डढेलो र वेदनाको भारी
|
उछिट्टियो फिलिङ्गो
पस्यो हुर्रिँदै हुर्रिँदै
जङ्गल, बगैँचा, घरआगन र मानव बस्ती
देखाउँदै धमाका डढेलोले
ढलाउँदै गर्लम्म
बनाउँदै कङ्काल, अङ्गार र खरानी
अनि
विक्षिप्त बन्छन् मानव र पशुपन्छीहरू
लुट्पुटिँदै अङ्गार र खरानीमाथि
भौँतारिँदै सडक, बस्ती र वन पाखा
एक सहाराको खोजीमा ।
तर उद्दत छन्
केही दानवरूपी मानवहरू
इर्स्या, रीस र विद्रोहको ज्वाला फैलाई
आलो घाउमा नुन, चुक र खुर्सानी छर्दै
तल्लिन छन् खुचिउँ गर्दै
अझै वेदनाको भारी बोकाउन ।
