अनुभुति गरिएका हुन् । त्यसैले मृत्य पश्चात पितृ आत्माको शान्ति होस् र उनीहरुबाट आशिर्वाद प्राप्त होस् भनि सोही तिथि पारेर श्राद्ध वा तर्पण गरी शोक मनाइने गरिएको हो ।

२) के अमेरिका वा विदेशतिर कर्मकाण्ड गर्न वेदले अनुमति दिन्छ ?
सनातानीहरुले अनुशरण गर्ने वेदका विभिन्न अंगहरूमध्ये ज्योतिष शास्त्रलाई वेदको नेत्र वा आँखा मानिन्छ । ज्योतिष शास्त्रले यो धर्ति मात्र हैन महासागरमा पर्ने जुनसुकै टापुलाई पनि ब्रह्माण्डकै गति र स्थितिलाई मापन गर्छ । ज्योतिष शास्त्र पछि बनेका देश र स्थानहरुको नामले नचिने पनि अक्षांस र देशान्तरको आधारमा पृथ्वीको हरेक इन्च-इन्च र भूभाग मापन गर्न सकिने गणितीय सिधान्त ज्योतिषको जननी वेद भएकोले अमेरिका वा अष्ट्रेलिया जुनसुकै महादेशमा पनि हाम्रा संस्कारहरु गर्ने हो भने स्थानिय पञ्चाङ्गको अनुसरण गरेर नै गर्नु पर्छ ।

३) नेपालमा जन्म वा देहान्त हुँदा अष्ट्रेलिया वा अमेरिकामा छुट्टा छुट्टै तिथि पर्यो भने कसरी तिथि र संस्कार चलाउने ? नेपालमा पञचमीमा देहान्त हुँदा अमेरिका षष्टि वा अष्ट्रेलियामा चतुर्थी पर्यो भने कहाँ कहाँ कुन चाहिं तिथि मान्ने त ?
त्यसरी एउटै जातक वा मृतकको छुट्टा छुट्टै ठाउँमा फरक फरक तिथि पर्दै पर्दैन । धर्तिको जुनसुकै कुना, समुन्द्रको टापु वा पानीजहाज वा हवाइजहज जहाँ जन्म, मरण भए पनि संसार भरिकै लागि घडी पला सहित एउटै तिथि मान्य हुन्छ । त्यो तिथि हरेक बर्ष संसारभरि नै एउटै समयमा आउँछ र चन्द्रमास अनुसारको हाम्रो परम्परागत पञ्चाङ्ग पात्रोको सुन्दर विशेषता भनेको त्यही नै हो ।
उदाहरणको लागि कसैको मृत्यु नेपालमा अक्टोबर २ तारिख २०२४ बुधवार राति १२.३० बजे भयो । अस्ट्रेलियामा बस्ने आफन्तलाई फोन गरेर सुनाउँदा त्यहाँ अक्टोबर २ को बिहान ७ भइसकेको थियो भने अमेरिकामा बस्ने
आफन्तको लागि अक्टोबर १ को दिउँसो २३ मङ्गलबार पर्यो । तर चन्द्रमास अनुसार संसारभरि असोज शुल्क पक्ष एउटै प्रतिपदा तिथि हस्ता नक्षत्र घडी र पलासहित संसारभरलाई एउटै मान्य हुन्छ । अर्को साल २०२५ मा सेप्टेम्बर २२ सोमबार पर्ने श्राद्ध संसारमै एकैचोटि पर्छ र त्यही प्रतिपदा तिथिमा पर्छ । अस्ट्रेलिया अमेरिका नेपालमा एउटै समयमा पर्छ तर स्थानीय समयअनुसार बिहान बेलुका र फरक बार पर्न सक्छ । अर्को साल २०२५ मा त्यो प्रतिपदा नेपालमा सेप्टेम्बर २२ सोमबार र अमेरिका र अस्ट्रेलियामा पनि सेप्टेम्बर २२ सोमबार नै पर्न आउँछन् ।
बुझिने गरेर भन्नुपर्दा तिथि भनेको हरेक वर्ष असोज महिनामा चन्द्रमामा परेको प्रकाश र छायाँको अनुपातको मान हो । अर्को साल असोजमा जुन दिन पर्छ, त्यही दिनमा स्थानीय समयअनुसार जुनसुकै वार र गते परेको होस् | सूर्य उदय रहेको दीनमा ठ्याक्कै त्यही अनुपातमा चन्द्रमामा प्रकाश र छायाँ परेको वेला त्यही
तिथि पर्छ र स्थानीय समयअनुसार त्यही तिथिमा श्राद्ध वा तर्पण गरिन्छ । कुनै तिथि भनेको चन्द्रमाको उज्यालो पक्ष र अँध्यारो पक्षको अनुपात को मान हो । कृष्ण पक्षमा घट्दो चन्द्रमा र शुल्क पक्षमा बढ्दो चन्द्रमा देखिन्छ । सामान्यतया एउटा तिथि १२ डिग्री सम्म रहन्छ ।

