आमा

ऊ छोरी थिई
ऊ बहिनी थिई
ऊ भार्या थिई
ऊ सखा थिई
सबैभन्दा धेरै,
सबैभन्दा माथि
ऊ आमा थिई।

जन्म–मृत्युको खेल सकेर,
मोक्षको बाटो रोजेर,
ऊ आफू एक्लै गई।
तर कस्तो अनौठो समीकरण,
बस्ने सबैलाई एक्लो पारेर गई।

जब ऊ गई,
पलङ रोयो,
बैठक रोयो,
भान्सा रोयो,
बुइँगल रोयो,
पर्खाल रोयो,
उसको सिङ्गै दरबार रोयो।

जब ऊ गई,
मैनझैं कमलो मन हुनेहरू पग्लिएर रोए।
आफूलाई चट्टान हुँ भन्नेहरू पनि चिरिएर रोए।
दुइटा फूल हेर्दै,
बगैँचाको एक्लो माली रोयो।
बचेरा हेर्दै,
शून्य गुड रोयो
कविता अधुरै रह्यो, कवि रोयो।
अधुरो मूर्ती हेर्दै,
कालीगड रोयो ।

अरु त के कुरा,
आफ्नो खेला हेरेर, ईश्वर आँफै रोयो।

मर्ने त देह हो,
आत्मा कहिल्यै मर्दैन।
झरेको त पात मात्र न हो,
ऊ त एउटी आमा,
चट्टान फोर्न सक्ने
पिपलको जरा जस्तै !

ऊ एउटी आमा,
ऊ यत्र तत्र सर्वत्र छ।
भनेकी छ उसले,
“मुर्झाउलान् यि दुई मुनाहरू,
बिहानीको शीत बनेर सिञ्चन गर्नेछु।
डराउलान् यी बालाहरू,
रातको तारा बनेर पहरा दिनेछु।
निसास्सिएलान् यि कोपिलाहरू,
पवन बनेर श्वास भरिरहनेछु।
हरेक रात निदरिमा आउनेछु,
यिनका सिरमा हात राखिदिनेछु।

भनेकी छ उसले –
म एकान्तमा तिम्रो प्रार्थनामा आउनेछु
भीडमा तिम्रो बाडुलीमा आउनेछु –
“म अजेय, अमर आमा हुँ।”

(नोट: डाक्टर आसना पोखरेलको स्मृतिमा ।
क्यान्सरजस्तो असाध्य रोगका कारण नर्थ क्यारोलिना निवासी आसनाको ४१ वर्षको उमेरमा गत जनवरी ९ तारिख निधन भएको थियो)

2 Comments

Leave a Reply to Manasa Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *