समालोचक धीरकुमार श्रेष्ठका दुई समालोचना कृति सार्वजनिक
|
पद्मकन्या बहुमुखी क्याम्पस, बागबजारमा समालोचक धीरकुमार श्रेष्ठद्वारा लिखित समालोचना कृति ‘आख्यानको आँखीझ्याल’ र ‘अध्ययन विश्लेषण’ को सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
ऐरावती प्रकाशन प्रा.लि.को आयोजनामा भएको यो कार्यक्रममा रामदेव पाण्डेले सभाध्यक्षता गर्नुभएको थियो भने दयाराम श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा अतिथिहरू कुमारप्रसाद कोइराला, रामप्रसाद ज्ञवाली, देवी नेपाल र अनुपमा रेग्मीले उपस्थिति जनाउनुभएको थियो। ऐरावती प्रकाशन प्रा।लि।का अध्यक्ष रामदेव पाण्डेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रबन्ध निर्देशक आनन्द तिवारीले स्वागत मन्तव्य दिनुभएको थियो।
कार्यक्रमका अतिथिहरूले पुस्तक सार्वजनिक गर्नुभएको थियो। देबु लुइटेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा अनुपमा रेग्मी र रामप्रसाद ज्ञवालीबाट ‘अध्ययन विश्लेषण’ एवम् कुमारप्रसाद कोइराला र देवी नेपालबाट ‘आख्यानको आँखीझ्याल’उपर विद्वत् चर्चा प्रस्तुत गरियो ।
चर्चाका क्रममा समालोचक श्रेष्ठका साहित्यिक योगदानका साथै उनका उक्त समालोचनात्मक कृतिका सबल र दुर्बल पक्षका बारेमा चर्चाकारहरुबाट प्रकाश पार्ने कार्य भयो । कार्यक्रमका प्रमुख अतिथि दयाराम श्रेष्ठले कृतिहरूको महत्त्व र समालोचनात्मक दृष्टिकोणमाथि प्रकाश पारी कमी कमजोरी औल्याउँदै मन्तव्य दिनुभएको थियो। धन्यवाद ज्ञापन लेखक धीरकुमार श्रेष्ठले गर्नुभएको थियो भने अन्त्यमा सभाध्यक्ष रामदेव पाण्डेले मन्तव्यसहित कार्यक्रम समापन गर्नुभएको थियो।
यस कार्यक्रममा विभिन्न क्षेत्रका विद्वान, साहित्यकार र साहित्य प्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