४) नेपालबाट आएका हामी नेपालीले संसारको जहाँ भएपनि नेपालमा चाडबाड मनाइसकेपछि मात्र त्यही वार र दिन पारेर मनाउने र नेपालको देवीदेवता पूजा गर्दा नेपालतिरै फर्केर आराधना गर्नुपर्ने होइन र ? मुसलमानहरू त आफ्नो तीर्थस्थल मक्कातिर फर्केर अल्लाको ध्यान गर्छन् त !
सनातनीहरूले धार्मिक कार्य र शुभ संस्कारमा पहिले ग्रह पूजा र पितृ पूजा गरिसकेपछि मात्र देवी देवताको व्रत र आराधना गर्दछन् । संसारको जुनसुकै स्थानमा बसेर गरेपनि देवकार्य गर्दा पूर्वतिर वा उत्तरतिर फर्केर गरिन्छ भने पितृको श्राद्ध कार्य गर्दा कुनैकुनै काम दक्षिण फर्काएर गरिन्छ । खासमा परमात्माको इच्छा अनुसार ब्रह्माले संसार रचिसकेपछि मानव सभ्यताको सुरुवात गर्ने शिक्षा र चेतना दिन सप्तऋषि यस धर्तीमा आएपछि त्यो काम सकेर आकाशमा गई सप्तऋषि तारा भएर बसे । धरतीको सृष्टि पश्चात मानव सभ्यतामा ईश्वर र सृष्टिकर्ता प्रति एउटा आस्थाको प्रतीक स्थिर बिन्दु रहिरहोस् भनी सृष्टिकर्ताले उत्तरी ध्रुवको माथि पर्ने गरी सप्तर्षि तारासँगै ध्रुव तारा सिर्जना गरेर छोडिदिए । जसलाई बृहद् बेहद् ब्रह्माण्डको अटल आस्थाको केन्द्रको प्रतीक रुपमा लिएर पूजापाठ ध्यान गर्दा ईश्वरको संरचनाको सम्झनामा उत्तरतिर फर्केर गर्ने चलन रहेको मानिन्छ | र, कम्पासको आविस्कार हुनु भन्दा पहिले समुद्री जहाजमा हिड्ने यात्रीहरुले उत्तरी ध्रुव तारालाई हेरेर यात्राको दिशा निर्धारण गर्ने गर्दथे ।

ब्रह्माण्डमा कुनै पनि वस्तु स्थिर छैन । सबै गतिशील छन् र चलायमान छन् । हजारौं सूर्यका विशाल ब्रह्माण्डहरु भित्रको हाम्रो सौर्यमण्डल सधैं आकाशमा घुमिरहन्छ | वास्तविकता के हो भने पृथ्वीमाथि बसेर हामी पनि ब्रह्माण्डमा आकाशमा विचरण गरिरहेका रहेका छौं । यो धर्ति हाम्रो ब्रह्माण्डमा विचरण गर्ने ठुलो यान पनि हो ।
अर्कोतिर सूर्यलाई यस धर्तीको मालिक र ब्रह्माण्डको शक्ति, चेतना र सृष्टिको स्रोतका रूपमा लिइने सुर्य हरेक दिन पूर्वतिरबाट उदाउने हुनाले पुजा आराधन गर्दा पूर्व दिशालाई मान्यता दिइएको हो । कुनै जातकको यस धर्तीमा जन्म हुँदा पूर्वतिरबाट आएको किरण जन्मस्थानमा जसरी पर्छ त्यही आधारमा स्थानीय समय हेरेर खगोलीय ग्रहहरूको स्थान निर्धारण गरी जन्म कुण्डली अर्थात् चिना बनाउने गरिन्छ । सनातनीहरुले मुसलमानको जस्तो जता मन्दिर वा तीर्थस्थल पर्छ, त्यतै फर्केर ध्यान आराधना गर्दैनन् । सधैं उत्तर र पूर्वतिर नै फर्केर गर्ने चलन छ । भारत वर्षमा ११ वटा ज्योतिर्लिंङ्ग छन् | चार ठूला धामहरू चार दिशामा छन् । अब बिचमा बस्नेले कुन दिशातिर फर्केर गर्ने ? घरमा होस् वा मन्दिरमा ध्यान आराधना वा पुजा गर्दा उत्तर वा पूर्व मुख बनाएर आसन गरिन्छ ।

