गज़ल

तिमी गयौ, मन शून्य छ
दुखेर आँगन शून्य छ

सहस्र दर्द छ देहमा
चलेन धड्कन शून्य छ

सताउँदै छ उजाडले
सजीव कानन शून्य छ

निसासिँदै छु पलापला
उडेर शोभन शून्य छ

निकास बन्द छ आँसुले
भिजेर लोचन शून्य छ

रिझेन दैव कसै गरी
पुकार साधन शून्य छ

चपाउँदै छ हताशले
फुरेन सिर्जन शून्य छ

लग्यो चुँडेर निष्ठुरले
रुँदै छ आसन शून्य छ

न बज्छ गीत न बाँसुरी
सितारवादन शून्य छ

लुट्यो सुशान्ति वियोगले
बढेर उल्झन शून्य छ

विदीर्ण भो मुटु बेसरी
समग्र चिन्तन शून्य छ

धुजा भए परिकल्पना
विरक्तले पन शून्य छ

थचारिए सपना सबै
तमाम वाञ्छन शून्य छ

अशान्त लाग्छ जताततै
निभेर रोशन शून्य छ

सदैव खोज्छु समीपमा
छ ठप्प जीवन शून्य छ

तालूङ छन्द

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *