सर्बत जस्तै सारवत
|
फेब्रुअरी महिनाको शीतलहरमा आगोको अगाडि बसेर तीर्थराज अधिकारी कृत मुक्तक सङ्ग्रह “सारवत” पढ्न र लेख्न कोसिस गर्दैछु । प्रथमतः कृतिको नाम “सारवत” नै आकर्षक लाग्यो । सारवत भनेको के होला ? मनमा अनेक अर्थ लगाउँदै “सारवत” को अर्थ खोजेँ । शब्दकोशमा पनि “सारवत” को अर्थ नभेटिएपछि भूमिका पढ्नतिर लागेँ ।
प्रा. डा. जगन्नाथ रेग्मीको भूमिकाबाट प्रष्ट भयो “सारवत” भनेको सारांश, सारसङ्क्षेप, सारवस्तु, सूत्रशैली, सूत्रकथन रहेछ । त्यस्तै, आवरण चित्रमा पनि एक हातले मह निचोरेर बाल्टिनमा थापेको जस्तो देखिन्छ । हो, यो सङ्ग्रह पनि मुक्तकहरूको निचोड रहेछ । त्यसैले म पनि आगोको रापमा तातिँदै मुक्तकहरूको आनन्द लिन लागेँ । गुलियो फलफूलको सर्बत जस्ता मुक्तकहरूको समूह नै यो मुक्तक सङ्ग्रह “सारवत” को विशेषता हो |
अधिकारीका सरल, सहज, सलल बगेका मुक्तकहरूले पाठकलाई मोहित बनाउँछन् । मैले उहाँका सबैजसो मुक्तक सङ्ग्रह पढिसकेकी छु। यो सङ्ग्रहका मुक्तकहरू पढ्दै जाँदा अझ सबै मुक्तकहरू मह जस्तै मिष्टि रसले भरिपूर्ण लाग्यो। यस मुक्तक सङ्ग्रहमा माया-प्रेम, देशभक्ति, परदेशका कुरा, घरदेशको राजनीति, नेता, विकृति, वेदना, समाज, यातना, मनोविज्ञान, चेतावनी, वातावरणजस्ता विषय समेटिएका छन् । मुक्तकहरूले ‘आँखीझ्याल’मार्फत समाजको यथार्थलाई देखाउने कार्य गरेका छन् ।
आजको समाज छोटो, मिठो पढेर ज्ञान बटुल्न र समाज बुझ्न चाहन्छ । चार लाइनमा भन्न खोजिएको कुरालाई कलात्मक रूपमा लेख्न सक्नु नै सार्थक मुक्तक हो । तीर्थराज अधिकारीका मुक्तकहरूमा यी विशेषता पाइन्छ।
मुक्तककारका मातापिता रुक्मिणा अधिकारी र नारायणदत्त अधिकारीलाई समर्पण गरिएको यो पुस्तक गीताञ्जलि साहित्य परिवार, पोखराले प्रकाशन गरेको हो । पुस्तकमा जगन्नाथ रेग्मीको विस्तृत र गहिरो पढ्न लायक भूमिका छ । प्रकाशकीयमा गीताञ्जलि साहित्य परिवारको परिचय, “सारवत” र लेखकका बारेमा लेखिएको छ । त्यस्तै, मुक्तककारकै लेखकीय टिप्पणीबाट पनि प्रतिनिधि मुक्तकहरूको सङ्ग्रह कसरी जन्मियो भन्ने कुरा पढ्न पाइन्छ ।
तीर्थराज अधिकारीका मुक्तकहरू सरल भाषामा सलल पानीझैँ बगेका छन् । कुनै पनि आक्रोशलाई पनि नरम तरिकाले प्रस्तुत गर्न सक्नु मुक्तककारको खुबी हो । सबै मुक्तकहरू नरम भाषामा लेखिएका छन्।
तिम्रा हरहरमा साझा बनाए हुन्छ
सुमधुर मनभित्रको राजा बनाए हुन्छ
अन्त कतै मिल्दैन भने मलाई प्रिय
तिमी बस्ने घरको दरबाजा बनाए हुन्छ।
अति नै सरल भाषामा प्रेम उजागर गरेको यो मुक्तक पढेर जोकोहीको मन रमाउँछ । आफ्नो मनपरेको मान्छेलाई मनमा राख्न आग्रह गरिएको छ । मन परेको मान्छेको मनमा ठाउँ नै छैन भने घरको ढोका बनेर बस्न पनि राजी भएको प्रेमीको मुक्तक हो । यो प्रेमिल मुक्तकले पाठकलाई कतैकतै कुतकुती लगाउनेछ ।
कुनै रसायनमा घोलेर पिउन पनि नमिल्ने
फुक्का जीवन बोकेर यसै जिउन पनि नमिल्ने
थोत्रा पुराना भइसके जिन्दगीका धेरै पानाहरू,
आकर्षक गातो हालेर सिउन पनि नमिल्ने !
मानिस उमेर बढ्दै जाँदा फेरी जवान हुने चाहना राख्छ, तर जति प्रयास गरे पनि उमेर घटाउन सकिँदैन । यसै यथार्थतालाई प्रस्तुत गर्ने मुक्तक यस्तो हुनसक्छ । जीवन सत्यतामा आधारित यो मुक्तक पनि निकै प्रभावशाली छ |
साँझमा दियो बलेकै छ
बारीको लिची फलेकै छ
अरूको व्यर्थ चासो किन ?
गुजारा आफ्नो चलेकै छ ।
“आफ्नो आङ्को भैंसी नदेख्ने, अरूको आङ्को जुम्रा देख्ने” भनाइलाई मुक्तककारले कलात्मक रूपमा प्रस्तुत गरेका छन् । यस्तो स्वभाव भएका मानिसहरू अरुको सानातिना कमजोरी खोज्दै हिँड्छन् तर आफ्ना ठूलाठूला गल्ती देख्दैनन् । यही यथार्थलाई झल्काउने मुक्तक हो यो । यस मुक्तकले अरुको जीवनमा अनावश्यक चासो राख्नुभन्दा आफ्नै सुधारमा ध्यान दिनुपर्छ भन्ने सन्देश दिन्छ ।
न उसलाई लाज छ, न सरम छ
न आन्तरिक तागत छ, न दम छ
व्यर्थै अरूलाई होच्याएर बोल्छ ऊ
जसको आफ्नै आत्मविश्वास कम छ ।
मुक्तककारले आक्रोशलाई नरम रूपमा प्रस्तुत गर्दै जीवनको एउटा यथार्थ पक्ष उजागर गर्नुभएको छ । जसलाई लाज सरम छैन, उनीहरू भित्रैदेखि खोक्रा हुन्छन् भन्ने सन्देश दिने मुक्तक यस्तो हुनसक्छ ।
अहो ! हजुर त ठूलो मान्छे हुनु भएछ
ढुकुटीको जिम्माल खजान्चे हुनु भएछ
भोकालाई प्रतिदिन भोजन गराउने
सरकारी सदाबर्तको मान्छे हुनु भएछ ।
यो मुक्तकले सिधै भ्रष्टाचारीमाथि प्रहार गरेको छ । यस्तो मुक्तकले भ्रष्टाचारमा लिप्त व्यक्तिहरूको वास्तविकता उजागर गर्छ । पैसा खुवाएर पद हासिल गर्ने र जनताको सेवा गर्नुको सट्टा आफ्नो स्वार्थ मात्र हेर्नेहरूलाई झक्झक्याउने मुक्तक हो ।
न कुनै शक्तिले डगाउन
न बेमौसमी भेलले बगाउन सक्यो
तिम्रो राष्ट्रप्रतिको कटिबद्धताले
सारा नेपालीलाई सहाउन सक्यो ।
यो मुक्तक देशभक्तहरूलाई समर्पित लाग्छ । विशेष गरी, नेपाली सैनिकहरूको बहादुरीतालाई स्मरण गराएको छ ।
संसारमा दुःख छ, दुःखको कारण पनि छ
सल्काउने उत्प्रेरक छ, निर्वाण पनि छ
यो रोगको मुख्य कारण दुराग्रह हो मित्र ।
सिद्धिचार मृदुता र धैर्य धारण पनि छ ।
बुद्धको शिक्षालाई झल्काउने यो मुक्तक निकै प्रभावशाली छ । यस मुक्तकमा मुक्तककारको गम्भीर चिन्तन झल्किएको छ । जीवनमा दुःख अनिवार्य छ, तर यसको समाधान पनि सम्भव छ भन्ने बुद्धको सन्देश यसले दिन्छ । दुराग्रहले नै दुःख जन्माउँछ, त्यसैले धैर्य, सहनशीलता, र राम्रो सोच आवश्यक छ ।
यस्तै थुप्रै रमाइला, तिखा, मिठा र रसिला मुक्तकहरूको निचोड “सारवत” उत्कृष्ट कृति हो । समाजका सबै पक्षलाई समेटिएको यो सङ्ग्रहले पाठकहरूको पुस्तकालय सजाउन सक्छ ।
मुक्तककार अधिकारी अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) का एक परिचित व्यक्तित्व हुनुहुन्छ । अन्तर्राष्ट्रिय साहित्य समाज क्यान्सस च्याप्टर स्थापना गर्न सहयोग गर्ने उहाँ यस च्याप्टरको सल्लाहकार हुनुहुन्छ । उहाँबाट यस्तै रमाइला कृतिहरू सिर्जना भइरहून्, शुभकामना ।