५) कसैकसैले त नेपालमा गोरखाबाट ल्याएको फूलपाती भित्र्याएपछि मात्र विदेशमा पनि फूलपाती भित्र्याउने र पशुपतितिर र आफ्ना कुलदेवतातिर देवीस्थानतिर फर्केर पूजाआराधना गर्नुपर्छ । हाम्रो आस्थाको केन्द्र भनेको त्यहि हो भन्छन त ? खासै स्थानीय समयमा ज्योतिष र चन्द्रमा स्थितिका कुरा भन्दा आफ्नो परम्परा वा आस्था ठूलो कुरा हो भन्छन् नि ?

त्यसमा सम्बन्धमा पनि कोही एक सज्जन भन्छन् – ‘नेपाली जातिको पहिचान हामीले राख्नुपर्छ, राष्ट्रियताको कदर गर्नुपर्छ त्यो नै हाम्रो आस्था हो ।’ तर त्यो भन्दैमा विश्वका सनातनी धर्माबलाम्बीहरूसँग मेल नखाने गरी शास्त्र र सिद्धान्त संगत नहुने चलनको शुरुवात हामीले गर्न नहुने र दशौँ हजार वर्षदेखि मानिआएको ज्योतिषीय शास्त्र सिद्धान्त तिथि नक्षत्र करणयोग छोडेर आजभन्दा २ तिन सय वर्ष अघि कुनै राजा रजौटाहरुले चलाएको चलनलाई पछ्याउनाले विश्वमा फैलिएर रहेको पूर्वीय दर्शन अनुसरण गर्नेहरुमा रहेको एकताबाट हामी अलग हुन्छौं ।

फेरि विश्वभरका सनातन धर्म मान्ने मान्छेहरु शास्त्रसंगत र विज्ञानसंगतरुपले एकातिर र हामी भने अर्कोतिर दौडने काम नेपाली समाजको लागि घातक हो । हामीले हाम्रा चाडपर्वहरुलाई एकरुपता दिनुपर्छ, त्यो हाम्रो दायित्व हो । त्यो कुरा शास्त्र सिद्धान्तको पछि लागेमा मात्र सम्भव छ ।

विज्ञानसम्मत तरिकाले चाडपर्व मनाउने प्रकृतिको संरक्षण र इज्जत गर्ने मानवसहित अरु प्राणी, वनस्पति र समस्त पर्यावरणको संरक्षण दिने हाम्रो सनातन हिन्दु परम्परा हो । भौतिकरूपमा अढाई तीन गोलाकार र ६-७ फिट उचाईमा सीमित तर सोच परब्रह्मसम्म राख्न सक्ने चेतनशील प्राणि हामी मानिसको कर्तव्य र धर्म पनि त्यही नै हो ।

