षडानन्द प्रतिष्ठानका पुरस्कार घोषणा

आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको २०८१ कार्तिक २२ गते बसेको  १२० औं बैठकले यस वर्षको षडानन्द राष्ट्रिय पुरस्कार, षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार र षडानन्द क्षेत्रीय पुरस्कार निम्नानुसार  प्रदान गर्ने घोषणा गरेको छ । घोषणा गरिएका पुरस्कारहरू निम्नअनुसार छन् –
षडानन्द राष्ट्रिय पुरस्कार
प्रतिष्ठानले षडानन्द राष्ट्रिय पुरस्कार आबाल ब्रह्मचारी षडानन्दले आफ्नो जीवन कालमा महत्त्वपूर्ण योगदान दिएका क्षेत्रहरु शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार र पर्यावरण संरक्षणमध्ये एक जनालाई गर्दै आएकोमा यस वर्ष नेपालको राजनीतिक, सामाजिक, कानुनी, सांस्कृतिक तथा भाषिक इतिहासको खोज, अध्ययन र अनुसन्धानको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु भएका विशिष्ट विद्वान् प्राध्यापक डा.जगदीश चन्द्र रेग्मीलाई विसं. २०८१ सालको  षडानन्द राष्ट्रिय पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
काशी हिन्दु विश्व विद्यालयबाट लिच्छवि कालीन नेपाली संस्कृतिका केही पक्ष विषयक अध्ययनमा इस्वी सन् १९७० मा विद्या वारिधि उपाधि प्राप्त प्रा.रेग्मीका नेपालको प्राचीन इतिहास, कला, संस्कृति, वास्तुकला, भाषा आदिको खोज, अध्ययन, अनुसन्धानसँग सम्बन्धित दर्जनौं पुस्तकका साथै प्राचीन नेपालको कानुनी भाषा, धर्म, संस्कृति, कला र सांस्कृतिक भूगोलको ऐतिहसिक पक्षसँग सम्बन्धित अध्ययन प्रतिवेदन तथा कार्यपत्रहरु पनि प्रकाशित छन् । नेपालको संक्षिप्त इतिहास (सन् १९६८), लिच्छवि संस्कृति (सन् १९६९), टेम्पल्स् अफ काठमान्डु ( सन् १९७२), नेपालको धार्मिक इतिहास ( सन् १९७३), ग्लोसरी अफ हिमालयन बुद्धिज्म ( सन् १९९१),लिच्छवि इतिहास (१९९६), पशुपति गुह्येश्वरी (१९९७),प्राचीन नेपालको राजनीतिक इतिहास (१९९७) आदि प्रा. रेग्मीका चर्चित कृतिहरु हुन् ।
उक्त पुरस्कार पूर्वाञ्चलको भोजपुर, दिङ्लामा जन्मिएर नेपालको शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार र पर्यावरण संरक्षणमा अतुलनीय योगदान पुर्याउने आबाल ब्रह्मचारी षडानन्द अधिकारी (विसं.१८९२–१९७३) को स्मृतिमा उदारमना दाताहरुको सहयोगमा प्रतिष्ठानद्वारा स्थापना गरिएको हो । पुरस्कारको राशि १,००,०००।– रुपियाँ रहेको छ ।
विसं २०६६ देखि राष्ट्रिय रूपमा ख्यातिप्राप्त व्यक्तित्वहरूलाई प्रतिवर्ष प्रदान गरिँदै आएको यो पुरस्कार गत वर्ष प्राच्य दर्शन तथा तन्त्रशास्त्रका विशिष्ट विद्वान् प्रा.विद्यानाथ उपाध्याय भट्टलाई प्रदान गरिएको थियो ।
षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार
 
षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार समाजसेवी, कलाकार तथा साहित्यकार सुश्री भद्र कुमारी घलेलाई प्रदान गर्ने निर्णय गरिएको छ । प्रारम्भमा नै नर्स तथा मिड वाइफ तालिम प्राप्त सुश्री घले काशी विद्यापीठ बनारसबाट शास्त्री उपाधिले विभूषित हुनु हुन्छ । उहाँका गद्य र कविताका सयौँ साहित्यिक कृति प्रकाशित छन् । उहाँ महात्मा गान्धीको स्वावलम्बन कार्यक्रम र समाज सेवाबाट प्रभावित तथा गान्धीवादकी अनुयायी हुनु हुन्छ । उहाँद्वारा स्थापित भद्र कुमारी घले सेवा सदन विगत लामो समयदेखि अक्षुण्ण रूपमा चलि रहेको छ भने अन्य विभिन्न सामाजिक तथा शैक्षिक संस्थामा पनि उहाँको अटुट संलग्नता र योगदान रहेको छ ।
आबाल ब्रह्मचारी षडानन्दका मुख्य सहयोगीहरुमध्ये एक, षडानन्दको जीवनीसँग सम्बद्ध काव्यका रचयिता स्व. यज्ञनिधि चापागाईँको स्मृतिमा उहाँका पनातिहरु उदय  कुमार चापागाई “मार्से”र  दिलीप चापागाईँ “मार्से”द्वारा स्थापित षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार हरेक दुई वर्षमा प्रदान गरिन्छ । नेपालमा समाज सेवाका विविध क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्त -संस्थालाई सम्मान पत्र सहित प्रदान गरिने यो पुरस्कार रु।५१०००।— राशिको छ । यसअगि विसं.२०७९ मा यो पुरस्कार परोपकार संस्थालाई प्रदान गरिएको थियो ।
षडानन्द क्षेत्रीय पुरस्कार
पूर्वाञ्चलमा शिक्षा, संस्कृति र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्ति वा संस्थालाईप्रतिवर्ष  प्रदान गरिने षडानन्द क्षेत्रीय पुरस्कार यस वर्ष ९२०८१० साहित्यकार  कुन्ता शर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ । जागृतिमूलक साहित्य स्रष्टा कुन्ताका म उभिएको ठाउँ ( विसंक्रमश २०५२) , मेरो मान्छे र युद्ध लडिरहेको म ( विसं २०८०)समेत गरी तिन कविता सङ्ग्रह र अनगिन्ती फुटकर रचनाहरु प्रकाशित छन् ।
भोजपुर, दिङ्लाका डण्डपाणि तथा युवा कुमारी चापागाईंका स्मृतिमा उहाँहरुका सुपुत्रद्वय निरञ्जन चापागाईं र गायत्री कुमार चापागाईंद्वारा स्थापित अक्षय कोषबाट प्रदान गरिने विसं.२०७१ देखि प्रतिवर्ष प्रदान गरिँदै आएको षडानन्द क्षेत्रीय पुरस्कारको राशि रु.५१,०००।—  रहेको छ ।
गत वर्ष सो पुरस्कार पूर्वाञ्चलका प्रसिद्ध आख्यानकार परशु प्रधानलाई प्रदान गरिएको थियो ।
उपर्युक्त पुरस्कारहरु २०८१ मॉस्को २१ गते शुक्रवार विवाह पञ्चमीका दिन आबाल ब्रह्मचारी षडानन्दको १९० औँ जन्म जयन्ती कार्यक्रमका अवसरमा प्रदान गरिने छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *