नारी आवाज
|
अन्धकारको बीचमा
एउटै दियो पनि काफी हुन्छ,
म त्यही दियो हुँ—
अर्थात्, नारी।
म फुल हुँ, कमलको,
म उज्यालो हुँ, जूनको,
म किरण हुँ घामको।
आज
उचालेर पौरखी दुई पाखुरा,
लड्दै छु चुनौतीका पर्खालहरूसँग।
लगाई पखेँटा स्वतन्त्रताको,
उडी रहेकी छु आफ्नै लक्ष्यको आकाशमा।
पुगेर जूनमा,
झारेकी छु आशाका ताराहरू।
म कर्मका शिखरहरू ताकेर
फैलिरहेकी छु संसारभरि,
र लेखिरहेकी छु स्वाभिमानको कथा।
न त म कमजोर छु ज्ञानले,
न त श्रमले छु निर्बल।
आज
म नेता हुँ,
स्वास्थ्यकर्मी हुँ,
समाजसेवी, इन्जिनियर,
व्यापारी, लेखक,
कलाकर्मी, वैज्ञानिक, मजदुर।
अबिरल बगिरहने नदी पनि म नै हुँ।
म तलाउकी कमलझैँ कोमल,
तर—
यदि स्वअस्तित्व र देशको स्वाभिमानका लागि लड्नुपर्यो भने,
म एक बहादुर योद्धा पनि बन्न सक्छु।
हो, म आजकी नारी हुँ!
मलाई थाहा छ,
म अझै हिँड्नुपर्छ तिरस्कारको आगोमा,
फुल्नुपर्छ हिंसाको दलदलमा,
लड्नुपर्छ विभेदको युद्धमा।
उचालेर अधिकारको कलम,
ल्याउनु छ परिवर्तनको ज्वारभाटा
सोचको समुद्रमा।
त्यसैले आज म
सचेतनाको मादल घन्काउँदै,
चेतनाका दोहोरीमा भाका हाल्दै,
अधिकारका गीतहरूसँगै
बुलन्द गर्दैछु आवाज—
कुरीतिका विरुद्ध।
समाएर आवाजको तलवार,
अघि बढ्दैछु संसारको कुना-कुनामा।
आशा छ, एक दिन—
लेखिने छैनन् निर्मला, भागीरथीका कथा,
कोरिने छैनन् असमानताका रेखाहरू,
ढकढक्याउनुपर्ने छैन कानुनका ढोका,
सुसेल्नुपर्ने छैन नारी हिंसाका व्यथाहरू।
हो, आज—
हामी सबै मिलेर
समानताको एउटै गीत बनाऔँ।
साझा स्वर, ताल, र लयमा,
नारी हिंसाविरुद्ध आवाज बुलन्द गरौँ!