६) चन्द्रमामा मानिस गएर कुल्चेर आइसक्यो, अब सूर्य चन्द्रको पूजा गर्नुको केही मतलब छैन भन्नेहरु छन् नि त्यसलाई के भन्नुहुन्छ ?
त्यसो त हामी जन्मेदेखि यही धर्तीमा कुल्चेर हिँड्छौँ तर पनि हामीले पुर्खादेखि धर्तिमाता भनेर पूजा गर्छौं । चन्द्रमामा मान्छेले पाइला राख्यो भन्दैमा त्यसो धर्तिका मानव माथिको प्रभाव कम भएको छैन । चन्द्रमाको गति र शक्तिबाट धर्तीका मानवमा पर्ने प्रभाव घटेको र समुद्रमा निस्कने ज्वारभाटामा फरक आएको त छैन ।
अर्को कुरा त्यो आकाशको बादलभन्दा माथि प्लेन चडेर मान्छे उडिसक्यो भन्दैमा आकाशको बादलले पानी पर्ने हावा हुरी बाढि बबन्डर मचाउन छोडेको छ र ? यी प्राकृतिक कुराहरुलाई एक ढंगले मान्छेले बुझ्यो भन्दैमा सबै आंकलन गर्न सकिहाल्दैन । ज्योतिष शास्त्रमा चन्द्रमा मनको कारक, सूर्य आत्मा र भौतिक शरीरको कारक र मंगल्लाई इच्छा शक्तिको कारक मानिन्छ । त्यसको प्रभाव यथावत छ र रहन्छ | के कति प्रभाव कस्तो समयमा पर्छ भनेर हेर्न ज्योतिषले सिकाउँछ ।

यहाँ थप ३ प्रश्न पनि छन् – ७,८ र ९ | यी ३ प्रश्नको उत्तरको बारेमा चैं अर्को आलेखमा चर्चा गरौंला | प्रश्न १० को उत्तर यसैमा समावेस छ |

७) विज्ञानले सूर्यलाई तारा र चन्द्रलाई उपग्रह भन्छ तर ज्योतिषले किन ग्रह मान्छ ?
८) विक्रम सम्वतभन्दा पहिले पनि क्यालेन्डर थियो, क्यालकुलेटर प्रयोग गरेर
जथाभावी विदेशको लागि भन्दै पञ्चाङ्ग बनाइयो, हाम्रो संस्कृतिमाथि प्रहार भयो । सत्य के हो ?
९) डे लाइट सेभिंग टाइमले तिथिमा के फरक पार्छ ? सूर्य सिद्धान्त अनुसरण
गरेपछि खासै चन्द्र क्यालेण्डर र तिथिको मतलब हुँदैन, के सहि हो ?

१०) यो ज्योतिष शास्त्रलाई कसले आफ्नो के स्वार्थको लागि किन यस्तो जटिल
बनायो, बुझ्ने सजिलो तरिका के हो ?
ज्योतिषशास्त्र एउटा जटिल विषय हो । ग्रीसका पाइथागोरसले आजभन्दा करिब २२ सय बर्ष पहिले पत्ता लगाएको भनिएको वृत्तको पाई लगायत सिध्यान्तहरु दशौं हजार वर्ष पहिले देखि नै सिद्धान्त ज्योतिषले प्रयोगमा ल्याएर वृत्तलाई ३ सय ६० अंशमा विभाजित गरी ग्रह गोचर, सूर्य र चन्द्र ग्रहण बारे अवलोकन र भविष्यवाणी गर्दै आएका छन् । गहन ज्योतिष शास्त्र अध्ययनको लागि कमसेकम विएस्सी (स्नातक तह) लेभलको म्याथमेटिक्स आवश्यकता पर्छ भने सामान्य ज्योतिष
अध्ययन भने हाईस्कूल लेभलको विज्ञान र म्याथमेटिक्स अध्ययन गरेकाहरूले सुरु गर्न सक्छन् । त्यसैले ज्योतिषशास्त्रलाई यदि हाईस्कूलको पाठ्यक्रममा नै समय
सिद्धान्त वा समयशास्त्रको विषय बनाएर पढाउने हो भने हाम्रो बिज्ञान सम्मत परम्परालाई आजको युवा पिंढीमा प्रसारण गर्न र उनीहरुको विश्लेषण गर्ने क्षमता बढाउन धेरै मदत गर्न सक्छ ।

अग्निदेवो नमः, जलदेवो नमः, भू९देवो नमः, आकाशदेवो नमः,
भुमंडालय नमो९नमः ||

( शिव हरी नेपाल, कम्युटर अटोमेसन इन्जिनियर हुन् | यस सम्बन्धमा लागेका प्रश्न वा जिज्ञासाहरूका लागि कमेन्ट गर्नु भए उनले माथि बाँकि रहेका केही प्रशन्हरूको उत्तर र लागेका प्रश्न वा जिज्ञासाहरूका बारेमा अर्को लेखमा प्रकाश पार्ने छन् |)

Add a Comment

Your email address will not be published. Required fields are marked *