कालिम्पोङका इतिहासका एक जीवन्त व्यक्तित्व लीलानाथ दाहाल
|
कालिम्पोङको बमबस्तीमा सबैजनाका एक माननीय व्यक्तित्व हुनुहुन्छ लीलानाथ दाहाल। गाउँले सबैका निम्ति एल एन सर कि लीला सर। उहाँ लगभग नब्बे बर्ष पुग्न लाग्नुभएको छ। अहिले पनि उहाँ रातापिरा, हट्टाकट्टा, राम्रो सुझबुझ भएको हुनुहुन्छ। उहाँभित्र कालिम्पोङ सामाजिक राजनैतिक मौखिक इतिहासको भण्डार छ, अनुभवको गहिरो अनुभव छ, कट्टर गोर्खाली जातीय चेतना छ। गहिरो राजनैतिक ज्ञान छ, पर्यवेक्षणीय गुण छ, सामाजिक चिन्तन र चेतना छ। उहाँसित आफ्नो नौ दश वर्षको उमेरदेखि कालिम्पोङबारे मौखिक इतिहास छ।
पिता स्व. हरिनारायण दाहाल र माता स्व. रुक्मिनी दाहालका आठभाइ छोरामा जन्तरे छोराका रूपमा रहेका लीलानाथ दाहालको जन्म १४ जून, १९३६ मा बमबस्ती भएको हो। उहाँले स्थानीय एस यु एम आइ विद्यालयबाट सन् १९६० मा मेट्रिक पास पढेपछि पियुसीसम्म औपचारिक शिक्षा हासिल गर्नुभयो। उहाँ पाँच छ कक्षामा पढ्दा नै डम्बरसिंह गुरूङले नेतृत्व गरेको सन् १९४६ सालको अखिल भारतीय गोर्खा लीगको जुलुसमा सामेल हुनुहुन्थ्यो। त्यतिबेला बाबू डम्बरसिंह गुरूङ आफैं जुलुसको नेतृत्व गरी नारा लाउँथे गोर्खाको जय होस्, पहाडे भोटे लाप्चे एकै हौं, … आदि।
लीला सरका दुई अति आदर्श नेता डम्बरसिंह गुरूङ र पि आर प्रधान हुन्। डम्बरसिंह गुरूङले साँचो नेता, जाति प्रेमी, इमानदार थिए तर उनको एकचालिस वर्षको उमेरमा भएको निधनले गोर्खालीको ठुलो क्षति भयो, भाग्य फुट्यो। तिनी डम्बरसिंहकै परिवारका नरबहादुर गुरूङ गजेन्द्र गुरूङहरू काँग्रेसमा जाँदा गोर्खा लीगको ठुलो क्षति भयो। उहाँका अर्का आदर्श नेतामा पि आर प्रधान थिए। जो कट्टर जातिप्रेमी, इमानदार दूरदृष्टि भएका साँचो नेता थिए। पि आर सर सन् १९७७ देखि १९८६ सम्म जिल्ला परिषदका दार्जिलिङ जिल्ला सभाधिपति हुँदा लीला सर पनि कालिम्पोङ खण्ड एकका पञ्चायत समितिका सदस्य थिए। तर सुवास घिसिङको नेतृत्तवको आन्दोलनले बाध्यताबस पि आर सर र लीला सरले दवैले आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो।
लीला सरको दृष्टिमा हामी जति समय बित्यो उति उति नोक्सानीको राजनिती गर्दैछौं। पहिले दार्जिलिङमा हाम्रो ठुलो वर्चश्व थियो अब त्यो खुस्किँदै गएको छ। हाम्रा नेताहरूले आफ्नो जातिलाई नोकसानी पार्ने र बङ्गाललाई पोसाउने राजनैतिक खेल खेल्छन्। गोर्खालीगको समयपछि हाम्रो राजनिती आफ्नै हानि हुने खालको बनेको छ। यस्ता कुरामा उनी क्षोभ व्यक्त गर्छन्।
लीला सरको बाबु नै अङ्गेज सरकारका मान्यताप्राप्त साहुकार थिए। उनलाई सरकारले आसामीसित ऋणको हिसाब राख्ने लालखाता दिएको थियो। गाउँका मण्डल भने साँधोछिरिङ लेप्चा थिए। लीला सरसित सन् १९३० देखि लालखाता आजसम्म सुरक्षित छ। आफ्नो घरको लगभग १९-२० ऐकर जमिन थियो। आफ्नो घरमा उखुखेती, सब्जी खेती, गौपालन, आदि गर्थे। गाउँ घरबाट गाइ गोरू किन्न पैसा नपुगेर ऋण लिन आउँथे, कतिले ऋण फर्काए, कतिले फर्काएनन्।
लीला सरभित्र कविता लेख्ने प्रतिभा थियो। उनले चालिस पचासवटा जति छन्दमा कविता लेखेका थिए। अग्रदूत, बिन्दु, धुँवा गोर्खा पत्रिकातिर उहाँका छन्दोबद्ध कविता प्रकाशित गराएका थिए। तर उनको काव्य प्रतिभा राजनैतिक, विभिन्न सामाजिक, धार्मिक, जातीय सङ्गठनहरूसित जोडिएकाले साहित्य छोडिएकामा अहिले थकथकी मान्नुहुन्छ। अखिल भारतीय गोर्खा लीग, गोर्खा दुःख निवारक सम्मेलन, गणेश मन्दिर ट्रस्ट, सरस्वती मन्दिर समिति, शिवालय मन्दिर समिति, आफै गणेश प्राथमिक पाठशालोक प्रधानाध्यापक, कालिम्पोङ प्राथमिक शिक्षक सङ्गठनका सचिव र अध्यक्ष आदि जस्ता दस बाह्रवटा सङ्गठनका कामले उनको काव्य प्रतिभा दबियो।
आफ्नो जीविकोपार्जनका क्रममा उहाँ सन् १९६२ मा प्रथम चोटि तागाथाङ प्राथमिक पाठशालामा एकल शिक्षक भए तर त्यही वर्षभित्र आमाको निधन हुँदा केही असुविधा परेर एक वर्ष गरेको काम छोड्नुपरेको थियो। त्यसपछि जनता कलेजका प्रिन्सिल जे आर बोसको सहयोगमा कालिम्पोङका स्कुल इन्पेक्टर देवब्रत बरूवासित सम्पर्क भएपछि बरूवाले उहाँले अप्रेल १ तारिक सन् १९६३ मा शिक्षकको काम पाउनुभयो। त्यहीँदेखि गणेश प्राथमिक पाठशालाबाट शुरू गरेर सन् १९९६ मा तेत्तिस वर्ष सेवा गरेपछि सेवानृवृत्त हुनुभएको हो। सेवानिवृत्ति भएर पनि उहाँ कहिले खालि बस्नुभएन। रिटायर्ड शिक्षक सङ्गठनका सचिव र अध्यक्ष, पेन्सन एसोसिएसनका अध्यक्ष आदि के के हुनुभएको थियो। उहाँ कालिम्पोङ खस हितकारी सङ्गठनको संस्थापक सचिव रही धेरै वर्ष सेवा दिनुभएको छ। उहाँकै प्रयासमा कालिम्पोङभरि चौधवटा शाखा खोलिएको थियो। २००१ मा कालिम्पोङमा सम्पन्न केन्द्रीय महाधिवेशनमा उहाँको नेतृत्व हुँदा बयालीस हजार रकम उबार्नसम्म सक्षण हुनुभएको थियो।
उहाँ मूलमा राजनैतिक व्यक्तित्व हुनुहुन्थ्यो। उहाँ अखिल भारतीय गोर्खा लीग दलको एक सक्रिय सदस्य़ हुनुहुन्थ्यो। उहाँ दलको कालिम्पोङका रेणुलीना सुब्बा, पिएल सुब्बा, रूपराम देवान आदि आठजना जिल्ला समिति सदस्यका रूपमा दार्जिलिङको पार्टी अफिसमा देवप्रकाश राई, मदन तामाङ, आदिसित जिल्ला समितिको सभामा उपस्थित हुनुहुन्थ्यो। गोर्खा लीगको सभामा स्वायत्त शासनको कुरा उठ्थ्यो अनि त्यसलाई प्रस्तावका रूपमा दिल्लीको केन्द्र सरकारले कतिचोटि स्मारक-पत्र पठाइन्थ्यो तर त्यसबारे लागिपरेको हुँदैन थियो। एकपटक मदन तामाङले गोर्खा लिगको दार्जिलिङ जिल्लाको सभामा स्वायत्त शासन होइन अझै आफ्नै राज्य चाहिन्छ भनेर कडा आवाज उठाएका थिए। तामाङलाई देवप्रकाश राईले राम्र्री सम्झाए अनि तीन महिनामा तिम्री दार्जिलिङका गोर्खा र डुवर्सको आदिवासीहरूका बिचमा यो प्रस्ताव लैजाउ, तीन महिना गरिहेर भनेका थिए। पछि मदन तामाङले गोर्खा लीग छोडेर प्रान्त परिषद् खोलेका थिए। उहाँको नरजित छेत्री, टिकाराम शर्मा, महानन्द पौड्याल, डा गोकुल सिन्हा, नरबहादुर दाहाल, पि एल सुब्बा, रेणुलीन सुब्बा, देवप्रकाश राई, उदयप्रकाश राई आदिसित राजनैतिक सम्बन्ध रह्यो।
लीला सर सानो छँदा गाउँ-घर र कालिम्पोङको आम जनतामा कम्युनिस्टलाई भूतप्रेतसरह ठान्थे। मान्छे डराउँथे। पछि ज्योति बासु कालिम्पोङमा गुप्तवास बस्ता कहाँ कहाँ बसेका थिए, बसु जहाँ जहाँ बसेका हुन्थे त्यस घरलाई कम्युनिस्ट बनाउन सक्थे। ज्योति बसुको कन्भिन्स गर्ने शक्ति थियो। एकपटक लीला सरको नेतृत्वमा गएको प्राथमिक शिक्षक सङ्गठनको पक्षमा समान वेतनमानको माग लिएर उप मन्त्री गजेन्द्र गुरूङलाई सम्रक पत्र चडाउन जाँदा अत्यत्नै तुच्छ व्यवहार देखाएका थिए। पछि त्यही स्मारक पत्र देवप्रकाश राईलाई देखाउँदा राईले गजेन्द्र गुरूङलाई उक्त मागलाई पुनर्विचार गर्न लाएर माग मानिदिन बाध्य तुल्याएको सम्झना गर्छन्।
उहाँलाई सन् १९४५ देखिको कालिम्पोङ र दार्जिलिङ पहाडको राजनैतिक परिवर्तन, विकासको अवस्था आदि नियाल्नु सक्नुहुन्छ। उहाँका विचारमा हाम्रो आफ्नो राज्य हुनपर्छ। हाम्रो आफ्नो राज्य भए यो पहाड र तराईमा आयस्रोतका धेरै माध्यम विद्यमान छन्। हामीसित जडीबुटी, नदीनाला, चियाबारी, धान खेती सब्जी खेती, नगदे बाली, हिमाल पहाड मदेश सबै कुरा छ। यदि हाम्रो आफ्नो राज्य भए हामी नै स्वावलम्वित हुन्छौं। अहिलेका नेतामा यस्तो दृष्टिकोण छैन, सब बङ्गालपरस्त भए भन्ने गुनासो पोख्नुहुन्छ। डम्बरसिंह गुरूङको पहाडे भोटे लाप्चे एक भएर बस्नुपर्छ भन्ने नारा लाएको सुन्ने लीला सर अहिलेको विभिन्न जातगोष्ठीका विकास बोर्डहरू बनिएको देख्दा निराशा प्रकाश गर्नुहुन्छ। गोर्खा लीग दलको पतन नै गोर्खाली जातिको पतन देख्नुहुन्छ।
उहाँको संस्मरणभित्र कालिम्पोङको इतिहास लुकेको छ। गाउँ घरमा बस्नेले घाँस, दाउरा, खेतीपातीको काम गर्नुपर्थ्यो। विद्यालय थोरै थिए। घरमा बस्ता धेरै काम गर्नुपर्थ्यो। घरमा खेतीपाती ठुलो थियो। घर पातला थिए। गाउँ घरमा राम्रो मेलमिलाप थियो।
अहिले उहाँ आफ्नो परिवारमा सुखी जीवन बिताउनु हुँदैछ। हालमा उहाँ श्रीमती, छोरा बिनोद दाहाल र बुहारी नातिनीहरूसित सुखद जीवन बिताइरहनुभएको छ। छोरा कृषि विभाग उप निर्देशकका रुपमा कार्यरत छन्, छोरीहरूको पनि बिहा गरी घर खाइरहेका छन्। उहाँ अझैसम्म पनि गाउँका प्रत्येक मराउतिर जानुहुन्छ, नेपाली साहित्य अध्ययन समितिको प्रत्येक कार्यक्रममा उपस्थित हुनुहुन्छ, गणेश मन्दिर समितिको प्रत्येक सभामा उपस्थित हुनुहुन्छ। गाउँका एक अनुभवका खानी, बुजुर्ग, जिउँदा इतिहास भएर बडो सम्मानित भएर बस्नुभएको छ। उहाँको सुस्वस्थ्यो र दीर्घायुको कामना गर्दछु।
